एक रूप्पेको महत्व !

पेशल आचार्य

यो सम्झौटो सम्वत् २०३४ साल चैत्र तिरको हो ।

म कक्षा ६ मा पढ्थेँ । बुवाले दसका तीनवटा नोट गोजीबाट निकालेर खनखन गनेर दिँदै भन्नुभयो, ‘जा, भेषेका बा चेतनाथ पोखरलेका घरबाट मैले भनेको भन्नु एउटा बाख्राको पाठी लिएर आइज् ।’

‘हस्’ भनेर टाउको हल्लाएँ र नबोली त्यहाँबाट सरासरी गएँ । घरमा भेषेका बा रहेनछन् । खेत जोत्न गएका रहेछन् । भेषेकी आमालाई बुवाले भनेका कुरा जस्ताको तस्तै भनेँ ।

उनले टाउको कन्याउँदै भनिन्, ‘आउन त आयौ कुमार, तर पाठीको मोल ३१ रूप्पे हो । घर गएर १ रुप्पे लिएर आऊ अनि पाठी फुकाइदिऊँला है !’

दसै वर्षको रहेछु म । केटाकेटी मान्छे चुप लागेर घर आएँ । भेषेकी आमाले भनेको कुरा बुवालाई हुबहु सुनाएँ । बुवाले नबोली १ रुप्पे दिनुभयो ।

मैले फेरि लगेर दोस्रोपल्ट भेषेकी आमालाई ३१ रुप्पे हातमा हाल्दिएँ । उनले पैसो समाइन् । चुँसम्म नबोली पाठी खोलेर मेरो हातमा दाम्लो राखिदिइनँ ।

अलिक पर पुग्या थिएँ । उनले कराएर बोलाइन् –‘ए बाबु ! पख् पख् । मैले त दुम्मु झिक्नै बिर्सेंछु ।’ यसो भन्दै उनले पाठीको दुई सिँङका बिचबाट चोरी र बुढी औंलाले केही रौं उखेलेर बाख्रा बाँध्ने ठाउँमा झारिन् अनि थुथु गर्दै हातमा थुकिन् ।

म पाठी डोहो¥याउँदै घर आएँ ।

भोलिपल्ट बिहानै झिस्मिसेमै गाडी चढेर हामी कमला नदीमा पाठी पूजा गर्न गयौं । पाँच जनाको जहान घरमा आमालाई मात्र छाडेर हामी तीनभाइ छोरा र बुवा गरी चारजना इनरुवा बस स्टेन्डबाट बस चढी करिब ३ घन्टाको यात्रा पूरा गर्दै कमला नदी आइपुग्यौं ।

गाडीले पूर्वी किनारमा बिस्तारी उतारी दियो । केही समय बगर हिँड्यौं । पूजा गर्ने ठाउँ बनाएर बुवाले पाठी पूजा गर्नुभयो । हामी सानै भएकाले पूजाविधि हेरिरह्यौं । सबै काम बुवाले नै सम्पन्न गर्नुभयो । हाम्रो काम चाहिँ दाउराको झिक्राझिक्री खोज्ने र पाठीका खुट्टा÷टाउको पोलपाल गर्न सघाउने र भुँडी धुने थियो । काटकुट पारेर सबै झोलामा राखेर हामी फेरि त्यसैगरी फर्कियौं जसरी अघि ३ घन्टाअघि गएका थियौं ।

बगरमा बुवाले घरबाट लगेका पूजा र प्रसाद दिनुभयो । अलिअलि पोलेको मासु र चिउरा खाएर पानी त्यहीँ कमला नदीको पिउँदै हामी फर्कियौं । त्यो दिनको यात्रा सिरहा बस्तीपुरसम्म थियो । घरी बुवाले बोक्नु भयो झोला, घरी मैले सघाएँ । नभन्दै फेरि कमलाको पूर्वी किनारमा आयौं ।

