शिक्षकले सपना तुहाइसकेको हुन्छ तर विद्यार्थीका सुकुमार
२०४५ सालमा शिक्षण पेसामा छिर्दा बीस–बाइसका लक्काजवान थिए । पेसाबाट बाहिरिँदा कपाल सेतै फुलेको छ । अनुहारमा चाउरीका धर्सा अनगिन्ती । रामेछापको दुर्गम गाउँको स्कुलमा रहेर जीवनका ३१ वर्ष देशको सार्वजनिक शिक्षालाई अर्पण गरे । भाषा–साहित्यमा, खासगरी बालसाहित्यमा निरन्तर सिर्जनारत रहे सँगसँगै । विशेष स्तम्भ ‘शिक्षकलाई सलाम‘मा नेपालनाम्चा प्रस्तुत गर्छ, माधव सयपत्री ।
कालोपाटी अगाडि उभिएर तपाईंलाई पढाउने शिक्षकहरूबारे विद्यार्थी छँदा बेन्चमा बसेर के सोच्नुहुन्थ्यो ?
स्कुल भर्ना हुँदा म आठ-नौ वर्षको थिएँ । २०३२-३३ सालतिरको कुरा होला । त्यसबखत ‘कालोपाटी’ थिएन, ‘पाटी’ मात्रै थियो । स्कुलमा एकजना मात्र सर हुनुहुन्थ्यो । म ध्वाँसोले मोसेर पाटी कालो बनाएर लैजान्थेँ । सरले खरीले बान्की मिलाएर क-ख लेखिदिनुहुन्थ्यो ।
त्यसपछि ‘पढ पढ’ भनेर सर एकसर्को कोठा घुम्नुहुन्थ्यो । यसो आँखा घुमाएर सरको लुगातिर हेर्थेँ । जुत्तामोजा लगाएको, पाइन्टभित्र सर्टको फेर घुसारेको, चटक्क मिलेको जिउडाल, हातमा टलक्क टल्कँने घडी । सरको जिउबाट मगमग बास्ना आइरहेको हुन्थ्यो । मलाई त्यो बास्ना अत्यन्त मन पथ्र्यो । म लामो सास तानेर सरले कक्षाकोठामा छाडेको शरीरको बास्ना तान्थेँ । खै, सर जिउमा के छर्कनुहुन्थ्यो, त्यसले मलाई लठ्ठयाउँथ्यो । संसारकै सबैभन्दा जान्नेसुन्ने र सुन्दर मान्छे हो जस्तो लाग्थ्यो । फेरि ‘पढ पढ’ भनेर सर अर्को कक्षामा जानुहुन्थ्यो किनभने एउटा सरले तीनोटा कक्षा भ्याउनु पथ्र्यो । सर अर्को कोठामा जाँदा बास्ना सुँघ्न मलाई पनि उतै जाऊँ लाग्थ्यो ।
भविष्यमा शिक्षक हुन्छु भन्ने त्यतिबेलै तपाईंको सपना थियो ?
मास्टर हुनु भनेको मेरो बुताबाहिरको कुरा लाग्थ्यो । तर पनि सरको फुर्तीफार्ती देखेर मेरो बालमन मास्टर भएको कल्पना गथ्र्यो ।
शिक्षक भएर पहिलोपटक कक्षा छिर्दाको क्षण सम्झनु हुन्छ ? कस्तो लागेको थियो त्यो क्षण ?
सम्झन्छु । अविस्मरणीय लाग्छ त्यो क्षण । शिक्षक मेरो अपेक्षित पेसा थिएन तर बन्नै प-यो । आपूmले जानेका कुरा नानीहरूलाई सिकाउँछु र एउटा राम्रो शिक्षक बन्छु भन्ने अठोटसहित कक्षामा पहिलो पटक प्रवेश गरेको थिएँ ।
विद्यार्थी हुन सजिलो कि शिक्षक ? र, यस्तै प्रश्न विद्यार्थी हुन गाह्रो कि शिक्षक ?
विद्यार्थी हुनुका आफ्नै सुख छन् र दुःख पनि छन् । त्यस्तै शिक्षकका पनि आफ्नै दुःख–सुख छन् । मलाई चाहिँ तुलनात्मक रूपमा शिक्षक हुन सजिलो र विद्यार्थी हुन गाह्रो लाग्छ तर सधैँ विद्यार्थी नै भइरहूँ जस्तो लाग्छ । धारोमा थापिएको गाग्री भरिसकिएपछिको आवाज कताकता कर्कश लाग्छ । भरिँदा भरिँदैको आवाज मलाई अत्यन्त मृदु लाग्छ । काव्यमा एकसाथ श्रृङ्गार, शान्त र अद्भूत रसको सम्मिलन जस्तो । बहुत मेलोडियस !
शिक्षकभित्र विद्यार्थी कत्तिको हु्रन्छ ? विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ?
आहा ! कति मिठो प्रश्न !
शिक्षकभित्र विद्यार्थी हुने भएकाले नै विद्यार्थीबाट शिक्षकले पलपलमा सिकिरहेको हुन्छ । विद्यार्थीभित्र पनि शिक्षक हुन्छ । उसले शिक्षकलाई पनि सिकाइरहेको हुन्छ । एउटा विद्यार्थी शिक्षकको लागि पूर्ण शिक्षक पनि हो । शिक्षकले विद्यार्थीमा ‘शिक्षकभाव’ आरोपित गरिसकेको हुन्छ । विद्यार्थी आफ्भन्दा सानाका लागि शिक्षकै हुँ भनिठान्छ ।
शिक्षकका सपना र विद्यार्थीका सपना कति फरक र समान हुन्छन् ?
