कालो कालै हुन्छ, सेतो सेतै


गल्तीको परिभाषा

विष्णु पादुका
कागकोट, डोल्पा ।

जीवनको परिभाषा हरेक ब्यक्तिगत रूपमा भिन्न हुनु स्वभाविक हो । जस्ले जस्तो भोग्यो उस्तै मान्यता स्थापित हुने हो । सामाजिक बिकासको अध्ययन गर्दा यो कुरा प्रमाणित हुन्छ । विकासका चरणसँगै बोधको दायरा पनि भिन्न भयो । आजको युगमा एकै मान्यता मात्रै सहि देख्नु मुर्खता हो । फेरि पनि दार्शनिक दृष्टिकोण एकै देखिन्छ, विगतदेखि आजको चरम वैज्ञानिक उत्कर्षसम्म आइपुग्दा ।

जीवनसँग जोडिएका आधारभूत तत्व फेरिएको छैन । समग्रमा जीवन पद्धति उस्तै छ । जन्म मृत्यु र भोगाइको अन्तरले खास नयाँ परिभाषा निर्धारण गर्दैन । संसारका यावत् सजीवको जीवन चक्र उस्तै उस्तै छ । मानिसमा चेतनाको प्रवाहले गर्दा दैनिक नौलोपनको अनुभव गर्छ । विगतदेखि पाठ सिक्छ । भविष्यका लागि योजना बुन्छ । बाँच्नु भनेको आखिर वर्तमानमा नै हो । जीवन जगत र समय देख्दा सुन्दा ठूलो विषयवस्तु जस्तो देखिए पनि समग्रमा प्रत्येक ब्यक्तिको सेरोफेरोमा भेटिन्छ । जसले भोगेर सकाएको छ । केही बाँकीको अनुभव साँचेको छ । आफैलाई भोलीको लागि थाती राख्ने भनेको केवल मान्छेले हो ।

आँखामा परेका हरेक दृश्यलाई स्मृतिको पानामा बसाल्न जानेदेखि सम्झनाको तह बाक्लिदै गयो । मानसिकताको दायरा दिनानुदिन बृहत हुँदै गयो । ध्वनि र दृश्य शब्दमा रुपान्तरण हुन थालेदेखि मान्छेको अभिव्यक्ति सिपमा ठूलो परिवर्तन आयो । भाषाहरुसँगै लिपिको विकास भयो । मौखिक कुरा स्थापित हुन कठिन थियो । त्यसलाई लिखत बनाउन भएको प्रयोग एउटा ठूलो क्रान्ति थियो । ढुङ्गा ,धातु ,रुखका बोक्रा , काठ ,पात हुँदै विकास भएका लिपि र अक्षरमा सजिन लागे मानिसका विचार र भावनाहरु । सुरुवातमा हरेक कुराको पहुँच सिमित हुन्थ्यो ।

लेखन पठनको साँघुरो पहुँचको आडमा मानिसले वर्गको स्थापना गर्यो । अरु भन्दा भिन्न र अधिक उपयोग गर्ने चाहनाले स्वार्थ बढ्न थाल्यो । सानो कुरासँग जोडिएर आएको स्वार्थले यति ठूलो रुप लियो कि ब्यक्तीलाई तह, वर्ग ,समाज र भौगोलिक सिमानामा पुर्याएर छोड्यो । मान्छेलाई मान्छेसँग बिभाजन गर्ने प्रमुख तत्व नै स्वार्थ हो । तमाम कारणहरुको बगैचा सजाइए पनि मुल बीउ स्वार्थ हो । जसको प्रभाव विश्वभर हावा भन्दा तिब्र बेगमा फैलिएर स्थापित भएको छ ।

स्वार्थको सिमा यति विशाल छ कि हरेक क्षितिज नाघेको छ अनि हरेकको मनमा लुकेको पनि छ । स्वार्थलाई सिँगार्न मान्छे पलपल खटिएको छ तम्तयार भएर । नाङ्गो स्वार्थलाई आकर्षक बनाउन निस्वार्थ र परोपकारका आभुषणले सजाएको छ । हरेक ब्यक्ति, परिवार , समाज र एउटा एउटा बर्ग (वाद भनुँ न) अनि देशसम्मले आफ्नो अनुकूल देख्छ । एउटा कुरा एकातिर असल बनाइन्छ, भनाइन्छ, अर्कोतिर त्यसैलाई हानिकारक रूपमा प्रचार गरिन्छ ।

एउटै वस्तु या विचारमाथि यत्रो भिन्नमतको सिर्जना गर्नु स्वार्थबाहेक अरु के हुन सक्छ ? राजनीति, धर्म, शिक्षा र विकास सबैले यहि स्वार्थलाई मियो बनाएर जनताको मनमाथि दाईँ हाल्नु नै आजको रमाइलो भएको छ ।

