चालिस कटेसी यौवन

ब्राह्मणपुत्रको लकडाउन डायरी–४१

भरत शर्मा
कभर मोडलः लीला अनमोल

वास्तुशास्त्रले भनेको छ, उत्तर पूर्व फर्केर भोजन (खाना) खायौं भने आयु र विद्या बढ्छ । भोजनमा मिलेसम्म नुनिलो, अमिलो, पिरो, तितो, टर्रो र गुलियो खानु राम्रो मानिन्छ । भोजन र पानी सधैजसो धेरै चिसो र धेरै तातो पनि खानु हुँदैन ।

पूर्वतर्फ शीर पर्ने गरी सिरानी राखेर सुत्नु राम्रो मानिन्छ । निरोगी हुनु धन हो, सन्तोष ठूलो सम्पत्ति हो, विश्वास सबैभन्दा ठूलो मित्र हो । विवाह र विवादचाहिँ आफू समान मानिसहरुसँग मात्र गर्नु ।

जीवनमा धनको भन्दा बढी सदाचार र आचरणमा ध्यान दिनु, धन खर्च गरे पनि कमाउन सकिन्छ तर आचरण गुम्यो भने फर्काउन निकै कठिन छ ।

यस्ता कुरा आर्दश हुन्, हामी मान्दनौं, अहिले यस्ता कुरा गरेर हुन्छ भन्ने समूह पनि होलान् । तर, आज मानिसको चालिस कटेपछिको मनोभावलाई डायरीमा लेखौं कि भनेर लाग्दै छु ।

यो विषयमा लेख्नका लागि सामग्री केही छैन । आफूभित्र र आफनैं सहकर्मी मित्रहरुको मनोभाव बुझेर लेख्नु पर्छ ।

कोरोना महामारीको दोस्रो चरणको लकडाउनले पनि आज त ४० दिन पार ग-योे । महामारीको लागि चीन सरकारले दिएको उपहार खोप आजैबाट ६० देखि ६४ बर्ष उमेरका मानिसलाई दिने निर्णय गरेर अर्को चरणको खोप अभियान शुरु गरेको छ ।

सरकारले उमेर तोकेर खोप दिने घोषणालाई स्वागत गर्दै आज म ४० देखि ६० बर्ष उमेरका मानिसभित्रको मनोभाव लेख्न लाग्दैछु ।

नेपाल, चीन र भारतमा धेरै दौतरी, सहपाठी, सहकर्मीको उमेर ४० देखि ६० को छ । ६० देखि ८० पुगेका अध्यात्मिक ज्ञान चर्चा गर्ने गुरुहरुबाहेककासँग खासै सम्बन्ध छैन ।

केही दिनअघि क्याम्पस पढ्दाताकाका क्याम्पस प्रशासनमा काम गर्ने एकजना मित्रले फोन गरेर भने, ‘गुरु कता हो, घरैतिर त होला नि । आजकल मनमा अनेक कुरा खेल्न थाल्यो, चालिस पनि लागेँ । लौन, एकपटक जन्मपत्रिका हेर्नु प-यो ।’ मित्र निकै मजाक गर्ने दौतरी पात्र हुन् ।

‘के समस्या पर्यो भन त’, मैले भनेँ ।

‘छोरो अस्टे«लियातिर गयो, छोरीले १२ कक्षा पास गरिन्, उमेर चालिसबाट माथि लाग्यो तर मलाई भर्खरको युवा जस्तो जोश बढ्को छ । यसको संकेत के हो ? एक पटक हेर्दिन प-यो ।’

१८ बर्षदेखि संगत गर्दै आएको मित्रको कुरा सुनेर म खित्का छोडेर हाँसे, ऊ पनि मुर्छा परेर हाँस्यो ।

‘हे गुरु ! तिमी पनि राम्रो हुँदैछौं । कति बर्ष भयौ ?’

