उल्टो उखान ‘छोरी बिग्रे नर्स, छोरा बिग्रे कमर्श’

सुशिला तिमल्सिना
लेले प्राथमिक स्वास्थ्य केन्द्र, गोदावरी नगरपालिका, ललितपुर ।

‘छोरी बिग्रे नर्स, छोरा बिग्रे कमर्श’ भन्ने उखान अहिले उल्टो भइसकेको छ । २ दशकयता नर्सिङको मोह ज्यादै बढेको छ । यो छोरीहरुको पहिलो रोजाईको विषय पनि पर्छ । मैले पनि ज्यादै मोह लागेर यो विषय अध्ययन गरेँ । आधुनिक नर्सिङको शुरुवात फ्लोरेन्स नाइटिङ्गेलले गरिन् । त्यसैगरी आज हरेक नर्सले विरामीको स्याहार गरिरहेका छन् । उनले गरेको त्यो सेवाले ममा पनि सेवा गर्ने उत्प्रेरणा जागरुक गराइदियो । त्यसैको प्रभावले पढेँ ।

गैरसरकारी संस्थामामा झण्डै १० वर्ष काम गरेँ । त्यसपछि सरकारी सेवामा प्रवेश गरे । सो सेवाको १० वर्षे अवधिमा धेरै परिवर्तन आए, प्रतिस्पर्धाहरु भए । ती प्रतिस्पर्धा अति नै महँगो भयो । प्रतिस्पर्धा धेरै भएपछि सस्तो हुन्छ भन्ने कुरा स्वास्थ्य र शिक्षामा लागू भएन । अलि सानो विषय अध्ययन गरेकोलाई माथिल्लो तहका अध्ययनका लागि बाटो रोकियो । स्वास्थ्य सेवामुखी भन्दा पनि व्यापारीकरण भयो । पहिला पहिला नर्स बन्ने व्यक्ति खोजी हिँड्नुपर्थ्यो भने हाल इच्छा लाग्ने जतिले पढ्न पाइरहेका छैनन् । कतिले आफ्नो आर्थिक स्थितिले मनको इच्छा मारिरहेका छन् ।

कतिले पढिसकेपछि रोजगारीको अवसर पाएका छैनन् । नर्सिङमा लगानी धेरै छ । तर, रोजगारको कुनै ग्यारेन्टी छैन । हरेक ठाउँमा नर्सलाई शोषण भइरहेको छ । स्वयंसेवकको रुपमा काममा लगाइएको छ । एकदमै कम तलबमा काम गर्न बाध्य बनाइएको छ । यति हुँदा पनि नर्सको पक्षमा कसैले आवाज उठाउँदैनन् । यस्तो स्थितिमा नर्सिङ पढेर कसरी काम गर्लान् ? २४ घण्टा विरामीसँग हुने नर्सले कसरी सेवा गर्न सक्लिन ? साँच्चै सोच्नै पर्ने अवस्था आएको छ ।

नर्सिङ पढ्ने अर्को कारण तीव्र विदेशमोह हो । एउटा जमात छ, जो सेवा गर्ने भन्दा पनि विदेशिनका लागि नर्सिङ पढ्दछन्, जसले गर्दा दक्ष जनशक्तिले आफ्नो देशमा काम गरिरहेका छैनन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button