
विहेको दिन भिडियो कल गर
अधुरो प्रेम
रोशनी घिमिरे
धेरै वर्षपछि उसलाई किराना पसलमा देखेँ । अचम्म लाग्यो, पुरै परिवर्तन भैछे !
मलाई परैबाट देखिछे । म गाडी पार्क गर्न थालेँ । उसले हतार-हतार सलले मुख छोपिसकिछे । उत्ता फर्किएर निहुरिरही ।
मैले चिसो मागेँ । उसले केही नबोली दिई । सायद बोलीले चिन्छ जस्तो लाग्यो होला ।
हेरिरहेँ, ऊ फेरि अर्कोतिर फर्की ।
मैले भनेँ, ‘हजुरलाई कतै देखेंजस्तो लाग्छ । योभन्दा पहिले कहींकतै हाम्रो भेट भएको छ ?’
अर्कोतिर फर्किंदै भनी, ‘छैन, मलाई कहिँकतै भेटेजस्तो लाग्दैन ।’ ऊ भन्दै थिई, ‘हजुर झुक्किनुभयो ।’
मैले भनेँ, ‘कस्तो मेरो साथीको झझल्को आयो हजुरलाई देख्दा ! स्वर पनि उस्तै ।’
ऊ अझ सलले मुख छोप्दै भन्दै थिई, ‘हजुर झुक्किनुभयो ।’
मैले सोधेँ, ‘हजुरको नाम ?’,
उसले ठगी, ‘निरू ।’
‘क्षमा गर्नुहोला ! म साँच्चै झुक्किए छु’, यति भन्दै त्यहाँबाट हिँडेँ ।
तर, बाटोभरि उस्कै मात्र याद आइरह्यो, ‘पातली, काली, त्यति राम्री मान्छे हेर्दा दु:खी जस्ती लाग्थी ।’
नराम्रो लाग्यो । आफूले चाहेको मान्छे, माया गरेको मान्छे त्यस्तो अवस्थामा देख्दा तर यतिका वर्ष पछि पनि ऊप्रतिको चाहना उत्तिकै रहेछ मेराे । मलाई अचम्म लागिरह्यो ! प्रेम जिवितै रहेछ । आखिर ऊ अपरिचित भैदि । हो. उसलाई थाहा थियो म उसको दु:ख कत्ति पनि हेर्न सक्तिन । राति अबेरसम्म निन्द्रा लागेन । मनमा अनेकन कुराहरु खेलिरहे । बिहानीपख भुसुक्कै निदाएछु ।
हतार-हतार तयार भएर अफिस गएँ । काम गर्न पनि त्यति मन लागेन । अफिस बिदा भएपछि फेरि उही बाटो भएर घर फर्किएँ । पसलमा दुईटी नानी बसिरहेका थिए । गाडी रोकेँ । एक बोतल पानी मागेर पिएँ । हेर्दै मायालाग्दा । नाम सोधेँ ।
‘सानीले भनी, ‘बिम्बा ।’,
‘कस्तो राम्रो नाम !’, मैले त्यति नभन्दै उसले हाँस्दै जवाफ दिई, ‘मेरो मामुको जस्तै ।’
मैले सोधेँ, ‘तिम्रो मामुको नाम के हो र ?’
‘बिनी’, उसले जवाफ दिई ।
मेरी प्यारी बिनी मलाई किन नाम ठगिरहनुपर्दथ्यो र ! उसलाई नभेटी हिँड्नै मन लागेन ।
सोधेँ, ‘तिमीहरु कहाँ बस्छौ ?’
‘हाम्रो कोठा अलि पर छ ।’
फेरि सोधेँ, ‘आज मामु आउनुहुन्न ?’
सानीले भनी, ‘अलिखेरमा आउनुहुन्छ ।’
फोन नम्बर मागेँ । फोन लगाएँ तर उठाइन । पर्खिरहेँ । नानीहरूसँग धेरैबेर गफगाफ भयो ।
मैले सोधें, ‘बाबा के गर्नुहुन्छ ?’
