आँपपीपल मिसन अस्पतालले ‘सही सलामत’ हातले लेखेको त्यही अस्पतालको संस्मरण

यो संस्मरण लेख्दाबाहेक मेरो हात भाँचिएको थियो भन्ने सम्झना कहिल्यै भएन

नवराज न्यौपाने ‘मौन’

कुरा २०४० सालको सोह्रश्राद्धको हो । म त्यतिखेर आठ कक्षामा पढ्थें । सोह्रश्राद्धको केही अघि ठूलामामा हरिभक्त पन्त हाम्रो घरमा आउनुभएको थियो । उहाँले श्राद्ध शनिबार परेकोले ‘आउनु है भाञ्जा’ भनेर जानुभएको थियो । बिदाको दिन भएकोले म पनि जान इच्छुक थिएँ । काँइलो भाइ उपेन्द्रलाई लिएर जान तयार भएँ । तर कान्छो भाइ रवीन्द्र ‘म पनि जान्छु मामाघर’ भनेर पछि लाग्न थाल्यो । त्यो बेला म १४ वर्षको थिएँ भने भाइ उपेन्द्र ८ वर्ष र भाइ रवीन्द्र ४ वर्षका थिए । हामी तीनभाइ मिलेर मामाघर खातिथोक बेसी गयौं ।

सेपाबगैंचाबाट चुँदीखोला तरेर खेतैखेतको बाटो हिंडेर एक घण्टामा मामाघर पुगियो । भाइ रवीन्द्र सानो भएकोले खोला तथा खेतको बाटोमा बोकेर जानुपर्‍यो । मामाघर श्राद्ध खाएर हामी सोही दिन फर्कियौं । मामाघरमुनि खेत शुरु भएपछि कान्छोभाइलाई बोकेर आउँदै गर्दा सिस्नेरी खोलाको किनारमा लेउमा चिप्लिएर म लड्न पुगें । मेरो दाहिने हातको नाडी चुच्चो ढुङ्गामा नराम्रोसँग बजारिन पुग्यो ।

हात केही बाङ्गो जस्तो देखिन थाल्यो र सुन्निन थाल्यो । हातको दुखाइ सहदैं भाइलाई बोकेर म फर्किएँ । बाटामा मेरो स्कूल चन्द्रावती माविका निमावि गणित शिक्षक हरिभक्त ढकाल सरसँग भेट भयो । उहांँ खेतमा पानी लगाउन आउनुभएको रहेछ । मेरो केही बाङ्गो र सुन्निएको हात देखेर सेपाबगैंचामा बोहरा डाक्टरलाई देखाउन सल्लाह दिनुभयो । अनि आएर बोहरा डाक्टरलाई देखाएँ । बोहरा डाक्टर (दिलबहादुर बोहराको बुवा) ले हात भाँचिएको र पोखरा जानुपर्ने कुरा बताउनु भयो । अनि थप असर नपरोस् भनी रुइ राखेर बाक्लो कागजले मोडेर ब्याण्डेज जस्तो बनाइदिनुभयो ।

भोलिपल्ट बुबा र म भएर आँपपीपल हस्पिटल जाने निधो गर्यौं । त्यो बेला आँपपीपल हस्पिटल नाम चलेको अस्पतालमा गनिन्थ्यो । पोखराभन्दा नजिक र सबैखाले सुबिधा भएको उक्त अस्पतालमा हेलिकोप्टरमा ठूलाठूला गोरा डाक्टर आउने गर्थे । उपचार शुल्क पनि निकै सस्तो थियो । हामी दिउसो १ बजे आँपपीपल मिशन हस्पिटल पुग्यौं । अस्पतालमा हात (नाडी) को एक्सरे गरियो । अनि नाडी फ्याक्चर भएकोले प्लाष्टर ब्याण्डेज गर्नुपर्ने भयो । काखी तथा पाखुरामा सुइ लगाएर हात चलाऊन भनियो । मैले हात चलाउन सकिन र छोएको पनि थाहा पाउन सकिन । प्लाष्टर गर्नको लागि हात लठ्याइएको रहेछ ।

प्लाष्टर गरेपछि ५ हप्ता अर्थात ३५ दिनपछि आउन भनियो । एक्सरे र प्लाष्टरको जम्मा शुल्क ३५ रुपैयाँ लाग्यो । अस्पतालका ढोका र भित्ताहरुमा बाइबलका कोटेशनहरु लेखिएका थिए । प्रभु येशूको महिमा लेखिएको थियो । यूहन्ना, मत्ती, लूका, प्रेरित, कोरन्थी आदि लेखिएका थिए । क्रिश्चियनहरुको मिशनले चलाएको अस्पताल भएकोले बाइबलको प्रचार गरिनु कुनै नौलो कुरा मानिन्नथ्यो ।

