जब सुहागरातमा दुईजना दुईतिर फर्केर सुते

सत्यकथा

रितु शाक्य

सोह्र वर्षको कल्कलाउँदो उमेर, पुस्ट शरी र, चम्किलो मुहार, मोतीका दाना झैं मिलेका सेता दाँत र मधुर मुस्कान । ती सबमा सजिएकी चञ्चल सुस्मिता परिवारकी एक्ली छोरी । सबैको लाडप्यारमा हुर्किएकी । पढाइमा अब्बल, मिलनसार र खुस मिजासकी । सबैको आँखाकी तारा । लमीहरु उनलाई देखेपछि विहेको प्रस्ताव ल्याइहाल्थे ।

बुवाआमालाई आफ्नी छोरीको पीर हुन्छ नै । छोरीको जन्मपत्रिकामा मांगलिक दोष भएकोले पनि होला, कतै बिहे गर्न गाह्रो हुने पो हो कि भन्ने अर्को पीर थपिएको थियो । एकपल्ट एउटा लमी घरानिँया परिवारको युवकको फोटोसहित आयो । दुई भाइमध्ये एकको बिहे भैसक्यो, अर्कोको लागि खोज्दै थिए ।

बुवाआमालाई यो परिवार र वर राम्रो लग्यो । फेरि केटोले पनि छोरीलाई धेरै मन पराएको थाहा पाएपछि यो सम्बन्ध छोड्नु हुँदैन भन्ने भयो । छोरीको कलिलै उमेर भए पनि बिहे गर्नुपर्छ भन्ने निश्चित गरेपछि कुरो अगाडि बढाइयो ।

सुस्मिता बिहेको लागि राजी थिइन । उसलाई अझै पढाई पुरा गर्नु थियो । आफ्नो लागि केहि लक्ष्य पनि पुरा गर्नु थियो । तर बुवाआमाको करले उनी यो प्रस्ताव स्वीकार्न बाध्य भइन् ।

बिहे धुमधामसँग भयो । बिहेपुर्व मांगलिक दोष निवारणका सम्पूर्ण विधि पनि अपनाइयो । काठमाडौँबाट ओखढुँगा भित्रायो । सबले उनलाई खुसीसाथ मान सम्मान दिए । सासु, ससुरा, जेठान, जेठानी सबले उनलाई पारिवारिक माया दिए । बिहेको सम्पूर्ण काम सकिएपछि नयाँ घर नयाँ परिवारमा हेलमेल हुन सुस्मितालाई पटक्कै गाह्रो भएन । सबैको मन जित्न सफल भइन् ।

सुहाग रातको समय पनि आयो । सुस्मिता र उनका पतिदेव सुमित त्यस रातको पर्खाइमा थिए । पुरै कोठा सुगन्धित पुष्पको मालाहरुले सुसज्जित थियो । मधुर संगीत बजिरहेको थियो । कोठामा मधुरो बत्ती बालिएको थियो । सुस्मिता पलंगमा सुसज्जित बसेकी थिइन् । सुमित साथीहरुसँग हल्का ड्रिंक्स गरेर आएको थियो । तैपनि आफुलाई नियन्त्रणमा राख्न सक्ने अवस्था चाहिँ थियो । हिम्मत गर्दै उसले सुस्मितालाई छुन कोसिस गर्दै थियो । अचानक सुस्मिता त्रसित भएझै चिच्याई । सुमित झसंग भए । के भयो सोध्दा केहि जवाफ नदिई रुन थालिन् । त्यो दिन यतिकै दुईजना दुईतिर फर्केर सुते ।

पछिका रातहरुमा पनि सुस्मिताले यस्तै व्यवहार गर्न थालेपछि केहि गडबड अवश्य छ भन्ने कुरा सुमितले ठम्यायो । कति सोध्दा पनि सुस्मिताले केहि बोलिन । दिन बित्दै गयो । सुस्मिताको यो ब्यबहारले आजित भएका सुमित प्रत्येक रात घरबाट बाहिर जाने, रक्सी पिएर आउने गर्न थाल्यो । घरमा सबलाई शंका भयो । सबले सुस्मितालाई दोष दिन थाले । सुमित घरमा बस्न पनि छोड्यो ।

