
चुरोट छोड्यो मित्रले, सय दियो दक्षिणा
ब्राह्मणपुत्र लकडाउन डायरी–३३
भरत शर्मा
सोमबार रुद्रलाई सम्झने बार हो । रुद्र अर्थात शिव ।
आइतबार रात्री विश्राम गर्ने समय घड्क्यो । मध्यरात हुँदा समेत निद्रादेवीको आशीर्वाद नभएपछि मन कताकता बरालिएको जस्तो भयो ।
गौशालाबाट गाई दौडिरहेको सपना देखेँ । आँखा उदाङ्गो हुँदा बाहिर उज्यालो भएको रहेछ । बिहानीपख त्यसरी व्युँझे ।
कम सपना देख्ने गर्छु तर देखेको कुरा सत्यमा रुपान्तरण हुने गरेका छन् । महामारीको रोगले च्यापेर २३ दिनदेखि अस्पतालमा बसेका एकजना मित्रले हिजो साँझ देहत्याग गरेछन् ।
हिजो नैं महामारीमा खुसी कसरी हुने भनेर डायरी लेखेको थिएँ । यो दुःखमा पनि खुसी नैं हुनुपर्छ भनेर मृतकको आत्माको शान्तिको कामना गदैं बैकुण्ठवासको कामना गरँे ।
मित्रका आफन्तसँग कुरा गरेँ । उनले भने, ‘२३ दिन अस्पतालमा उपचार गरेर १७ लाख ८० हजार रुपियाँको बिल बुझाएर पनि बचाउन सकिएन् ।’
त्यति नै बेला म श्रीमद्भागवत महापुराण अध्ययन गर्दै थिएँ । प्रथम स्कन्दको आठ अध्यायमा लेखिएको रहेछ, ‘संसारका सबै प्राणी कालको अधीनमा छन्, मृत्युबाट कसैले कसैलाई बचाउन सक्तैन ।’ युधिष्ठिर, गान्धारी, कुन्ती र द्रौपतीले कुरुक्षेत्र युद्धमा मरेका आफन्तको शोक गर्न लाग्दा भगवान कृष्णले सम्झाउनु भएको प्रसङ्ग रहेछ ।
‘शास्वत सत्य के हो भने चिन्ता लिएर केही हुँदैन । सरकारी सेवामा काम गर्ने सहयोगी मित्रलाई हार्दिक श्रद्रासुमन । बैकुण्ठ बास होस् । जति समय बाँचे, असल काम र आँखामा राख्दा पनि नबिझाउने भएर बाँचे’, मैले भनेँ ।
यो एउटा प्रतिनिधि घटना हो । महामारीमा यस्ता सयौंले आफन्त गुमाए ।
…
आज त्यति डायरी लेख्न पनि हात चलेको छैन । तर विगत ३२ दिनदेखिको नियमिततालाई खण्डित गराउन पनि भएन ।
नियमित डायरी अध्ययन गर्ने मेरा आदरणीय पाठकहरु छन् । हिजो साँझ डायरी प्रकाशनमा अलि ढिलो हुँदा आज डायरी पढ्न पाइएन भन्ने गुनासो समेत गरे । अलिकति ढिलो प्रकाशित भयो तर हिजोको डायरीमा खुसीको कुरा थियो ।
‘मानिसको जीवनमा खुसी अलि ढिलैं आउँछ’, एकजना नियमित डायरी पाठकले भने, ‘जीवनमा खुसी ल्याउन सत्कर्म मात्र एउटा सत्य रहेछ । मैले पनि यही अनुभव गरेको थिएँ । तपाईंले मेरो मनको कुरा लेखिदिनुभयो ।’
महामारीको समयमा लेखिने डायरीमा आफ्नो भोगाईलाई समाजसँम्ग जोडेर लेख्नु भन्ने नेपालनाम्चाका सम्पादकको आदेश पालना गर्दै लेख्न थालेको अहिले त म अम्मली नै भएको छु ।
मेरो एकजना मित्रले सोमबार बिहानै अनलाइन च्याटमा भने, ‘आज मेरो लागि महत्वपूर्ण दिन रहेछ । त्यसैले म आज एउटा वाचा गर्न चाहन्छु ।’ ‘
के वाचा हो ? कुरा स्पष्ट भएन नि । आठ बजेदेखि मेरो अनलाइन कक्षा छ, छिटो भन्नु न’, मैले भनेँ ।
उनले भने, ‘आज त अम्मलीहरुको अन्तर्राष्ट्रिय दिवस रहेछ ।’
‘मित्र, कुरो बुझिनँ, छिटो भन्नु’, भनेपछि उनले भने, ‘विश्व सुर्तीजन्य पदार्थ विरुद्वको दिवस ।’
म हाँसे ।
‘यस्तो, दिन बिहानै किन च्याट गरेको ?’
‘तिमी मेरा कलेजदेखिका पुराना मित्र हौ । रत्नराज्य लक्ष्मी क्याम्पस पढ्दा तिमीले मैले धुमपान सेवन गर्दा गाली गरेको दिन सम्झदै छु यार । तिमीले खाजाको पैसा तिर्ने बेला चुरोटको पैसाचाहिँ म तिर्दिनँ भनेको पनि मलाई याद छ ।’
‘मित्र, अहिलेसम्म पनि अम्मली नैं छौं तिमी ?’