अस्पतालमा काम सकिदा साँझ पर्न लागेको थियो । बुबा होटेलमा नबस्ने र अरुले पकाएको खाना नखाने व्यक्ति हुनुभएकोले बास बस्न हामी अस्पताल माथिको गाउँतिर गयौं हामी । हामीले विहान खाना पकाएर खाएको ठाउँ ठाँटीपोखरी र आँपपीपलको बीचमा पथ्र्याे । बुवा हरेक पटक आउँदा त्यहीं गाउँको एउटा धन्सारमा खाना पकाएर खाने र बास बस्ने गर्नुहुदो रहेछ । त्यहाँ पुग्न ढिला हुने भएकोले हामी नौलो ठाँउमा बास बस्नुपर्ने भयो ।

करीब १५ मिनेट उकालो हिंडेपछि बाटोमा एउटा घर भेटियो । त्यहाँ पिंढीमा खाना पकाएर खाने र पिंढीमा नै सुत्ने व्यवस्ठा भयो । त्यहाँ अर्का मान्छे पनि बास बसेका रहेछन् । मेरै उमेरका दुईजना छोरा लिएर आएका लमजुङ अल्काटारका बाहुन बाजे रहेछन् । बुवाहरुको पनि गफ मिल्यो र हामी छोराहरुको पनि गफ मिल्यो । खाना खाएर हामी केही बेर गफिएर बस्यौं । तर सुत्ने बेला भएपछि त्यो लठ्याउने सुइको असर सकिदै गयो र मेरो हातको औँला चल्न थाले । र हात दुख्न थाल्यो । हात बलक बलक बल्किन थालेकोले म रुन थालें । अनि बुवा र म टर्च बालेर राती ९ बजे फेरि अस्पताल पुग्यौं । अस्पतालबाट दुखाइ कम हुने औषधी (पेनकिलर) ल्याएर खाएपछि बल्ल म निदाएँ ।

भोलिपल्ट हामी घर फर्कियौँ र म नियमित विद्यालया जान थालें । केही दिन मैले गृहकार्य गर्न सकिन । पछि बिस्तारै बाँया (देव्रे) हातले लेख्न सुरु गरें । बाँया हातले लेखेका अक्षर नराम्रा भए पनि सरहरुले केही भन्नुभएन । ३५ दिन पूरा भएपछि तिहारको लगत्तै बुवा र म पुनः आँपपीपल अस्पताल गयौं । ब्याण्डेज फुकाएर एक्सरे गरियो ।

डाक्टरले एकदम ठीक भएको बताए । यसपटक भने कुनै शुल्क लागेन । हामी खुशी भएर फर्कियौं ।

शुरु शुरुमा दहिने हात देव्रे हात जसरी चारैतिर घुमाउन र चलाउन केही अफ्ठ्यारो भयो । तर अभ्यास गर्दै गएपछि राम्ररी चल्ने भयो । नाडीमा नियामित रुपमा राइफलको तेलले मालिस गर्ने गरें । त्यसपछि हात पूर्णरुपमा पहिलेकै अवस्थामा आयो ।

त्यसपछि मंसिरमा ८ कक्षाको वार्षिक परीक्षा भयो । परीक्षा दिन मलाई कुनै अप्ठ्यारो अनुभव भएन । परीक्षामा मैले ७०० को पूर्णाङ्कमा ६२२ नम्बर ल्याएर विद्यालयमा सर्वप्रथम हुने सौभाग्य प्राप्त गरें र सुधा पुरस्कार पनि जित्न सफल भएँ ।

यो संस्मरण लेख्दाबाहेक अन्य बेलामा मलाई मेरो हात भाँचिएको थियो भन्ने सम्झना कहिल्यै भएन र हातले कहिल्यै दुःख पनि दिएन । अहिले मेरो बुबा यस संसारमा हुनुहुन्न र आँपपीपल मिसन हस्पिटल पनि पहिलेजस्तो छैन । गोराहरुले अस्पताल छोडेर गैसकेका छन् । तर बेलाबेलामा जब म आफ्नो दाहिने नाडीको अग्रभागमा सानो दाग (खत) देख्छु, तब बुवा र आँपपीपल मिसन हस्पिटलको सम्झना ताजा भएर आउँछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button