सके स्तनपानको अधिकार सुरक्षित गर, नभए मागी खानी भाँडो बन्द गर

प्रज्ञा अर्याल

विश्वले स्तनपान सप्ताह मनाइरहँदा मेरो मनमा उब्जिएको प्रश्न के थियो भने सात दिने सप्ताहसँगै सरकारको दायित्व पनि वर्ष दिनको लागि सकिने हो र ? कि यो कुनै चाडपर्व हो, जुन एक पल्ट मनाएपछि वर्ष दिनलाई ढुक्क हुने ? कि यो सप्ताह मनाउन सरकारले धमाकेदार योजना लेराई महिलालाई सात दिन छुट्टी दिन्छ ? नत्र भने सुत्केरी विदा आवश्यकता अनुसार दिन नसक्ने सरकारलाई यो सप्ताह मनाउन लाज लाग्दैन ?

दुधले भिजेर कक्रक्क परेका कपडा यो सरकारले महसुस गर्न सक्दैन ? कुर्लिकुर्ली स्तनपान सप्ताह मनाउन सक्ने सरकारले स्तनपान कक्ष बनाउन सक्दैन ? के सबै बाल हक, अधिकारको बारेमा बोल्ने संघसंस्थाले बालबालिकाको स्तनपानको अधिकार सुरक्षित गर्न सकेका छन् ? यो सप्ताहलाई सफल पार्न कयौं आमाहरु व्यानर र पम्प्लेट बनाउन आफ्नो घरमा ल्याकटोजिनको बोतल भरेर आई कार्यालयमा ओभर टाइम गर्दै होलान् ।

एक्सक्ल्यिुसिभ ब्रेस्टफिडिङ नाराको लागि मात्र बनेको शब्द हो र ? यो सप्ताह दुई चार जना पहुँच हुनेहरूको लागि मात्र हो भने मेरो भन्नु केही छैन । नत्र भने दुर्गमका ती आमाहरु जो बिहान झिसमिसेमा घाँसदाउरा गर्न निस्किएपछि आधा दिनमा घर आइपुग्छन्, उनीहरूलाई यसको के अर्थ ? सरकार सुत्केरीलाई पोषिलो खाना खुवाउन सक्दैन, स्तनपान सप्ताह मनाउँछ । एकातिर सरकार सुत्केरीको बगेको दूध सोस्न ब्रेस्ट प्याड आयात गर्दछ अर्कोतिर स्तनपान सप्ताह मनाउँछ ।

सके बालबालिकाको स्तनपानको अधिकार सुरक्षित गर, नभए यो सप्ताह रूपी मागी खानी भाँडो बन्द गर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button