
हुँदा खाने र हुनेखाने हामी कति स्वस्थ छौँ ?

दुर्योधन बस्नेत
हामीलाई बाँच्नका लागि ३ वटा आधारभूत कुराहरुको जरुरी पर्दछ । हावा, पानी र खाना । यतिवेला पर्यायवरणीय प्रदुषणका कारण यी ३ वटै चिज प्रदुषित हुन पुगेका छन् । वायुमण्डलमा यत्रतत्र फैलिएको धुँवा धुलोका कारण स्वस्थ श्वास फेर्न सकिरहेका छैनौँ जसले गर्दा धेरै मानिस फोक्सोसम्बन्धि दम रोगका शिकार भैरहेका छन् भने छाला र आँखाका रोेगीहरुको संख्या बढ्दो क्रममा छ ।
त्यसैगरी हामीले पिउने पानी पुर्णरुपमा विषाक्त भएको अवस्था छ । बढ््दो शहरीकरणले निम्त्याएको अब्यबस्थित बसोवासका कारण शहरी क्षेत्रमा भएका अधिकांश पानीका मुहानहरु, श्रोतहरु ढुंगेधारा, कुवा, ईनार आदि मासिएर लोप हुँदै गएका छन् । अर्को कुरा बर्षौं पहिले बिछ्याईएका पानीका पाइपहरु पुराना हुन गै खिया परेको र ठाउँ ठाउँमा टुटफुट भएका कारण पानीमा फोहोर मिसिन जाँदा खानेपानी संस्थानले वितरण गर्ने गरेको पिउने पानी पनि निसंकोच निर्धक्कसँग पिउन लायक छैन । फेरि यो समस्या शहरको मात्र होइन, ग्रामिण भेगमा भएका पानीका मुहानहरु समेत बालीलाई किराहरुबाट बचाउनका लागि प्रयोग गरिने किटनाशक विषादीका कारण प्रदुषित भैरहेका छन् । अर्कोतिर शहरी क्षेत्रमा वैकल्पिक पिउने पानीको रुपमा प्रयोग गरिने विभिन्न कम्पनिहरुले वजारमा ल्याएका सिल्ड वोतल र जारको पानी पनि पूर्णरुपमा शुद्धिकरण नभएका कारण पिउन लायक छैन । सम्वन्धित निकायवाट गरिएको अनुगमनबाट यो कुराको पुष्टी भैसकेको छ ।
यसैगरी खानाको रुपमा प्रयोग गरिने कुनै पनि चिज स्वस्थ र शुद्ध भेटिँदैन । चाहे खाद्यान्न होस्, चाहे फलफुल होस्, चाहे तरकारी होस्, चाहे बजारमा पाइने जुनसुकै खानेकुरा होस् । पहिलो कुरो त किराबाट बचाउनका लागि उम्रिन नपाई नर्सरी अवस्थादेखि नै विषादी छर्ने गरिन्छ । जब फल लाग्न थाल्छ वा खान योग्य हुन्छ, त्यसपछि पुनः विषादी छरिन्छ, जसका कारण त्यसबाट उत्पादित वस्तु स्वस्थ रहने सवाल नै रहेन । अब त आदत र मानसिकता नै यस्तो भैसक्यो कि विषादी नहाले उब्जनी नै हुँदैन र ब्यापार चौपट हुन्छ । मनले मान्दै मान्दैन । यो त भयो विषादी राख्ने कुरा । यतिले मात्र हामीलाई चित्त बुझ्दैन । छिट्टै कमाउने नाममा खानयोग्य नभैसकेको चिचिला अवस्थाको तरकारीमा अखाद्य बस्तु मिसाएर बनाइएको विषादीलाई ईन्जेक्सनको रुपमा लगाइन्छ र तुरुन्तै फुलाएर ठुलो बनाएर बजारमा बिक्रिमा लगिन्छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिन्छ । अरु त परै जाओस्, सागमा समेत अघिल्लो दिन विषादी हालेर भोलिपल्ट बजारमा लगेर बिक्रि गरिन्छ । फलफुललाई ताजा देखाउनका लागि विभिन्न किसिमका अखाद्य बस्तुको प्रयोग गरिन्छ । स्याउलाई चिल्लो र ताजा देखाउनका लागि मैन दलिएको पाईन्छ भने केरालाई बेलै नभई पकाउनका लागि केमिकल प्रयोग गरिन्छ । त्यस्तै आँप पाक्ने समय नै नपुग्दै टिपेर केमिकल राखेर पकाईन्छ ।