पश्चिमतिरबाट बस आयो । टक्क रोकियो । हामी चारैजना बस चढ्यौं । साझँमा लाहान बजारमा बसबाट उत्रेर रातिराति बस्तीपुर गयौं । बस्तीपुरमा बुवाकी कान्छी सानिमाको घर थियो । रातको खानपिन र प्रसाद ग्रहण त्यहीँ भयो ।

मजाले मासुभात खाएर हामी आरामले सुत्यौं । भोलिपल्ट बस्तीपुरबाट लाहान आउनेहरूका साथ लागी लाहान आएर बस चढी इनरुवा गयौं ।

एक रुप्पेको महत्व मैले त्यो बेला थाहा पाएँ ।

त्यो बेला तराईमा ७ रुप्पे जोडी परेवा पाइन्थ्यो । बुवालाई परेवाको मासु असाध्यै मन पर्ने । शुक्रबारशुक्रबार बुवाले हामीलाई परेवा किन्न गाउँ पठाउनु हुन्थ्यो तर एउटा सर्त थियो । दुई जोर परेवा ल्याउनेले १ रुप्पे पुरस्कार पाउँथ्यो । कुरो के थियो भने दुई जोर परेवालाई १४ रुप्पे पर्दथ्यो । १ रुप्पे काम गर्नेले पुरस्कार पाउने चलन थियो । हामी तीन भाइ छोराहरू प्रत्येक हप्ता एकजनाको पालो लगाउँदा तीन हप्तामा मात्र किन्ने पालो आउँथ्यो । भाइहरूलाई पालो नदिऊँ उनीहरू झगडा गर्ने । पालो दिँदा आफूले तीन हप्ता कुर्नु पर्ने ।

मैले एउटा जुक्ति झिँके । हरेक घरमा जाने अनि जोडी परेवाभन्दा एक्ले बच्चो हेर्ने । चारवटा एक्लेएक्ले परेवा छान्न सकियो भने त मासु पनि पर्ने र बुवा पनि खुसी हुनुहुने ! मेरो सो जुक्तिले काम गर्यो । मैले भाइहरूले थाहा नपाउन्जेल हरेक हप्ताको १ रुप्पे पुरस्कार बठ्याइँ गरेर जित्न थालेँ ।

अलिअलि गर्दै पहिले कान्छोले थाहा पायो । पछि माहिलोले । अनि आफ्नो पालो त उही तीन हप्तामै आउन थाल्यो ।

बुवाले परेवा काट्ने, भुत्ल्याउने र काटकुट पारी बनाउने तरिका जान्नु भएको थियो । हामी तीनैजनालाई सिकाइदिनु भयो । मन लगाएर सिकेपछि एकैपटक हेर्दा सबै जानिँदो रहेछ । यो सिपले जीवनमा चराचुरुङ्गी काटकुट पारेर बनाउन कसैको सहयोग लिनु परेन ।

एक रुप्पेले त्यो बेला धेरै कुरा आउँथ्यो । चटपटेको भर्खर चलन सुरु भएको थियो । पित्तलको दस पैसो चल्थ्यो । एक दिनको खाजा १० पैसाको चटपटेले पुग्थ्यो । टन्न पानी खान पाउँदा झन्नैझन्नै दुई जनालाई मजाले पुग्थ्यो । कहिलेकाहीँ साथीलाई खुवाएर सापटी लगाइराखेको छ भने अर्को कुनै दिन साथीले १० पैसोको चटपटेबाट आधा दिन्थ्यो । त्यसो गर्दा पाँच पैसो पर्दथ्यो ।

आफूले मात्र खाँदा १० दिनलाई खाजा टर्ने । बिहानबिहान टोष्ट भन्ने बिस्कुट चियासँग खाने चलन थियो । टोष्टलाई त्यो बेला २ रुप्पे पर्दथ्यो । १० रुप्पेले ५ दिन पुग्थ्यो । १५ पैसामा लोकल सिनेमा हलमा गएर थर्ड क्लासमा सिनेमा हेर्न पुग्थ्यो । अझ शनिबार छ भने त १० पैसाले नै पुग्थ्यो । हामी १ रुप्पे घरबाट उछिट्याउन पाएका बेला आफूलाई संसारको धनाढ्यमा गन्थ्यौं ।