ठुली अलमल्ल पर्दै थिई । सानीले हतार-हतार जवाफ दिई, ‘बाबा हुनुहुन्न ।’
‘चुप लाग् । किन बोल्नुपर्यो ?’, ठूलीले गाली गरी । सानी अँध्यारो मुख लगाई ।
फेरि सोधेँ, ‘बाबा कहाँ जानुभएको छ र ?’
‘थाहा छैन’, ठुलीले जवाफ दिई । यतिकैमा बिनी आइपुगी मलाई देखेर अलमल्ल परे जस्ती भै ।
‘आज त चिन्यौं होला नि’, मैले यति भन्दा नभन्दा उसका आँखाभरी आसु टिलपिल भरिए । नराम्रो लाग्यो । सानैदेखि संगै पढियो । घमण्ड भन्ने कहीं कतै थिएन । जोसँग पनि चाँडै घुलमिल हुन सक्ने उसको स्वभाव । कलेज पढ्दा साथीहरु जिस्काउँदै तानातान गर्दथे । ‘म केटा भएको भए अपहरण गरेर लैजान्थेँ’, ऊ हाँसिरहन्थी । उसको र मेरो पढाइमा खुब कम्पिटिसन चल्दथ्यो । भेट हुनेबित्तिकै पढाइको कुरा हुन्थ्यो । कुनै दिन ऊ कलेज नआउँदा कस्तो कस्तो लाग्दथ्यो, भोलिपल्ट भेट्दा परैबाट हाँस्दै आउँथी । मलाई देखेर कत्ति खुसी भई जस्तो लाग्दथ्यो । मनमनै सोच्दथेँ । उसलाई पनि मलाई जस्तै हुँदोरहेछ ।
बाह् उत्तीर्ण भएपछि ऊ अध्ययनको लागि काठमाडौँ आउने भई, मलाई नराम्रो लाग्यो । यतिका वर्ष संगै पढियो । आउने अघिल्लो दिन घरैमा आई । भन्दैथी, ‘म भोलि काठमाडौँ जान्छु ।’
म केही बोलिन । एकोहोरो हेरिरहेँ ।
उसले भन्दैथिई, ‘ओई मोटे किन टोलाएको ?’
म झसङ्ग भएँ । फेरि पढाइकै गफगाफ भयो । ऊ हिँडी । मलाई राति अबेरसम्म निन्द्रा लागेन । पछि भुसुक्कै निदाएछु । धेरै याद गरेर होला प्राय: सापनामा पनि देखिरहन्थेँ । सपनामै देख्दा पनि कत्ति खुशी लाग्दथ्यो । फोन गरिरहन मन लाग्दथ्यो । फेरि उसले के सोच्ली, बा गलत सोचेर रिसाउली भन्ने डरले हालखबर मात्रै सोधेर फोन राखिदिन्थेँ । म गाउँमै छँदा फेरि एकपटक ऊसँग भेट भयो !
त्यतिबेला मैले जिस्काउँदै सोधे, ‘मभन्दा मिल्ने कोही साथी बनाएकी हौली नि सहरमा ?’
हाँस्दै ‘छ, नि किन नहुनु ?’
यति सुनिसकेपछि मलाई डाहा भएर आयो । म जुरुक्क उठेर हिँडेँ । काठमाडौँ फर्किने अघिल्लो दिन भेट भयो मलाई त्यति बोल्न मन लागेन । ऊ भन्दै थिई, ‘भोलि म काठमाडौँ फर्किन्छु।’
मैले सोधेँ, ‘अब कहिले आउँछौ ?’
उस्ले भनी, ‘खै थाहा छैन, अब त हामी सबै परिवारै जान्छौँ आइँदैन होला ।’
‘ए अब तिमी कहिल्यै आउँदिनौं ?’
