
ढाक्रे लेखककाे जीवन काटिरहँदा पनि शरीरका राैँ ठाडा
घुमीफिरि फेरि पत्रिका
… यसैबीच ‘सोभियत भूमि’को उर्दू संस्करणमा अनुवादक भएर काम गर्न इलाहाबादका नामी उर्दू कवि अजमल अजमली आए । अजमलसंगको मित्रतामार्फत भारतका प्रसिद्ध उर्दू शायर र साहित्यकारहरूसंग पनि उसकाे परिचय भयो । यस सिलसिलामा उल्लेख्य सज्जाद जहीर, साहीर लुधियानवी, अलि सर्दार जाफ्री, कमलेश्वर आदि थिए । नवाेदित उर्दू शायर अनवर अजीम त पछि उसकाे अफिसमा सहकर्मी नै भए। सुरेन्द्र मास्काे प्रगति प्रकाशन गृहमा अनुवादक भएर गएपछि अजमलसंग उसकाे मैत्री सुरेन्द्रसँग जस्तै प्रगाढ रह्याे ।?
पत्रिकाले लोकप्रियता हासिल गर्दै गयो । यसको मूल्य नेपालका बहुसंख्यक पाठकहरूका लागि सुलभ भएकोले, पत्रिकाको ग्राहक संकलन कार्य पनि नेपालभित्र र भारतका नेपालीभाषी क्षेत्रहरूमा सुचारु एवं सक्रियरूपले चालु भएकोले त्यस्तो हुनसकेको थियो । अनि यस्तो सुनमा सुगन्ध थप्ने काम नेपालको जाती, भाषा, साहित्य, संस्कृति एवं अर्थतन्त्र आदिवारे सोभियत विशेषज्ञहरूको लेख र नेपालका सुविख्यात कवि, साहित्यकार एवं समालोचकहरूका मौलिक लेखहरूको प्रकाशनले र नेपालभरिबाट आउने र यथास्थान प्रकाशित हुने सम्पादकलाई पत्रहरुले गर्नेगर्थे ।
लेखनाथ पौड्याल, रुद्रराज पाण्डे, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पुष्करशम्शेर राणा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, गोपालप्रसाद रिमाल, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, हृदयचन्द्र सिंह प्रधान, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, बाबुराम आचार्य, बालचन्द्र शर्मा, गोपाल पाण्डे, भीमनिधि तिवारी, भवानी भिक्षु, गोविन्द गोठाले, चित्तधर ‘हृदय’, विजय मल्ल, ईश्वर बराल, श्यामप्रसाद शर्मा, जनार्दन सम, शंकर लामिछाने, श्यामदास वैष्णव, कृष्णचन्द्रसिंह प्रधान, भूपी शेरचन, भवानी घिमिरे, गोकुल कवि, केवलपुरे किसान, केशव पिण्डाली, भैरव अर्याल, शशीकला शर्मा, रमेश विकल, मदनमणि दीक्षित, कमलमणि दीक्षित, महेशचन्द्र रेग्मी, आनन्ददेव भट्ट, कृष्णप्रकाश श्रेष्ठ आदि नामहरू ‘सोभियत भूमि’का प्रारम्भका र पछिपछिका अङ्कहरूमा प्रकाशित हुन थाले ।
कसैका मौलिक लेखहरू प्राप्त भएर त धेरैका बारेमा सम्बन्धित सेभियत विशेषज्ञहरूका लेखबाट । यसरी नै महाकवि देवकोटाले स्वतन्त्रता वा स्वाधीनताका लागि लडिरहेका एशिया र अफ्रिकाका जनताहरूको समर्थनमा सन् १९५७ मा सोभियत उज्बेकिस्तानको राजधानी ताशकन्दमा आयोजित एशिया र अफ्रिकाका लेखकहरूको सम्मेलनमा शङ्खनाद गरेका विश्व साहित्यिक ऐक्यबद्धताको आवाजको पाठ पहिलो पटक नेपालीमा अनुवाद भएर छापियो । उक्त लेखलाई अनुवाद गर्न बस्दा उसले आफूलाई शब्दश: महाकवि नै बनाएको थियाे । स्वयं महाकविलाई पत्रिकाको उक्त अंक हस्तान्तरण गर्ने सुयोग उसले त पाएन, किनभने उनकाे दुखद देहावसान भइसकेको थियो । उसले बालकृष्ण समबाट भने ‘सोभियत भूमिले नेपाली वांग्मयको विकासमा खेलेको भूमिका अत्यन्त सह्रानीय छ’ भनी आफ्नै कलात्मक अक्षरले पत्र पठाएका आनन्दलाई शब्दमा बताउन नसकेकाे अनुभूति अहिलेसम्म पनि उसलाई भइरहेछ ।

छाेटकरीमा भन्दा, ‘साेभियत भूमि’ पत्रिकाले, यसप्रकारले, नेपाल तथा साेभियत संघबीच जनस्तरमा मित्रता बढाउन अब्बल भूमिमा खेल्याे भने पछिपछि ‘रूपरेखा’ तथा ‘रचना’मार्फत नाम कमाएका धेरै लेखक तथा कविहरुले आफ्नाे सृजनकाे छैँटि, न्वारान वा पास्नि पनि यही पत्रिकाका पानामा छाएर मनाएका थिए भन्ने सम्झना उसले नगरिरहन सकेन ।
‘साेवियत भूमि’बाट ‘साेभियत भूमि’ नव-नामाकरण कमलमणि दीक्षितकाे पत्रबाट भएकाे कथा त उसले पहिलाकाे कुनै किस्तामा बताइसकेकाे हाे ।
यसरी ऊ अनुवादककाे रूपमा पत्रिकाका पानाहरुबाट शीतयुद्धका माेर्चाहरुमा, सम्युक्त राष्ट्रसंघका वा अन्य विश्व संगठनका गाेष्ठीहरुमा लडिएका राजनीतिक लडाईँहरुमा,एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका जनताकाे संघर्षका सफलतामा, विश्वशान्ति एवम् आक्रमणकारी युद्धविरुद्ध विश्वभरिका सडकसडक तथा घरघरबाट निस्केका आवाजहरुमा,बाह्य अन्तरिक्षमा भएका चमत्कारपूर्ण सफलताहरुमा, जीवनकाे प्रत्येक क्षेत्रमा भएका उपलब्धिहरुकाे आनन्दमा, कुनै सफलता विफलता वा वियाेगान्तमा परेका कारणबाट उत्पन्न शाेक एवम् व्यथामा, स्वाधीनता आन्दाेलनमा कीर्तिमान राखेका राजनीतज्ञ वा नेताहरुकाे विस्थापन तथा हत्याबाट हुने पीडामा तर सदैव आशावादी जीवन बाँच्ने कवयाेचित उमङ्गमा आफू पनि सहभागी भएकाे सम्झना गर्दा, अनि आज पनि ऊ कमाउने अनुवादक नरही ढाक्रे लेखककाे जीवन काटिरहँदा पनि उसकाे शरीरका राैँ ठाडा हुने, साह्रा भाव राेमाञ्चकताले भरिने अनुभव नगरिरहन सक्दैन। किनभने यी २०१५ सालकै दशैँका धेरै कथा आज २०७८ सालकाे दशैंअघि लिपिबद्ध हुनु पनि एउटा अपूर्व संयाेग हाे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)