Ad

इतिहासको कुनै त्यस्तो कालखण्ड थिएन कि कुनै कुरा सर्व मान्य होस् । मान्छे हरेक कुरामा नौलोपन खोज्छ । कुनै कुराको उत्पादन र प्रयोग पूर्व नै त्यसको विकल्पको खोजमा लाग्छ । स्नायुको चञ्चलता यति धेरै छ कि मानसिकता स्वयं नियन्त्रण गर्न सक्दैन । आफैभित्र नौलोपनको माग गरिरहन्छ । यो नौलोपनको प्रयोगको बहानामा यो संसार कुन मोडमा पुगेर सकिन्छ, त्यो हेक्का समेत छैन मानिसलाई । एउटा गतिमा छ निरन्तर विकास । कहाँ पुगेर रोकिने या बिसाउने कुनै निर्धारण छैन । आवश्यकताको खाडल दिनानुदिन गहिरिदो छ ।

हामी नयाँको स्वादमा पुरानो बिर्सने रोगले ग्रस्त भै सक्यौं । नयाँ र नौलो प्रयोग यति नशामय छ कि त्यसलाई एक पटक प्रयोगमा ल्याएपछि पुनः प्रयोगको लत लागि हाल्छ । सरल सहज र सजिलो प्राप्तीले यसो हुनुमा मुख्य भूमिका खेलेको छ । प्रत्यक्ष देख्दा यो कुरा अहिलेको बिधुतिय सामाग्रीको प्रयोगलाई संकेत गरिएको बुझिन सक्छ । तर होइन, गहिरिएर हेर्दा हाम्रो जीवन नै यस्तै भएको छ । यति कुरा बुझ्नको लागि गहिरिने समयसम्म छैन हामीसँग । आफैं भित्र गहिरिएर हेर्न फुर्सद नभएर नै हामी सकिदै छौं । आफू भित्र हेर्न सक्नेहरुको लागि भौतिक परिवर्तनले खास भूमिका खेलेको हुँदैन उसको जीवनमा । जीवन प्रतिको दृस्ठिकोण हिजो जे थियो आज त्यहि छ । सुक्ष्म रुपले हेर्दा नजानिदो परिवर्तन देखिनु सामान्य हो । यसलाई पुरातन वाद भन्नेहरु पनि छन् ।

तर, जीवनभर अरुकै आलोचना गरेर नथाक्नु पनि पाखण्डबाहेक खास केही होइन । प्रगतिशील हुनु भनेको एउटा खोल ओढ्नु होइन । मानसिक उदारता प्रगतिशीलको परिभाषा भित्र पर्दैन र ?

कालो कालै हुन्छ, सेतो सेतै हुन्छ । सेतो या कालो रंग मन पर्नु ब्यक्तिगत स्वतन्त्रता हो । रंगको भिन्नताले मान्छे विभाजित हुनु कत्रो बिडम्बना छ । यहाँ रंगको उदाहरण दिइएको हो ।उसो त कुन कुरामा रंग दिइदैन र यहाँ ? असंख्य रंगहरुको मिश्रण नै हो संसार । मानविय भावनालाई जवरजस्ती रंग घोलीने र भिन्न रंग दिने प्रयास र प्रयोगहरु सदैव हानिकारक छन् । रंगहरुको इन्द्रेणीमा हराउनु आजको रौनकता भएको छ । भुलिएको विगत र नदेखिने भविस्यको कसलाई चिन्ता छ र ?

केही ब्यक्तिका बायोग्राफी पढिरहँदा यस्ता कुराले मन हुँडलिन्छ । सत्यताको कुन तहसम्म छुँदो हो त्यो लेखनले । जीवनका जुनसुकै मोडहरु सकारात्मक गन्तव्यमा जोडिएको देखाइन्छ । कर्तव्यको मुकाम चुमेका ब्यक्तिका बैयक्तिक जीवनका हरेक कुरा कसरी सकारात्मक होलान् ? शंकाको सुविधा यति धेरै पाएर पनि विश्वास गर्नुपर्ने आदर्श स्थापित हुन्छ । त्यो कुरा लेखकीय संस्कार पो हो कि ? संसारमा कुन चाहिँ ब्यक्ति होला कि सधैं सकारात्मक अवसरहरु पाउने । महान मुकाम चुम्नेको स्तुतिगान गर्नु र देवत्वकरण गर्नु लेखकीय अपराध बोध हुन्छ । देवकोटाको सर्वप्रिय रचना मुनामदन माथि नेवारी लोककथा चोरीको आरोपदेखि महात्मा गान्धीको काला सच अनि माओत्सेतुङको यौन विचलनलाई उहाँहरुको बायोग्राफीभित्र पढ्न पाइदैन । जो कोहि ब्यक्ति देवता हुन सक्दैन । देवता मान्छेको काल्पनिक तहको माथिल्लो उत्पादन हो । बुद्धले नावालक छोरो र सुत्केरी स्वास्नी छोडेर ब्यक्तिगत मुक्तिका लागि घर या दरवार छोड्नुमा प्रश्न उठ्नु स्वभाविक हो । उनको मुक्तिमार्गले प्रस्तता पायो र बृहत रुप लियो, त्यो भिन्न कुरा हो । महाभारतका प्रायः सबै पात्र आलोचनारहित छैनन् । कतै न कतै चुकेको कुरालाई उतिबेलाकै ॠषिमुनिले एक एक तर्क दिएर देवत्वकरण गरिदिए । उसो त अदृश्य शक्ति प्राकृतिक भनौ या ईश्वरिय केहिले चलाएकै छ संसार । बिग ब्याङ्गदेखि क्वान्टम थ्योरीले पनि मान्छेको चित्त बुझाउन सकेको छैन । तर, मान्छे देउता हुन सक्दैन । मुर्ति र सालिक उस्तै हुन् । मर्यादा आफ्नो ठाउँमा यथावत छ । आफ्नो बाबु आमालाई पुजा गर्न सबैलाई स्वतन्त्रता छ ।

