खतरायुक्त बालश्रम बन्द गरौं भनौं

(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र आम मानिसका स्वरहरु । उनको डायरी एक प्रतिनिधी डायरी हो । सम्पादक )

डायरी ३
सुशीला शर्मा

आज जुन १२ तारिख । अन्तर्राष्ट्रिय बाल श्रमविरुद्धको दिवस । लेख्ने, पढ्ने र मानवताको चर्चा गर्ने जमातले त पक्कै पनि यो विषय मात्रै होइन, भविष्यका कर्णधार मानिने बालबालिकाको उन्नति प्रगतिमा बाधकको रुपमा लिएर बहस पैरवी पनि गरिरहेका छन् । आजको दिन डायरी, लेख कविता यसमा नै केन्द्रित पनि छन् ।

एउटा तथ्याकं अनुसार हाल नेपालमा २१ लाख ४१ हजार बाल मजदूर रहेको आँकडा देखाउँछ । यस्तै बाल श्रमको विस्व अवस्थालाई मध्य नजर गर्दै आईएलओ पारित भएको पनि झण्डै डेढ दशक भईसकेको छ । बाल अधिकारका चारवटा सिद्धान्त भनेर बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार अनि सहभागिताको अधिकार भनेर बाल अधिकारको क्षेत्रमा काम गर्नेलाई त लगभग कण्ठ भएको छ । तर, वास्तवमा नै यी अधिकारको उपभोग नेपालका सम्पूर्ण बालबालिकाले गर्न पाएका छन् त ? यी दिवसहरुमा यस्तै प्रश्नहरु उठ्ने गर्छन् ।

समाज, राज्य व्यवस्था, समुदाय, परिस्थिति र गरिबीले बाल श्रमका परिभाषालाई नै ठाउँपिच्छे फरक पार्दछ । सामान्यतया हामी कल्पना गर्दछौं कि बाल श्रम भनेको त्यस्तो दासता हो जसले सम्पूर्ण दिनभरी काम मात्रै गर्दछ । बाल श्रमले बालबालिकाले पाउनुपर्ने अवसर,आत्मसम्मान तथा शिक्षा,स्वास्थ्य र सामाजिकीकरणको अधिकारबाट विमुख हुन पुग्दछन् । यो अवसर भनेको जन्मेदेखि १५ वर्ष उमेरका बालबालिकाको अवसर हो । १५ वर्ष उमेर भित्रका बालबालिका जो हानिकारक,जोखिमपूर्ण र निकृष्ट काममा संलग्न हुन्छन् त्यस्ता कार्यलाई पनि बाल श्रम भित्र गनिन्छ ।

हामी काठमाडौंमै एक संस्थामा कार्यरत रहँदा बाल अधिकारको क्षेत्रमा काम गर्यौं । बाहिर खाजा खान होटलमा जाँदा पनि साना बालबालिका प्रसस्त देखिन्थे । कोही होटलवालासँग यस विषयमा कुरा गर्यो भने उनीहरुको आमाबाबुले नै काम सिक्न पठाको भन्थे भने कसैले चाँहि गाउँमा अहिले विद्यालय बन्द छ त्यसैले दुईचार दिनको लागि आएका भन्थे । कोही होटलवाला भने यी मेरा आफ्नै नातेदार हुन पनि भन्थे । कोही होटल साहु चाँहि रिसाएर हामीले उनीहरुको परिवार पाल्न सहयोग गरेका छौ पनि भन्थे । अझ हाईवेतिरका होटलमा त सामाजिक कार्यकर्ता वरिपरि देखे भने पनि आफ्ना होटलमा भएका किशोरी ,किशोरहरुलाई लुक्न पठाउने, सामाजिक कार्यकर्ता आईहाले भने पनि रातोपीरो मुख लगाउँदै रिसाउने,नबोल्ने गरेका त मैले नै अनुभव गरेको छु । पहाडी क्षेत्रमा घर थोरै उमेर बढ्ने वित्तिकै आमाबाबुलाई यी छोराछोरीलाई कतै अल्झाईदिन पाए उनीहरुले पनि केही कमाउँथे र त्यो रकमले आफ्नो जीवन पनि सहज हुने ठानेर छोराछोरीलाई घरेलु श्रममा या होटल, कलकारखानामा पठाउने गरेको पाईन्छ । अझ कतिपयले त आफ्ना छोराछोरी कतै फसेका छन कि या पीडादायी कार्यमा संलग्न छन कि भन्नेमा पनि ध्यान दिएको पाईदैन् । कतिपय त भारततिर सर्कसमा निकै जोखिमपूर्ण काममा संलग्न भएकाबारे पनि हामी अवगत नै छौं । धेरै बालबालिकाहरु इटा भट्टामा कार्यरत छन् । अहिले केही संस्थाहरुले ती क्षेत्रमै गएर ती बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्य पनि गरिरहेछन् । भारी बोक्ने, कुटो कोदालो गर्ने,चौध पन्ध्र वर्षकै उमेरमा हलो जोत्ने गाउँघरमा सामान्य दैनिकीभित्र नै पर्दछ बालबालिकाहरुलाई । आईएलओले नै विकासशिल देशको भनेर बालबालिकाले आर्थिक काममा संलग्न हुन भनेर १४ वर्ष उमेर उल्लेख गरेको रहेछ । तर यो नियम हो र यसलाई पालना गर्नुपर्छ भनेर अभिभावक या काम दिने साहू या संस्था, कारखानाले पनि त मनन गर्नुपर्यो नि । बालबालिकालाई नै काम गर्न लगाउनु सट्टा अभिभावकलाई नै रोजगारी दिएर सहयोग गरे पनि हुने हो भन्ने पनि लाग्छ ।

