अनुभव कथाः असँख्य सपना बहिनीहरुको साझा संघर्ष


विन्दा पान्डे


सपना एक समान्य परिवारकी छोरी । उनी पन्ध्र बर्षकी थिइन् । र, ‘त्यति बेला छोरी पढाउनु हुँदैन, छोरीले धेरै पढेर के गर्नु ? अर्काको घर जानुपर्छ, उसको काम भाँडा माझ्ने, घर लिप्ने, भकारो सोहोर्ने, घाँस दाउरा गर्ने न हो’ भन्ने चलन थियो । उनले बलजबस्ती घरको काम भ्याएर पाँच कक्षा पास गरेकी थिइन् । घरपरिवारले घरभन्दा केही दुरीको फरकमा आफन्तमार्फत विवाहको कुरा पक्का गरेछन् । त्यति बेला उनलाई विवाहबारे केही थाहै थिएन ।


सबै ‘अब विहे आउन लाग्यो’ भन्न थाले । उनी केही बोल्न सकेकी थिइनन् । उनी भगवानमा भावनात्मक रूपमा अति विश्वास गर्दथिइन । अनि रूँदै एकान्तमा सुतेको बेला ‘हे भगवान ! यो विवाह नहोस्’ भनेर प्राथना गरिन् । भगवानले सुनेछन् क्यारे । सम्पूर्ण काम पूरा भइसकेर दुइ दिन बाँकि थियो, विहे आउन । केही कुरा मिलेन र त्यो विवाह रद्द भयो। उनी ज्यादै खुसी भइन् । भगवानलाई धन्य भनिन् ।


उता स्कुल सुरू भएको धेरै समयसम्म विद्यालय नगएपछि प्रधानध्यापक त्यहि बाटो आएर सोधे, ‘के भयो ? हजुरकी छोरीलाई स्कुल किन नपठाएको ?’


अभिभावक: नमस्कार हेड सर । के गर्नु सर ! पाँच-छजना सन्तान छन् । हामी किसान । काम नगरी भएन । म सक्दिन सर । सबैलाई साक्षरमात्र गर्ने हो । हामीले लेख्न पढ्न जानेनौं ।


शिक्षक: बिहान बेलुका काम गर्छन्, पढ्छन्, म निशुल्क गरिदिन्छु । पुस्तक विद्यालयले दिन्छ । छात्रवृत्ति उपलब्ध गराउँछौँ ।


प्रधानध्यापक आफ्नो बाटो लागे । केही दिनपछि सपनाले बुवालाई सम्झाइन्, ‘म पढ्छु । घरको काम पनि गर्छु ।’

पढाइलाई निरन्तरता दिन थालिन् । गाउँका सबै खुसी भए । ‘सोझी छ, भाग्यमानी रहिछ, पढ्न पाई’ भन्न थाले ।

सामान्य परिवार । गाह्रो थियो । आफ्ना कैयौँ रुचि र चाहनालाई मारेर काम गर्दै पढाइलाई अगाडि बढाउँदै गइन् ।


आठ कक्षा सकेपछि पढाइ छोड भने सपनाले आफ्नै कोशिसले पढ्दै गइन् । दस पास गरिन् । ‘अब प्रवेशिका रोक्नु हुँदैन’ भने सबैले । जसोतसो प्रवेशिका दिइन् तर असफल भइन् । तर, पनि हार नमानी दोहाराएर परीक्षा दिइन् । फेरि अङ्ग्रेजी लाग्यो । मौका परीक्षामा पास भइन् । त्यस बेलासम्म सामाजिक सेवामा लागेर राष्ट्रिय पुरस्कार र सम्मान पनि पाइसकेकी थिइन् ।

एसएलसीपछि घरको आर्थिक अवस्था कमजोर भएकाले घरबाट एक पैसा पनि नलिई हजार रूपैयाँ ऋण लिएर शहर पसिन् । समाजमा छोरीलाई शहर पढ्न पठायो भनेर कुरा काट्न थाले । त्यस घरमा अरू पहिलेका बुबा, काका, फूपू कसैले नपढेकाले हामीले पढेनौँ, उसको छोरी पढायो सम्म भने आफन्तले । र, पनि बुवा आमाले सुनेनन् र सपनाप्रति विश्वास गरे । घरमा कस्ले काम गर्छ भनेर दुख मनाउ गरे । के गरेर कसरी पढ्ने हो भन्न थाले ।


‘म नराम्रो काम गर्दिन, भाँडा माझेर कुचो लगाएर भए नि आफ्नो अस्मिता र हजुरहरूको इज्जतलाई दाग नलगाई हात नपसारी शिर नझुकाई लोभस्वार्थ र देखासिखिमा नलागी पढ्छु’ भनेर प्रतिवद्द भई शहर लागिन् सपना ।


सपना शहर गएको गाउँको एक जनाले थाहा पाएर उनलाई पछ्याउँदै जान्छ । बसस्टपमा झरेपछि गाउँको सिधासाधा यसलाई फसाउने उपाय गर्छु भनी गिद्दे नजरले हेर्दै ‘हेर नानी ! यो त शहर हो । यहाँ जसले जे गरे नि हुन्छ । हेर ! राजपरिवार सखाप पार्दा त यहाँ कसैले केही गर्दैन भने म त यहाँ जे पनि गर्न सक्छु तर तिमीले मैले भनेको मान्यौ भने म पढ्ने पैसा, कोठा सबै व्यवस्था मिलाईदिन्छु, नमाने म जे पनि गर्छु’ भन्न थाल्यो ।


