हस्पिटलः समाजसेवा कि बिरामी उत्पादन उद्योग ?

प्रतिमा पन्थी

देशमा विगत केहि बर्षयता सयौंको संख्यामा हस्पिटल (कम्पनी)हरु खुलेका छन् । हस्पिटल धेरै भएपछि विरामीको संख्या खासमा घट्नु पर्ने हो । तर, ठिक उल्टो भइरहेको छ। जति धेरै हस्पिटल, त्यति धेरै बिरामी । उद्योगपतिहरुले हस्पिटल बिरामीलाई निको बनाउनका निम्ति नभएर पैसा कमाउनका लागि सञ्चालन गरेको आभाष हुन्छ ।

हस्पिटल समाजसेवा हुनुपर्नेमा बिरामी उत्पादन उद्योग बनेका छन् । र, डाक्टरहरु बिरामीलाई निको हुनका लागि चाहिने विमर्श गर्दैनन्, कतिपय त बिरामीको अनुहार नै नहेरी लक्षणको आधारमा दवाई थमाईदिन्छन् र ५,७ वा १० दिन पछि आउनु भन्छन् । बिरामीको डाक्टरप्रति गहिरो विश्वास हुन्छ । कुनै डाक्टरले मिठो बोलेर कुशल विमर्श गरेका छन् भने घर फर्किंदासम्म बिरामीले आधा रोग निको भएको महसुस गर्छ । बिडम्बना, हाम्रा हस्पिटलहरुमा विमर्श हुँदैन, रोगसँग कारोबार हुन्छ ।

हाम्रा बा (हजुरबा)ले खरानीले फुकेर बिरामी निको बनाउनुहुन्थ्यो । टाढाटाढाबाट मान्छेहरु आउँथे बालाई भेट्न । ज्वरोले थलिएकादेखि सर्पले टोकेकासम्म निको भएका थिए रे । अलि पहिलापहिला एक मनले यो बेकारको अन्धविश्वास जस्तो लाग्थ्यो मै आफुलाई र अर्को मनमा प्रश्न आउँथ्यो, आखिर, मान्छेहरु निको कसरी भए त ? पछिल्ला दिनहरुमा सााइकोलोजीको स्वअध्ययनले मेरो पश्नको उत्तर भेटाएको छ । यो साँच्चिकै अन्धविश्वासको कारणले नै सम्भव भएको रैछ । अन्धविश्वासको नकारात्मक र सकारात्मक दुवै पाटाहरु मान्छेको सोचाइसँग जोडिएको छ ।

हामीहरुलाई कि त हामीले सोचेको कुरा बिल्कुल सहि लाग्छ, या आफुले विश्वास गरेको व्यक्तिले बोलेको कुरा सहि लाग्छ । बाकोमा आउनेहरुलाई बामाथि ुअन्धविश्वास (अन्तरमनदेखी विश्वास) थियो कि उहाँले छोएपछि म निको हुन्छु । वास्तवमा त्यो निको हुन्छु भन्ने विश्वासले मान्छे स्वत निको हुँदो रैछ । यो मान्छेको सोचाइको कुरा रैछ । तपाइ जे सोच्नुहुन्छ, त्यही पाउनुहुन्छ । सोचाईमा नै त्रुटि (विकार) भएमा शारिरिक र मानसिक दुवै रूपमा अस्वस्थ हुन्छौं । र, जब कोहि अस्वस्थ हुन्छ, तब अर्को विश्वासको मान्छेले सकारात्मक विमर्श गरेमा, त्रुटिपूर्ण सोचाइहरु सच्चिन सक्छ र विकार सोच नाश हुनसक्छ । दिनानुदिन दिर्घरोगीहरुको संख्या बढ्दै जानुको एक कारण मान्छेको जीवनशैली र अर्को हाम्रा आधुनिक हस्पिटल र डाक्टरहरुमा मनोविमर्शप्रति चाँसो नहुनु हो ।

अब स्वस्थ हुनका लागि स्वयं हेरचाह, स्वयं माया, स्वस्थ जीवनशैली, सन्तोषी सोच, मनशान्ति र आन्तरिकिकरण गर्नु जरुरी हुन्छ ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button