उहिलेको कुराः रंगेठाँटी ग्राम-पञ्चायतको चुनाव र पहिलो प्रधानपन्च

२०१८ सालको स्याङजा, रंगेठाँटी ग्राम पन्चायतको चुनाव र पहिलो प्रधानपन्च राइटर हर्कबहादुर पौडेल छेत्री

चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
आँखो-५, ठूलीबराह, स्याङजा

२०१८ सालको हिउँदको यस्तै माघ/फागुनको महिना थियो । जिँमुवाली/मुख्यौली प्रथा हुनाले गाउँघरमा सूचना पुर्याउने काम कटुवालले गर्ने चलन थियो । यो कटुवाल शब्द अँग्रेजीको Call to all बाट आएको भनिन्छ । उसैले सरकारी लगायतका सूचना जनता समक्ष पुगाउने गाउँका भद्र भलाद्मीलाई निश्चित स्थानमा जम्मा हुन बोलाउने काम गर्दथ्यो । हरेक गाउँको अग्लो (डाँडो) थुम्कोमा गएर पहिले कर्नलबाजो फुक्थ्यो र तत्पश्चात् कहाँ किन कस्ले बोलायो सबै जानकारी ठूलो स्वरले दिन्थ्यो । त्यसो गरे वापत उसले बर्षमा एक पटक हरेक घरबाट अन्न बाली उठाएर आफ्नो पारिश्रमिक असुल्ने गर्दथ्यो । यो चलन जिंमुवाली र मुख्यौली प्रथा रहंदासम्म कायम थियो ।

त्यसै गरी २०१८ सालको ग्राम पन्चायतको चुनावमा पनि कटुवालले घोक हालेर (बोलाएर) गाउँका सबैलाई रंगेठाँटीमा जम्मा हुनु पर्ने उर्दी सुनाएको थियो । त्यही थियो त्यस वेलाको चुनावमा मतदान गर्ने मतदाताको नामावली प्रकाशन गर्ने काम । तत्काल रंगेठाँटी ग्राम पन्चायत अन्तर्गत भुद्रुमपोला, कलिंडाँडा, ओहिया आँधीखोला पारिका गाउँ परेका थिए भने वारिपट्टी रंगुवा खोला देखि देउराली छाप सम्मका गाउँ पर्दथे । ती गाउँका भद्रभलाद्मी र ठुला बड़ा ठालुहरु मध्ये मेरो नजरमा भुद्रुमपोले कप्तानको छोरा डम प्रसाद गुरुङ, कलिङडाडाका टीकाबहादुर गुरुङ, छपाली लछिमपति ढकाल, बगाले बुढा, संधीखोलाका नयाँघरे, ओहीया सित्खोलाका सिंहबहादुर घर्ति छेत्री, गजाधर कार्की, जस बहादुर कार्की आँधीखोला पारीका थिए भने आँधीवारी पाती चढाउने देउराली छाप गाउँदेखि सिंखेत पुछार घरे, कुसुन्डेका राधु पाध्ये, खोले साहु रुक्माङगत, सिरान्घरे लीलाधर, ठूली बराहबाट शान्त बहादुर खत्री, पदम बहादुर खत्री, हुमबहादुर बोगटी, स्यानी बराहका प्रजापति पौडेल, काशीनाथ पनेरु, डाँडा थरका डम्बर सिंह छेत्री, बास्कोटका पं नरहरि पाध्ये, रंगेठाँटीका प्रजापति पनेरु, बृजलाल श्रेष्ठ, बमबहादुर श्रेष्ठ, देवकोटा थरका डण्डपाणी देवकोटा, लाँकुरीका राइटर हर्कबहादुर पौडेल, गंगाबहादुर पौडेल, चित्रबहादुर पौडेल र भीमराज पौडेल, कुन्तीकाबाट लट्टे पंडीत (पीताम्बर- त्रिभुवनका बाजे) जुग्लेका कपडे साहु लगायतका मैले बालावस्थामा चिने जानेका भद्र भलाद्मी र अन्य गाउँलेहरुको उपस्थिति थियो ।