खाद्यान्नको त कुरै छाडौं । सबैभन्दा बढी मिसावट हुन्छ । दालमा पालिस, चामलमा पालिस । पोलिस लगाउने मात्र होइन, दालजस्तै बनाएर रङ लगाइएको ढुंगा मिसाईन्छ भने चामलमा त्यसैगरी चामलजस्तै बनाएर रङ लगाईएको ढुंगा वा अखाद्य बस्तु मिसाईन्छ । गेडागुडीमा त्यस्तै । वेसारमा ढुटो, मसलामा काठको धुलो मिसाईन्छ । हुँदाहुँदा सवैभन्दा सस्तो मानिने नुनमा समेत बालुवा मिसाउन थालियो ।
बजारमा पाईने खानेकुराको त कुरै नगरौं । बनाउने तौरतरिका, बनाउने ठाउँ, पकाउन र राख्न प्रयोग गरिने भाँडावर्तन, भण्डारण गर्ने स्थान, कच्चा पदार्थ, मिसावट गर्ने बस्तु सबैलाई हेर्ने हो भने खान लायक कुनै पनि चिज भेटिँदैनन् । मिठाईमा खान नहुने रङ मिसाइन्छ । समसा, पकौडा लगायतका खानेकुराहरु एउटै तेलमा, डाल्डा घिउमा धेरै पटक पकाइन्छ र विष बनाइन्छ । पकाउने तेल र घिउ उसै त स्तरहिन हुन्छ, त्यसमाथि धेरै पटक प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा कस्तो असर पु¥याउला भनिरहनु नपर्ला । समसा, चाउमेन, पकौडा आदि पकाउँदा मिसाइने चिजहरु कती स्वच्छ, शुद्ध हुन्छन् भन्ने कुराको पुष्टी समय समयमा सम्वन्धित निकायबाट हुने गरेको अनुगमनबाट भैसकेको छ, जुन कुरा सबैमा जगजागेर नै छ । बजारमा पाईने माछामा ताजापन ल्याउनका लागि फर्मालिन जस्तो बिषादी चिज प्रयोग गरिने कुरा पत्ता लागेको छ । न त मासु नै स्वस्थकर पाईन्छ । दुध, दही र मही समेत पाउडर मिसाएर बाक्लो बनाइएको हुन्छ भने १ भाग दुध, दहीमा ३ भाग पानी मिसाईको हुन्छ ।
त्यति मात्र होइन, हरेक चिजमा छिटो परिणाम खोज्ने हाम्रो गलत मानसिकताका कारण यतिवेला खाद्यान्न, फलफुल, तरकारी सबै छिटो र धेरै उत्पादन हुने खालका हाईव्रिड आउन थाल्यो । जुन न स्वादिष्ट हुन्छ न त्यसवाट भरपुर प्राप्त हुने पौष्टीक तत्व नै पाइन्छ । यसरी अखाद्य, अस्वस्थकर, विषादीपुर्ण खानेकुराका कारण स्वास्थलाई सन्तुलनमा राखिराख्नका लागि आवश्यक भिटामिन, खनिज, कार्बोहाइड्रेट, प्रोटिन र फाईवरजस्ता तत्वहरु हामीले गुमाउन पुग्यौं । त्यसमाथि पनि जङ्कफुड, फास्टफुडजस्ता अस्वास्थकर, अप्राकृतिक खानपानमा हामी अभ्यस्त भयौं जुन खानेकुरामा चिनी, चिल्लो र नुन मिसाइएको हुन्छ र बर्षौसम्म नसडोस् भनेर स्वास्थ्यलाई हानी गर्ने अत्यन्तै कडा खालको केमिकल मिसाइएको हुन्छ ।
