जसले माया गर्छ, ऊ रिसाउँदैन
माया
प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
कसैले पनि मैले यति धेरै माया गर्छु वा यति धेरै माया गरेँ भनेर भन्नु बेकार छ । माया त भित्री मनले बुझ्ने र अनुभव गर्ने कुरा हो । जसले वास्तविक रूपमा मायाको गहिराई बुझेको हुन्छ, उसले न त मायामा स-सानो कुराको कुनै गुनासो नै गर्छ न त कुनै पूर्वाग्रह नै राख्दछ । अनवरत रूपमा आफूले गर्ने माया जसरी पनि गरिरहेकै हुन्छ, भलै त्यो माया देखियोस् वा नदेखियोस् ।
माया कुनै वस्तु हुँदो हो त यसलाई पनि जोख्न मिल्दो हो तर यो त असीमित हुन्छ, यो अपरिमेय हुन्छ त्यसैले त मायालाई लेखाजोखा गर्ने कुनै तराजु आजसम्म बनेको छैन । जसले मायाँलाई राम्ररी बुझेको हुँदैन वा भित्री मनले माया गरेको छैन उसले मात्र मायालाई तौलिने गर्छ र यस्तो उस्तो भनेर भन्ने हुन्छ ।
वास्तविक रूपमा माया बुझेको र माया गरेको व्यक्तिले कहिल्यै पनि मायामा खोट देखाउँदैन र आफूले पनि आफ्नो काम-कर्तव्य र समय परिस्थिति अनुसार सकेसम्म निःस्वार्थ रूपले आफूले गर्ने मायाँ जसरी पनि र जताबाट पनि गरिरहेकै हुन्छ ।
जसले मायालाई राम्ररी चिन्न सक्छ र बुझ्न सक्छ त्यो व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन । कसैले आफुसित बोल्न खोज्यो र कुरा गर्न खोज्यो भने पनि उसको भावना बुझेर कुरा गर्छ तर झुठो कुरा गर्ने र कुनै आश्वासन दिने पनि गर्दैन । किनकि उसले राम्ररी बुझेको हुन्छ, झूठको भरमा गरेको माया कहिल्यै टिक्दैन । मात्र अँध्यारोमा जूनकिरीको बत्ति पिलिक्क गरेर उज्यालो भएजस्तो मात्र हो । त्यसले कुनै दियोको वा बत्तिको काम गर्दैन । त्यस्तै कसैको ऊप्रति बोल्ने वा कुरा गर्ने मनसाय भएको नभएको कुरा पनि उसले सजिलै आंकलन गरेर आफैँ पर हट्दछ र जब बोल्ने मनसाय भएको थाहा पाउँछ अनि मात्र बोल्छ किनकि ऊ आफुले माया गरेको व्यक्तिको मन दुखाउन चाहँदैन ।
माया गर्ने व्यक्तिले मायामा मात्र हैन, रिसमा, गालीमा, हेपाईमा, बेवास्तामा, सुखमा, दु:खमा जस्तोसुकै अवस्थामा पनि आफुले आफ्नोतर्फबाट गर्ने माया गरिरहेकै हुन्छ, भलै त्यो माया पाउनेले बुझोस् वा नबुझोस् । जसले माया गर्छ, ऊ रिसाउँदैन र कथंकदाचित् रिसाइहाले पनि त्यो रिस क्षणिक हुन्छ, मनमा गढेर बस्दैन ।
तर यी कुराहरू स्वार्थवश र परिस्थिति हेरेर माया गर्नेहरूमा लागू हुँदैनन् । किनभने, त्यस्ता व्यक्तिहरू आफ्नो काम छउन्जेल र काम लिउन्जेल मात्र मायाको नाटक गर्छन् । नि:स्वार्थ माया गर्दागर्दै पनि कसैले आफ्नो नाटकीय मायामा तपाईँको मायालाई लत्याउन खोज्छन् र जति नै राम्रो गरे पनि त्यसको कुनै मोल हुँदैन तसर्थ कहिल्यै पनि कसैप्रति आँखा चिम्लेर विश्वास गर्नुहुँदैन । मायाको महत्व नबुझेकोलाई तपाईँको माया ढोँगजस्तो लाग्न सक्छ, स्वाँग पारेको जस्तो लाग्न सक्छ तसर्थ आफ्नो वरिपरिका मान्छे कस्ता छन् त्यो सबै बुझ्नुपर्छ । घर व्यवहार आदि कुराहरूमा व्यावहारिक भएजस्तै मायामा पनि व्यावहारिक हुनसक्नुपर्छ ।
तपाईँले नि:स्वार्थ रूपले गरेको मायालाई सही ढंगमा बुझिईँदैन भने त्यहाँ विचार गर्नुपर्छ र अवस्था हेरेर अल्प विराम, अर्ध विराम वा विराम दिनुपर्छ । पूर्ण विराम नै भने गरिहाल्नुहुँदैन । अवस्था हेरी तटस्थ भएर बस्न भने सकिन्छ । जहाँ तपाईँको माया एवं काम गराईको महत्व र कदर गरिइन्छ, त्यहाँ सदैव विनम्रतया आफ्नो कर्तव्यको राम्ररी पालना गर्दै जानुपर्छ । राम्रो सोचाइले गरेको काम जहिले पनि राम्रै हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)