यस्तो क्रम बित्दै जादा पाँच छ महिना पनि बित्न थाल्यो । घरमा सासुससुराले पनि सुस्मितालाई घोचपेच गर्न सुरु गरे । जेठानीले पनि हेप्न थालिन् । स्वर्गजस्तो उसको घर टुट्न थाल्यो । कसैले उनीहरु बीचको दुरी किन भएको बुझ्नुको सट्टा केवल सुस्मितालाई दोषारोपण गर्दै गालीगलौज गर्न थाले । सुस्मिता भित्रभित्रै टुट्दै गइन् । बिस्तारै यो कुरा उनका माइतीमा पनि पुग्यो । बुवाआमाले उनलाई घर बोलाएर सोधे । पछि उनको कुराले सब हैरान थिए ।

उनलाई डाक्टरकोमा लगियो । धामीझाक्री गरियो तर पनि उनको अवस्थामा कुनै सुधार भएन । सुस्मिता आफ्नो घर फर्किन् । अब त ठिक हुन्छ कि भन्ने सोचेका सुमितले सुस्मिताको रातको व्यवहार उस्तै पाएपछि दिक्क भए । सुस्मिता आफै दिक्क थिइन् । आफुलाई किन यस्तो भएको उनलाई नै थाहा थिएन । राती सुमित नजिकिन खोज्यो कि उनलाई भित्रबाट डरको महसुस हुन्थ्यो र आत्तिएर कराउन थाल्थिन् । यसरी नै दुई वर्ष बितेछ ।

सुस्मिता र सुमितको दुरी झन् झन् बढ्यो । घरपरिवारमा बेमल हुन थाल्यो । स्वतन्त्र र खुसीसाथ बसेकी सुस्मिताको जीवनमा आएको यस्तो नसोचेको बाधाले उसको जीवन नर्क बनिदियो । बस्न धेरै गार्हो भयो उनलाई त्यहाँ । सहँदासहँदा झन् झन् मानसिक रुपबाट खस्किन थालेपछि उनलाई त्यहाँबाट माइतीमा लगियो ।

माइतीमा सबको साथ र माया पाएर आज उनले अलि आफुलाई सम्हाल्न सकेकी छे । अहिले स्वरोजगर गरेर आफ्नो जीविका व्यतित गर्दै बसेकी छिन् ।

जीवनमा यस्ता नसोचेको घटना पनि घटित हुन्छ । जीवनका दुखपिडाबाट बाहिर निस्कन सकिन्छ, नसकिने होइन । बस्, हिम्मत र होस गुमाउनु भएन । जीवनमा यस्तो समस्या पुरुषलाई पनि पर्न सक्छ । त्यसैले समस्यामा अल्झेर बस्नु र एकअर्कालाई दोषारोपण गर्दै बस्नुभन्दा एकअर्काको सहारा बनेर समस्या सुल्झाउनतर्फ लाग्ने हो भने कसैको गृहस्थी यसरी टुक्रिने थिएन । पतिपत्नीको सम्बन्ध शारीरिक सम्बन्धमा मात्र सिमित हुनु राम्रो होइन, यो सम्बन्ध त बिना कुनै शर्तको प्रगाढ प्रेमसहितको हुनुपर्छ । वैवाहिक सम्बन्ध गाँस्दा भौतिक शरीर होइन, हृदयलाई हेरेर गरिनु पर्छ ।

सुस्मिताको त्यस्तो अवस्था के कारणले भयो, त्यो मानसिक स्वस्थाकर्मीले सायद बुझ्न सक्लान् । हामीले बुझ्ने यत्ति हो कि कुनै पनि समस्याको समाधान छ, त्यसको खोजी गरियो भने अवश्य भेटिन्छ । हामीले आफ्नो जिम्मेदारी बुझेर जीवन जिउन जानेमा जीवन साँच्चिकै सुन्दर बन्छ । सभ्य नागरिक बन्नु हामी सबैको कर्तब्य हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button