‘मोरा ! शास्त्रले भनेको छ, कसैको पनि उमेर कति भयो भनेर नसोध्नु, उमेर भन्ने कुरा गौण हो । केटाको उमेर सोध्यां भने पनि केटीको चाहिँ भुलेर पनि नसोध्नु लाटा ।’

चीनमा करिव दुई बर्ष बसेँ । छात्र, छात्रा र बजार घुम्न जाँदा विश्वविद्यालयका सहकर्मीहरुले उमेरको कुरा गर्दा ‘आइ म ट्वाइन्टी फाइभ’ भनेर हाँस्ने गरेको थिएँ । उनीहरुले विश्वास गरे कि गरेनन् ? उमेर उक्लँदै गए पनि सोचचाहिँ भर्खरैको युवा छु भन्ने मनोभावले काम गर्नु राम्रो भनेर शास्त्रले भनेको छ ।

अब मित्रको कुरा गरौं, मित्रको जन्ममितिलाई ज्योतिषीय सफट्वेयरमा राखेर हेर्दा ग्रहको (सातौं स्थान) पत्नी स्थानमा दुईवटा परस्पर ग्रह बसेका रहेछन् । मित्रको उमेर चालिस कटेपछि अर्को ग्रहले दुःख दिन थालेछ ।

फोन गरेर कुरो के हो खसोखास भन भनेपछि चालिस कटेका मित्रले भने, ‘एक बर्षदेखि एउटी मोरी पछि लाग्न थाली दाइ, घरबार मिलिसकेको थियो । छोराले यसो डेटिङ जाने खर्च पनि पठाइदिन्थ्यो । छोराले नै राम्रो मोटरसाइकल किनेर चढ्नु भनेर पैसा पठाइदियो । नयाँ मोटरसाइकल चढेर डुल्छु, जागिर छँदैछ, महिनैपिच्छे तलब थाप्छु, घरकीसँग भन्दा बाहिरतिर पो मन गयो ।’

मित्रलाई सम्झाई बुझाइ गरेँ । ग्रहहरुको घरमा केतु (कान्छो)ले दुःख दिन लागेको रहेछ । सावधान ! भनेर जनाऊ घन्टी दिँदै केही नियम र उपाय बताइदिएँ । मित्रले बुझे क्यारे । आजदेखि पालना गर्छु भनेका छन् । नियम मान्ने नमान्ने मित्रको कुरा हो ।

मलाई पनि युट्युवमा ‘हे साइली, चालीस केटसी रमाउँला’ भन्ने गीत सुन्दा रमाइलो लाग्छ । मित्रको कुरा सुनेपछि मानिसको उमेर अनुसार कस्तो फरक पर्ने रहेछ भनेर सामाजिकशास्त्रीय अध्ययन सामग्रीको खोजीमा लागेँ । सनातन शास्त्रमा पनि के रहेछ भनेर खोज्दै गएँ ।

समाजमा अहिले छोराछोरीलाई १८ देखि २२ बर्ष पुगेपछि निकै ध्यान दिनु पर्ने रहेछ । यो उमेरमा केटाकेटीले केही समाजिक मर्यादा, पारिवारमा समस्या ल्याउन सक्ने रहेछन् । समाजशास्त्रका अध्येताले भनेका रहेछन्, ‘युवा अवस्थामा छोरा–छोरीको दिनचर्या र साथीसंगती कस्तो छ भनेर ध्यान दिनु पर्छ रे ।’

छोरा–छोरीको युवा अवस्थामा ‘जोशमा होस हुँदैन रे ।’ हुन पनि सक्छ । युवा अवस्थाको मनोविज्ञान मैले चाहिँ अनुभव गर्न पाइनँ । त्यसैले अनुभवात्मक ज्ञान छैन । सुनेको त हो तर सुुनेकै भरमा के लेख्नु !

उमेर पुगेकाहरुको छोराछोरीको विवाहका लागि बाबुआमालाई जति चिन्ता कसैलाई हुँदैन । विशेषगरी आमाहरु छोराछोरीको जन्मपत्रिका लिएर ज्योतिषीकहाँ गएर छोराछोरीको पढाई, लेखाइ, रोजगारीभन्दा पनि उनीहरुको विवाहचाहिँ कहिले कस्तो होला भनेर पहिलो प्रश्न गर्ने गर्दछन् ।

युवाको कुरा आज होइन, पछि गरौंला । आज चालिस उमेर पुगेकाहरुकै कुरा गरौं । अलि छिटो विवाह गरेका व्यक्तिको चालिस उमेर हुँदा छोराको जुँगाको रेखी र छोरीको जुरो पलाएको हुन्छ । सके छोरो–छोरी मध्ये एकचाहिँ विदेश जान्छु भनेर बटारिने वा गइसकेको पनि हुन्छ ।