‘यो नशा हो यार नशा ! हरेक बर्ष आउने दिवसमा छोड्छु भन्छु तर सक्दिनँ । एकपटक त घरकी देवीले राक्षश रुप देखाएपछि छोरीको खुट्टाको पानी खाएर छोडेको पनि हो तर लागेको बानी ! हप्ता दिनपछि लुकेर शुरु गरे । अहिले पनि तलतल लागेको बेला घरबाट भागेर भए पनि छोडेको छैन । आजबाट चाहिँ छोड्नै प¥यो भनेर तिमीलाई सम्झेको यार । चुरोट, सुर्ती छोड्न सक्ने कुनै मन्त्र छैनन् भन्या ? तिम्रो मित्र आजदेखि चुरोट र सुर्ती छोडन चाहन्छ । घरकी देवी, उत्तराधिकारी छोरा, इष्टमित्र, ससुराली, मावली कोही पनि खुसी छैनन् मेरो सुर्ती सेवन देखेर । केही दिनअघि ससुराली गएको सालीले ‘भिनाजु पनि !’ भन्दै मेरो नजिक आउँदा ठुस्स परिन् । सायद, मैले खाएको सुर्तीको बासनाले हुनुपर्छ भन्ने लाग्यो । अहिलेसम्म त हिसाब गरेको छैन, १५ बर्षको बीचमा कति रकमको सुर्ती सेवन गरेँ होला भनेर ? तर, के गर्नु लागेको बानी छुट्दैन । ए, साच्चै, मैले मेरो मात्र कुरा गरेँ । तिमीले त चुरोट सुर्ती खाने त गरेका छैनौं नि ? तिम्रो संगतीका साथीहरु पनि सुर्ती सेवन गर्ने छन् नि ?’
‘हो मित्र, मेरा कयौं साथीहरु सुर्ती सेवन गर्छन् । मैले पनि २०७२ साल एक बर्ष चुरोट खाएँ । त्यसबेला म पनि लुकेर खान्थेँ, एक्लै र एकान्त ठाउँमा । तर, अहिले छोडेँ । पछिल्लो समय मैले मेरा एकजना मित्रसँग मसिने गाउँ हाइकिङ गएको दिन ‘टनिक’ सम्झेर पिएको थिएँ । अब अर्को पटकको हाइकिङमा फेरि सेवन गर्नसक्छु ।’
मित्र यसरी हाँसे, मनमित्रका दुःखहरु सबै हराउने गरी ।
‘भरत, २०७३ सालको महाशिवरात्रीको मृगस्थलीमा बसेर एक बट्टा तानेको चाहिँ भुलेको ?’
‘त्यो पनि हो, सत्य कुरा भुलेर पनि भुल्न सकिन्न ।’
‘महामारीको बेला छ, घरभित्र बस्दा–बस्दा दिक्क भएको बेला बेलाबेलामा निकोटिन तान्दाको आनन्द बैग्लै हुन्छ यार । तिमीले अनुभव गरेका छैनौं होला ।’
‘हिजो सरकारले सुर्तीजन्य पदार्थमा कर थप गरेपछि चुरोट, सूर्तीको मूल्य कति पुग्यो ?’, मैले कुरा मोडेँ ।
‘यो टनिक औषधि हो, हामीले औषधि किन्दा मूल्य नसोधे जस्तै अहिलेसम्म सुर्तीजन्य पदार्थ खरिद गर्दा मूल्य सोध्ने गरेको छैन, मित्र ? तर, मैले पनि आजबाट खर्च कटौतीमा लाग्ने विचार गरेको छु । छोरो १० बर्ष भइसक्यो । पोहोर साल फेरि छोरी जन्मिएकी छिन् । परिवार पनि चारजना भइयो । पर्यटन व्यवसाय शुरु हुने कहिले हो कहिले ? सिन्धुलीतिर गएर खेती गर्ने सोच छ । अर्गानिक तरकारी खेती गरेर काठमाडौं सप्लाई गर्ने योजना छ । छोरा बोर्डिङ स्कुल पढ्छ । छोरीलाई पनि अर्को बर्षपछि मन्टेश्वरी राख्नु पर्ला । खर्चले नपुग्ने भयो । भोज र मोज गर्ने दिन खुम्चिदै छ मित्र । परिवार र मित्रहरुको अनुरोधपछि आजदैखि मैले सुर्ती सेवन नगर्ने वाचा गर्न लागेको हो ।’
कलेजमा सँगै पढेका पर्यटन व्यवसायी मित्रले गरेको निर्णयमा मैले बधाई भनेँ र अब मेरो अनलाइन कक्षा छ भनेर च्याट अफ गर्न खोजेँ । तर, मित्रले मानेनन् ।
‘पर्ख कुरा बाँकी छ, म अब भिडियो कल गर्छु । घरको थालमा एकबट्टा चुरोट, सुर्ती राखेको छु । तपाईले मेरो नाम र गोत्र लिएर सङ्कल्प पढ्नुप¥यो, आजदेखि मैले चुरोट छोडेको घरकी देवी र छोरा समेत साक्षी बसेर गर्नुपर्छ रे ।’
मित्रको कुरा सुनेपछि म हाँसे ।
‘यस्तो कर्मकाण्ड विधिले छोडन सकिन्न मित्र ।’
‘होइन, गाउँबाट पनि बाआमाले यस्तो सल्लाह दिनुभयो । मित्र, तिम्रो दक्षिणा पनि पठाउँछु । इसेवा आइडी छ ?’
‘मित्र, मलाई दक्षिणा चाहिँदैन । तिमीले चुरोट छोड्नु नै मेरो लागि दक्षिणा हो ।’
‘त्यो तिम्रो मप्रतिको माया हो । तर, हुँदैन म एक बट्टा चुरोट खरिद गर्दा जति लाग्छ त्यही बराबरको रकम तिमीले सङ्कल्प पढिदिएपछि दक्षिणास्वरुप पठाउँछु ।’
मित्रले इसेवाबाट एकसय एक रुपैयाँ पठाए । कुन चुरोट र सुर्ती बराबरको रकम पठाए ? थाहा भएन ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)