मीठो भए पनि नबोल्नुहोस्, मुस्कानले मात्र जवाफ दिनुहोस्

बाटो अनुसारको गन्तव्य

विष्णु पादुका
कागकोट, डोल्पा

एक्लो हुनु राम्रो हो । परिक्षण पर्याप्त हुन्छ । समस्या त साथी पो हुन् । प्रयत्न पर्याप्त गर्दा केही फरक पर्दैन । गेम जति लामो होस्, गोल नभएसम्म हुटिङ्ग आउँदैन । जित हाँसिल हुँदैन । सपनाहरू जब सार्थक हुन्छन् ।

तिनीहरूले पसिना बगाउन सिकाउन् । चमत्कार देखाउने त जादुगरले मात्र हो ।

सुरक्षाको एक मात्र उपाय छ । त्यसमा तपाईंको पनि आँखा नपरोस् । आफू सुध्रेको प्रमाण अरुलाई दिनु जरुरी छैन । आँखा चिम्लँदा पनि हामीलाई थाहा छ ,हरेक सुन्दर फूलको नजिक काँडा हुन्छ ।

जीवन कठिन लाग्नुमा एउटै कारण छ । हामी अरुको देख्छौं । सुख होस् या दुख । अभाव होस् या सम्पन्नता । स्कुले परिक्षा होइन जिन्दगी जहाँ एकै खालको प्रश्न होस् अनि जवाफ चोरेर मिलाउन सकियोस् । तपाईं र संसारका अरबौं मान्छे बीच समानता छैन । भोक प्यास निद्रा र मैथुन मात्र सृष्टिका साझा आवश्यकता हुन् । त्यसको ब्यवस्थापन समेत हरेक ब्यक्तिले भिन्न भिन्न तरिकाले गर्न सक्छ । त्यस बाहेक दुनियाँमा केही देख्नु हुन्न भने त भन्नू केही छैन । जीवनलाई त्यसैको बृत्तमा घुमाउनमा खुशी हुनुहुन्छ भने पनि केही छैन । त्यो भन्दा बाहिर निस्किनु हुन्छ भने दुनियाँ भिन्न छ ।

संसार विकल्पको फराकिलो मैदान हो । अंहकार, लोभ, मोह, क्रोध र कामेच्छा मानसिकता बाट एकैछिन निकाएर अगाडि राखी हेरौं । पाँच पात्रको संगत र वर बसेको एक्लो आफू हेरौं । आफू रित्तो एक्लो र खाली महसुस हुन्छ । ती पात्रको चाल हेरौं । हाम्रो मनोरञ्जनको शसक्त माध्यम हुन्छन् । कोहि जोकर लाग्छन् ।कोहि खलनायक । कोहि इतिहासले धिक्कारेका पात्र जस्ता देखिन्छन् । कोहि ढुलमुल चरित्रका । सावधानी र दुरी मिच्न सबै तयारीमा देखिन्छन् । जसको प्रिय बासस्थान हाम्रो मन मस्तिष्क हो । उनिहरु त्यहाँ प्रवेश गर्न लालायित मात्र होइन युद्धरत भएको देख्नु हुन्छ तपाईं । अनि तपाईंलाई महाभारतको युद्ध देखि पहिलो दोश्रो विश्वयुद्ध समेत साना खेल लाग्छन् । बच्चामा खेलेको रुमाल लुकाइ जस्तो । तपाईंलाई हराउन सबै एक जुट भएर आइने छन् । एक एक गरेर आउने छन् । कोमल हुनेछन् । कठोर हुनेछन् । तर तिनीहरूको प्रवेश रोकिन्जेल तपाईं एक महान हुने परिक्षामा हुनुहुन्छ । तपाईं उनिहरुको प्रवेश रोक्न बलियो ढोका निर्माण गर्न सक्नु हुन्छ । आँखा शरीर र इन्द्रियमा बलियो तालाबन्दी गरेर । सजिलो हुने छैन । तपाईं यस मेसोमा भ्रमित हुन सक्नु हुन्छ । आफैसँग भएको होशको हतियार गुमाउन पनि सक्नु हुन्छ । समाज भनिने अरिङ्गालको गोलोबाट त्रास ,डरको आक्रमणले पागल बनाउन र तपाईंको हत्या गरेर स्वभाविक मृत्यु सावित गर्न पनि सक्छ । हो, सावधानी तपाईंको सुरक्षा कवच हो । जसलाई तपाईं निद्रामै हुँदा पनि गुमाउन पाउनु हुन्न ।