सपना रिसले आगो भई र एक झापड हानी र बोली, ‘लाज लाग्दैन ? घरमा छोराछोरी, श्रीमती दुः ख गरिरहेछन् । यहाँ पैसाको धाक देखाएर अरूको अस्मिता लुट्न खोज्ने ? आज के सोचेर मलाई होटेलमा बस्न हिँड भन्दै छस् ? तँ मान्छे बेच्छस् कि के हो ? म त सामाजिक क्षेत्रमा काम गर्दै आएको छु । म पुलिस रिपोर्ट गरूँ !’ भन्दै कडा रूपमा उभिइन् । त्यसपछि माफी माग्दै ‘यो कुरा घरमा नभन ल’ भन्न थाल्छ । अनि सपना रिसाउँदै ‘ठिकै छ यसपाली, केही भन्दिन । फेरि यस्ता क्रियाकलाप देखेमा म एक नारीमाथी भएको अन्याय सहन सक्दिन’ भनिन् । र, आफ्नो बाटो लागिन् ।


अलि टाढाको आफन्तको घरमा बसिन् । भरखर गाउँबाट आएको, आफू सुरक्षित रहनु अनि पढ्नु पनि छ । र, साथमा ऋण लिएको एक हजारमात्र छ । त्यहि घरमा घरको हरेक काम सघाउँदै कमाइ नभए नि काम गर्दैमा सानो हुने होइन, खान बस्न र सुरक्षा आफ्नै घर जस्तो थियो । काम गर्दै स्वअध्ययनमा पढ्दै गइन ।


स्नातक प्रथम बर्षसम्म सरकारी क्याम्पसमा मानविकी पढ्दै गइन् । स्नातक प्रथम बर्षको परीक्षा दिने समय नजिकीँदै गर्दा बहिनीहरूसँग मिलेर कोठामा बस्न थालिन् । एनजीओमा जागिर गर्न थालिन् । लेख्ने र मार्केटिङ् गर्ने गर्न थालिन् । गाउँको स्वच्छ वातावरणको हावापानीले भिजेको स्वच्छ निस्च्छल मन अनि सच्चा संस्कार सिकेकी र लपनछपन नजानेकी सपना घण्टौँ हिँडेर नक्साल, कमलपोखरी हुँदै सिंहदरबारछेउका बैँकहरू र अन्य संघ संस्थहरूमा पत्रिका लिएर जाने, विज्ञापन माग्ने र पहिलेका विज्ञापनको पैसा उठाउने गर्थिन् ।


अरू साथीहरू चलाख । मार्केटमा उठाएको पैसा लिइदिन्थे । तर, उनी नैतिकवान र इमानदार बनेर सबै पैसा अफिसमा बुझाउँथिन् । तलव लिन साह्रै गाह्रो हुन्थ्यो । जसरीतसरी दोस्रो बर्षको परीक्षा नआउनजेल काम गरिन् । त्यसपछि परिक्षाको छुट्टि बसिन् र त्यस्तो काम नगर्ने प्रण गरिन् । काम गरेपछि पारिश्रमिक पनि दिनुपर्छ, नत्र के काम गर्ने भनी छोडिदिइन् । परीक्षा सकियो । एक बर्ष निजी स्कुलमा पढाइन् ।


स्नातक तृतिय वर्षको परीक्षा आउनै लागेको थियो । परिक्षाको तयारी गर्न थालिन् । परीक्षा सकेर घरतर्फ लागिन् । दशैँ तिहार सकियो । अब के गर्ने ? आर्थिक अवस्था कमजोर छ भन्ने सोचेर काठमाडौं फर्किन् ।


स्कुल पढेको साथी सहकारीमा काम गर्थिन् । उनले वजारमा पैसा उठाउन मान्छे चाहिएको जानकारी गराइन् । ‘तलव त थोरै छ तर गर्ने हो त ?’, साथीले सोधिन् ।


सपनाले हुन्छ भनिन् । तलव पैँतिस सय । नौवजे देखि साँझ छ सात बजेसम्म ।


काम सुरू भयो । कामसँगै पढाइ सकिन् । मानविकीमा स्नात्तकोत्तर सकियो । जागिरलाई निरन्तरता दिँदै सपना कहिल्यै नराम्रो बाटोमा लगिनन् । बीचमा खुट्टा तान्नेहरूको कमी देखिएन । सहयोगी कोमल हृदयकी सपना अरूको दूःख देख्न सक्दैन थिइन् । आफू खाजा नखाएर बाटोका माग्नेहरूलाई आफूसँग भएको दुइचार पैसा दिने गर्थिन् ।

सपना पढाइ पूरा गरी जागिर खाँदै समाजसेवामा सक्रिय छिन् । मानव वेचविखन, एकल र विधवा महिलाहरूले भोग्नु परेको सामाजिक अपहेलना, वोक्सीको आरोपमा महिलाले भाग्नुपरेको शारिरिक र मानसिक यातना र प्रताडनाविरूद्दमा लड्ने प्रतिवद्धता जनाउँदै सपना भन्छिन्, यसविरुद्ध सबैको हातेमालो भएमा समाजवाट यस्ता विकृति अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button