‘छोरीमान्छेले पढ्न पर्दैन’

विभेदको श्रीगणेश

लक्ष्मीधर गुरागाईं

सानै छँदा मैले आफ्नै घरमा लैङ्गिक विभेद चाल पाएको हुँ । म र दाजु स्कुल जान्थ्यौं । मेरा दुइजना दिदीहरु मभन्दा सानासाना भाइबहिनीलाई हेरेर बस्दथे । घरको काम गर्दथे । भाइबहिनीको धरालाको काम अर्थात् आजका बेबेसिटरको जिम्मेवारी थियो उनीहरुको ।

माइली दिदी कमला मभन्दा दुई वर्ष जेठी थिई । उसलाई स्कुल जान निकै मन लाग्दथ्यो । उसले एक दिन मलाई भनी, ‘पाटी खरी बोकेर अरु स्कुल जाँदा मलाई पनि जाउँजाउँ लाग्छ, दिदीलाई पनि पढ्न लाने भनेर तँ भनिदे न । मलाई पनि पढ्न पठाउँछन् कि !’

दिदीको यस भनाइबाट म निकै भावुक भएँ । मैले आमाबालाई गएर भनेँ, ‘भोलिदेखि कमला दिदीलाई पनि स्कुल लाने है ?’

‘छोरीमान्छेले पढ्न पर्दैन । ऊ पराइघर जाने जात हो । उसले पढेर केही काम लाग्दैन । फेरि घरमा यति धेरै भाइबहिनी छन् उनीहरुको रुँगालु पनि त चाहियो । कसले पढाउँछ छोरी बन्सेलाई ?’ आमाले एकै छिनमा धेरै कुरा बताउनु भयो ।

त्यसबेला छोरालाई सुन्तलाको बोट र छोरीलाई बन्सो घाँससित तुलना गरेर धेरैजनाले छोरीलाई हेला गरेको मैले आफै देखेको छु ।

खाना खाने बेलामा पनि म लैङ्गिक विभेदको आभाष पाउँथे । आमा मलाई थालमा भात, कचौरामा दाल, प्लेटमा तरकारी , छुट्टै प्लेटमा अचार पस्किदिनुहुन्थ्यो । दिदीलाई भने एउटै थालमा भात पस्केर त्यसैका टाउकाटाउकामा दाल, तरकारी, अचार हालिदिनुहुन्थ्यो । त्यो देखेर मेरी दिदी कहिले त झगडा गर्थी । भन्थी, ‘मलाई पनि भाइलाई जस्तै गरी नदिने भए खान्न ।’ उसका कुरा सुनेर आमा थर्काउँदै भन्नुहुन्थ्यो, ‘कस्ता घरमा पर्ने होस्, छोरीले यसमा खान्छु उसमा खान्छु भन्नु हुँदैन, हातमा पाए, हातमा पातमा पाए पातमा खानु पर्दछ ।’ कुनै दिन दिदीले खाना खाइन भने त्यसले आमालाई खासै असर गर्दैन थियो ।

मैले कुनै दिन खाना खाइन भने आमा दिक्क मान्नुहुन्थ्यो । छरछिमेकका अरु महिलाहरुसित भन्नुहुन्थ्यो, ‘यसले आज भातको गाँस पनि टिपेको छैन, पढाइले त्यसै त कमजोर भएको छ । खाना नखाइदिँदा कस्तो पीर लागिरहेको छ ।’

मेरा निधारभित्र एउटा प्रश्नवाचक चिन्ह खडा हुन्थ्यो, ‘कमलादिदीले खाना नखाँदा आमालाई किन पीर लाग्दैन ? मैले खाना खाइन भने आमा किन यसरी पिरोलिनुहुन्छ ?’

मैले त्यसको गुढ रहस्य त्यस बेला बुझ्न सकेको थिइन ।

म ठुलो स्वरमा बोले पनि, खुट्टा बजार्दै हिँडे पनि आमा केही भन्नुहुन्नथ्यो । दिदीले ठुलो स्वरमा बोली भने, ‘कत्रो बोली बोलेकी, भोलि पर्सि सासूले मुख च्यातिदिन्छे अनि चाल पाउलिस् !’ दिदी खुट्टा बजार्दै हिडी भने आमा भन्नुहुन्थ्यो, ‘छोरीमान्छे भएर किन खुट्टा बजार्दै हिंडेकी, पछि कस्ता घरमा पर्छेस्, सासूले खुट्टैखुट्टामा हिर्काएपछि चेत्लिस् !’

