पिताजीले देखाउनु भएको लप्सीको मायाले मेरो हृदयभरी गहिरो छाप पारेको छ

सम्झनाः बाको प्यारो लप्सी

देवशंकर पौडेल

वि.सं. २०६८ सालको प्रसङ्ग हो । बा-आमालाई बुढेसकाल लागिसकेको थियो । असी बर्ष पार गरिसक्नु भएर बुढौतीमा देखापर्ने समस्याहरू देखापर्न थालेका थिए । रामेछापको नजिकका अस्पताल काठमाण्डू हो । कान्छो भाई घर गएको थियो । बा-आमालाई काठमाण्डूमा लगेर उपचार गर्ने सल्लाह भयो । भाईले बाआमालाई विस्तारै हिंडाएर सिरिसेबाट सार्वजनिक बस चढाएर काठमाण्डू ल्याउँदै थियो । बेलाबेलामा फोन पनि गर्दै थियो । चरिकोट आइपुग्दा बस लागेर बा इन्तुनचिन्तु हुनुभएछ । बसबाट ओरालेर त्यहाँ प्राप्त सामान्य उपचार गरेर अर्को सानो गाडी चढाएर लिएर आयो । धुलिखेलमा आइपुग्दा बा-आमा दुवैजना सिकिस्त जस्तै हुनु भएछ । धुलिखेल अस्पताल झारेर भर्ना गरेर भाईले बा आमाको अवस्था खराव भएको जानकारी फोनबाट दियो ।

आपतको समयमा मैले दीपक पौडेल (भीरपानी) लाई फोन गरेर आफूलाई परेको समस्याका बारेमा बताएँ । दीपकसंग गाडि थियो । उहाँले मलाई लिएर तत्कालै धुलिखेल अस्पताल जानु भयो । अस्पतालमा दुई घण्टा वितायौं । बा-आमालाई केहि सञ्चो भयो । त्यहि गाडिमा राखेर बा-आमालाई बेलुका अवेर घर ल्यायौं । भोली पल्ट काठमाण्डू मोडल अस्पतालमा विभिन्न परिक्षणहरू गरिए । बालाई मधुमेह देखा पर्‍यो । आमालाई पेट सम्बन्धि सामान्य समस्या । औषधि चलायौं ।

केहि महिना काठमाण्डूको बसाई पछि बाले ‘घर लगिदेओ !’ भन्न थाल्नु’भो । हामीले अनेक भनेर टार्न थाल्यौं । केहि महिना त टार्‍यौं । साह्रै जिद्दी गर्न थाल्नु भयो । अव घर नपुर्‍याई नहुने भयो । टाटा सुमो रिजर्भ गरेर विस्तारै सिरिसे पुर्‍यायौं । त्यति बेलासम्म बा लौरो टेकेर विस्तारै हिंड्न सक्नु हुन्थ्यो । सिरिसेबाट जिर्जिरेपानीको बाटो रिठ्ठेडाँडासम्म पुगेपछि बा हिंड्न सक्नु भएन । चित्रबहादुर कार्कीजीले घरसम्म पुर्‍याउन मद्दत गर्नु भयो । साथ गोमनारायण श्रेष्ठजी पनि लाग्नु भयो । घर पुग्दा साँझ झमक्क भयो । त्यस बेलुका बा आमा आरामसंग निदाउनु भयो ।
म सोच्दै थिएँ । घर आउने यो औधि जिद्दी किन गर्नु भएको होला ? अब बा के चिजमा ज्यास्ता ध्यान दिनुहोला ? भनेर भोलिपल्ट बिहानैदेखि बाको निगरानी गरिरहेको थिएँ । बिहानै नित्यकर्म सक्नु’भो । खानपिन पनि भयो । मलाई लिएर बिस्तारै उत्तर तर्फ लाग्नु भयाे । जाँदाजाँदै कटहरका फेदतिर जानु’भो । त्यताबाट साउने कुवा, चावाबाँसको झाङ नजिक पुग्नु’भो । त्यहाँ एउटा लप्सीको रुख छ । जो पिताजीले हुर्काउनु भएको हो । पुलुमा लप्सी कतै पनि छैन । यो मात्र एउटा रुख हो । त्यताबाट पिताजीले मलाई भीरकुना, तल्लो चावाबाँस भएर चउरको छेउमा पुर्‍याउनु’भो । त्यताबाट चउरको डिलैडिल मोहन भाईको घरमाथीबाट डल्लेघडेरी पुग्नु’भो । बा अघिअघि म पछिपछि तल्लाघरबाट आउने बाटो छाडेर बा कान्लो उक्लिन खोज्नु’भो, सक्नु भएन । मैले पछाडिबाट ठेलें । यसो गर्दै गर्दै तीन कान्ला उक्लिएपछि सिठाको गरामा पुगियो ।

