अ/उहिले, मेरो जन्म दिनमा

विमला शर्मा
जनस्वास्थ्यविद्, गण्डकी मेडिकल कलेज

उहिले, मेरो जन्म दिनमा
आमा रङिबिरङी फूल खोज्नुहुन्थ्यो
बारी र कान्लातिर फलफूल टिप्नु हुन्थ्यो
मलाई सबेरै उठाउनु हुन्थ्यो
मन्दिर पठाउनुहुन्थ्यो
खाजामा सेलरोटी पोल्नुहुन्थ्यो
गाँउभरिका केटाकेटी बोलाउनुहुन्थ्यो ।

उहिले, मेरो जन्म दिनमा
मेरा बा बत्ती बाल्नुहुन्थ्यो
ननिभोस् भनेर तेल थप्नुहुन्थ्यो
पूजा गर्नुहुन्थ्यो
निदारमा रातो टिका लगाइदिनुहुन्थो
शिरमा हात राख्नु हुन्थ्यो
‘असल मान्छे बन्नु छोरी’ आशीर्वाद दिनुहुन्थ्यो ।

तर अहिले
म शहरीया भएकी छु
शिक्षित गनिएकी छु
त्यसैले, ‘ह्याप्पी बर्थ डे’ मनाउँछु
चिनेका नचिनेका, भेटेका नभेटेका साथीहरुसँग
फेसबुकभरी पोतिएका सयौ शुभकामना सन्देशभित्र रमाउँछु ।

अहिले, मेरो जन्म दिनमा
प्रियजनहरु ‘ह्याप्पी बर्थ डे बिमला’ लेखेको केक ल्याउनु हुन्छ,
मलाई बिचमा राख्नुहुन्छ,
‘ह्याप्पी बर्थ डे टु यु’ भन्नु हुन्छ,
ताली बजाउनु हुन्छ,
केक माथि राखेको बत्ती फुफु गरेको निभाउ भन्नुहुन्छ,

म त्यो रंगीन केक टुक्रा टुक्रा पर्छु
आफ्नै नामको अक्षरहरू हाँसीहाँसी काट्छु
एकएक टुक्राहरू
प्रसाद जस्तै खुवाउँछु र खुवाइन्छु
अनुहारभरी दलिएको केक देखाउनेगरी सेल्फी खिचाउँछु
खाजामा मम, पिज्जा, चाउमिन फर्माउँछु ।

अहिले, मेरो जन्म दिनमा
मेरी आमा ‘ह्याप्पी बर्थ डे’ बुझ्नुहुन्न
मेरा बा फेसबुक हेर्नु हुन्न,
त्यसैले
मेरी आमा फूल टिप्नु हुन्न
मलाई सबेरै उठाउँनु हुन्न
मन्दिर जा भन्नु हुन्न
खाजामा सेलरोटी पकाउनु हुन्न
मेरा बा बत्ति बाल्नु हुन्न
दियोमा तेल थप्नु हुन्न ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button