
ब्राह्मण लालदेउसा राई
ब्राह्मणपुत्र लकडाउन डायरी–३७
भरत शर्मा
‘म पनि लकडाउन भएदेखि शास्त्र अध्ययनमा लागेको छु । कार्यालयको काम चाप पनि छैन । हप्तामा एक दुईदिन मात्र जानुपर्छ । लोकसेवाका पुस्तक होइन, घरमा बसेर शास्त्रीय ग्रन्थहरुमा समय बिताउँदै छु’, सरकारी सेवामा कार्यरत एकजना सहसचिव मित्रले शुक्रबार टेलिफोनमा भने ।
‘मनमा एउटा प्रश्न उठ्यो त्यसैले फोन गरेको’, ती मित्रले भने ।
‘भन्नुस् न, म पनि सनातनशास्त्रको विद्यार्थी हुँ, मैले जानेको कुरा भयो भने अहिलै तपाईंलाई बताउँछु । मेरो क्षमताले भ्याएन भने मेरा आदरणीय गुरुहरुलाई सोधेर पनि तपाईंको जिज्ञासाको समाधान गर्छु ।’
मेरो जवाफ सुनेपछि मित्रले प्रश्न राखे, ‘तपाईंले केही दिनदेखि आफनो लकडाउन डायरीमा ‘ब्राह्मण’का बारे निकै चर्चा गर्नुभएको छ । यो पढेपछि मनमा प्रश्न उठेको हो ।’
‘सर, तपाईको सिधा प्रश्न के हो भन्नुस्’, मैले भनेँ ।
‘ब्राह्मण भनेको के हो ? म पनि ब्राह्मण कुलमा जन्मिएको हुँ । तर, मैले लकडाउनको समयलाई सदुपयोग गर्दैै जीवनका विगत यात्राबारे समीक्षा गरेँ । मैले गरेको कार्य सम्झदा आफू ब्राह्मण हुँ भन्ने बोध हुन सकेन, अब म कसरी ब्राह्मण हुनसक्छु ? उपाय चाहियो’, मित्रले भने ।
प्रश्न सुनेर म एक पटक मुर्छा परेर हाँसे । प्रश्न लामो भयो तर उत्तरचाहिँ मैले मात्रै दिन सक्दिन होला भनेर केही समय मागेँ । ‘तपाईंको प्रश्नका लागि लकडाउन खुले लगत्तै म राष्ट्रिय धर्मसभा नेपालको बैठकमा यो विषयलाई प्रस्तावका रुपमा पेश गरेर उत्तर दिन तपाईंको कार्यालयमा आउँछ नि । हुन्न ?’, मैले सोधेँ, ‘सरकारी सेवामा अब कति बर्ष बाँकी त तपाईंको ?’
‘अब पुगनपुग ३ बर्षपछि सेवाबाट अवकाश हुनेछु’, उनले थपे, ‘महामारी र मनभित्र अध्यात्म अध्ययन, चिन्तन र मनन प्रवेश गरेकाले जागिरबाट राजिनामा लेखौं कि जस्तो हुँदैन, पेन्सनले दालभात खान पुगिहाल्छ ।’
‘अहिलेचाहिँ के पढ्दै हुनुहुन्छ ?’
‘लोकसेवा आयोगका पुस्तक एकातिर पन्छाएर महाभारत, रामायण, पुराणका पुस्तक पढ्न पो थाल्दै छु । धर्मगुरुका प्रवचनहरु सुनेर मन खुसी हुन थाल्यो । सरकारी सेवाभित्रका कथा लेख्न मन लाग्छ । तर, लेख्न ढंङ्ग नपुगेर हो कि ? लेख लेखौं भन्दा टिप्पणी र निवेदन लेखेजस्तो हुन्छ ।’
‘धेरै बर्ष सरकारी टिप्पणी उठाएर बसेको बानी, लेख लेख्नै सकिनँ । मिठो लेख्ने कला पनि सिक्नु पर्नेछ । मेरो हजुरबा पनि गाउँका पंण्डित थिए । बा पनि पंण्डित । मेरो पुस्ताका चाहिँ सरकारी सेवी भयौं ।’
अहिले आएर सहसचिव मित्रभित्र ‘ब्रह्मतेज’ जागरण भएछ ।
‘कोरोना भाइरस त निकै दार्शनिक जस्तो लाग्यो मलाई त । यसले मानिसको जिन्दगी, बानी, व्यहोरा, विगतलाई सोच्नका धेरै नयाँ कुरा सिकाएको छ’, मित्र भन्दै थिए ।
‘आजको लकडाउन डायरीमा के विषय लेख्दै हुनुहुन्थ्यो ?’, बीचमा आएर प्वाक्क प्रश्न राखिदिए ।
‘कतै हाम्रो कुराकानी नै डायरी बन्ने हो कि ?’, सहसचिव मित्रले हँसिमजाक गरे ।
‘तपाईंसँग एकपटक पशुपतिनाथ, विश्वनाथ, मुक्तिनाथ र जगन्नाथ यात्रा गने इच्छा छ । जागिरबाट अवकास दिएपछि पेन्सन पट्टा बनाएर तीर्थ यात्रा जाने हो’, मित्रले इच्छा राखे ।
