
योगः महान ‘मस्ती’को यात्रा
सन्दर्भः सातौँ अन्तराष्ट्रिय योग दिवस
राधिका पन्त देवकोटा
पतञ्जली योग शिक्षक ।
लामो समयदेखि उठिरहेको अन्तराष्ट्रिय योग दिवस मनाउन पर्ने आवाजलाई सात वर्षअगाडि नेपाल, भारतलगायत विभिन्न देशहरुले संयुक्त राष्ट्र संघमा कुरा उठाए । त्यसलाई राष्ट्रसंघबाट सहर्ष स्वीकार गरी जुन २१ का दिन हरेक वर्ष अन्तराष्ट्रिय योग दिवसको रुपमा विभिन्न देशका योगीहरुले गर्दै आएका योगका आसन व्यायम, प्राणायामहरुलाई एकिकृत गरी आवश्यकता अनुसार छनोट प्रकृयाबाट एउटा छुट्टै प्रोटुकल तयार पारी सबै राष्ट्रहरुलाई पठाईदिए अनुसार अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको पनि सात वर्ष भइसकेको छ ।
विश्वका १९२ राष्ट्रमा आजको दिन प्राप्त प्रोटुकल अनुसार अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउने गरेको छ । नेपालले पनि सप्ताहव्यापी रुपमा जिल्लास्तरिय, प्रदेशस्तरिय र केन्द्रस्तरिय गरी विभिन्न चरण पार गर्दै जुम अनलाईनका माध्यमबाट देशवासीमाझ योगसन्देश पुर्याईसकेको छ । सरकारबाट पनि अनलाईनकै माध्यामबाट विभिन्न कार्यक्रमहरु सन्चालनमा छन् । स्मरण रहोस्, हाम्रो देशमा हरेक वर्ष माघ १ गते माघेसक्रान्तिको दिन राष्ट्रिय योग दिवस मनाउने चलन छ । योगका विभिन्न हाँगाहरु प्रचलनमा छन् । तीमध्ये पतञ्जजली योग समिति नेपालले जेष्ठ ३० गते देखि शुरु गरेर आषाढ ७ गते अन्तराष्ट्रिय योगदिवसको कार्यक्रमहरु समापन गर्दैछ ।
योगको इतिहास लामो छ । छोटकरीमा भन्दा एक अर्को सँगको मिलन नै योग हो । धर्म मिल्नेसँग धर्म मिलाउनु योग हो । पानीको धर्म पानीसँग हुन्छ, आगोको धर्म आगोसँग । पानीको धर्म चिसो हो भने आगोको धर्म तातो हुनु हो भने जस्तै आत्मातत्वको ज्ञान हुनु आत्माको धर्म हो । पानीले प्यास मेटाउनु उसको धर्म हो । आगोले पोल्नु, डढाउनु उसको धर्म हो । यदि पानीले प्यास मेट्न र आगोले पोल्न वा डढाउन छोड्यो भने उसको धर्म हराउँछ वा परिवर्तन भयो भन्न सकिन्छ ।
योग प्राच्य ज्ञानविज्ञान र अनुभवले सिद्ध आध्यात्मिक चेतनाको स्वरुप हो । योगका बारेमा अनेकौ मतहरु देखिन्छन् । ब्रह्मण्डको उत्पतिसँगै योगको पनि उत्पति भएको देखिन्छ । हिरण्यगर्भ नाम गरेका ब्रह्मको सृष्टिको प्रारम्भमा भगवान शिवजीले महाभारतको अनुशासन पर्वतमा प्रस्तुत गरिएको योग हो ।भगवान शिव स्वयं योग स्वरुप हुनुहुन्छ र योगको अध्यक्ष योगाध्यक्ष पनि शिवजीलाई नै मानिन्छ । शिव भनेको नित्य सुखमय एवं नित्य आनन्दमय पुरुष तत्व हो । र, शक्तितत्वको अमृतमय शाश्वत मिलन नै शिव हो । भगवान शिव निर्गुण, निराकार नित्य र निरञ्जन परब्रह्म परमतत्व शिव हुन् । भने यही योग हाम्रा ऋषिमुनीहरुले गर्दैआएका थिए । द्वापर युगमा प्रादुभाव हुनुभएका भगवान श्रीकृष्णलाई आज पनि योज्ञेश्वर भनेर सम्बोधन गर्ने गरिन्छ ।भगवान श्री कृष्णजीले योग गर्थे । त्रेतायुगमा त्यस्तै गरेर राजा जनक योगी थिए, ध्यानी थिए ज्ञानी थिए भने राजा दशरथ र श्रीराम भगवानले पनि योग गर्थे । भगवान श्री कृष्णले भगवद्गीतामा अर्जुनलाई भनेका छन्, योग कर्मषु कौशलम्क । अर्थात्, कर्महरुमा कुशलता नै योग हो । पछि सिद्धार्थ गौतमले बु्द्धत्व त्यही अष्टाङ्ग योगद्वारा प्राप्त गरे भनिन्छ ।