हामी मानिस हौ । गल्तीका सिलसिला अनेकौं छन् । गल्ती देखाउँदा हाम्रो शिर नै छिनिने होइन । मबाट भएका गल्ती मलाई जति कसैलाई थाहा छैन । अरुलाई देखाउने मुखौटा र मनको ऐनामा देखिने नाङ्गो चेहरा भिन्न हुन्छ । जीवनमा कति गल्ती अन्जानमा गरिए । कति गल्ती लोभ लालचमा गरिए । कति गल्ती त आज सहि देखिन्छन्, भोलि बल्ल गल्ती सावित हुन्छन् आफैभित्र । त्यो गोप्यताको सिमा तोडिन सक्दैन । आफ्नो कर्मको क्रममा शारीरिक र मानसिक अन्तरद्वन्दबीच कति काम एउटाको बलमा गरिएका हुन्छन् । कहिले शरीर बलियो त कहिले मानसिकता दृढ भएको हुन्छ । मानसिकता बलियो हुँदाका निर्णय केही सहि सावित हुन्छन् । त्यो भन्दा बढी मनले खाएर मनले जितेर गरिएका कर्म निकै उच्चस्तरीय हुन्छन् । मानौ दान या त्याग, यी दुवै कुरामा मनको ठूलो भूमिका हुन्छ ।

आजको दुनियाँमा त्याग र दानपछि अर्को खतरापूर्ण कुरा चाहन्छ मनले, त्यो हो प्रचार या विज्ञापन । आफ्नो विज्ञापन गर्न मन लाग्नु आधुनिक संसारको जटिल बिमारी हो । अरुले प्रचार गरिदिनु स्वभाविक छ । म, म हुँ भनेर अरुलाई देख्न सुन्न बाध्य पार्ने भाइरस कोबिड भन्दा खतरापूर्ण तरिकाले फैलिदो छ । उसो त हरेक ब्यक्ति कुनै न कुनै गुणको खानी हो । आफ्नो असली गुण थाहा पाउनु नपाउनुमा उसको आन्तरिक मानसिक विकासले खेल खेलेको हुन्छ । हरेक व्यक्तिमा विशेष क्षमता हुन्छ । त्यो क्षमताको प्रयोग ठूलो कुरा हो ।

आजको युग आफुसँग भएको क्षमताभन्दा बाहिरी सहयोगमा अघि बढ्न चाहनेको भिड हो भन्दा अत्युक्ति हुँदैन । आफ्नो वृतमा रहेर आफ्नो कर्ममा दत्तचित्त हुनुभन्दा वृत्तबाहिरको दुनिया आकर्षक देख्नु आजको समस्या हो । घरबारी बाँझो छ । डलर कमाउन समुन्द्र पार पुग्ने सभ्यता हेर्दाहेर्दै विकसित भयो । बाकसमा डलर आउने र पाउनेलाई त बिझाउन्न यो कुरा तर बाकसमा लास आउनेको घरको घाउ कहिले पुरिएला ? के यो देशको विकास, नियम कानुन, परिवर्तन आदिले त्यो पीडा भुलाउन सक्छ त ?

एउटा वडाको सानो टोलदेखि आधुनिक एककृत बस्तीसम्म यहाँ एकलाई अर्काको सकारात्मक चर्चा गर्न फुर्सद छैन । सानो गल्ती या भुल भने खोजी खोजी खोतलिन्छ । हामी आफ्नो गल्ती र त्यसको परिणामबारे सचेत नहुँदाको परिणाम भोग्दैछौँ । यो कुरा एक ब्यक्ति, परिवार, समाज हुँदै देशव्यापी नै हो ।

देश मेरो हो । मैले केही दिन सकिन देशलाई, कम्तिमा देशले उभ्याएको छ मलाई । मेरो वृत्त सानो छ, त्यसैलाई सिँगार्नु मेरो कर्तव्य हो । यो कर्तव्यबोध विचलित नहुँदै धर्तीबाट बिदिए पनि ममा पश्चाताप नहोस् । मेरा गल्तीको सूची देखाइ सचिन अवसर जुरिरहोस् । बस् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. बिष्णु पादुका ले लेख्नु भएको यो लेख “गल्ति को परिभाषा” मलाई राम्रो लग्यो बिष्णुजीलाई बधाई छ

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button