चमत्कारी चीनको ‘चन्द्र-मदन’ चर्चा

ब्राह्मणपुत्र लकडाउन डायरी–३०
भरत शर्मा (फोटोः प्रा.डा. वाङचुङ)

भारतमा आएको ‘यास’ चक्रपातको असरस्वरुप शनिवारसम्म नेपालमा पनि झरी पर्ने अनुमान छ । मौसम विभागले भनेको छ, ‘घरभित्र बस्नु ।’ लकडाउन र झरीले घरभित्र बसेका हामी सबैको मन शितल भएको छ ।

कोरोना महामारीका कारण सरकारले एक हप्ते झन् कडा लकडाउनको उर्दी जारी गरेको बेला घरभित्र रहेका जनतालाई भोलि आर्थिक बर्ष २०७८-७९ को बजेट भाषणमार्फत देश विकासको नारा सुनाउँदै छ ।

आर्थिक सर्वेक्षण र बजेट हरेक बर्ष आउने गरेको नियमित काम हो । यसले जनताको जीवनस्तरमा खासै फरक पारेको छैन । यतिका बर्षसम्म विकासको नाममा छुट्टाइएका रकमले साँच्चै विकासका काम भएको भए अहिलेसम्ममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भइसक्नु पर्ने थियो । एउटा–एउरा नारा दिएर भुलभुलैयामा पारिरहने प्रकृयामात्र हुन् यी । अहिले देशको अवस्था ‘मगन्ते नेपाल, दुःखी नेपाली’को स्तरमा पुगेको छ ।

व्यक्ति, समाज र देश नै अर्थतन्त्रले चलेको छ । शास्त्रले उहिल्यैं भनेको हो, कलियुगमा मानिसको जीवन ‘अर्थप्रधान’ हुन्छ, जसले बढी अर्थको महत्व बुझ्छ उसले जीवन सफल भएको ठान्छ । तर, अर्थले मात्र जीवन सार्थक नहुने तथ्य महामारीले सिकाइदिएको छ ।

देश धनी हुनुपर्ने थियो । जनता गरिव भए पनि देश बलियो भएको भए आज महामारीमा स्वास्थ्य सामग्री र खोप मागेर लगाउनु पर्ने थिएन नि ।

धनी देशहरु किन धनी भए ? अमेरिका र रुस त सात समुन्द्र पारीका देश भए । धेरै टाढाको कुरा गर्नु भन्दा सीमा जोडिएको उत्तर छिमेकी देश चीनको बारेमा कुरा गरौं ।

आज चीनले गरेको विकास र देश धनी भएको कुरा सुनेका, पढेका र देखेका छौं । तर, चीनले धनी र विकसित हुनका लागि गरेका दुःख र खाँटी मेहनतको कथाचाहिँ सुन्न र पढ्न पाएका छैनौं ।

सन् २०१९ को दोस्रो महिना २ बर्षे चीन यात्रामा काठमाडौं विमानस्थलदेखि काठमाडौंबाट गोन्जाउ हुँदै हनान प्रान्त जाँदा मेरो मनमा उठेको प्रश्न थियोे, ‘चीन कसरी धनी भयो ? चीनले यस्तो विकास कसरी ग-यो ?’ शास्त्रले भनेको छ, ‘तिमी सोच मात्र, उपाय तिम्रा अगाडि आउँछन् ।’

विश्वविद्यालयले दिएको बस्ने घर र त्यहाँ जडान भएको टेलिभिजन देखाउँदै मेरा सहकर्मी अध्यापक ह्वाङले भने, ‘चीनको एकमात्र अंग्रेजी टेलिभिजन ‘सीजीटीएन’मा हरेक दिन राती चीनका विभिन्न प्रान्तको विकासबारे वृतचित्र प्रसारण हुन्छ हेर्न होला, चीनबारे धेरै जानकारी हुन्छ ।’

मित्रले टेलिभिजन लगाउने तरिका र नम्बर समेत भनिदिए । चीनमा चिनियाँ भाषाको ‘सिसिटीभी’का सयौं च्यानलहरु मात्र आउँछन् । कुनै विदेशी टेलिभिजन हेर्न नपाइने । हरेक दिन राती चीनको विभिन्न स्थानका बारेमा आउने वृतचित्र र त्यस क्षेत्रको बारेमा हेर्दा आफैं घुमेर हेरेको जस्तो अनुभव भयो ।

सोमबारदेखि शुक्रबारसम्म १६ घण्टा काम गर्छन् चिनियाँ । शनिवार र आइतबार छुट्टीको दिन सबै नागरिक कामबाट फुक्का भएर घरबाहिर निस्कन रमाउँछन् । ‘पछिल्लो समय चिनियाँ नागरिक घुमन्ते भएका छन्’, प्राध्यापक डा.वाङचुङ र म हरेक साता सहरभित्रका विभिन्न ठाउँ घुम्न निस्कँदा मानिसको भीड देखेपछि उनले भने ।

नदीको किनार, फूलबारी र जंगल क्षेत्रमा हाइकिङमा रमाउने प्रा.वाङ र मेरो बानी देखेर चिनियाँ सहकर्मीहरु खुसी थिए । चीनमा सानादेखि बृद्धसम्म साइकलमा यात्रा गर्न रुचाउँछन् । हरेक घरमा साइकल अनिवार्य नै हुन्छ । हामीले एकपटक विहानदेखि दिनभर ९० किलोमिटर साइकलमा फेरो लगायौं ।

टेलिभिजनमा देखेको चीन र आफूले घुमेको चीन दुवैको अनुभवले यही भन्छ, ‘चिनियाँहरुले पैसा र काम चिनेका छन् ।’