फरक यस मानेमा– शिक्षक जीवनको गञ्जागोलभित्र पसिसकेको हुन्छ । व्यवहाररूपी अँध्यारो सुरुङ्भित्र छिरिसकेको हुन्छ । साना नानीहरूलाई त्यो गञ्जागोल र अँध्यारोले छोएको हुँदैन । शिक्षक बन्धनमा हुन्छ । विद्यार्थी स्वतन्त्र हुन्छ । शिक्षकले सपना तुहाइसकेको हुन्छ तर विद्यार्थीका सपना सुकुमार नै हुन्छन् । शिक्षक दौडेर नेटो काटिसकेको हुन्छ । विद्यार्थी दौडको प्रस्थाविन्दुमै हुन्छ । समान यसमा मानेमा– शिक्षक र विद्यार्थी दुवै उस्तैउस्तै दौडमा सहभागी भएका हुन्छन् । दुवैले अक्षरकै खेती गरिरहेका हुन्छन् ।
शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर शिक्षकभन्दा निर्कै पर उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
आफुले रोपेको बिरुवा हुर्किएर लटरम्म फल फलेजस्तो लाग्छ । माझी ढुङ्गा चलाइरहेको हुन्छ । चालक बस गुडाइरहेको हुन्छ । पाइलट हवाइजहाज उडाइरहेको हुन्छ । कसलाई कतिचोटि बोकेँ, कहाँ कहाँ पु-याएर छाडेँ, उनीहरूलाई केही थाह हुँदैन । तर शिक्षकले आफ्ना सबै यात्रुको ‘नोटिस’ गरेको हुन्छ । आफुभित्रै राखेर सयर गराएका र कतै पु-याएर छाडेका यात्रुको प्रगति देख्दा औधी खुसी लाग्छ । कताकता ईष्र्या पनि हुन्छ । सकारात्मक ईष्र्या !
शिक्षक कस्तो हुन्छ ? र, असल शिक्षक भनेको के हो ?
औसतमा शिक्षक असल हुन्छ । हुनुपर्छ । असल शिक्षकले कम्तीमा पनि विद्यार्थीलाई न्याय गर्छ । भेदभाव गर्दैन । ऊभित्रको ‘गुरुभाव’ ले भेदभाव गर्न दिँदैन ।
शिक्षकको दुःख के हो ? सुख के हो ?
एक किसिमले भन्दा शिक्षण दुखिया पेसा हो । हत्तपत्त जस नपाइने । अपजस मात्रै पाइने । एउटा श्रमजीविका अनेकौँ दुःख हुन्छन्, त्यस्तै शिक्षकका पनि हुन्छन् । हाड घोटेर काम ग-यो । घाँटी सुकाएर करायो । चार चार महिनाको तलब पर्खँदा पर्खँदै जिन्दगीले डाँडो काट्न लागिसक्छ । व्यवहार जति सोझ्याए पनि बाङ्गाको बाङ्गै हुन्छ । अजङ्ग पहाडजस्ता दुःख झेलेर शिक्षक बाँचेको हुन्छ । (यो औषत शिक्षकको कुरा हो । पार्टीका झोले शिक्षक, पत्रकार शिक्षक, ठेकेदार शिक्षक, दलाल शिक्षक र एनजिओ–आइएनजिओ शिक्षकमा यो कुरा लागू हुँदैन ।)
सरकारी शिक्षकका दुःख हुन यी । कम्तीमा यिनको त ढिलोचाँडो निश्चित स्केलको तलब आउँछ । निजी विद्यालयको शिक्षक त झनै पीडामा हुन्छ । थोरै बेतन, अनिश्चित भविष्य । कमजोर धागोजस्तो जिन्दगी । कुन बेला चट्टै चुँडिन्छ । खेल खत्तम ।
अर्को हिसाबले हेर्दा शिक्षण अत्यन्त सुखिया पेसा पनि हो । सानै आम्दानी सानै व्यवहार । उधुमका महत्वाकाङ्क्षा पनि छैनन् । कहिल्यै रित्तिन्न शिक्षक ज्ञान बाँडेर । आफु नरित्तिई अरूलाई भर्नुमा जतिको आनन्द र सुख केमा हुन्छ र !
अरु पनि धेरै प्रश्नहरू छन् । उत्तर पनि । अहिलेलाई यत्ति सोध्छु । जाँदाजाँदै अरु केही भन्नु छ ?
तपाईंका मूर्त-अमूर्त प्रश्नहरूको जवाफ दिन मलाई निकै गाह्रो भयो । झट्ट हेर्दा सजिलो लाग्ने । तर, उत्तर दिन भने निकै अप्ठेरो । तपाईंका यी ओजिला प्रश्नका अपेक्षित उत्तर दिन नसकेकोमा असहज महसुस भएको छ ।
अन्त्यमा, हामी जहाँ छौँ, त्यहीँ रमाऔँ । पेसाको मर्यादा राखौँ । कसैलाई औंलो ठड्याउने ठाउँ नदिऔँ ।