जीवन बिन्दास थियो । ‘न शोक न सुर्ता, न भोक न भकारी’ भनेझैँ ।

२०३६ सालमा झापा गयौं । त्यो बेलाको झापा बसाइ ६ वर्ष भयो । बाल्यकाल उधूम रमाइलोसँग झापामा नि बिताइयो । बुवा जहिल्यै नयाँनयाँ काम गर्न चाहने । केही महिनापछि हामीले कुखुरा पाल्यौं । लोकल कुखुरा पालिए । बुवाले पालिएका मध्येबाट छानेर केही कुखुराका पोथी ३ भाइ छोरालाई पेवा पाल्न दिनुभो । उहाँले सर्त राख्नुभो । कस्ले राम्रो रेखदेख गर्छ । कुखुराले धेरै अन्डा तथा चल्ला निकाल्छ उसलाई फेरि त्यसमाथि अर्को कुखुरो पुरस्कार दिने ।

हामी मख्ख पर्दै मिहिनेत गर्न थाल्यौं । गाई, भैँसी, गोरु र बाख्रा पालिएका थिए खेतीका लागि तर हामी वास्ता गर्दैनथ्यौं । त्यो काम बुवा आमाको थियो । हामीले वास्ता गर्ने भनेकै कुखुराको थियो । हामीले कुखुरा पालनबाट निक्कै कुरा सिक्यौं । लगभग व्यावसायिक शिक्षा लिएजस्तै भयो । धेरै पैसा त होइन त्यो जमानामा तीन भाइले गरेर दुई तीनसय कमाउन सफल भयौं ।

त्यो जमाना अति सस्तो थियो । २० रुप्पेमा एउटा मज्जाले बासेको भाले आउँथ्यो । करिब एक डेढ किलो मासु पर्ने खालको । एकजना गोविन्द श्रेष्ठ भन्ने लेखापढी व्यवसाय गर्ने मानिस थिए उनले चाहिँ एक दुई रुप्पे बढी नै दिएर भाले लैजान्थे । हामी केटाकेटी न थियौं एक रुप्पेको लोभमा उनैलाई पर्खिरहन्थ्यौं । कहिलेकाहीँ शुक्रबार अलि छिट्टै अफिस छुट्टी भएका बेला उनी रक्सीले खुट्टा लर्खराउँदै घर अगाडिको मूल बाटोसम्म आउँदा हामी तीनैजना आआफ्ना पेवाका भालेहरू चेपेर उनीसामु उभिन्थ्यौं । उनी घुमेर हेर्थे । जुँगामा ताउ लगाएर राम्रो चाहिँलाई च्याप्प समातेर २० रुप्पे दिन्थे । हामी उनको मुखमा डराइडराई हेथ्र्यौं अनि जाने बेलामा एक रुप्पेको डबल फुत्त फाल्दिन्थे ।

रमाइलो लाग्थ्यो त्यसो गर्दा । २० रुप्पे बचत अनि १ रुप्पे फुर्माइसी खर्च हुने हाम्रा लागि ।

केटाकेटीहरूले सिक्ने भनेकै घरपरिवार र खेतीपातीहरूबाट हुन्थ्यो त्यो बेलाँ । यति विधि विज्ञानका कुरा आएकै थिएनन् । बजार, हाट गएर केही किनी खाने चलनै थिएन । कहिलेकाहीँ केही काम पर्दा बुवाआमासँग जान पाइन्थ्यो । पढाइलेखाइमा निक्कै अनुशासित हुनु पर्दथ्यो ।

अहिले लाग्छ त्यो बेलाँ जिनिश सस्तो तर रुप्पे महँगो थियो ।

यसरी मैले धेरै घटनाबाट त्यो बेलाँ १ रुप्पेको महत्व देखे भोगेको छु । अहिले पनि १ रुप्पे देखेँ भने झल्झली ती घटनाका ताजा याद आइहाल्छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button