जे गर्छ, लड्डुले गर्छ

लघुकथाः सोच

डोरबहादुर केसी

रामानन्द थापाथलीका मिठाई व्यापारी हुन् । उनले एक जना साथीसँग साझेदारीमा यो व्यापार गरेका थिए । सम्झौता अनुसारको पाउनु पर्ने लगानी रकम साझेदारले दिन नमान्दा रामानन्द हैरान भएका थिए, जुन विवाद उत्कर्षमा पुगेको थियोे । एकतिर लामो निषेधाज्ञाले चौपट भएको व्यापार त्यसमाथि साझेदारको पनि छलकपटले गर्दा उनले पसल बेचेर विदेश जाने सोच बनाए ।

विदेश जानुभन्दा पहिले एक पटक साझेदारसँग अन्तिम वार्ता र पसलको हिसाब किताब पनि गर्ने भन्ने सोचले उनी घरबाट निस्किए । बाटोमा जादै गर्दा सर्वोच्च अदालत अगाडि उनले अस्वाभाविक भिडभाड देखे । सधै टिभी, रेडियो जताततै देखिने र सुनिने थुप्रै विशिष्ट अनुहारहरु आज उनकै सामुन्ने अदालत परिसरमा लामबद्व देखिन्थे । पूर्व प्रधानमन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु सबै त्यहीँ देखे । एक जना कालोकोटधारीले कुनै टेलिभिजनलाई जोसमा अन्तर्वार्ता दिइरहेका थिए । उनी भन्दै थिए, फेरि पनि अदालतले संविधानको रक्षा गर्ने छ । नेपालमा न्याय अझै मरेको छैन । धारा, उपधारा आदि के के ।

यसबाट रामानन्दलाई अचानक केही महिना पहिले फागुन ११ गते भएको एउटा घटनाको याद आयो । त्यस दिन उनले जीवनमा सबैभन्दा धेरै लड्डु बेचेका थिए । उनकै पसलअगाडि सडकमा यस्तै विशिष्ट अनुहारहरूले लड्डु साटासाट गरेका थिए । उक्त दिन उनको हजारौंको लड्डु बिकेको थियो । यस घटनाले ती सुखद दिनहरु व्यापारमा फेरि पनि फर्कने आशा गरे । विदेश पलायन हुने उनको सोच बदलियो । साझेदारसँग परिणाम बिनाको झगडामा अल्झाउनुभन्दा यसको पनि न्यायिक निरुपण खोज्ने उनको सोच बन्यो ।

आस्थाको केन्द्र अदालतलाई नमस्कार गर्दै कानुनी सहायताको लागि रामानन्द तिनै कालोकोट धारी व्यक्तिको पछाडि लुरुलुरु लागे ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button