
स्वस्थ वृद्धावस्था स्वस्थ बाल्यकालबाट सुरु हुन्छ
डा. विमला शर्मा
जनस्वास्थ्यकर्मी, गण्डकी मेडिकल कलेज, पोखरा
बुढेसकाल जीवनको महत्वपूर्ण चरण हो र हामी यसलाई टार्न सक्दैनौं । त्यसैले बुढेसकाललाई स्वस्थ, खुशी र सक्रिय बनाउनेतर्फ हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।
अहिले हाम्रो आयु बढेको छ । आयु बढेसँगै वृद्धवृद्धासँग सम्बन्धित स्वास्थ्य समस्याहरू पनि बढ्दै गएका छन् । बाँच्नु मात्र ठूलो कुरा होइन, वृद्धावस्थामा स्वथ्य, खुशी र आत्मनिर्भर भएर बाँच्नु ठूलो कुरा हो । बुढेसकालमा कसरी खुसी, स्वस्थ र सक्रिय रहने त ? एउटा रणनीति भनेको जीवनचक्र दृष्टिकोण (लाइफ साइकल अप्रोच) अपनाउने हो ।
स्वास्थ्यको लागि जीवन चक्र दृष्टिकोण एक अवधारणा हो, जसले जीवनको हरेक चरणमा स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम र प्रारम्भिक निदानमा जोड दिन्छ– गर्भावस्था, बाल्यकाल, किशोरावस्था, युवावस्था, मध्यम उमेर र वृद्धावस्था । एक स्वस्थ बच्चाले नै एक स्वस्थ किशोर, एक स्वस्थ वयस्क र एक स्वस्थ वृद्धको रुपमा जीवनचक्र पुरा गर्छ ।
हामी सामान्यतया सोच्दछौं कि बुढेसकालमा स्वस्थ आनीबानी अपनाउनेछौं, हामी हाम्रो स्वास्थ्यको ख्याल गर्नेछौं, हामी हाम्रो जीवनशैली सुधार गर्नेछौं । जब कसैले म चिया पिउँदिन भन्छ भने तपाईलाई मधुमेह (सुगर) छ हो ? भन्ने प्रश्न आउँछ । यदि कसैले नुनिलो खाना खान अस्वीकार गर्यो भने हामी उसलाई समानुभूतिका साथ सोध्छौं, ‘ओहो ! तपाईलाई उच्च रक्तचाप छ ?’
‘अहिले त हो नि खाने, पछि (रोग लागेपछि) खान पाइदैन’ भनेको पटक पटक सुन्छौं । ‘उमेर पुगेपछि गरौंला ध्यान र योग, अहिले त मेरो उमेर नै कति भाको छ र !’ भन्छौं । जब बिहान बेलुका बाटोमा कोही हिडिरहेको देख्छौं, उक्त व्यक्तिलाई उच्च रक्तचाप र मधुमेहजस्ता रोगहरु लागेको होला भनेर सोच्छौं ।
वृद्धावस्थामा स्वस्थ र सक्रिय हुनु ठूलो सफलता हो, ठूलो उपलब्धि हो र अमूल्य सम्पत्ति हो । हामी सामान्यतया बुढेसकालको लागि पैसा बचत गर्ने कुरामा चिन्ता गर्छौं तर स्वास्थ्य बचत सबैभन्दा महत्त्वपूर्ण हुन्छ । जब हामी गम्भीर बिरामी हुन्छौं, तब पैसा भए पनि हामी स्वास्थ्यसेवा लिन जान सक्दैनौं । बुढ्यौली लागेपछि अब म स्वस्थ हुन्छु भनेर मात्र हुँदैन । त्यो तयारी र प्रयासहरू बाल्यकालबाट सुरु हुन्छ र किशोरावस्था, युवावस्था, मध्यम उमेर र वृद्धावस्थासम्म जारी राख्नु पर्छ । हामीले रोग लाग्नुअघि नै स्वस्थ्य बानीहरू अपनाउनुपर्छ ।
अर्कोतर्फ, बुढेसकालको रोग मानिने रोगहरू अहिले युवा तथा वयस्क जनसङ्ख्यामा पनि व्याप्त हुन थालेको छ । उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, क्यान्सर यसका केही उदाहरण हुन् । यदि हामीले युवावस्था र वयस्क उमेरमा रोकथामका उपायहरू अपनाएनौं भने हामी धेरै अंगहरूमा विभिन्न रोगहरूको साथ वृद्धावस्थामा प्रवेश गर्नेछौं । त्यसबेला हामीले खाना खाए जस्तै औषधि खानुपर्छ, उपचार खर्च धेरै महँगो पर्छ ।