तपाईंको म्यानमा दुइटा धारिला हतियार आइसकेको हुनुपर्छ अब । मौनता र मुस्कान । मुस्किल देखेर मुस्काउन र आवेगसँग मौन हुन सक्नु भएमा तपाईं एक श्रेणी चढी सक्नु भयो ।

मीठो भए पनि नबोल्नुहोस् । मुस्कानले मात्र जवाफ दिनुहोस् । मुस्कानको जादु फूल जस्तो हो । गमलामा र जंगलमा, भिरमा र तलाउमा जहाँ होस् फूललाई छि भनेको सायदै देख्नु भएको होला । तपाईं आफ्नो मुस्कानको फूललाई स्पर्श गर्न र बासना सुँघ्न बाट जोगाउनु होस् । त्यसको सुवास केवल आफुले मात्र लिनुहोस् । स्वार्थको अन्तिम बिन्दु प्रयोग गर्नुहोस् यो मामिलामा ।

अब तपाईंमा बिस्तारै दया प्रवेश गर्छिन् । तपाईंमा अनुभव हुनेछ । तपाईंको बोली सुन्न नसक्नेले सुन्दैछ । तपाईंलाई देख्न नसक्नेले पनि देख्नेछ । तपाईं भित्र प्रवेश गरेकी दयाको प्रभावले तपाईंमा आउने आनन्दको बर्णन तपाईं स्वयं गर्न सक्नु हुन्न । त्यो तपाईंको दोश्रो चरण हो । जहाँ बसेर तपाईं संसार नियाल्दै हुनुहुन्छ केवल रमाइलो मात्र देख्दै हुनुहुन्छ । तपाईं बसेको त्यो प्रतिकुल भूगोल विस्तारै अनुकुल हुन थाल्छ ।

यहीँनेर अर्को गौँडो छ । तपाईंको अवस्थालाई मान्छेहरू सशर्त कथन बनाउन आउनेछन् । तपाईंलाई तत्काल भगवान बनाउने झुन्ड आउन सक्छ । यो खतरा यति भयावह छ कि मानिसहरू ज्यान फालेर तपाईंको पछि पर्ने छन् । तपाईंले धेरै अघि बहिस्कार गरेर संगतले अनेक रुप लिएर आउने छन् । तपाईं महात्मा , तपाईं बुद्ध , तपाईं मोहमद , तपाईं सत्यसाई, तपाईं जिसस क्राइष्ट अझ अरु अरुका अवतारका रूपमा तपाईंलाई उचाल्न क्रेन लिएर पुग्ने छन् ।

दया आएर तपाईंको मुस्कान र मौनतालाई विदाइ दिइन् भने तपाईंको बाटो टुङ्गियो । अँध्यारो सुरुङ्गको प्रवेशद्वारमा पुगेर । दया एक रुपान्तरणको चरण हो । एक मार्ग दर्शक मात्र हो गन्तव्य हुँदै होइन । त्यसैले यो कठिन यात्रामा बलियो मार्गदर्शक मिलेकोमा खुशी नै हुनुहोस् । तर उसैको प्रेममा नलठ्ठिनुहोस् । प्रेम गर्ने चरण आउँदैछ । उकालोमा हुनुहुन्छ थकाइ लाग्नु स्वभाविक छ । शीतल चौतारी लिएर धैयता आउनेछ । स्वागत गर्नुहोस् । अंकमाल गर्नुहोस् । आत्मसात गर्नुहोस् । तपाईंसँग चार बलिया साथीहरू भैसके । मौनता, मुस्कान, दया र धैर्यता ।

