
समयले ‘थोडै’ हामीलाई कुर्छ ?

प्रकृतिले हामी मानिसलाई गज्जब बनाएको रै’छ
डा. अवनि भूषण उपाध्याय
आफुले खोजेको र आफुले इछ्याएको जस्तो कहाँ हुन्छ र ? मान्छे जन्मछ, हुर्किन्छ, पढ्दै जान्छ, सिक्दै जान्छ, पाइलापाइलामा ठक्कर खाँदै, हण्डर खाँदै केहि अनुभव बटुल्दै बिस्तारै पहिलाभन्दा अलि परिपक्व हुदै आउँछ ।
बुझ्नु पर्ने कुरा त धेरै नै हुन्छन् तर उसलाई मैले बुझ्या छु भन्ने भ्रमले छोपेको हुन्छ । आफुले बुझ्या छ कि छैन कसरी जाँच्न सकिन्छ र ? तर प्रकृतिले हामीलाई शिक्षा दिएकी हुन्छिन्, त्यो हो हाम्रै जीवन– सिकाउने पनि जीवन हो र जाँच लिने पनि जीवन नै हो– हाम्रो गुरु हाम्रै जीवन नै हो । जाँच लिएपछि नतिजा त आउँछ नै, कहिले राम्रो, कहिले मन नपर्ने, कहिले निराशा, कहिले अलमल ।
मान्छेको सोचाइ, विचार र ज्ञानको बीचमा फाटो बनेको हुन्छ । शासन गर्नेले सोच्न सक्नेलाई बुझ्न सक्दैन, सिक्न चाहने जानेकालाई बुझ्न सक्दैन, यही कारणले गर्दा जीवन र ज्ञानको बीचको फाटो बढ्दै जान्छ । त्यही कारणले होला विल दुरांतले लेखेका छन्, बैज्ञानिकहरुले अध्ययन गरेर स–सानो कुराको बारेमा पनि ठुल्ठुलो कुरा बुझेका हुन्छन भने दार्शनिकहरुले ठुल्ठुलो कुराकाबारे बुझेका कुरा कमै हुन्छन् ।
पछाडि फर्केर हेरेको खण्डमा हामी देख्दछम कि ताराबारे कत्ति नयाँ कुरा दुर्बिन बनेपछि थाहा भयो, ताराभन्दा पनि पर पनि धेरै कुरो रहेछ भनेर, एउटा एटममा भौतिक शास्त्रले ब्रह्माण्ड नै देख्यो, लाखौं वर्ष पुराना कुरा भुगर्भ विद्याले सिकायो, सानो एउटा तन्तुमा माइक्रोसोम, हरेक अंगबारे चिकित्साशास्त्रले नयाँ नयाँ कुरा सिकायो, हराएका सहर र बिर्सिएका ठामहरु पुरातत्वले देखाइदियो, पेनिसिलिनले करौडोंको ज्यान बचायो, भ्याक्सिनले त्यसैगरी हामीलाई बचाएको देखिनै रहेका छम्, हेल्मेट लाउन थालेपछि कतिको ज्यान बचेको छ । यो सबै मानिसको सिक्न खोज्नु र अचम्मित हुन सक्ने क्षमताको कारण नै हो । सोक्रतिसले भनेका पनि छन्, ज्ञान अचाम्भित हुने शक्तिबाट सुरु हुन्छ ।
मान्छेले आखिर चाहेको के हुन्छ ? उसले के सोच्दछ ? जतिसुकै ठुलो कुरो गरे पनि आखिर ऊ आफुमा र आफ्नामा सिमित हुन पुग्दो रहेछ । देखाउने कुरोमा र वास्तविकतामा जबसम्म फरक रहन्छ, सत्य कहिले पनि बाहिर आउँदैन । तर जब सत्य देखापर्दछ, त्यो देखावटी आडम्बर लथालिङ्ग हुन पुग्दछ । हो, समय लाग्न सक्दछ, कसैको चाँडो त कसैको ढिलो, कुरो त्यत्ति हो ।
समय बलबान छ, थाहा त हामी सबैलार्ई छ तर किन हामी समयलाई जिस्काएका हुन्छम्, खेलवाड गरिरहेका हुन्छम् ? मान्छेले आफ्नो नजिकको मान्छेलाई छलाउँदछ, दङ्ग पनि पर्दछ तर के आफ्नो नजिकको मान्छेलाई धोका दिएर वा छलाएर ऊ आफै खुसी रहन सक्छ र ? कदापी सक्दैन । प्रकृतिले मानिसलाई दिएको एउटा उपहार भनेको खुसी हुनु हो । खुसी हुन सक्नु पनि एउटा क्षमता हो र यस्लाई बरदान नै सम्झिनु पर्दछ । जे गरे पनि, जे गरेर पनि मानिस आखिर आफुभित्र खुसी रहन चाहन्छ, प्रफुल्ल रहन उसको रहर हुन्छ । तर बुझ्नु पर्ने कुरो के रैछ भने अरुलाई छलाएर ,धोका दिएर उ कैले पनि खुसी हुन सक्दैसक्दैन । यो सम्भव हुँदैन ।
