
उनीहरु बौलाहा होइनन्
सृजना केसी
विशेष शिक्षक, पाटन सि.वि.आर
सचिव, बौद्घिक अपाङ्गताका आमा समाज, ललितपुर ।
२६ फागुन २०५९ मा उज्जवल शुक्लसँग मेरो विहे भयो । नयाँ परिवार नयाँ माहोल । र, घरमा एक विशिष्ट पात्र थिए, देवरबाबु सजलराम शुक्ल !
घरमै बौद्धिक अपाङ्गता भएको व्यक्ति देख्दा मेरो मन अलि विचलित र सशंकित त पक्कै भएकै हो । हाम्रो समाज, हाम्रो सोच अनि म पनि यहि समाजको उपज । ‘यो मान्छे कस्तो होला, यिनको लागि परिवारले के के गरेका होलान्’ भन्ने लागि नै रह्यो ।
नाम सजलराम शुक्ल । उमेर १८ वर्ष । तर, व्यवहार भने १,२ वर्षको बच्चाको जस्तो रहेछ । चक्लेट र खानेकुरामा भुल्ने । पैसाको महत्व नभएको । जसले जे गरुन्, मतलब थिएन । मेरो सासुलाई नातेदारहरुले ‘तिम्रो छोरा बौलाहा भएको हो, जचाउन लैजाऊ’ भनेका रहेछन् ।
एउटी आमा, जसले चाहेर बौद्धिक अपाङ्गता छोरा जन्माएकी थिइनन् र छोराले म बौद्धिक अपाङ्गता भएर जन्मौं भनेर जन्मेको थिएन । सासु सरस्वती शुक्लले ‘छोरा ठिक होला’ भनेर डाक्टर, अस्पताल, हनुमान पुजा, रेकी, विभिन्न संघसंस्थालगायत धेरै स्थानमा पुर्याउनु भएको रहेछ । जिल्लामा भएको सुस्तमनस्थिति कल्याण विद्यालयको अभिभावक समितिको अध्यक्ष भएर काम पनि गर्नुभएको रहेछ ।
बौद्धिक अपाङ्गता निको हुनलाई कुनै रोग थिएन । त्यो त केवल अवस्था थियो । मेरा पनि दिनहरु बित्दै गए । म उहाँप्रति सामान्य हुँदै गएँ । मलाई मैले कसरी सहयोग गर्न सक्छु भन्ने लागिरहन्थ्यो । पछि सासु ससुरा नभएपछि कसरी हेर्नेहोला भन्ने प्रश्न मनमा उठिरहन्थ्यो ।
समय बित्दै गयो । म देवरको दैनिक जीवनलाई सघाउन थालेँ । घर बाहिर पनि लिएर आफन्तकोमा जान थालें । मेरो देवरलाई आफन्तहरुले पनि मन नपराउने र छिमेकीहरुले पनि मानविय दृष्टिकोणले नहेर्ने रहेछन् ।
एकदिन छिमेकीले मलाई ‘तपाईको देवर बौलाह देखिँदैन नि’ भने ।
‘तपाईंले खुवाउन लगाउन दिनुपर्ने होइन । किन त्यसो भन्नुहुन्छ ?’, मैले त्यसो भन्दा अलि चर्काचर्की नै पर्यो । त्यति बेलासम्म पनि मलाई बौद्धिक अपाङ्गताको बारेमा थाहा थिएन । म देवरको जीवन कसरी सजिलो बनाउन सक्छु भनेर सोचिरहन्थेँ ।
२०६१ साल अषाढ २९ गते मेरी छोरी जन्मिइन् । हुर्कदैँ जानेक्रममा, बामे सर्ने भइन् । घरी घरी कोठाको ढोका बाहिर पुग्थिइन् । मेरो देवरले छोरी जुत्ता भएको ठाउँमा गईन् भनेर बोकेर सोफामा राखिदिन्थे । तर, सोफाबाट बच्चा खस्छ भन्ने उनलाई थाहा थिएन । अन्जान, अवोध, निर्मल तर घरमा चाडवाडमा आउने आफन्तहरु भने डराउँथे । यसरी दिनहरु बित्दै थिए । म उनलाई मेरो माइतिघर पनि लिएर जान्थेँ । मेरो हजूरबुबा, बुबा, आमाले यो देवरलाई ख्याल गर्नु, माया गर्नु भन्नुहुन्थ्यो ।