अर्को कुरा, हुँदा खाने वर्गका मानिस गरिवी र अभावका कारण सन्तुलित खानपानको अभाव खेप्न बाध्य भैरहेको छ भने हुनेखाने वर्गका मानिस पैसा, धनसम्पतिको तुजुक देखाउनका लागि फाइभस्टार होटल, महँगा होटलमा गएर पिजा, वर्गर, रेड लेवल, ब्ल्याक लेवल दन्काउनुलाई गर्व ठान्न थाले । सम्पन्न भएको ठान्न थाले जसका कारण उनिहरुको खानपान अब्यवस्थित हुन थाल्यो । यसैगरी हाम्रो भान्सामा पनि खाना तयार गर्ने सवालमा लापरवाही भैरहेको छ । मिठो बनाउने नाममा प्रशस्त चिल्लो राख्ने, अत्याधिक मसलाको प्रयोग गर्ने, झानेको चिजलाई वेस्सरी डडाउने गरिएका कारण पनि हामी रोगका शिकार भैरहेका छौं । खानेकुरा भण्डारण गर्ने ठाउँ त्यतिकै फोहोर हुन्छ । त्यति मात्र होइन, जिव्रो र मनलाइ नियन्त्रण गर्न नसक्दा हामी प्राकृतिक भन्दा अप्राकृतिक खानपानमा केन्द्रित भयौं । भुटेको, झानेको, तारेको, पोलेको खानेकुराप्रति हाम्रो मन लोभिन थाल्यो । जसले गर्दा स्वास्थ्यलाइ प्रत्यक्ष हानी पु¥याउने पिजा, वर्गर, सेकुवा, छोयला, कचेला, मम, चाउमेन, समसा आदि खानेकुरा हामीलाई मन पर्न थाल्यो एकातिर भने अर्कोतिर ब्यायाम गर्ने कुरामा फिटिक्कै ध्यान दिएनौ । रोटी, ढिंडो, मकै, भटमासजस्ता स्वास्थ्यलाई फाइदा पु¥याउने खानेकुरा नमिठा लाग्न थाले । त्यसमाथि पनि नकारात्मक सोचाइका कारण अनावश्यक तनाव लिन थाल्यौं । फलस्वरुप आफुलाई नियन्त्रण गर्न नसक्नेहरु दुब्र्यसनीमा फस्न पुगे र मादक पदार्थ र ड्रग्सको सहारा लिन पुगे ।
यसरी यी सवै अस्वस्थकर खानपान, बिग्रँदो जीवनशैली र गलत वा नकारात्मक सोचाईका कारण हामी असाध्य र गम्भिर प्रकृतिका रोगका शिकार हुन पुग्यौं । परिणामतः गम्भिर खालका रोगहरु क्यान्सर, सुगर, हर्टहट्याक, मृगौला फेल लगायत अल्जाइमर, माईग्रेन, ट्युमर, नसा च्यापिने, दम, खोकी, निमोनिया, ग्यास्टिक, अल्सर, पायल्स, कब्जियत, रतन्धो, मोतीबिन्दु, पिसाव इन्फेक्सन जस्ता थुप्रै रोगहरु निम्त्यायौं । अनि रोग निको पार्न भनेर उपचारमा थुप्र्रै खर्च ग¥यौं । उपचारका लागि कुनै पद्धतीलाई पनि छाडेनौ । नाम चलेका डाक्टर, अस्पताल धाउनसम्म धायौं । जानकारीमा आएसम्मका धामी, झांक्रीकोमा गयौं । पछिल्लो समयमा छ्याप्छ्रयाप्ती देखापरेका माताकोमा गयौं । तर पनि कुनै उपायले काम गरेन । गरेजस्तो मात्र ग¥यो । खाउन्जेल ठिक हुने, खान छाडेपछि बल्झीने । साइड ईफेक्ट गर्ने । हैरान । त्यसैले त यतिबेला दुनिया उपचारको बैकल्पिक खोजीमा भौंतारिईरहेको छ ।
बाटोमा हिँड्दै गर्ने कसैले अचुक औषधी भनेर भन्यो भने किन्न तयार भैहाल्छ । हुने हो वा होइन मतलव छैन । कस्तो असर गर्छ मतलव छैन । किनकी ऊ आक्रान्त भैरहेको छ । उसले सही ठाउँ फेला पारिरहेको छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)