कमला दिदी केहीबोल्दिनथी । आमाले उसलाई सासूको नाम लिएर बारम्बार दपेट्नु हुन्थ्यो ।

कोठाचोटा बढार्दा कतै कसिंगर नबढारिएर बाँकी रहेछ भने, पँधेराबाट पानी ल्याउँदा गाग्री सुकिलो गरी माझिएनछ भने र थालबटुका माझ्दा सफा भएनछन् भने कमला दिदीलाई आमाको भनाइ सधैं एउटै हुन्थ्यो, ‘भोलिपर्सि तेरी सासूले तेरा हात सिलौटामा राखेर लोहोराले किच्नेछे अनि चाल पाउलिस् । अहिलेदेखि होस् राखेर काम गर्ने गर !’

Ad

कुनै दिन दिदीभाइको कुनै कुरामा कुटाकुट भयो भने आमाको भनाइ हुन्थ्यो, ‘आफूभन्दा सानाभाइले कुट्यो भने पनि सहनुपर्दछ । किनकि ऊ छोरो हो । तँ बढ्ता हुन्छेस् !’

आमा दिदीलाई नै चड्कन दिनुहुन्थ्यो ।

एक दिन कमला दिदीले मसित रुँदै भनी, ‘भाइ, तँ त छोरो भाग्यमानी, हामी छोरी अभागी रे, यो संसार तिमी छोराहरुको मात्रै त रहेछ, हामी छोरी त रोप्नु र गोड्नुका बन्सो झारजस्ता बन्से रे ! तँलाई पढाउने गुरुहरु पनि त्यसै भन्छन्, हो भाइ ?’

‘त्यस्तो होइन के दिदी, आमाले पढ्नुभएको छैन अनि भन्नुहुन्छ नि, आमाका कुरा नपत्या न’, मैले भनेँ ।

त्यसको केही दिनपछि शुक्रबार विद्यालयमा ‘छोरा र छोरीबीचको विभेद राम्रो होइन’ भन्ने विषयमा वादविवाद प्रतियोगिताको आयोजना भएको थियो ।

विभिन्न साथीले वादविवादको पक्ष र विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए । मैले पनि विषयको पक्षमा भाग लिएर आफ्ना घरमा आफू र दिदीमा हुनेगरेको विभेदका विषयमा कुरा राखेर छोराछोरीमा समानता हुनुपर्ने तर्क प्रस्तुत गरेको थिएँ । गोष्ठीको अध्यक्षता विद्यालयका लोकप्रिय शिक्षक राधाकृष्ण लालदासले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा राधाकृष्णसरले भन्नुभएको थियो, ‘छोरा हुन् वा छोरी प्रत्येक बाबुआमाका लागि उनीहरु समान रगत र मासुका डल्ला हुन् । त्यसैले उनीहरुलाई अवसरको समानता हुनुपर्दछ । शिक्षा, स्वास्थ्य जस्ता कुरामा कोही बाबुआमाले छोरालाई काखा र छोरीलाई पाखा पार्नु हुँदैन । दुवैलाई समान व्यवहार हुनुपर्दछ । यस वादविवादको उद्देश्य पनि यही हो ।’

यति भनेर कार्यक्रम समापन भएको थियो । राधाकृष्ण सरका कुराले मेरा घैंटामा घाम लागेको थियो । मैले यो सबै कुरा घर गएर कमला दिदीलाई सुनाएको थिएँ ।

वादविवाद प्रतियोगिता सकिएको केही दिनपछि थाहा भयो राधाकृष्ण सरका छोराहरु विष्णु, सुमन, गुड्डू, वीरेन्द्र सबैजना विद्यालयमा पढ्थे तर जेठी छोरी सुधालाई स्कुलमा नपढाई मसिना भाइबहिनी हेर्न घरमै बँधुवा मजदुरका रुपमा पो राख्नुभएको रहेछ । त्यो कुरा सुनेपछि उहाँ गुरुप्रति नै मन कुँडियो ।

त्यस प्रसंगले आज मलाई दिलीप रायामाझी र करिष्मा केसी अभिनित एक चलचित्रमा रामकृष्ण ढकालले गाएको कर्णप्रियगीतको सम्झना भयो ‘यो त सब भन्ने कुरा न हो ।’

क्रमशः

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button