२०६२ सालमा हाम्रो ललितपुर जिल्लामा नर्वे भन्ने देशबाट एकजना बौद्धिक अपाङ्गता छोरी भएकी आमा गोरिल आएकी रहिछन् । अभिभावक त्यसमा पनि विशेष आमाहरु हाम्रो छोराछोरीको लागि एकजुट भएर आवाज उठाउनुपर्छ भनेर नेपालकै प्रमिला देवानसहित पाटन सि. बि.आर आउनुभएको रहेछ । त्यहाँ मलाई मेरो सासुले लिएर जानु भएको थियो । जिल्लाको जेठो संस्था पाटन सि. बि.आर अपाङ्गतामा काम गर्ने मेरो सासुले आफ्नो कान्छो छोरोलाई जीवनोपयोगी सिकाई सिक्न लग्ने ठाउँ रहेछ । सबैजना सासुको साथीहरु हुनुहुँदो रहेछ । त्यो वैठकबाट संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय भयो । मेरो सासुले संस्थामा मलाई हिँड भनेर सबैजनालाई चिनाई दिनुभयो । रविलक्ष्मी दुवाल, शशि पाण्डे, रिता मुर्खजी शाह, दिव्यलक्ष्मी शाक्य, निर्मला शाक्य र मजस्तै अर्को भाउजू विजया लक्ष्मी श्रेष्ठलगायत थुप्रै आमाहरु हुनुहुन्थ्यो । सबैजनाको बेग्लाबेग्लै कथा ! हरेक कथामा म आफैलाई खोज्दै थिएँ ।
जि.प्र.का. ललितपुरमा बौद्घिक अपाङ्गताका आमा समाज ललितपुर नामको आमा संस्था स्थापना भयो । जिल्लामा घरभित्र रहेका बौद्घिक अपाङ्गता छोराछोरीका आमाहरुलाई घरबाट बाहिर निस्कन प्रेरणा दिने, बालबालिकाहरुलाई अपाङ्गता परिचयपत्र लिन सहयोग गर्ने र जिल्लामा आफ्नै स्थानिय स्थानमा दिवासेवा केन्द्र विस्तार गर्दै जाने, भविष्यमा आमाबुबा नभएको बौद्घिक अपाङ्गता भएका बालबालिका र
वयस्कहरुको लागि सुरक्षित घर बनाउने आदि उद्देश्यसहितको संस्थामा साधारण सदस्य बनेंँ । मेरो पहिलो पाइला ।
पाटन हाई स्कूलमा पहिलो पटक आमा भेला गरेर जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रकृयामा संस्था अगाडि बढ्यो । अब म संघसंस्थामा सजलराम शुक्लको अभिभावक भएर हिड्ने भएँ । प्रत्येक महिना बैठक बस्थ्यो । स्थान पाटन सि.वि.आर नै थियो । कहिलेकाहिँ म सजललाई लिएर पाटन सि.वि.आर जान्थेँ । त्यहाँ कार्यरत कर्मचारीहरु धेरै अभिभावक नै थिए । सबैका आ-आफ्नै कथा ।
म अझ सक्रिय भएर विभिन्न अभिभावक तालिम तथा भेलाहरुमा पुग्न थालेँ । पाटन सि.वि.आरमा कर्मचारी खाली रहेछ । मैले पनि आफ्नो व्यक्तिगत विवरण बुझाएको थिएँ र कर्मचारी नियुक्ति भएँ । बालबालिकाहरुको अवस्था केहि बुझिसकेको थिएँ । आफ्नो देवर हेर्थेँ अनि अरु बालबालिकाहरुको समस्या झनै बढी थियो । बौद्धिक अपाङ्गता भएको बालिकाहरुको अझै बढी समस्या । महिनावारी हुँदा आफै स्याहार गर्न नसक्ने, आमाहरुले गरिदिनुपर्नेे ।
अफिसको पहिलो दिन मनमा हर्ष थियो । दिउँसोको खाजा खुवाउने समय भयो । शिक्षकहरुले विद्यार्थीलाई खाना खुवाउने रहेछन् । मलाई पनि खुवाउने जिम्मा पर्यो । शुक्रराज लामा र रुची खनाल दुवैलाई खुवाउन एकदम गारो थियो, नयाँ बुहारी कजाउने भने झैं । उनीहरुलाई मैले नियमित खुवाउनु पर्ने भयो । खानेकुरा मुखमा राखेपछि आधा मुख बाहिर निक्लन्थ्यो ।