मानव अधिकार, बाल अधिकारका प्राय सबैजसो महासन्धीमा हस्ताक्षर गरिसकेको नेपालले देशभित्र विभिन्न समुुदायमा बालबालिकाको अवस्था के छ भन्नेमा भने अझै ध्यान पुर्याएको देखिदैन् । बालबालिका श्रममा संलग्न हुनुमा गरिबी, अपर्याप्त शिक्षा, रोजगारी सम्बन्धी कानुन र रोजगारीको संरचनात्मक अवस्था आदि पर्दछन् । अभिभावकमा बालबालिकाप्रतिको उत्तरदायित्वसम्बन्धी न्यून ज्ञान तथा सामाजिक र साँस्कृतिक अवस्थाले पनि बालबालिकालाई निकृष्ट श्रममा संलग्न हुन सघाईरहेको पाईन्छ । पर्याप्त बाल संरक्षण नीति, खाका र तिनीहरुको कार्यान्वयनको अभावले पनि बाल श्रम घट्नुका सट्टा बढेकै देखिन्छ ।

श्रमका कुरा विशाल छन् । सिर्जनात्मक श्रमले नै संसार आजको स्थितिमा आईपुगेको छ । अमानवीय र बालबालिकालाई हानी पुग्ने श्रमहरुले समाज पछाडि नै परिरहेको हुन्छ । अध्ययन गदैै,खेल्दै आफ्ना बौद्धिक र शारीरिक बिकास गर्नुपर्ने बालबालिका कुनै एक ठाउँमा बन्दी झैं भएर कठोर शारीरिक श्रम गर्नुपर्दा उनीहरुबाट भविष्यमा हुने सिर्जनात्मक योगदानमा असर त पर्ने नै भईहाल्यो ।
बाल श्रमविरुद्धको दिवस मनाईरहँदा यो पनि भन्न मन लागिरहेछ कि केही ठाउँ या आधुनिक अभिभावकले बालबालिकालाई सुख चयन दिने नाउँमा काम कसरी गर्ने, यहाँसम्म कि जारबाट पानी कसरी सार्ने भन्ने सम्म पनि नजान्ने अवस्थाका बालबालिका पनि किशोर वयमा टेकिसकेका अवस्था पनि देखिन्छ । बालबालिकालाई श्रममा धकल्ने भन्दा पनि सामान्यदेखि भैपरी आउने कामबारे भने उनीहरुका पढाई लेखाईसंगसंगै सिकाउँदै लैजानुपर्ने जिम्मेवारी छ अभिभावकको । बालक हुन या बालिका भविष्यमा पक्कै पनि उनीहरु स्वतन्त्र तरिकाले आफ्नो जीवन जिउन चाहन्छन या करियर विकास गर्ने क्रममा उनीहरु एक्लै कहाँ कहाँ पुग्नुपर्ने र आफ्नो काम आफै गर्नुपर्ने हुन्छ । त्यो बेलाको तयारीको सिकाई भने बालबालिकाले गर्नुपर्ने हुन्छ । आफ्ना सम्पूर्ण काम खाना पकाउने लुगा धुने,भाँडा माझ्ने, आमा बुवा बिरामी हुँदा सघाउने जस्ता घरायसी काम होस या छरछिमेकमा आपत विपत पर्दा गर्नुपर्ने सहयोग गर्ने । यी सब कुराहरु जीवनउपयोगी सीपको रुपमा हाम्रा बालबालिकालाई सिकाउँदै र उनीहरुले सिक्दै जानुपर्ने हुन्छ ।

अहिले कतिपय कोभिड भएर आईसोलेसनमा बसेका गृहिणीहरुले आफ्ना छोरा तथा श्रिमानलाई घरको केही गर्नै आउँदैन भन्दै घिस्रिदै आफैंले खाना पकाउने र सरसफाईको काम गरे भन्ने पनि सुनियो । यदि जीवनउपयोगी सीप छोरा छोरी श्रिमान सबैले सिकेको या गर्ने गरेको भए यस्तो अवस्था आउँदैन थियो होला ।

लेख्नुपर्ने थुप्रै छन र आवश्यक र उपयोगी सामाग्री अन्य लेखक महानुभावहरुबाट पनि आउलान् । खतरायुक्त बालश्रम बन्द गरौं भनौं आजको यस डायरीमा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button