‘दश पुत्र समो वृक्ष’

वातावरण

ब्राह्मणपुत्र लकडाउन डायरी–३८
भरत शर्मा

लकडाउन भएको कति दिन भयो, आज के बार हो भन्ने पनि सम्झना हुन छाडेको छ । लकडाउन जारी छ, घरमा बसेका छौं, हरेक दिन शनिवार जस्तो लाग्छ । सम्झनु पनि कसरी ? यसमा हाम्रो होइन, महामारीको दोष छ ।

हाम्रा पुर्खा प्रकृति पूजक थिए । पुर्खालाई पुरातन मानेर हामी भौतिक विकासवादीको नामका विनासकारी भएका छौं । वैदिक नियमअनुसार वातावरण स्वच्छ राख्न बोटविरुवा रोप्नु पर्छ, वृक्षलाई समीधा बनाएर वातावरण शुद्वताको लागि यज्ञ (हवन), अनुष्ठान गर्नुपर्छ ।

बोटविरुवाले वातावरण शुद्व हुन्छ र यज्ञ गर्दा बायुमण्डल स्वच्छ हुन्छ भनेर ऋषिमुनिहरुले सिकाएका थिए । हामीले मानेनौं, गरेनौं । रुख काट्ने काम ग-यौं, नयाँ वृक्ष रोपेनौं । ठीक भयो कि बेठिक ? अहिले पुर्पुरोमा हात राखेर बस्दै छौं ।

भौतिकवादी हामी अहिले महामारी भोग्दै छौं । हेर्दै जानुस्, बोट विरुवा नरोप्ने र भएको पनि फडानी गर्दै जाने हो भने यस्ता अनेकौं महामारी खेप्नु पर्नेछ ।

शुरुमा प्रकृतिको कुरा आयो त, सम्पादकले कुरा बुझिनँ भनेर च्वाट् कटिदिन पनि सक्छन् । अब आजको डायरीको मुल कुरातिर लागौं ।

सम्पादकज्यू, आज विश्व वातावरण दिवस हो ।

१६ जुन १९७२ मा संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्व वातावरण सम्मेलनबाट विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउन भन्दै ५ जुन १९९३ बाट विश्व वातावरण दिवस मनाउन शुरु भएको हो भनेर गुगल गुरुले भन्नुभयो । यस बर्षको नारा चाहिँ ‘पर्यावरणीय पुर्नस्थापना’ राखिएको रहेछ । नारा लगाउन खोजेको । हाम्रै शासकले बनाएको ‘समृद्व नेपाल, सुखी नेपाली’ जस्तै नमिल्दो लाग्यो । मिल्दो त ‘गरिव नेपाल, मगन्ते नेपाली ।’ पर्यावरणको विदेशी नाराले हाम्रा लागि खासै महत्व राख्दैन जस्तो लाग्छ । ‘रुख रोपौं, हरियाली बढाऔं’ भन्नु नैं बेश होला ।

विद्यालय जीवनमा सामाजिक शिक्षा पढ्दा ‘हरियो वन नेपालको धन’ धेरै दोहोराइयो । कस्तो राम्रो नारा यो ! लौन, यो नारा हरेक नेपालीले घरको ढोका अगाडि टाँस्न पाए कसो होला ?

हाम्रा ऋषिमुनिहरुले वातावरण दिवस कहिलेदेखि मनाउन शुरु गरेका रहेछन् भनेर गुगुल गुरुलाई सोधेको । तथ्य र जानकारी दिन सकेन ।

हाम्रा पुराणहरुमा उल्लेख छ, ब्रम्हाजीले सृष्टिकालदेखि नै वृक्ष संरक्षणमा लागेको तथ्य गोजी गर्दा सन् १९९९ मा लेखिएको मेरो पुरानो डायरीमा संस्कृतमा लेखिएको श्लोक भेटेँ । श्लोकमा वृक्षले गर्ने सेवाका बारेमा उल्लेख रहेछ । यसको स्रोत भेटिनँ । बाल्मिकी विद्यापीठका अध्यापक पुरुषोत्तम भट्टराईलाई फोन गरी हेरेको । व्यस्तताको संकेत आयो । लौ, अहिले श्लोक र अर्थ लेख्छु ।

पुष्पपत्रफलच्छाया मूलवल्कल दारुभिः।।
धन्या महीरुहाः येषां विमुखा यान्तिनार्थिनः।।

अर्थः वृक्ष सदैव परोपकार गरिरहन्छ । उसले आफनो शरीरका अंगहरु दिएर सबैको भलो गरिरहन्छ । हामीले पनि वृक्षजस्तैं भएर मानिसको मात्र होइन, समस्त जीवको सेवा गर्नुपर्छ ।

अश्रृत्थ सर्ववृक्षाणां ।

अर्थः जीवनको स्रोत भनेको वृक्ष हो । त्यसैले धेरै वृक्ष रोपौं, धर्ती बचाऔं ।

हामी अमेरिका बसौं वा अफ्रिका, पहाडमा बसौं या तराई, हिमालमा जीवनको आधार श्वास हो । हामीले टेकेको धर्ती हो, शीरमा सूर्य चन्द्र नै हो । हावा, पानी र पवन (आकाश) सबैभन्दा मूल्यवान हुन् । जसको त्यति धेरै मूल्य छ, जुन निशुल्क पाइन्छ । निशुल्क र उपहारबाट पाएको चीज उपभोग, उपयोग गर्दा वेवास्ता गर्ने हाम्रो बानी छ । शुल्क तिरेर लिएको चीज कति हिफाजत गरेर उपयोग गर्छौं ?

पहाडका हरिया डाँडा, तराईंका चुरे र हिमालका सुन्दर आवरण तोडेर देश धनी बनाउने नकाम कुरा उठेको छ । यस्ता कुरा उठाउने पापीहरुको मुखमा किरा परोस्, तिनीहरुको सत्यानास होस् ।

ब्राह्मणपुत्रको श्राप अलि कडा भयो कि क्या हो ? आजको दिनमा दिएको श्रापको अपराध लाग्दैन । किनकी आज त विश्व वातावरण दिवस हो ।

धुलाम्मे सडक, ग्याँस चेम्बरजस्तो सहर, हरियाली नाश गर्दै जाने शासक । अहिले हाम्रो अवस्था यही हो । प्रकृतिविरोधी शासकलाई कसरी माफी दिने ? तपाईं नैं भन्नुस् । म के भनौं ?

हामीले सिकेनौं भने भावी सन्ततीलाई प्रकृति–प्रेम कसरी सिकाउने होला भनेर तपाईं हामीले चिन्ता गर्ने बेला भयो ।

हातमा मोवाइल र काखमा कप्युटर मात्र बोकेर हुने अवस्था छैन अब । आँखा अगाडि वृक्ष, जंगल पनि देखिनु पर्छ । होइन भने श्वासप्रस्वास नै रोकिने महामारी आउन सक्ने अनुमान गर्न सकिन्छ ।

शास्त्रले भनेको छ, ‘दश पुत्र समो वृक्ष ।’ वृक्षलाई परिवारको सदस्य मानेर हरेक दिनलाई वातावरण दिवस मान्दै हिन्दी सायरीमार्फत आजलाई बिदा भएँ ।

पर्यावरण हैं हम सबकी जान,
इसलिए करो इसका सम्मान ।
स्वस्थ रहे, प्रसन्न रहें औंर मस्त रहें
विश्व पर्यावरण दिवसकी हार्दिक शुभकामनाएँ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button