चार साथीको संगतले तपाईं बलियो भैसक्नु भएको छ । अब तपाईंलाई दिन रात जस्तो र रात दिन जस्तो लाग्न सक्छ । कुनै पनि रात निद रहित हुनसक्छ । अबेर सहि , तपाईंको मन मस्तिष्कका नवीन र सकारात्मक विचार उम्रने छ । त्यो विचार भोलिदेखी फैलिने छ आफैं भित्र । आउने हरेक दिन चुनौती र सफलता बोकेर आउनेछन् । चुनौती यस कारण कि तपाईंको चर्चा तपाईंले थाहै नपाई भैसकेको हुनेछ । तपाईंको सानो भन्दा सानो भूल पनि गल्ती मात्र होइन अपराध सावित हुनेछ । त्यसैले तपाईंको असल र अमुर्त साथी सावधानीलाई कुनै पल बिर्सन तपाईंलाई छुट छैन ।

यो बेला तपाईं आफ्नो बुद्दी र विवेक केवल आफ्नो लागि प्रयोग गर्नुहोस् । अझै तपाईंलाई स्वार्थी भएर पुगेको छैन । आफ्नो कुरा अरुलाई दिन सजिलो छ । तर त्यो दिएको कुरा कति प्रयोगमा आएको छ त्यो देख्न सक्ने हुनुभएको छैन तपाईं । त्यसैले स्वार्थी भैरहन बाध्य हुनुहुन्छ ।

जुनसुकै पेशा ब्यवसायमा सन्तुष्टि छैन । आर्थिक आय व्ययमा सन्तुलन छैन । अपेक्षाकृत काम कतै भएको छैन । ऋण थपिएर सबैलाई तनाव छ । यो एक साझा समस्या हो । सानो बस्तु भएपनि उत्पादन हुन नसकेको देशको बिकराल समस्या छ । हरेक क्षेत्रमा समस्या थपिदा छन् । तर यसको विकल्प छैन त ? केवल निराशा मात्र छ त यत्रतत्र ? त्यसो हुँदै होइन । सामान्य रूपमा बुझौं , हामी दगुरेर पुग्ने पाँच मिनेटको बाटो हाम्रो लागि किन लामो हुन्छ ? हाम्रो शारीरिक अस्वस्थताका कारण । आज हामी भौतिक अस्वस्थता मात्र होइन मानसिक र बैचारिक अस्वस्थ हुनुको अवस्थामा गुज्रिएका छौं । दगुरेर पुग्ने दुरि हिडेर पनि त पुग्न सकिन्छ । नसके बाटोमा केही बेर विश्राम गर्न सकिन्छ । जहाँ छौं त्यहाँ देखि थोरै तल झर्न पनि सकिन्छ । सामान्य यथार्थलाई हामी स्वीकार गर्न सक्दैनौं । अनि जताततै अँध्यारो मात्र देख्छौं । रात अवस्य सकिन्छ । भोलि उज्यालो अवस्य हुन्छ । रातसँगै आफू नै सकियो भने भोलि कस्ले देख्ला ?

कुनै पनि पेशा ब्यवसाय धरासायी हुनबाट जोगाउनु पहिलो प्रार्थमिकता हो । आर्थिक रूपमा मितब्ययी हुनु पहिलो आवश्यकता हो । पेशा व्यवसायमा बिविधता दिन र त्यसको बैकल्पिक सञ्चालनका लागि पनि चिन्तनमनन जरुरी छ । जस्तोसुकै समस्या भित्र पनि समाधान हुन्छ नै त्यो देख्न नसक्दा सम्म हो हामी अल्मलिने । वर्षौंदेखिको अनुभव पनि असफल भैरहेको देखिन्छ । त्यसको एउटा गहन कारण छ हरेक कुराको निश्चित आयु हुन्छ । बस्तु ,प्रविधी र विचारको समेत आयु हुन्छ । हामी दोषको मात्र ग्वाला भएका छौं । युवा पिँढी बिदेशिनु पहिलो र अन्तिम कारण भनेर हामी आफ्नै समस्या गिजोलिरहेका छौं । राजनीतिक नेतृत्वमाथी दोष थोपरेर हामी हलुका हुन खोज्दै छौं । तर त्यो कुरा आधा मात्र सत्य हो । अझ आधा भन्दा कम । सकारात्मक सोच राखेर , धैर्यतासँग उत्पादनसिल क्षेत्रमा लाग्नेका कथा सुन्न देख्न पढ्न नै दिएको छैन आजको सञ्चारले । अनुत्पादक क्षेत्रमा अनावश्यक बहस भएको छ । हामी श्रोता दर्शक भएर मनोरञ्जन लिँदै क्षणिक रूपमा पीडा भुल्दै छौं ।

