पशुपतिमा मध्यरात साक्षात् शिवसँग अन्तर्वार्ता !
भरत शर्मा
‘तपाईलाई मन पर्ने पात्र को हो ?’, यो प्रश्न जो कसैलाई सोधियो भने अनेक उत्तर आउन सक्छन् । व्यक्तिपिच्छे फरक प्रिय पात्र हुनसक्छन् । प्रश्न सरल तर उत्तर जटिल छ ।
पत्रकारको काम प्रश्न गर्ने हो । ‘हामीले कहिल्यै पनि प्रश्न गर्न छोडनु हुँदैन’,, रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवीणता प्रमाणपत्रतहदेखि दर्शनाचार्य (एमफिल) अध्ययन गर्दासम्म गुरुमुखबाट सुनेको कुरा हो । प्रश्न गर्न थालेको दुई दशक यात्रामा थाकेको अनुभव कहिल्यै भएको छैन । आगामी दिनमा पनि प्रश्न गर्न छोडिने छैन । अगाडि बढ्ने हो, यात्रा जारी छ ।
यस पटक मलाई मन पर्ने पात्र शिव-पार्वती भेट्न गत मंगलबार स्वकुटी धर्मस्थलीदेखि पशुपतिनाथसम्मको रात्रीकालीन यात्रा तय गरियो ।
रातको समय, सडक खाली, कुकुरहरुको आवाज झेल्दै भए पनि आफूलाई मनपर्ने पात्रसँग केही वार्ता गरौं भनेर यात्रा गरियो । रात्रीको समयमा पशुपतिनाथमा धर्नुमास पूजा थियो । राती १ बजेदेखि विहान ७ः३० सम्म हुने पूजामा सहभागी भइयो ।
भनाईअनुसार धर्नुमास पूजाको दिन परापूर्वकालमा शिव र पार्वती पशुपतिनाथ यात्रामा आएर दिउँसो कैलाश डाँडामा पारिलो घाम तापेर गोसाइकुण्ड हुँदै मुल घर कैलाश यात्रामा फर्कने दिन रहेछ । अहिले कलिकालमा यो मिथक र कथा हुनसक्छ ।
यस पटक रात्रीकालीन पशुपतिमा यात्रामा मैले केही प्रश्नहरु बोकेर गएको थिएँ । प्रश्नको उत्तर मैले मेरो प्रिय पात्र शिवसँग सोध्ने इच्छा राखेर गएको थिएँ ।
भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । मेरो चाहना पुरा भयो ।
पशुपति मन्दिरमा नित्य पूजा शुरु भयो । नियमपूवर्क परिक्रमा र दर्शन गरेपछि मुक्तिमण्डपमा बसेर ध्यान मग्न भएर बसेको थिएँ । एकैछिन पछि छायाँचित्र जस्तो गरी शिवको रुप देखे अनि संवाद शुरु गर्न थालेँ ।
रातको समय मलाई मोटरसाइकलमा बोकेर लिएर गएका मित्र राजेश धिताल मेरो खोजी गर्दै रहेछन् । काममा अवरोध नहोस् भनेर गोजी फोन पनि बन्द गरिदिएँ र उनले नदेख्ने गरी मुक्तिमण्डपको आडमा बसेर केही प्रश्नहरु सोध्न थालेँ ।
प्रश्नः यो कलिकालमा मानिस किन दुःखी छन् ? हरेक व्यक्ति सुख र आनन्दको खोजीमा छन् तर सुखी हुन सक्दैनन्, किन ?
उत्तर: मेरा प्रिय भक्त, ध्यान दिएर सुन, अहिले कलिको मध्यान्तर चलिरहेको छ । हरेक मानिसलाई धन चाहिएको छ । तर, त्यो धनले सुख र शान्ति दिन सकेको छैन । हरेक व्यक्तिभित्र अभावै अभाव रहेको छ । हरेक व्यक्ति भित्र एउटा बाहिर अर्को रुपमा सजिएका छन् । ज्ञान छ, धन छैन । धन छ ज्ञान छैन । ज्ञान छ, घमण्ड छ । धन भएपछि अहम्ता बढाएको छ । मानिसहरु दुःख परेको समयमा मात्र मठ, मन्दिर जान्छन् र दुःखबाट छुटकारा खोज्छन् । जब व्यक्तिले केही धन र ज्ञान प्राप्त गरेर सुखको अनुभव गर्दा विगत, वर्तमान र आफूलाई मात्र देख्छ, त्यसैले व्यक्ति सुखी हुन सकेको छैन । (उत्तर अलि दार्शनिक भयो कि सरल भाषामा कसरी बुझ्ने र बुझाउने होला भनेर सोच्दै थिएँ ।)
प्रश्नः मानिस दुःखी हुनका कारण धन नभएर हो भने धन कति प्रकारका होलान् ?
उत्तर: धन चार प्रकारका हुन्छन् । (सरल र सहज उत्तर आयो ।) नबुझेको हो कि बुझेर पनि थाहा नभएको हो । पहिलो वित्तिय धन (रुपैयाँ पैसा) यो विना हाम्रो जीवन चल्दैन । यसैका निम्ति हरेक मानिस भागदौड गरिरहेका छन् । धन प्राप्तिपछि पनि सुख नहुनुको कारण भनेको धनको परिचालन गर्न नजान्नु हो । दोस्रो हो, सामाजिक धन अर्थात् मान सम्मान । कलिकालमा मानिस मानसम्मानको लागि दौडिरहेको छ । कतै कसैले अपमान गर्यो भने त्यो अपमानको बदला लिन खोज्छन् मानिस ।
हाम्रो सनातन शास्त्रले स्पष्ट भनेको छ, सम्मान पाउनका लागि पहिले आफूले सम्मान गर्नुपर्छ । कसैबाट नमस्कार लिने हो भने पहिले आफूले नमस्कार गर्नु उत्तम हो । तर, आजकाल गुरुले चेलालाई पहिले नमस्कार गर्नुपर्ने समय छ । धिक्कार छ, कलिकाल !
