लेखेर मात्र कोही लेखक बन्दैन

देवकोटालाई पढाउनेहरु महाकवि थिएनन् ।

दीन पन्थी

अनन्त सृजनाका सम्भावना छन् भाषामा । सीमित अक्षरबाट बन्छन् असीमित शब्दहरु, वाक्यहरु । आजसम्म कसैले नलेखेको वाक्य लेख्न सक्छौं हामी । अक्षर उनै, शब्द उनै तर वाक्य नूतन, भाव चिरन्तन जोड्न सक्छौं हामी । यही हो भाषाको सृजनशीलताको जादू । यसैमा छ लेखनकलाको चातुरी । यसैबाट उत्पन्न हुन्छ अनन्त–नूतनता, असीम शिल्पसौन्दर्य, अतुल भावराशि र गम्भीर विचार–सागर ।

नभएको हुनुमा छ साहित्यकलाको महिमा । अक्षरहरु जोडेर शब्द, शब्दहरु उनेर वाक्य र वाक्यहरुको सार मथेर निकालिन्छ अर्थ । अर्थमा घोलिएका हुन्छन् भावना, अनुभूति र विचारहरु । एउटा कलम, अलिकति मसी, कागजका पानाहरु यत्ति हुन्छन् लेखाइका सरजाम । यिनै साधनले लेखकले मनमस्तिष्क खन्याउँछ आफ्नो लेखाइमा । अक्षरका किरिबमिरिब् रेखाहरुबाट चेतनाको उज्यालो उमार्छ लेखकले । निर्जीव कलम, मसी र कागजबाट जीवनका भावहरु उमार्छ लेखकले ।

लेखेर मात्र कोही लेखक बन्दैन । कति लेखन्दासहरुले महाभारतभन्दा बढी लेखे होलान् । कोलका गोरुहरु दिनभरि हिँड्छन्, कतै पुग्दैनन्, जहाँका तहीं हुन्छन् । लेखन्दासहरु पनि लेखक बन्दैनन् । धनले भइन्न लेखक । कुर्चीमा बसेर मात्र भइन्न लेखक । बाहुबल काम लाग्दैन यसमा । बुद्धिले, कल्पनाले, अनुभूतिको तीब्रताले, संवेदनाले, शिल्पले, प्रतिभाले र अथक साधनाले बनिन्छ लेखक । सुखले बनिन्न लेखक । दुःखकष्टका असीम प्रहारले, संवेदनाका अजस्र प्रेरणाले र करुणाका अश्रुधारले बनाउँछन् लेखक ।

जीवन र जगतमा असंख्य गुरु हुन्छन् लेखकका । लेखकले अरुले नदेखेको देख्छन्, अरुले नबुझेको बुझ्छन् । संवेदना र अनुभूतिको विलक्षण अभिव्यक्ति हो लेखाइ । सौन्दर्यविहीन लेखाइ बनियाको बहीखाता झैं निरस हुन्छ । वाल्मीकिले एउटी चरीको आर्तनाद सुने, एउटा व्याधाको क्रूरता देखे । वाल्मीकिको मनमा प्रवाहित करुणाबाट रामायण प्रकट भयो । वाल्मीकि रामायणको प्रेरणास्रोत अरु थिएन । वाल्मीकिले त्यत्रो शिल्पसौन्दर्य कसबाट सिके जंगलमा ?

Ad

देवकोटालाई पढाउनेहरु महाकवि थिएनन् । वेदव्यासलाई सिकाउने को थियो त्यसबेला वेदव्यासभन्दा जान्ने ? रुसोले कुनै विश्वविद्यालयमा पढेनन् तर आज रुसो सबै विश्वविद्यालयमा पढिन्छन् । रुसोको जीवनशैली निकृष्ट थियो तर उनका उत्कृष्ट लेखाइहरुले क्रान्तिका विचारबीज बनेर संसार हल्लाए । गोर्कीले विश्वविद्यालयमा पढेनन्, अभावपूर्ण जीवन, दुःखकष्टका ठक्करहरु र जीवनभोगाइका तिता यथार्थहरु उनका गुरु बने ।

आफ्ना अजरामर लेखाइमा बाँच्छ लेखक । घोडाका लगाम पक्डेर पेट पाल्ने शेक्सपियर आज आफ्ना अमर नाटकहरुमा बाँचेका छन् । ती धनाढ्यहरुको नामनिशान छैन जो घोडा चढेर नाटक हेर्न आउँथे । अभावपूर्ण जीवन बाँच्ने देवकोटा, गोर्की, प्रेमचन्द आज लाखौं पाठकको मनमा छन् त्यस बेलाका धनाढ्य, पदासीनहरु इतिहासको गर्भमा बिलाइसके । टाल्सटायलाई पुज्छ दुनिया जारलाई पुज्दैन । लेखनाथको स्मृतिमा शिर निहुराउँछ मान्छेले चन्द्रशमशेरको शालिकअघि झुक्दैन । मान्छेले मार्गरेट थ्याचर, जर्ज डब्लु बुस र मोरारजी देसाईलाई भुलिसके तर चर्चिल, र नेहरुलाई भुल्ने छैनन् । उनीहरु सदा बाँच्ने छन्, सम्झिनेछन् आफ्ना कालजयी कृतिहरुमा । लेखनकला यशस्कर छ र कष्टकर पनि ।

सत्यान्वयी लेखकहरु हावाको गतिमा ढल्कनन् । उनीहरु युग बदल्नको लागि तत्कालीन सत्ता र शक्तिको विरुद्ध लेख्छन् । आफ्ना ओजस्वी लेखाइबाट बरु दण्डित हुन्छन् तर भाट वा स्तुतिगायक बन्दैनन् । तानाशाहहरु असत्यको खेती गर्छन् । सत्य खुल्ने डरले उनीहरु लेखकहरुसँग सदा त्रस्त रहन्छन् । चाटुकार, भाट र स्तुतिगायकहरुको वर्तमानमात्र हुन्छ, भविष्य हुँदैन । ओजस्वी लेखकहरु आफ्ना लेखाइका कारण पुरस्कृत होइन दण्डित भए ।

हाम्रा कृष्णलाल अधिकारी ‘मकैको खेती’ लेखेबापत थुनिएर जेलमै मरे । सलमान रुस्दीले ‘सटानिक भर्सेज’ लेखे । संकीर्ण मुल्लाहरुले उनको टाउको गिड्ने फतवा जारी गरे । अहिले लुकीलुकी हिडिरहेछन् ‘रुस्दी’ । ‘लज्जा’ लेखेबापत तसलिमा नसरीन देशनिकाला भएकी छन् । जति दण्डित भए उनीहरु त्यति प्रख्यात छन् । लेखक जति दण्डित हुन्छन्, त्यति ओजस्वी हुन्छन्, जति पुरस्कृत हुन्छन्, त्यति फिका हुन्छन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. धेरै नै राम्रो र गहकिलो कुरा लेख्नु भयो । धन्यवाद !

  2. अति सुन्दर लेख, बौद्धिक खुराकले भरिपूर्ण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button