आखिर कहिलेसम्म ? आन्तरिक रूपमा हामी आफुभित्र आफुलाई नखोज्दा सम्म यो क्रम भंग हुनेवाला छैन ।

संसारमा आत्मनिर्भरता एक यस्तो आवश्यकता हो जो अपरिहार्य छ । त्यसलाई संकुचित पार्दै लगेर हामी हरेक कुरामा पर निर्भर भएका छौं । आफैंले गर्न सक्ने काम हामी गर्दैनौं । सेवा र नगदले मेहनतलाई विस्थापित गर्‍यो । आर्थिक उपार्जनको लागि जो कोहि सहज र छोटो मार्ग खोज्न थाल्यो । सूचना र प्रविधिको विकासले पहुँचमा नहुने वर्ग निकै पछि पर्‍यो । पहुँच पुग्नेहरु अस्वभाविक रूपमा प्रगतिशील देखिए । यसैको आडमा भएका यावत कुराको प्रभाव आज देखिदै छ ।

सबैदिन सुनौलो भोलि बनाउन आएका आजका अवसर मात्र हुँदैनन् । कति दिन त हिजोलाई बिर्साउन पनि आएका हुन्छन् । समयको पनि आयु हुन्छ । कति समय आफैमा दुर्घटित हुन पुग्छ । भुकम्प घर भत्काउन आएको हुँदैन तर आफ्नै कमजोरीले भत्किएको हुन्छ । समयको दुर्घटनामा हामी घाइते हुन्छौं । किन कि हामी निकै कमजोर छौं समयको तुलनामा , अन्य प्राकृतिक कुराको तुलनामा । त्यसैले आइपर्ने सबै दुखसँग सामना गर्न उदार विचारको आवश्यकता हुन्छ । कसैको उपदेशले हासिल हुने कुरा होइन उदारता । आफैमा आफ्नै लागि आफैले संचारित गर्ने कुरा हो ।

कुरा मात्र होइन ब्यवहारत: कुरा नितान्त एक व्यक्तिमा आएर ठोकिन्छ । हरेक व्यक्ती जसले एकान्तलाई सहर्ष स्विकार्छ आफुलाई तिखार्छ त्यसले पाउने सफलता कसैको नजरमा नपरे पनि उसले अनुभुति गर्छ नै । यसरी लेखिरहँद पढ्नुहुने पाठकलाई लाग्दो हो यो व्यक्ति असामाजिक कुरा गर्दैछ । तर यो यथार्थ हो । तपाईंलाई उचाइमा उठाउने हातहरु नै तपाईंलाई एक झट्कामा धुलीमाट पार्न सक्छन् । यस्ता कैयौं उदाहरण छन् । जब तपाईं एक्लै उठ्नु हुन्छ त्यसमा कसैको योगदान न्यून भन्दा न्यून हुन्छ । तपाईंले प्राप्त गर्ने मुकाम तपाईंका लागि केही लामो र स्थिर हुन सक्छ । त्यसैले एक्लो पनको वकालतमा हुन्छन् अधिक मानिस तर कठिनता र चुनौतीको सामना गर्न नसकेपछि उनिहरु सामाजिक हुन विवश हुन्छन् । सामाजिक हुनु भनेको मान्छेका हरेक क्रियाकलाप स्विकार्नु हो । प्रविधी र व्यवहार अङ्गिकार गर्नु हो । एक्लो हुनु भनेको घर छोड्नु होइन । जंगल पस्नु भनेको होइन । परिवार त्याग्नु भनेको पनि होइन । एक्लोको अनुभूतिमा डुब्नु भनिएको मात्र हो । आफैंलाई बन्धनमा राखेर नचाउने प्रवृति ( संगत ) देखि मुक्त हुने भनिएको हो ।