मेरो प्रश्न र मेरो प्रिय पात्र शिवको उत्तर तपाई हामीलाई अलिकति दुःख लाग्छ ।
समाजका नैतिकता र सेवाभावको कमी हुँदै गएको अनुभव मैले, तपाईले, हामी सबैले गरेका छौैं । आफूले आफूलाई प्रश्न गर्दा यसको उत्तर प्राप्त गर्न सक्छौं ।
प्रश्नः धन के हो ? हाम्रो जीवनमा तेस्रो धन हो समय । समय निकै बलबान छ । म, हामी, तपाई हामी धेरैजसोले समयमा काम गर्दछौं, आजको काम आजै गर्नुपर्छ भन्ने हाम्रो नियम छैन । पूर्वकालहरुमा यस्तो थिएन । कलिकालमा हामीले यही गरेको छौं । समय पनि धन हो भन्दा हामीलाई लाग्दैन ।
उत्तरः समय सबैभन्दा ठूलो धन हो । आजको काम आजै गर । भोलि के हुन्छ, कसैले पनि भन्न सक्दैनन् ।
हेर्नुस त प्रश्न गरेपछि उत्तर कस्तो पाइयो । मनमनै खुसी भएँ । कलिकालमा अहिलेको समयमा मानिसहरु दुःखी भएपछि दुःख साट्न मन्दिर जान्छन् । केही थोरै मात्र भक्तहरु छन्, जो दुःख सुख दुवै समयमा मन्दिर पुग्छन् ।
कलिकालमा मानिसहरुले यसो पनि भन्छन्, पाप गर्नेहरु मन्दिर जान्छन्, हामी पाप पनि गर्दैनौं, धर्म पनि गर्दैनौं ।
प्रश्नः अब दुःखको कुरा नगरौं, सुखको लागि के गर्ने ?
उत्तरः सबैभन्दा पहिले शारीरिक धन (स्वास्थ्य)मा ध्यान दिने । कलिकालमा हरेक मानिस रोगी छन्, हुनेछन् ।
यो उत्तर अझ गजब लाग्यो । हरेक व्यक्ति कुनै न कुनै समस्याबाट दुःखी छन् । मानिस खुसी हुनको लागि चाहिने धन भनेको स्वास्थ्य रहेछ भन्ने कुरा सुन्दा सामान्य तर यथार्थचाहिँ यो लाग्यो ।
आजसम्म मैले कुनै व्यक्ति कुनै समस्या नभएको कुनै रोग नभएको भन्ने भेटेको छैन । त्यसैले धनको खोजीमा भौतिरहेका हामी सबैले चारवटा धनलाई ध्यान दिन सक्यौं भने हामी सुखी हुनसक्छौं भन्ने मेरो निष्कर्ष रह्यो ।
पात्रसँग प्रश्न गर्दै थिएँ । मेरा मित्र राजेशजी आएर भन्नुभयो, तपाई कता हराएको ?एक घण्टादेखि खोज्दै थिएँ ।
जय शम्भो, जय पशुपतिनाथ भनेर एक हुल मानिसहरु मुक्तिमण्डप परिक्रमा गर्दै थिए ।
त्यतिबेला हाते घडीमा रातको तीन बजेको रहेछ ।
पशुपतिनाथ यात्रा सार्थक भयो । शिवका अनेक मन्त्रहरु छन, त्यसमध्ये आफूले विगत तीनदशकदेखि जप्दै आएको मन्त्रजप गरेर पशुपति मन्दिर परिक्रमा गर्न थालेँ । मेरा मनका प्यारा, तनका प्यारा, सबैभन्दा प्रिय पात्रसँगको कुराकानीले मन पुलकित भयो । यो कुरा म कसलाई भनौं कि नभनौं भन्ने लागेको थियो ।
हामी सबै कलिकालका दुःखी मानवहरुका लागि एउटै सन्देश शिवबाट प्राप्त भयो । हामी धनका लागि कुदेका छौं, दौड्दै छौं, तर उल्टो यात्रामा छौं ।
हाम्रो लागि धन यस्तो हुनुपर्ने रहेछः पहिलो स्वास्थ्य धन हो । दोस्रो समय धन रहेछ । तेस्रो आत्मसम्मान, कार्यकर्म धन रहेछ । चौथो वित्तिय धन रहेछ ।
कलिकालमा मानिस पहिलो धन अर्थात् स्वास्थ्यधनबाट बञ्चित हुनुपरेको छ । फेरि एकपटक अर्को महामारी फर्कने हो कि भन्ने समाचारले हामीलाई सचेत गराएको छ ।
चारवटै धनको खोजी गर्दै अन्तिममा मुक्ति र अध्यात्मयात्राले कलिका सन्तान हामीलाई शक्ति, भक्ति र ज्ञान दिने प्रिय पात्र नमः शिवाय ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)