चाणक्य ‘एन्ड’ रुन्चे इमोजी

ब्राह्मणपुत्रको लकडाउन डायरी–४६
भरत शर्मा

अनागतविधाता च प्रत्युत्पन्मतिस्तथा ।।
द्वावेतौं सुखमेधेते यद्भविष्यो विनश्यति ।।

अर्थः आउन लागेको विपत्तिलाई पहिलेदेखि नै उपाय गर्ने र आपत्ति आइलागेपछि निवारणका लागि शीघ्र उपाय खोज्ने दुवैले सुख पाउँछन् । जसले जे होला–होला भनेर बस्छन्, त्यसको विनास नै हुन्छ ।

निकै बर्ष पहिले सनातन विश्व कुटनीतिज्ञ चाणक्यले बताएको यो नीति अहिले पनि गहिरिएर सोच्ने हो भने सार्थक छ । कति भविष्यवेत्ता रहेछन् चाणक्य !

महामारीको पहिलो विपत्ति भोग्यौं । दोस्रो आपत्ति भोग्दै छौं । अझै भविष्यमा यस्ता महामारी र प्राकृतिक आपदाहरु आउने पूर्व जानकारी भए पनि जे होला–होला भनेर हाम्रा शासन–प्रशासक र हामी बसेका छौं । अझै हामीले कठिानाई भोग्नुपर्ने दिन आउँदैछ ।

नेपालमा बसेर जनताले कहिल्यैं सुख नपाउने भए, राजनीति लाजनीति भयो । देशको अर्थ व्यबस्था बिग्रदै गयो । बेरोजगारी बढ्यो । जनताको खल्ती रित्तो भयो । शासकको सत्ताको खेल हेरेर जनताले दिन–रात काटनु पर्ने भयो ।

बर्षा ऋतु शुरु हुन थाल्यो । असार–साउन भदौमा निरन्तर आकाशबाट पानीको मुस्लो आउन सक्ने भन्ने पूर्व सूचना आएको छ । प्राकृतिक विपत्तिसँग सामना गर्ने कुनै पूर्व तयारी छैन ।
उही चाणक्यले भने जस्तो जे होला–होला भनेर बसेपछि जनजनले दुःख त पाउने नैं भए । यो मेले बोलेको भन्नुहोला नि, होइन यो अहिलेको जनबोली हो । तपाईहरु पनि यसै भन्नुहुन्छ । गाउँघरतिर चौतारा, दोबाटोका चिया–भट्टीमा पनि यस्तै कुरा भएका होलान् ।

गाउँघरतिर भन्दै होलान्, ‘यसपालि धेरै पानी पर्छ रे ।’ पहिले त रेडियोले भनेको भन्ने चलन थियो, अहिले त फेसबुकमा भनेको भन्छन् होला । अहिले रेडियो, टिभी, पत्रपत्रिका, समाचार, सूचना, राम्रा कुरा, नराम्रा तथ्य, गाली, हाँसो, पीडा, दुःख र सुख, नजिक टाँडा केही छैन । हातमा मोवाइल र फेसबुक भएपछि गाउँघर होस् वा शहर, मानिसलाई दिन काट्न र काल पर्खनका लागि केही गारो छैन ।

मानिसलाई भोक, प्यास र शरीरका कुनै दुखाई नहुने हो भने सामाजिक सञ्जालमा कति बखान गरेर लेख्ने थिए होलान् ।

आइतबार बिहान एकजना मित्रले फोन गरेर भने, ‘तिम्रा दिनहरु कसरी बित्दैछन् । आज लकडाउन भएको कति दिन भयो ? अब फेरि लकडाउन थप हुन्छ कि हुँदैन, मोर भइसक्यो यार ! कतै घुम्न जान पाए पनि हुने । लौन मैले पत्रकारको पास र ज्याकेट पाए म एकपटक काठमाडौं रिङरोड चक्कर लगाउने थिएँ ।’

एकोहोरो बोलिरहने मित्रलाई बीचमा रोकेर भने, ‘साथी अहिले मौसम पनि ठीक छैन, समय पनि ‘दुर्दिन’ छ । घरभित्र बस्नु नै ठीक होला । पास–सास बनाएर दौड्ने काम नगर्दा राम्रो होला ।’