त्यस किसिमको कटुवाली प्रथाबाट जम्मा भएका जनता मध्येबाट चुनावमा मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मको प्रकृया पुरा भएको थियो । उप प्रधानपन्चमा भुद्रुमपोला कप्तान बलबहादुर गुरुंका छोरा डमप्रसाद गुरुङलाई दरखास्त दिन लगाइयो र सदस्यमा पनि गाउँका १/१ जनाको उमेदवारी दिन लगाइएको हुनाले निर्विरोध भएको बनाइएको थियो ! प्रधानपन्चको पदमा ओहीयाका सिंहबहादुर घर्ती क्षेत्री र लाकुरीका राइटर हर्कबहादुर पौडेल छेत्री दुई जना उम्मेदवारको दरखास्त परेको हुनाले चुनाव भएको थियो । प्र पं मा चुनाव हुने अवस्था आएकोले निर्विरोध गराउन निमित्त सिंहबहादुरलाई दर्खास्त फिर्ता गर्न लगाउन मध्यस्थता गरी दिन मेरो बुबा शान्त बहादुर खत्री क्षेत्री लाई करिब आधा घण्टाको समय दिई चुनावमा खट्टिई आएका कर्मचारीले निर्विरोध गराउने प्रयास गर्न लगाएका थिए । किनभने चुनावका दुबै प्रतिष्पर्धीहरु वहाँका नातामा राइटर हर्क बहादुर मामा र सिंह बहादुर साला थिए । बुबाको मनशाय मामालाई प्रधान पन्च बनाउने थियो । दुबै जना साला भिना भएर एकान्त बस्नु भयो । तर, कुरा मिलेन ! चुनाव हुने भयो । चुनाबका कर्मचारीले बाबीयोको हत्तेउरी (डोरी) ले सबै जनता अट्न सक्ने एक सीमाघेरा र अरु दुई अलग अलग गरी ३ सीमा घेरा बनाएका थिए । ती अलग अलग घेरा लगाइएका कक्षमा हर्कबहादुर र सिंह बहादुरको नाम लेखेर झुण्ड्याइएको थियो । उनले उद्घोष गरे, अब प्रधान पन्च छान्ने वेला आयो । हर्कबहादुरलाई प्रधान पन्च मान्नेहरु यो कक्षमा जानु होस् र सिंह बहादुरलाई प्रधान पन्च मान्नेहरु यता यो कक्षमा जानु होस् भनेर देखाई दिए ! त्यहाँ करिब ६०/६५ जनाको जत्था थियो । १५ जना सिंहबहादुरको कक्षमा र त्यस बाहेक बाँकी ५० जना हर्कबहादुरको पक्षमा देखिएपछि वहाँलाई नै प्रधान पन्च घोषणा गरिएको थियो । यसरी २०१८ सालको चुनाव बाट पहिलो पटक स्याङजा रंगेठाँटी ग्राम पन्चातको गठन भएको थियो । जो यस प्रकारको छ-

प्रधानपन्च- राइटर हर्कबहादुर पौडेल क्षेत्री
उप प्रधानपन्च- डम प्रसाद गुरुङ
सदस्यहरुः-
वडा नं १- पदमबहादुर खत्री
वडा नं २- काशीनाथ पनेरु
वडा नं ३- प्रजापति पनेरु
वडा नं ४- पं नरहरि पाध्ये
वडा नं ५- डण्डपानी देवकोटा
वडा नं ६- भीमराज पौडेल
वडा नं ७- गजराज कार्की
वडा नं ८- लछिमपति पाध्ये
वडा नं ९- टीका बहादुर गुरुङ

११ जनाको ग्राम पन्चायत गठन भएको थियो । त्यसरी भएको स्याङजा जिल्लाको रंगेठाँटी ग्राम पन्चायतको चुनावमा राइटर हर्कबहादुर पौडेल क्षेत्री पहिलो ग्राम पन्चायतको प्रधान पन्च भएर २०२४ सालसम्म अर्थात ६ बर्ष वहाँले त्यहाँको समाजमा सेवा गर्नु भएको यथार्थ बिबरण यो पंक्तिकारको मानस पटलमा ताजा छ । सो ग्राम पन्चायत सेतीदोभान गा वि स हुंदै हाल आएर आएर आँधीखोला गाउँपालिकाको वडा नं-५, हुन पुगेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button