उठाएको कुरालाई सरल र सलल मात्र पढियो भने यो जोगि हुन लागेछ या अनावश्यक आदर्श छाँट्दै छ भन्नु होला । तर कहिल्यै पनि गंभिर भएर आफू भित्र आफुलाई खोज्नु भएको छ भने पक्कै यस्तो सतही प्रतिक्रिया आउने छैन । मन र मस्तिष्कको परिवर्तन गर्न त्यति सजिलो छैन । बाहिरी तथा आन्तरिक वातावरण यति धेरै प्रदुषण छ कि हामीलाई त्यसले आक्रमण गरिरहन्छ ।

तपाईं आफ्नो स्वार्थको पाइताला टेकेर उभिनु भएको छ । न लड्खडाउनु होस् । तपाईंले असल साथी कमाउनु भएको छ । तिनीहरुलाई जोगाउँदै अझ थप्नुहोस् । साथीको यात्रामा भेटिने र यात्रामा नै छुट्ने परिभाषा फेर्नु छ । आफैंलाई जिवन्त राख्न र चोला फेर्नुपर्दा समेत दृढताको आभास हुने दुख दर्दलाई सामान्य रूपमा लिन सक्ने बल दिने साथीको रूपमा लिउँ । हाँस्ने बोल्ने चिया खाजाका पर्मले कमाएका साथी भन्दा वर अलिकति भित्र रहेका त्यस्ता साथी केवल तपाईंका मात्र हुन् । एक्लो महसुस गर्नै पर्दैन । आँखा खोल्दा भन्दा चिम्लँदा आनन्द आउँछ । अनि खुशी मात्र हुनेछ यत्रतत्र । तपाईंका शत्रुको त बंश नासिएको धेरै भयो । जस्तो कुरामा पनि सकारात्मक भैसक्नु भएको छ अब । कसैको कुरामा कुनै असर पर्ने छैन । यो तप हो, साधना हो भन्लान् मान्छेहरू तर होइन यो केवल स्व दर्शन हो । बुद्धलाई पढेर कोहि बुद्ध भएको उदाहरण छैन । धार्मिक ग्रन्थ ,साहित्यका पुस्तक , मन परेका र मन पराउने साथी, प्रेमी – प्रेमीका, आमा -बा , दाजुभाइ र छोराछोरीका पाठले त दुनियाँमा धेरै मान्छे सुध्रिएका छन् । तर सोच्नुहोस्- हामीसँग सबै छन् । फेरिपनी हामी किन दुखित, किन असन्तोषमा किन तनावमा ?

आवश्यक छैन त आत्म चिन्तन र स्वदर्शन ? संसार शक्ति सत्ता सम्पत्ति र सुन्दरताको दास हो । दासहरुको दुनियाँ विशाल छ । हामी दास हुने कि मालिक हुने हाम्रै हातमा छ । भौतिक सुविधाले जहिल्यै दासत्व स्विकार्छ । मन मानसिकता र आत्माको चिन्तनले अरु सबैकुरालाई फगत लत भन्ने चिनाउँनेछ । लत देखि मुक्त गराउँनेछ । सजिलो बाटोमा दगुरेर कुबेलामै दुर्घटित हुने कि अफ्ट्यारो बाटोमा अलिकति सावधानी सहित उक्लेर टाढाका दृश्य नियाल्दै आनन्दित हुने सबैको हातमा रोजाइका लड्डु छन् । शरण त आखिर पर्नु छ । आफ्नो अन्तर आत्माको शरण पर्ने कि अरुकै छायामा शरणार्थी भै रहने ? विकल्प सधैं हुन्छन् । सबैतिर हुन्छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button