रोटा भाइरसबाट बालबालिकालाई कसरी बचाउने ?
प्रमोद (प्रिन्स) शाह
स्वास्थ्य शाखा सहायक, आँबुखैरेनी गाउँपालिका
रोटा भाइरसबाट हुने पखाला धेरै संक्रामक सरुवा रोग हो । यो रोग सबै उमेरका व्यक्तिहरुमा लाग्ने भएतापनि विशेष गरी शिशुहरु र २ वर्ष भित्रका बच्चाहरुलाई धेरै प्रभाव पार्छ ।
विश्व अवस्था
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा ५ वर्षमूनिका बच्चाको कुल मृत्युमध्ये करिव १७ प्रतिशत मृत्यु खोपबाट बचाउन सकिने रोगबाट हुन्छ भने सोमध्ये रोटा भाईरसको संक्रमणबाट मात्र ३० प्रतिशतको मृत्यु हुन्छ । झाडापखाला (कुल मृत्युको ९ प्रतिशत) प्रमुख कारण रहेको छ । पखालाको कारणबाट हुने कुल मृत्युमध्येमा ३२ देखि ३८ प्रतिशत मृत्यु रोटा भाइरसको संक्रमणको कारण हुने पखालाबाट हुन्छ । वर्षेनी विश्वभर झण्डै साढे चारलाख मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन २०१३ मा मात्र रोटा भाइरस संक्रमणको कारण विश्वभर २,१५,००० वालवालिकाको मृत्यु भएको थियो त्यसैगरि बर्षेनी झन्डै २० लाख मानिस रोटा भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना हुने गरेका छन् ।
रोटा भाइरसले गराउने पखालाको अवस्था नेपालमा कस्तो छ ?
हाल उपलब्ध तथ्यांकको आधारमा नेपालमा ५ वर्ष मुनिको बच्चाको संख्याको करिव ५० प्रतिशत बच्चाहरुलाई बर्सेनी पखाला लाग्ने गरेको देखिन्छ । कान्ती बाल अस्पतालमा गरिएको एक अध्ययनले पखालाको कारणबाट अस्पतालमा भर्ना हुने ५ वर्ष मुनिका बच्चा मध्ये २१ देखि ३८ प्रतिशत बच्चाहरु रोटा भाइरसको कारणबाट हुने पखालाको कारण भर्ना भएको पाईएको छ । यसबाट नेपालमा वार्षिक सरदर ४,२०,००० जना वालवालिका लाई रोटा भाईरसको संक्रमण हुने अनुमान गर्न सकिन्छ ।
यो रोग मुख्य रूपमा संक्रमित व्यक्तिको दिशावाट दुषित खाना र पानी (Fecal Oral Route) को माध्यमबाट सर्दछ । यो रोगले विशेषगरि आन्द्रामा संक्रमण गराउँछ । सुरुको अवस्थामा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने (Gastroenteritis) साथै कडा जलबियोजनले शरिर कमजोर र छाला चाउरिनि आदि जस्ता चिन्ह, लक्षणहरु देखिन्छन् ।
सामान्यतया पखाला कडा किसिमको हुन्छ भने उक्त अवस्था ४८ घण्टासम्म रहनसक्छ र ३ देखि ७ दिनमा आफै रोकिन सक्छ । यो पखालाको प्रमुख समस्या जलवियोजन, यो रोग विशेष गरी वालवालिकामा जाडो मौसममा धेरै संक्रमण हुने गरेको देखिन्छ ।
रोकथाम र उपचार कसरी गर्ने ?
-चर्पी गएपछि, दिसापिसाब छोएपछि र फोहोर वस्तु चलाएपछि साबुनपानीले राम्री हात धुने साथै सरसफाइमा ध्यान दिने
-जलवियोजन तथा सिकिस्तपनाबाट बचाउन बच्चालाई प्रशस्त मात्रामा आमाको दुध चुसाउने, झोलिलो र पौष्टिक खाना खुवाउने
-घर परिवारका सदस्यहरूले नियमित चर्पीको प्रयोग र बालबालिकाहरुको दिशा पनि चर्पीमै विसर्जन गर्ने
-६ महिनासम्म पूर्णस्तनपान र ६ महिनापछि स्तनपानका साथै थप पौष्टिक खाना खुवाउने
-६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई ६-६ महिनामा नछुटाई भिटामीन ए र जुकाको औषधि खुवाउने
-जलवियोजन र कडा जटिलता हुनबाट बचाउन चिकित्सकको सल्लाह अनुसार पुनर्जीलिय झोल र जिङ्क चक्कि खुवाउने साथै लक्षण अनुसारको स्वास्थ्य व्यवस्थापन र उपचार समेत गर्नुपर्दछ
-प्रमुख उपाय भनेको शिशुहरुलाई रोटा खोपसहित अन्य खोप दिनु नै हो ।
रोटा खोप (Rota Vaccine) के हो ?
रोटा भाइरसविरुद्द Rotarix नामक खोप निश्क्रिय पारिएको जिवित विशाणु (Live Attenuated) सफा झोलको रुपमा तयार गरिएको खोप हो । विश्वमा विभिन्न प्रकारका रोटा भाइरस बिरुद्धको खोप उपलब्ध छन्, जसमध्ये नेपालमा हाल Rotarix RV1 (Monovalent Human Rotavinus Vaccine) प्रयोगमा ल्याईएको छ । सन् २००६ देखि हालसम्म विश्वका २० भन्दा बढि देशहरुमा रोटा भाइरस विरुद्धको खोप प्रयोग भइरहेको छ । अन्य खोप जस्तै यो खोप पनि अत्यन्त सुरक्षित र प्रभावकारी छ ।
रोटा खोप प्रयोग विधि
-६ हप्ता र १० हप्ताको उमेरमा २ मात्रा रोटा खोप खुवाउनु पर्छ
-यो खोप मुखवाट खुवाइन्छ र खुवाउने बेला एउटा ट्युबमा आउछ जुन मज्जाले थिचेर पुरै झोल बच्चाको मुखको भित्रि भागमा चुहिने गरी खुवानुपर्छ
-रोटा भाइरसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सबै खोप केन्द्रहरुमा निःशुल्क पाइन्छ ।
विशेष जानकारीको लागी नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सल्लाह-सुझाव लिन सकिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)