रक्सीसँग मात्र उनको यो कस्तो गजबको प्रेम !

तीन मुक्तक: तीन सन्दर्भ (सन्देशमूलक)

कृष्ण बाउसे

१. पर्यावरण

वन मासेर धन बटुल्यौँ, कागतमा मात्र मिलायौँ रुख रोप्नुपर्दा
चिन्तै मानेनौँ आफूले गरेको फोहर सबै नदिले बोक्नुपर्दा
अहिलेका हामीलाई भोलिको पुस्ताले अवश्य नै सराप्नेछ
प्रातभ्रमणमा जाँदासमेत काँधमा छुट्टै अक्सिजन बोक्नुपर्दा ।

२. मदपान

बरु साग महँगो लाग्छ, किन्नुअघि सोच्छन् उनी
फलफूल महँगो लाग्छ, ‘नखाए हुन्छ’, खोक्छन् उनी
रक्सीसँग मात्र उनको यो कस्तो गजबको प्रेम !
घरको खुशी जाकटी राखेरै मनमौजी धोक्छन् उनी ।

३. धूमपान

के हेर्नु ! कसैले टेकेको माटो नै चुक्चुकाइरहेको !
के हेर्नु ! कसैलाई अकालै कालले कुत्कुत्याइरहेको !
रोगी बनिरहेछन् अबुझहरू आफ्नै कुलतका कारणले
के हेर्नु ! जिउँदा लासको मुखबाट धुवाँ पुत्पुताइरहेको !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button