हो, मानिस अरुलाई देखाउन पनि खुसी जस्तो भएर बस्छ तर के उसले आफैलाई छलाउन सक्छ र ? कदापी सक्दैन ।
आखिर जन्मेपछि मर्नु त पर्छ नै, यो सत्य हो । तर हामी जतिसुकै सतर्क, क्षमतावान, उत्कृष्ट सम्झे पनि एकदिन मर्नु पर्छ भनेर सम्झम्छम् र ? सधैंको हडबड, लुछाचुँडी, खुट्टा तानातान, अरुलाई उछिन्ने भागदौड, अरुलाई पछारेर पनि अघि जाने चाहना,आफूलार्इ नै माया गर्ने मद्धत गर्नेसम्मलाई पनि धोका दिन नछोड्ने क्षमता अनि कहाँबाट हामीसित समय हुन्छ यो ध्रुब सत्य कुरो सम्झना गर्न, यो शास्वत कुरो सम्झन ।
समय त कुर्दैन, बलबान हुन्छ, अगि बढी राख्दछ अनि जब हाम्रो समय ढल्किन थाल्दछ, अन्तिम घडीतिर गैराखेको हुन्छ अनि पश्चाताप हुन थाल्दछ, धिक्कार्न मन लाग्छ, तर क गर्नु अबेर भै सकेको हुन्छ । समयले थोडै हामीलाई कुर्छ ? संसारका ठुलाठुला मान्छेहरुले अन्तिम बेलामा यो कुरो बुझेका हामी देख्न सक्छम् ।
संसारभरि भएका विभिन्न ज्ञान, धर्म, रिति, रिवाज, सिद्धान्त, दर्शन, सबैको ज्ञान हुन त गाह्रो नै होला तर असम्भव भन्न त अलि सकिन्न कि ? ज्ञानको कुनै सिमा हुँदैन । जति सिक्दै गयो, उति बाँकी रहन्छ । तसर्थ जीवनमा सिक्न छोड्नु हुन्न । सबभन्दा मुख्य कुरा नै सिक्नु हो हामी मानिसको लागि । ठुलाठुला दार्शनिकले सिकाएका पनि छन्, जब तिमी आफैलाई चिन्न सक्छौ तब बुझ तिमी सहि दिशातिर जाँदैछौ । आफ्नो अस्तित्व बुझ, जे छ तिमीमै छ, कतै खोज्नु पर्दैन, आफूभित्र नै खोज ।
मान्छेलाई अति आवश्यक कुरा हो लगाव, अरुप्रतिको लगाव तर यही लगाव हाम्रो जीवनको उद्धेश्य प्राप्तिको लागि अड्चन पनि हो । तिमीलाई मुक्त हुन दिँदैन लगावले, यसबाट तिमी छुट्नै पर्दछ । बिचित्रको कुरो छ, चाहिन्छ पनि र छुट्न पनि सक्नु पर्दछ । लगावले अन्तिम घडीमा पिडा दिन्छ, यसले पोल्दछ, सताउँछ, दुखः दिन्छ, यस्लाई नियन्त्रित गर्नु जरुरी छ । यो नियन्त्रित भयो भने आफु अलि स्वतन्त्र हुन सकिन्छ, मनको बोझ कम हुन्छ तर यो कठिन छ किनभने मान्छेको मन जन्मँदा कलिलो हुन्छ, कमलो हुन्छ । मनलाई कठोर निर्दयी त जीवनका उतारचडाव, बाधा अड्चनले गराउँछन् । तसर्थ आफुभित्र सिमित हुन सक्नु पर्दछ । सिमित रहन आफुलाई चिन्न सक्नु पर्दछ ।
तिमी नै हो सर्वश्व, तिमी नै हो ब्रह्माण्ड । तर यसको मतलब स्वार्थी हुनु कतै होइन । जब हामी आफुलाई चिन्दछम्, स्वच्छ बेदागी कुनै लोभलालच नभएको, इच्छा नभएको सफा हुन्छम् अनि स्वार्थीपनको कुनै ठाम रहँदैन, कुनै मतलब नै रहँदैन ।
प्रकृतिले हामी मानिसलाई गज्जब बनाएको रैछ, होइन त ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