हिजोआज मानिस योगका माध्यमद्वारा चित्तका वृत्तिहरुलाई अनुशासित ढंगबाट नयमन गरेर जीवनको सबै रहनसहन, क्रियाकलाप, खानपानको सन्तुलनदेखि समयको विभाजन गर्न सक्दछन् । खाना कुन प्रकारको कति कुन समयमा खाने ? सुत्ने समय, उठ्ने समय समग्रमा भन्नु पर्दा जीवन शैली नै परिवर्तन गर्न सक्दछन् । हामीले योगको विधालाई नजानेसम्म केही जानेको जस्तो हुँदोरहेनछ । यी विविध कुराको ज्ञान हाँसिल भएपछि सुखदुख, मान अपमान, जाडो गर्मी, अनुकुलता प्रतिकुलता, प्रशंसा निन्दा सबै अवस्थालाई समान रुपमा लिन सक्दछन् । यही नै योग हो । सबै कुरा ईश्वरमा समर्पित गर्न र गराउन सकिने कुरा योगीहरुले बुझिसकेका छन् । महर्षि पतंजलि भन्छन्, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा ध्यान र समाधि यी मुख्य आठ अङ्गलाई अष्टाङ्ग योग भन्नु हुन्छ । यमः अहिंसाः सत्यः अस्तेयः ब्रह्मचर्यः अपरिग्रहः यम हुन् । यिनिहरुको पालना गर्नाले मानिसको बाहिरी आचरण र व्यवहारमा शुद्धता र पवित्रता कायम हुन्छ ।
नियमः शौँचः सन्तोषः, तपः, स्वध्यायः, ईश्वरप्रणिधानः नियम हुन् । यी कर्महरुद्वरा मानवको भित्री आचरणमा शुद्धता थपिन्छ । पवित्रता बढाउँछ । प्राणायामद्वारा भित्री अंगहरुको व्यायम पुग्दछ भने आसनहरुद्वारा बाहिरी शरीरको व्यायम हुन्छ । योगका माध्यमबाट मानिसलाई स्वस्थ, उर्जावान र शक्तिवान बनाउन सकिन्छ । बौद्धिकवान समाजको निर्माण गर्न र व्क्तिलाई योग्य मानिस बनाउन सकिन्छ । मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ र दक्ष नागरिक बनाउन योग, ध्यान, प्राणायामको सहारामा मानिसलाई यर्थाथमा मानव बनाउन सकिन्छ भने मानवबाट महामानव बन्ने बाटो पनि यही हो ।
विहानीको ब्रह्ममुहूर्तमा ओछ्यान छोड्न सकियो मात्रै भने पनि २५ प्रतिशत शरीरका रोगहरुले छुटकारा पाउनेछ । सौर्यमण्डलबाट प्राप्त हुने उर्जाशक्ति विहानीको वायुमण्डलमा प्राप्त गर्न सकिने भएर हामीले विहान ढिलासम्म सुत्ने गर्नु हुँदैन । बेलुका चाँडो सुत्ने, बिहान चाँडै उठ्ने बानी बसाल्यौँ भने हाम्रो शरीरलाई हामीले नै स्वस्थ राख्न सक्नेरहेछौँ ।
अन्तराष्ट्रिय योग दिवस हाम्रो घर आगनमा छाइरहेको छ । घरघरमा योग, जनजनमा योग, परिवारको साथमा गरौँ योग । स्वस्थ रहनोस्, व्यस्त रहनोस् र मस्त रहनोस् । समय आफैले मिलाउने हो । भोजन पकाएर मात्रै हामीलाई तृप्ति मिल्दैन, पेट अघाउन आफैले खानु पर्छ । त्यस्तै योग ध्यान प्राणायामबाट फाइदा लिन आफैले मेहनत गर्न सक्नु पर्छ । सबैले गरौँ, सधैँ गरौँ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुस्ख भाग भवेत् ।।
ओम शान्तिः शान्तिः शान्तिः ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)