‘डाँका नेताहरु, नेताका पछुवा लाग्ने कार्यकताहरु हिँडिरहेका छन् । अहिले रोकेको त हामीजस्ता भोट हाल्ने जनतालाई मात्र हो नि । कति फेसबुक हेर्ने, कति टिभी हेर्ने, कति समय सुत्ने, बढी सुतेर होला घुँडा, पाइताला र करङ्ग समेत दुखेको महसुस गर्दैछु’, साथीले कडकिएर भने, ‘अब पनि घरभित्र बस्ने हो भने, अस्पताल गएर उपचार गर्नुपर्ने बेला हुन लाग्यो ।’
‘योग, ध्यान गर्नु । फूर्सदको समयमा पुस्तक पढ्नु, लेख्न मनलागे पुराना दिनको सम्झना गर्दै आत्मकथा लेख्नु’, मैले भनेँ ।

लेख्ने, पढ्ने, ध्यान गर्ने, योग गर्ने बानी नै छैन उनको । नेपाली सेनामा २० बर्ष बिताएका मित्र भन्दै थिए, ‘विगतका दिन सम्झदा त कहाली लाग्छ । जनयुद्वका बेला आफनै दाजुभाइसँग लडेंका दिन कसरी सम्झनु ? सेनामा प्रवेश गर्दा लिएको तालिम, जंगलमा गएर गरेका अभ्यास र जनयुद्वका बेला अप्रेसनमा सहभागी भएका दिन सम्झेर टेलिभिजनमा नेताको अनुहार र कुरा सुन्दा रगत तातेर आउँछ ।’

मित्रले कडा कुरा गर्न थाले, ‘तपाईंको लकडाउन डायरीमा नेतालाई गोदेर कडा लेख्नु न । खाली कुरा चपाएर गाली गरेजस्तो मात्र गर्नुहुन्छ । अलि कडा लेख्नु प¥यो । नेताहरु फटाहा भए । देशमा कोही नेता राम्रो भएनन् । के गर्ने होला ।’

मित्रलाई भनेँ, ‘म त राजनीति त्यति बुँझ्दिन, राजनीतिको बारेमा पनि लेख्दिन मित्र । राजनीतिमा त्यति धेरै कडा लेख्नु र बोल्नुको अर्थ पनि छैन ।’

हिजो मात्र पशुपतिनाथ क्षेत्रमा बस्ने वैद्य थर भएका नरोत्तम नामधारी एकजना नेताले प्रधानमन्त्रीलाई नै ठीक पार्न भारतका एकजना ठूला नेता र अर्का हत्याराको नाम लिएछन् । उनले गाली र ताली दुवै पाए, अन्तमा माफी मागे । यस्तो अक्षय राजनीति खेल हुने देशमा राजनीतिको कुरा छोडौं ।

आजभोलि फेसबुकबाट निशुल्क फोन हुने भएर होला । साथीहरु फोन गर्दा कुरा लामो गर्छन् । आफू छोट्याउन खोज्छु । उनीहरु लम्मेतान कुरा गर्छन् । यो समस्या मेरो मात्र होइन, सबैको हो जस्तो लाग्छ ।

मानिस अब खाना नखाए पनि केही दिन बाँच्न सक्छ तर इन्टरनेट, फेसबुक चलाउन नपाउने हो भने सबैको टोउको दुख्ने, अल्छी लाग्ने समस्या शुरु हुन्छ ।
‘मित्र अरु के छ खबर । घरतिर परिवारमा सबैलाई ठीकै त होला नि ?’

‘सबै ठीक छ, मलाई त ठीक छैन, छट्पटी भएको छ, कहाँ जाने, के गर्ने, कसो गर्ने, गाउँतिर जाऔं भने मोटर चल्दैन, जबरजस्ती गर्न भएन । फेरि अहिले त शहरमा भन्दा गाउँघरतिर महामारी बढी फैलिएको छ रे । के गर्ने के नगर्ने, तपाईसँग मनको दुःख पोख्न कुरा गरेको धेरै बोले कि नरिसाउनु है’, ‘तपाईं हामी भनेको विद्यालय जीवनमा गुच्चा खेलेको, हजुरबा, बाको खल्तीबाट पैसा चोरेर जेरी किनेर खार्दै रमाइलो गरेको साथी हो नि ।’

‘आज पनि लकडाउन थप्छ भनेर फेसबुकमा पढेको थिएँ । तपाईहरु त पत्रकार थाहा हुन्छ नि । आजभोलि समाचार सुन्न र हेर्न पनि मन लाग्दैन’, उनले भने, ‘लकडाउन थप भएको खबर आयो भने मलाई पनि जानकारी दिनु है ।’

मित्रलाई चारबजे खबर दिएँ, ‘सरकारले असार ७ अर्थात् एक हप्ताका लागि लकडाउन थप गरेको छ ।’

म्यासेन्सरमा मित्रले रुँदै गरेको इमोजी पठाए ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button