काम शुरु गरेको १,२ महिनापछि मलाई अफिसले सय दिनको बेसिक सीबीआर तालिम लिन भक्तपुरमा पठायो । त्यसपछि मात्र मलाई थाहा भयो, अपाङ्गताको प्रकार हुनुको कारण साथै रोकथाम र न्यूनिकरणका उपायहरु । तालिम अवधिमा मेरी २ वर्षकी छोरी बिरामी परिन् । मलाई तालिममा जान गारो भयो । मैले प्रशिक्षकलाई मेरो बच्चा लिएर आउन मिल्ने भएमात्र आउँछु भनेँ । मैले बच्चासहित तालिम लिन पाएँ । तालिम सम्पन्न भयो । तालिमका साथीहरु सबै अपाङ्गता भएका ब्यक्तिहरु थिए । मेरो पहिलो तालिमका साथीहरु पारङवा लामा, दावा लामा, सानु लामा, रिता, विष्णु, गिता खवास आदि थिए । उनीहरुको आ–आफ्नै अपाङ्गता थियो । पालियो, एम्पुटेशन आदि । त्यस तालिमबाट थाहा भयो कि अपाङ्गता परिचय पत्र बनाउनु पर्छ भन्ने कुरा । मैले देवरलाई लिएर एमबीबीएस गरेको डाक्टरकोमा सिफरिस गर्न लगेँ । पाट मंगलबजारका एकजना डा. सापले सिफारिस गर्न मान्नु भएन । त्यस्तो सांग मानिसलाई अपाङ्गता परिचयपत्रको लागि सिफारिस गर्न मानेनन् । म एकदम निराश भएँ । मैले सबै कुरा पाटन सि.बि.आरमा र बौद्घिक अपाङ्गताका आमा समाज ललितपुरमा भनेपछि बौद्घिक अपाङ्गताका आमा समाज ललितपुरको अध्यक्ष रविलक्ष्मी दुवालको दिदी रिद्घिबाबा प्रधानकी छोरी डा. पुजा प्रधानबाट सिफारिस गराएँ । त्यतिबेलासम्म मेरो देवरको सुत्ने समय आइसकेको थियो ।
कहिले ससुरा व्यस्त कहिले के गर्दागर्दै ६ महिना बितेछ । एकदिन मेरो स्कुटरमा राखेर पहिला ससुरालाई जि.प्र.का. ललितपुरमा लिएर गएँ । त्यसपछि देवरलाई लिएर गएर अपाङ्गता परिचयपत्र प्राप्त गरयौं । महाभारतको युद्व जिते जस्तो महसुस गरें । त्यसपछि जिल्ला जनश्वास्थ्य कार्यालयले सिफारिस गरिदिने ब्यवस्था मिलाएर करिव ३०० जना ललितपुर जिल्ला बज्रबाराहि, लुभु, इमाडोल, गोदावरी साथै तत्कालिन ललितपुर उपमहानगरपालिकाका अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र दिन सफल भयौं ।
यो सफलताको लागि मेरो पथप्रर्दशक बौद्घिक अपाङ्गताका आमा समाज ललितपुर, पाटन सि.वि.आर, मेरा ससुरा त्रिविक्रम ज्वालानन्द शुक्ल, सासु सरस्वती शुक्ल, मेरो पाइलापाइलामा टेवा दिने श्रीमान उज्जवल शुक्ल साथै देवरानी शोभना शर्माहरु छन् । शोभना जति बेला पनि मलाई सहयोग गर्न तयार ।
यसरी अपाङ्गताभित्र बौद्घिक अपाङ्गतासँगको मेरो यात्रा निरन्तर रहेको छ । लाईफ इन्सोरेन्सका एजेन्ट र सेयर मार्केटमा लागेका साथीहरुबाट छिटो धनी बन्ने अफर पटकपटक नआएका होइनन् तर मैले बौद्घिक अपाङ्गता भएका बालबालिकाहरुको जीवन सजिलो बनाउने बाटो रोजें । कसरी उनीहरु अन्य आम मानिस झैं मानव भएर बाँच्न सक्छन् भन्ने सोच्न र त्यसैमा लागिरहन भने छोडिनँ ।
एकपटक विरामी भएर कोठामा सुतिरहेको थिएँ । विद्यार्थी जोनसन शाक्य मलाई भेट्न कोठामै आयो । र, भन्यो, ‘मिस ! बिरामी भयो । औषधी खाऊ, पानी खाऊ, शौचालय जाऊ है ।’
मेरो जीवनको वास्तविक पूँजी नै यहि हो ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