बाँच्नु मात्र ठूलो कुरा होइन, बुढेसकालमा स्वथ्य, सक्रिय र आत्मनिर्भर भएर बाँच्नु ठूलो कुरा हो । यदि हामी बुढेसकालमा गुणस्तरीय जीवन र स्वस्थ जीवन बिताउन चाहन्छौं भने हामीले यसको लागि लगानी गर्नुपर्छ स्वास्थ्य प्रवर्द्धनमा, र त्यो लगानी जीवनको प्रारम्भिक चरणबाट हुनुपर्छ । ती लगानीहरू धेरै सस्ता छन्, उपायहरू धेरै सरल र प्रभावकारी छन् । तर महत्त्वपूर्ण कुरा यो हो कि जीवनको प्रत्येक चरणमा र वृद्धावस्थामा हामीले त्यस्ता सरल र प्रभावकारी स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । धुम्रपान, मदिरापान, कम शारीरिक गतिविधि, नुनको उच्च सेवन, खानामा फाइबर कम हुनु, प्रशोधित खानाको अधिक सेवन, मिसावटयुक्त खानाको सेवन, खानामा सूक्ष्म पोषकतत्वको कमी, कम निन्द्रा, तनाव, मोटोपना आदी नसर्ने रोगहरुका प्रमुख जोखिम कारक हुन् ।
आफ्नो अवस्था अनुसार जति सक्दो शरीर चलाउने, शारीरिक रूपमा सक्रिय हुने, पर्याप्त पानी पिउने, प्रशोधित खाना कम खाने, तरकारी र फलफूलहरू प्रशस्त खाने, धुम्रपान र मद्यपान नगर्ने, नुनको सेवन कम गर्ने, तनाव नलिने, योग ध्यान गर्ने, परिवार र साथीहरूसँग समय बिताउने र पर्याप्त समय निदाउने आदी स्वास्थ्य प्रवर्द्धन गर्ने जीवनशैलीहरू हुन् । रोगविरुद्ध राम्रो प्रतिरक्षा प्राप्त गर्न हामीले खाएको खानामा सबै प्रकारका पोषक तत्वहरू छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । रोगको समयमै निदान र राम्रो उपचारको लागि नियमित स्वास्थ्य परीक्षण गर्न जानु धेरै महत्त्वपूर्ण छ । यदि उच्च रक्तचाप, मधुमेहजस्ता रोग लागेमा, नियमित रूपमा चिकित्सकको सिफारिस अनुसार औषधि खानुपर्छ वा उपचार गर्नुपर्छ । यदि हामीले उपचार छोड्यौं भने स्वास्थ्यमा झन् ठूला जटिलताहरू आउछन् । त्यस्तो उपचार बिरामी, परिवार र स्वास्थ्य प्रणालीका लागि निकै महँगो हुन्छ, पिडादायी हुन्छ ।
अहिले संसारभरि नसर्ने रोगहरू बढिरहेका छन् । तीमध्ये अधिकांश अस्वस्थ जीवनशैलीसँग सम्बन्धित छन् । यस्ता रोगहरू लागिसकेपछि मात्रै जीवनशैली परिमार्जन गर्नु उपयुक्त र पर्याप्त छैन । अर्कोतर्फ, अहिले त यस्ता रोगहरु बिस्तारै वयस्कहरुमा पनि देखिन थालेको छ । सामान्यतया अस्वस्थ्यकर जीवनशैलीको नतिजा तत्काल नभई दीर्घकालीन हुन्छ, जुन वृद्धावस्थाको स्वास्थ्यमा बहुसमस्याको रुपमा देखिने सम्भावना धेरै हुन्छ । जीवनको एक चरणले सधैं अर्को चरणमा प्रभाव पार्छ । रोगहरू लागिसके पछि अथवा बुढेसकालमा मात्र जीवनशैली सुधार गरेर र स्वस्थ जीवन शैली अपनाएर, स्वस्थ र सक्रिय बुढेसकाल प्राप्त गर्न सकिदैंन ।
तसर्थ, स्वस्थ र सक्रिय बुढ्यौलीका लागि आजदेखि नै सुरु गरौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)