चालिस पुगेपछि आर्थिक व्यवस्थापनको स्रोत पहिचान भएपछि मानिसमा ‘हल्का’ रमाइलो गर्ने मनोविज्ञानले प्रवेश पाउँछ । साँच्चै ‘४० कटेसी रमाउँला’ भन्ने गीतले सुनेपछि ४०–६० उमेर पुगेका मानिसहरु मनमनै खुसी होलान् ।

सनातन शास्त्रले २५ बर्ष ब्रह्मचर्यमा रहेर अध्ययन, त्यसपछि विवाह, गृहस्थ आश्रम, ५० पछि वानप्रस्थ र ७५ कटेपछि सन्यास भनेर चार आश्रम तय गरिदिएको छ ।

गृहस्थ आश्रममा रहेकाहरुले पनि वानप्रस्थ लाग्नुभन्दा अघि अर्थात ४० कटेपछिको उमेरमा धेरै ध्यान दिनुपर्ने रहेछ । हरेक मानिसको जीवनमा ग्रह–गोचरको खेल चलिरहन्छ । युवाहरुको जोशमा होस नहुने भनेजस्तै ४० कटेका गृहस्थीहरुको घरबार बिग्रने समय पनि यही रहेछ ।

बालकको जस्तो निर्मल, युवा जोश, प्रौढ होस र सन्यासीको जस्तो त्याग भयो भने जीवन सुन्दर हुन्छ । गुरुहरुले प्रवचनमा भन्नुहुन्छ, ‘जीवनमा लक्ष्य पुरा गर्नका लागि आफ्ना सबै सुखको परित्याग गर्नु नै पुण्य हो ।’

लक्ष्य र योजना त हरेक मानिसको जीवनमा थपिदै जाने कुरा हो । रमाइलोचाहिँ कहिले गर्ने ? यो प्रश्न मैले गुरुलाई सोधेको थिएँ । उत्तर थियो, उमेर छँदै रमाइलो र तीर्थ ब्रत गर्ने हो । शास्त्रले भनेको छ, ‘उमेर छँदै आफ्नै पाखुरी बजाएर कमाएको धनले तीर्थ गर्नु पुण्य हुन्छ ।’

युवा हुँदा लेखपढमा लाग्नु प-यो । पढेपछि रोजगारी रोज्नु-खोज्नु प-यो । बाआमाको खुसीको लागि घरजम (विवाह) गर्नुप-यो । समाजका लागि सन्तान चाहियो । अनि भन्नुस्, व्यक्तिले रमाइलो गर्ने समय कहिले हो ?

यो प्रश्न मैले आफैमाथि राखेको प्रश्न हो ?

उमेर ६० पुगेपछि शरीररुपी देवालय शिवालयमा अनेक रोगहरु प्रवेश गरेको हुन्छ । शीरदेखि पाउसम्म शरीरका अंग प्रत्यङ्गमा कुनै न कुनै समस्या आउँछ ।

धेरै खान नहुने, धेरै हिँड्न नहुने, निन्द्रा कम हुँदै जाने, काम गर्न खोज्यो बल नपुग्ने, मनमा अनेक कुरा खेल्ने, छोरा–छोरी सात समुन्द्रपारी जाने । यस्तो बेलामा कसरी हुन्छ रमाइलो ?

त्यसैले हरेककोे जीवनमा रमाइलो गर्ने मौका भनेको ४० केटपछि ६० नपुग्दै रहेछ । हरेकको जीवनमा दौडिरहने ग्रह–गोचरले समय यताउति होला तर २० बर्षे जवानी भनेको यही समय रहेछ ।

‘४० कटेका ६० नपुगेका व्यक्ति जन्मपत्रिका लिएर आएपछि अन्तिममा यात्रा गर्ने योग जुरेको छ भनेर थपिदिन्छु’, एकजना ज्योतिषी मित्र हँसिमजाक शैलीमा भन्दै थिए ।

मैले पनि मेरा कलेजका मित्रलाई केतु ग्रह दोष निवारणका लागि लकडाउन खुलेपछि घरकी श्रीमतीसँग सातदिनको तीर्थयात्रा जानैपर्ने बताइदिएको छु ।

म आफै र आफ्ना संगती मित्रहरुको मनोभाव यस्तै छ । चालीसको उमेरले सताएको देख्छु । लकडाडन खुुलेपछि चहलपहल भएपछि चालीस–साठीको रमाइलो यात्रा बढ्ने छ ।

साँच्चै, सरकारले ४० देखि ६० उमेर भएको व्यक्तिलाई खोप लगाउने तालिका बनाउन भने किन ढिलो गरेको होला ?

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button