सिठाका झाङ भन्दा दक्षिणतिर कान्लाका पोथ्रा सेउला काटिएर डाँठ मात्र ठडिएका रहेछन् । काटिएका डाक्ला मध्ये एउटा डाँठलाई बाका हातमा भएको लौराले तान्नु’भो र दुःखीहुँदै सुम्सुम्याउदै भन्नु’भो । ए काटिदिइहालेछन् ? मैले सोधें- यो केहो बा ? बाले भन्नु’भो- लप्सी । मैले सोधें कहाँबाट ल्याउनु भएको विरुवा थियो ? भित्ताघर टङ्कनाथ बाका घरबाट । बाले निकै बेर लप्सीको काटिएको भाग सुम्सुम्याउनु’भो । काठमाण्डूदेखि घर आएर हेर्नका निम्ती बाका हृदयभरी ठाउँ पाएका चिज मध्ये, यो काटिएको लप्सीको विरुवा रहेछ । मेरा मनमा बाका मनोभावना फन्फनी घुमिरहे ।

मैले बासंग भनें- अहिले नै घरका सवैलाइ सुनाएर फेरी नकाट भन्नु पर्छ । समयमा मुजुरा पलाईहाल्ला, नि ! त्यहि सल्लाह गर्दै बा र म हाँगे गराबाट माथिल्लो गरामा चढ्यौं । तेर्सै गएर पँदेलको रुख नजिक पुगेर आँपको फेदमा चढेर घर पुग्यौं । यस घटनाले मेरा मनमा धेरै कुराहरू खेले । यो लप्सीको विरुवा मरेछ भने अर्को विरुवा ल्याएर त्यही ठाउँमा रोप्ने अठोट मनमनै गरें । तर समय क्रममा विरुवाले मुजुरा हाल्यो । त्यस पछि कसैले काटेन । अहिले हलक्क बढेर अग्लो, हरिस बनाउन मिल्ने खालको मोटाइको भएको छ । अझै फलेको छैन । घरजाँदा सर्वप्रथम त्यहि रुखमा आँखा पर्छ । पिताजीको लठ्ठीले तानेको याद आउँछ । घरबाट एउटा उत्तरतिर अर्को दक्षिणतिर समान दुरीमा दुईवटा लप्सी रोप्नु भएको रहेछ । उत्तरतिरको लप्सीको त फल खान पाउनु भयो । दक्षिणतिरको यो रुख त अझै फलेन । खान पाइएको छैन ।

यसो गर्दागर्दै चार महिना बिते । म बाको हेरचाह गर्न चारै महिना घरमै रहें । डाक्टरले दिएका औषधि खाने समय सकिए । फेरी जँचाउने समय आयो । बा काठमाण्डू जान मान्नुहुन्न । हामीले अनेक भन्यौं । मान्दै मान्नु भएन । माइलो भाई ताराचन्द्र र कान्छो भाई डोरप्रसादसंग मेरो सल्लाह भयो । छिटो माध्यमबाट बाआमालाई काठमाण्डू पुर्‍याउने । बासंग कुरा नगरिकन बाँकि परिवारका विच घर सल्लाह भयो । शिक्षकहरू गंगाबहादुर कार्की, प्रेमकुमार कार्की, नारायणदास श्रेष्ठहरूसंग सल्लाह गरियो । पोकुबाट लालबहादुर राउत र अरुकेहि साथीहरू बालाई भेट्न आउनु भयो । उहाँहरूलाई पनि त्यसै दिन बा-आमालाई लैजाने योजना भएको जानकारी गराइएन । त्यसवेला लालबहादुर दाईसंग बा भन्दै हुनुहुन्थ्यो- ‘केटाहरू काठमाण्डू जाने कुरा गर्छन् । म जाँदैजान्न । केगरी लाँदाहुन् !’

लालबहादुरदाजु पोकु नपुग्दै छिटो माध्यमद्वारा पूर्व तयारी बमोजिम बा-आमालाई टिपेर काठमाण्डू पुर्‍यायौं । त्यस पछि पनि आकल झुकल घर त पुर्‍यायौं । आखिरी दिनहरू राजधानी मै विते । पिताजी तेजप्रसाद पौडेलले देखाउनु भएको लप्सीका विरुवाको मायाले मेरो हृदयभरी गहिरो छाप पारेको छ । यो मेरो बाँकी जीवन भरी मेटिने छैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button