
कौशीमै कमलपोखरी
जनार्दन अर्याल
ठमेल, काठमाडौं ।
दोश्रो लकडाउनको पनि अलिअलि सदुपयोग भएको मान्नु पर्छ ।
मेरो १८ सय ३८ फिटको कौशीमा कागती, चाइनिज रायो, घिरौँला, लौका र गोलभेँडा फलेका छन् । तरकारीभन्दा फूल धेरै छन् । सानो भाँडोमा राख्न मिल्ने । धेरै राख्न पनि पाइने । सुटुक्क भन्नुपर्दा कुनै पनि विरुवामा धन खर्च गरेको छैन । अधिकाँश साथीहरुको घरबाट मागेर त कुनै सुटुक्क ल्याएको । कौशीपछाडि तेजपातको झ्याम्म परेको ठूलो रुख छ । बेलाबेला साथीभाइलाई पात चुँडेर बाँडिन्छ । असनबाट किनेर ल्याएको गुर्जोको डाँठ पल्हाएर तीन हात जति भएको छ ।
तपाईंहरुले कोठामा सजाउने गरेको लक्की वेम्बो (बाँसको एक प्रजाती) माटोमा गाडेको सुन्दा अचम्म लाग्छ होला । मेरो वानी यस्तै छ, हुँदैन भनेको काम गर्ने । मलाई सिजनल फूलहरु धेरै मन पर्दैन । त्यसैले बाह्रमासे धेरै छन् । धनियाँ तपाईंहरु बजारमा किन्नुहुन्छ । म अग्र्यानिक धनियाँ प्रयोग गर्छु । तनहुँसुरको डाँडोबाट जंगली धनियाँको विरुवा ल्याएको । अहिले गमलाभरी छ । सारै कडा बास्ना आउँछ ।
तुलसीको विरुवा पनि म स्वर्गद्वारी जाँदा ल्याएको थिएँ । अंग्रेजीमा भन्ने हो भने मिन्टको स्वाद आउँछ । विहानको चिया आफ्नै कौशीको अम्बाको पात, तुलसीको पात र तेजपातको झोल । केहि किन्नै नपर्ने । क्या मज्जा । वेगनवेलीका दुइवटा विरुवा छन् । एउटा रातो फुल्छ । अर्कोमा तीन रंग फुल्छ । नयाँ कुरा के भने पोहोर साल साथीको घरबाट पोखरीमा फुल्ने कमलको सानो विरुवा ल्याएर लुगाधुने बाटामा राखेको । यसपालादेखि फुल्न थाल्यो ।
मेरा खेल्ने साथीहरु पनि छन् । कौशीमा गएपछि एक जोडी भँगेरा कुममै बस्न आउँछन्, चारा दिने गरेकोले होला । तीन वर्षअगाडि कान्छो छोरोको जन्मदिनमा उसका साथीले उपहार दिएका डल्ले (जापानिज स्पिच) छ । बल खेल्न सारै मनपराउँछ । त्यसैलाई भनेर खानेकुराको छुट्टै जोहो गर्नु पर्दैन । हामीले जे खायो, त्यहि खान्छ । फलफूलमा केरा, अम्बा र आँप उसका प्रिय छन्, दहि त कतारै सक्छ । भनेको कुरा मान्छ । कौशीमा जो उक्ले पनि पिङमा तानेर लगेर हल्लाइदे भन्छ ।
यिनै साथीहरुसँग खेल्दाखेल्दै दिन बितेको पत्तै हुँदैन ।