‘पैसा चिनेका चिनियाँ र काम बुझेका चिनियाँ’ शीर्षकमा निबन्ध लेख्नु भनेर नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्ने चिनियाँ छात्रा मदन र चन्द्रलाई गृहकार्य दिएँ । यी प्राध्यापक वाङले राखिदिएका नेपाली नाम हुन् ।

दुवै छात्रले चिनियाँ जनताले पाएका दुःख, उनीहरुको मेहनत र पछिल्लो समय चीनको विकासबारे निकै राम्रो निबन्ध लेखे । खासमा मैले उनीहरुलाई लेख्नु भनेर चीनको बारेमा थाहा पाउन जुक्ति निकालेको थिएँ ।

चिनियाँहरु अहिले पनि महान नेता माओलाई माओ मात्र भन्दैनन् । सम्बोधन र लेखन दुवैमा ‘अध्यक्ष माओ’ भन्छन् । त्यसपछि चीनका विकासवादी नेता देङ स्याओ पिङको विकासवादी योजना र वर्तमान राष्ट्राध्यक्ष सी जिन पिङको सोचका कारण चीन विकास भएको हो ।

चिनियाँहरुले कामलाई बुझेका छन् र पैसा चिनेका छन् । छात्रद्वयले निबन्धमा लेखेका थिए, ‘चिनियाँहरु मेहनतमा विश्वास गर्छन्, धनको उपयोग र सदुपयोग गर्न जानेका छन् अर्थात चिनियाँले पैसा चिनेका छन् ।’

देशका राष्ट्रिय नेताको नीति अनुसार काम गरिन्छ, विकासको काम तोकिएको समयभन्दा पहिले निर्माण सम्पन्न हुनुपर्छ । हरेक जनताले यही सिकेको छ, कुनै पनि काम तोकिएको समय भन्दा पहिलै गरिसक्नु पर्छ । विकास निर्माणको काम तोकिएको समयभन्दा अघि सम्पन्न गर्दा सरकारले नै काम गर्ने कम्पनीलाई पुरस्कार दिने चलन छ चीनमा । त्यसैले चिनियाँ विकास निर्माणका काममा २४ घण्टा काम हुन्छ, तोकिएको मिति भन्दा पहिल्यैं निर्माण सम्पन्न हुन्छ ।

चीनमा विकास हुनुमा जनताको योगदान छ । ‘हाम्रो सरकार र मेरो कर्तव्य’ भन्ने भावनाले आ–आफुनो जिम्मेवारी अनुसारको काम सबैले गर्छन् । ‘अहिले चिनियाँहरु धनी भएका छन् । गाउँघरतिर केही प्रान्तमा गरिबी अझै छ तर हाम्रो सरकारले अब केही बर्षभित्र गरीव क्षेत्रमा विशेष प्याकेजमार्फत ति जनतालाई पनि रोजगारी दिने छ’, चन्द्रले निबन्धमा लेखेका थिए ।

‘अध्यक्ष माओको नीति, नेता देङ स्आयोपीङको योजना र वर्तमान राष्ट्रपति सी जीनपिङले गरेका कामले हामी चिनियाँहरु सम्पन्न हुँदैछौं’, अर्का छात्र मदनले लेखे, ‘चिनियाँहरु खानाका धेरै परिकार खान चाहन्छन् । चिनियाँ बजार जनताको आम्दानी अनुसारको समाजवादी बजार छ । त्यसैले जनताले आफ्नो क्षमता अनुसारको बजार भएका कारण चिनियाँहरु खुसी र खुसी छन् ।’

‘चीनमा पनि पहिले नेपालको जस्तो राजतन्त्र थियो’, मदनले लेखेका थिए, ‘चीनका अन्तिम सम्राट पु यी भएको बेला राजतन्त्र समाप्त भएको थियो । त्यसपछि ४० बर्ष देशमा गृहयुद्ध भयो । पु यी वयस्क भएपछि जनताले अपदस्त गरेपछि दरवारमा माली भएर बसें ।’ अहो ! उनको आत्मकथा निकै रोचक छ । उनी त्यतिबेला भागेर कही गएनन् चीनमा बसे त्यतिबेला उनले भनेका थिए, ‘चीनको स्वच्छ हावा, सुन्दर पहाडहरु, सफा नदीहरु मेरोलागि प्राण प्रिय छन् ।’

अहिले पनि चीनमा स्वच्छ हावा, सुन्दर पहाड र नदी संरक्षणमा निकै काम भएको छ । चीनमा विकास हुनुको विशेषतालाई छात्रद्वयले बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।

१) जनताको हितमा नीति बनाउने, सवल आर्थिक सर्वेक्षणसाथ बजेट ल्याउने सरकार ।
२) मेहनत गर्ने चिनियाँ जनता, कामलाई बुझेका चिनियाँ, सरकारसँग डराउने चिनियाँ प्रशासन ।
३) पैसा र विकासको भोकलाई बुझेका चिनियाँ ।

छात्रहरुले निबन्ध लेखेपछि हामीलाई नम्बर दिनुस् भनेपछि अप्ठ्यारोमा परेँ । कति नम्बर दिने होला भनेर प्राध्यापक वाङलाई सोधेँ । उनले भने, ‘केटाहरु मेहनती छन्, पढ्न अल्छी गर्दैनन् । मेहनतको फल मीठो हुने गरी दिनुहोला ।’

मैले कति नम्बर दिएँ, ‘तपाईं अनुमान लगाउन सक्नुहुन्छ ?’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button