‘हुन्छ, हुन्छ । म तपाईको तीर्थयात्राको इच्छा पुरा गराइदिने जिम्मेवारी मेरो भयो’, मैले भनेँ ।
म कुरा छोट्याउन खोज्दै थिएँ, मित्र अझै गन्थन गर्न चाहन्थे । वल्र्डलिंकको इन्टरनेटले धोका दियो, हाम्रो कुराकानी बीचमै काटियो ।
फोन काटिएपछि एकपछि मनन गर्न थालेँ । सनातनशास्त्रले भनेको छ, नराम्रोभित्र पनि राम्रो र असल कुरा हुन्छ । लकडाउनले मानिसलाई म को हुँ, मेरो कर्तव्य के हो, अबका दिनहरु कसरी बिताउने होला, विगतमा के गरेँ, अब कसरी अघि बढ्ने ? इत्यादि तर्कहरु सबैको मनमा उठाइदिएको छ ।
आज पनि नेपालनाम्चाका सम्पादक अशोक सिलवालजीको गाली खाने भएँ । ‘तपाईं काशी जानु पर्ने, कता कुतीको बाटोतिर लागेको भन्या’ भनेर छेड हान्ने भए ।
यसमा मेरो दोष होइन, मोवाइलको दोष हो, सहसचिव मित्रको फोन आउँदा नउठाउन पनि भएन । कुरा गरेँ । लामो भयो । के गरौं भनेर प्रष्टकरण दिनु पर्ला ।
आजको डायरीमा ब्राह्मणको कुरा होइन, राईको कुरा लेख्ने हो सम्पादकज्यू । ब्राह्मणको प्रश्न त धर्मसभाको बैठकले निर्णय गर्छ ।
आज म मेरो दुई ‘राई’ गुरुका बारेमा डायरी लेख्छु ।
दुईजनाको बारेमा लेख्दा लामो हुन्छ, एकजनाको आज, अर्कोको पछि कुनै दिन लेख्नु भनेर भन्नुहुन्छ तपाईले सम्पादकज्यु । लौ त, तपाईको कुरा मानेर एकजनाको बारेमा लेखौं त ।
मेरा जीवनमा दुई जना राई गुरु छन् । एकजना काले राई (स्वामी प्रचन्नाचार्य)ं । अर्को लालदेउसा राई । काले राई बैकुन्ठ पुगिसके । उनका बारे अर्को दिन ब्रम्हसाक्षात्कार गरौंला ।
आज लालदेउसा राईबारे मात्र लेखौं ।
काले राईको पाउँमा चरण ढोग गरेको थिएँ । तर, लालदेउसा राईलाई अर्धनमन गरी हात जोडी नमन गर्ने गर्थें र अहिले पनि भेट हुँदा शीर झुकाएर नमन गर्छुृ ।
काशीबाट काठमाडौं फर्केपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्न थालेपछि भेट भएका लालदेउसा राई गुरुले आँखा चिम्म गरेर कक्षा कोठामा आमसञ्चारका सिद्वान्त पढाउने गर्दथे । प्रवीणता प्रमाणपत्रतहदेखि एमएमसम्म पढ्दा राई गुरुसँग कम्युनिकेशनका सिद्धान्त विषय पढियो ।
गुरुकुल संस्कारबाट एक्कासी कलेज यात्रामा आए पनि मैले गुरुप्रतिको सम्मान, संस्कारका कारण सबैं गुरुसँग विनम्रता, आज्ञाकारिता अवलम्बन गरेँ । तर, कलेज जिन्दगीमा गुरुहरुसँग नजिक भएकोमा साथीहरुले गुरुको चाकडी गरेको भनेर मेरो खिस्सी उडाउँथे ।
जसले खिस्सी उडाए पनि आफ्नो संस्कार नछोडी मलाई पढाउने गुरुप्रतिको श्र्रदा हिजो पनि र आज पनि उस्तै छ । पत्रकारिता विषयमात्र होइन, अन्य विषय पढाउने गुरुलाई मनैदेखि सम्मान गर्छु ।
कलेजमा पढ्दा मलाई पढाउने गुरुहरु सबै ब्राह्मण र क्षेत्री थिए । तर, राई चाहिँ एक्लो लालदेउसा मात्र थिए ।
किन हो कुन्नि, लालदेउसा र मेरोबीच आत्मियता बढ्यो । मैले भेट्दा ‘गुरु ! म भरत’ भनेर नजिकै शीर नमन जान्न जान्थेँ । राई गुरुले धर्मराज थापाले गाएको गीत ‘सल्यानटारको गोरुले पालुङ टारको विऊ खायो, कान्छी ल्याउँदा जेठी जिल खायो’ को भाका हालेर सम्झने गर्दथे ।