उसले भनी, ‘अँह ।’
‘त्यसो भए अब हाम्रो भेट कहिल्यै हुँदैन होला है’, मैले भनेँ ।
‘काठमाडौँ आउन, उत्तै भेटौँला नि’, यति भन्दै ऊ हिँडी ।
जब मेरा कानमा उही शब्द ‘छ नि, किन नहुनु ?’ गुन्जिन्थे, तब डाहाले आफ्नै कानको जाली फुट्ला झैं गरी चिच्याउन मन लाग्थ्यो । सोही दिनदेखि मैले उसलाई बिर्सने प्रण गरेँ । सोचेँ उसको खुशी म आफू नभएर अरु नै कोही रहेछ ।
मैले फोन गर्न छाडिदिएँ । उसैले कहिलेकाहीँ फोन गर्थी । म सन्चो-बिसन्चो सोधेर राखिदिन्थेँ । तर, भुल्न निकै गार्हो भयो । उस्को खुसीको लागि मैले भुल्नै पर्दथ्यो । बिस्तारै भुल्न थालिसकेको थिएँ ।
राति अबेर फोनको घन्टी बज्यो । उसैको रहेछ । सुरुमा उठाउनै मन लागेन । निकैबेर घन्टी बजेपछि फोन उठाएँ ।
ऊ भन्दै थिई, ‘मोटे मेरो बिहे हुने भयो जसरी भए पनि आउ है ।’
मैले सोधें, ‘कहिले ?’
‘पाँच दिनपछि’, उसले जवाफ दिई ।
आफूले मन पराएको मान्छे, आफूलाई भन्दा धेरै माया गरेको मान्छे अरुसँग बिहे गरेर गएको कहाँ हेर्न सक्थेँ र ! मैले भने, ‘मेरो फुर्सद छैन । म आउँन सक्दिन ।’
ऊ बिन्ती गरिरही ।
‘घरमा आमा बिरामी हुनुहुन्छ’, बाहना पारी दिएँ ।
‘मिल्यो भने विवाहको दिन भिडियो कल गर । एकपटक हेर्ने इच्छा छ ।’
उसले भिडियो कल गरी । रातो साडीमा सजिएकी हेरिरहेँ । ऊ पनि बोलिन । म पनि बोलिन । मलाई आँशु थाम्न निकै गाह्रो पर्यो । हेर्दा ऊ पनि त्यति खुशी जस्ती त लाग्दिन थिई ।
‘तिम्रो लागि यो मनको ढोका सधैं खुला रहने छ । कुनै दिन दु:ख पर्यो भने सम्झनु’, अन्त्यमा यति भन्दै मैले फोन काटेँ । त्यसपछि पनि उसले धेरैपटक फोन नगरेकी हैन, तर मैले फोन उठाइन् ।
म्यासेज गरिछे, ‘सरी ! मोटु प्लिज फोन उठाऊ, यथार्थ बताउँछु ।’
मैले सोचेँ, ऊ यही भन्ली, ‘मलाई माफ गर, मैले सोचेकी थिइन् कि तिमी मलाई यति धेरै चाहन्छौ ।’
हो, उसले नयाँ नम्बरबाट पनि धेरै पटक फोन नगरेकी हैन । उसको स्वर सुन्ने वित्तिकै फोन काटिदिन्थेँ । त्यसपछि सम्पर्कविहीन भएँ ।
यतिका वर्षपछि जब फेरि भेट भयो, प्रेम मरेको थिएन ।
उसले रुँदै भन्दै थिई, ‘मप्रतिको फिलिङ्स थाहा पाउन मात्रै बिहेको नाटक गरेकी थिएँ । मलाई लागेको थियो कि तिमी जसरी भए पनि भेट्न काठमाडौँ आउनेछौ ।’
‘सपना उत्तिकै मिठा थिए, सबै चकनाचुर भए’, ऊ भन्दै थिई, ‘योभन्दा केही हप्ता पहिले जब तिमी यही बाटो भएर हिँडिरहेको देखेँ । मेरा हर्षका आँसु रोकिएनन् अबिरल बगिरहे ।त्यसपछि पनि तिमीलाई हेर्ने चाहनामा यी बाटो च्याहिरहेँ , च्याहि नै रहेँ । प्राय: सँधैजसो तिमीलाई अफिस टाइममा देख्दथेँ । यो मन कति हर्षित हुन्थ्यो तर बोलाउने हिम्मत गरिन । तिमीले देख्छौ भनेर मुख छोप्ने गर्दथेँ । मलाई थाहा थियो कि मेरो यो हालत देखेर तिमी दु:खी हुनेछौ ।’
ऊ रोइरही ।
म नि:शब्द थिएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)