राई गुरुले पत्रकारिता पढाएका सयौं विद्यार्थी अहिले मुलधारको पत्रकारितामा छन् । कोही लेखक–स्तम्भकार छन् । कोही अन्तर्राष्ट्रिय स्तरमा पुगेका छन् । गुरु अहिले पनि रत्नराज्यलक्ष्मी क्याम्पसमा बेला–बेलामा झुल्किनु हुन्छ । सायद अहिले पनि उनी एमए तहका विद्यार्थी पढाउनु हुन्छ ।
उमेरको के कुरा ! अहिले जोश युवाको छ । रानीवन जाने बालाजुको पाखादेखि रत्नराज्यलक्ष्मी क्याम्पससम्म पुग्ने गुरु अहिले पनि हिँड्दै छन् ।
लालदेउसाको पढाउने शैली अजीव छ । आँखा चिम्म गरेर एकसुरमा फलाक्ने शैली शुरु–शुरुमा अनौठो लागे पनि पछिपछि त उनले बोलेको हरेक वाक्यहरु मन्त्र जस्तो लाग्थे ।
मास कम्युनिकेशनका म्याकवेलवाला सिद्वान्त हामीलाई सबै राईले दिएका मन्त्रहरु थिए । हरेक कक्षामा ‘म्याकवेल’को नाम दसौं चोटि उच्चारण गर्ने राई गुरु नेपाली पत्रकारिता पढ्ने छात्र–छात्राका ‘राई सर’ हुन् ।
काठमाडौं शहरभित्र प्रवेश गरेपछि पढ्ने, लेख्ने संगतीमा आएपछि भेटिएका दुई राई पात्र मेरो जीवनका सबैभन्दा सम्मानित पात्र हुन् ।
राई सरसँग पत्रकारिता पढ्दा धेरै विद्यार्थी रिसाएका थिए । कारण राई सरको विषयमा धेरै विद्यार्थीको कम नम्बर आउने केही त फेल हुने । परीक्षामा राई सरले भनेको कुरा लेख्ने पास, नलेख्ने कम नम्बर वा फेल समेत हुने भएकाले राई सरसँग केही विद्यार्थी रुष्ट पनि भएका थिए ।
आज लकडाउन डायरीमा राईलाई सम्झेर उनबारे लेख्न पाउँदा खुसी छु । राई सर पत्रकारिताका धेरै विद्यार्थीका ‘प्रिय राई सर’ हुन् ।
जीवनभर अध्ययन अध्यापनमा लागिरहेका राई सरको जन्म राईकुलमा भए पनि ब्राह्मण कर्म गरेर जीवन कटाउँदै छन् । उनको कर्म अध्ययन र अध्यापन हो । शास्त्रले ब्राह्मणले षडकर्मको व्याख्या गरेको छ । राई सरले षडकर्ममध्ये पहिलो दुई कर्म गरेर हामी जस्ता छात्रालाई लेखन प्रेरणा दिइरहेका छन् ।
राई सरबारे डायरीमा लेखेर सकिन्न । उनीबारे अनेकौं प्रसंग छन् । लकडाउनको मेसोमा राईको सम्झना आयो । यति लेखेँ । अहिले पनि मोवाइल बोक्दैनन् राई सर तर घरमा तारजडित टेलिफोनमा कुरा गर्न सकिन्छ राई सरसँग ।
अहिले पनि कतै आफ्ना विद्यार्थी भेट्दा राई सर पत्रकारिताको सिद्वान्तका कुरा गर्छन् । मैले पनि एक बर्षअगाडि भेट्दा ‘बेलाबेला म्याकवेलको मासकम्युनिकेशन थ्यौरीको पुस्तक हेर्ने गर्नु’ भन्न भुल्नुभएन ।
धन्य ! हाम्रा राई गुरु आफ्नो बिषय र सिद्वान्तमा अडिक पात्र हुन् । हतारको साहित्य हो पत्रकारिता भन्ने गुरुको बारेमा हतारमा सम्झना गरेर हतारमा लेखियो । जे लेखियो, राई सरलाई सम्झेर लेखियो ।
लकडाउन खुलेपछि राईसरसँग पनि भेट्नु पर्ला । सहसचिवको प्रश्नमाथिको बैठक र सिहदरवार पनि जानु छ ।
ए साच्चै, यो लकडाउन र कोरोना महामारी कहिले सकिने हो ?
‘पत्रकारले कहिल्यै पनि प्रश्न गर्न छोडनु हुँदैन ?’, राई सरले आइए प्रथम बर्षमा भनेका कुरा २० बर्ष भयो तर हामीले भुलेका छैनौं ।
हामी राई सरका आज्ञाकारी विद्यार्थी हौं । हामी प्रश्न गर्न छोडदैनौं, अहिले हामी आफैंलाई प्रश्न गर्दछौं ।
हामीले लकडाउन पालना गरेका छौं कि छैनौं ?
पालना गरेका छौं भने ठीक छ, छैन भने हामी प्रश्न गर्न नसक्ने र उत्तर पनि दिन नसक्ने पत्रकार हौं ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)