लकडाउन डायरीः मोदीदेखि ममतासम्म, मोदनाथदेखि मदनकृष्णसम्म

ब्राम्हणपुत्र वृतान्त ७
भरत शर्मा

‘सबै मित्रहरूमा नमस्कार ! बुवा र म दुवैजनालाई कोभिड भएर विभिन्न अस्पताल चहार्दै अहिले महराजगन्ज टिचिङ हस्पिटलमा छौ । मलाई धेरै आराम भएको छ तर बुवालाई गाह्रो भइरहेको छ । समयले हाम्रो परिवारसँग कठोर परीक्षा लिदै छ । … संघर्ष हो जीवन ।

बामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितका छोरा डा. विजय पौडेलले बुधवार ट्विटमा लेखेका छन् ।

‘समय’ कति बलियो रहेछ । अहिले समय कालक्रम ठीक छैन । समयले सबैसँग परीक्षा लिइरहेको छ । त्यसैले, त यो समयभित्र सरकारले घरभित्र बस्नु भनेको छ ।

पहिले संघर्षका कथा, बीचमा क्रान्तिकारिता र पछिल्लो समय पूर्वीय ज्ञानका कुरा लेख्दै आएका साहित्यकार प्रश्रितसँग कयौंपटक भेट्दा उनको पूर्वीय साहित्य र दर्शनका ज्ञानबाट प्रभावित छु । कोरोनासँग जुधेर अस्पतालको शैयाबाट घर फर्केको खबर सुन्नका लागि श्री पशुपतिनाथसँग प्राथना गरेँ ।

जनप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले केही दिनअघि अस्पतालबाट घर फर्केपछि निकै भावुक शब्दले सबैलाई सम्बोधन गरे, ‘शरीर त फलाम जस्तो लाग्यो तर केही रहेनछ । मलाई त कोरोनाले गलायो नि । होसियार तपाईंहरु घरभित्र बस्नुस्, दुरी कायम गर्नुस्, मास्क लगाउनुस्, बेलाबेलामा हात धुने काम गर्नुस् ।’

पञ्चभौतिक शरीरको महत्व कलाकार श्रेष्ठले सरल भाषामा भने, ‘यो शरीर केही रहेनछ ।’

के सुन्न परेको हो कुन्नी ! बुधबार कलाकार श्रेष्ठ पुनः अस्पताल भर्ना भएको खबर छ ।

‘सचेत हौँ, सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ’, यो नेपाली सेनाबाट आएको अनुरोध भनौं वा निर्देशन ।

आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको संख्या बृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने सेनाको तर्फबाट बुधबार थप अनुरोध आएको छ ।

सरकारको तर्फबाट अर्को एक साता लकडाउन थप गरेको दिन नागरिक अलि सचेत हुनसक्छन् भनेर यो सेनाबाट अनुरोध आएको हुनुपर्छ ।

घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना गर्दै भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले मिचीमिची हात धुने र स्यानिटाइज गर्ने विषयमा विशेष ध्यान पुर्याएर त्यो अवस्था आउन नदिन सरकारले धेरै पटक आग्रह गरे पनि देशमा सेनाले सक्रिय भएर नागरिकको स्वास्थ्यमा खटिने बेला आएको संकेत गर्दछ ।

सेनाका प्रवक्ताले भनेका छन्, ‘भविष्यमा आइपर्ने परिस्थितिको समयमै आँकलन गरी यस्ता विषयमा पनि हामी सबै खुला हुनुपर्छ । तर, त्यो अवस्था आउन नदिऔँ, हामी सबै संवेदनशील होऔँ, सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न स्वास्थ्य मापदण्डका सबै उपाय अपनाऔँ, यसैमा सबैको कल्याण छ ।’

सेना भनेको जनता र सीमा रक्षामा खटिने संस्था हो । लकडाउनलाई कडा गर्दै सडकमा सेना निस्कने अवस्था भयो भने अहिलेको भन्दा थप कडा लकडाउन हुन पनि सक्छ । सेनाले आफ्ना अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी हालतमा रहन समेत निर्देशन दिएको छ ।

जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि अवकाश पाएका सेनाका स्वास्थ्यकर्मीलाई विरामीको उपचारमा खटिनका लागि कार्यक्षेत्रमा बोलाउन सक्ने भनेको हो ।

सेनाले भनेको छ, ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेका छौं ।’

कोराना महामारी अहिले ‘हिमाल, पहाड तराई कोही छैन पराई’ जस्तो भएको छ । भारतसँग सीमा जोडिएका तराईमा महामारी हुँदै पहाडतिर सरेको थियो । अहिले हिमाल समेत पुगेको खबर छ ।

सगरमाथामा आधारशिविरका १७ जना पर्वतारोहीमा समेत कोरोना देखिएको खबर ‘एक कान दुई कान मैदान’ भएको छ । कोरोना महामारीले सबै क्षेत्रलाई गाँजेको छ तर ढाडै सेक्ने गरी उठन नदिएको चाहिँ ‘पर्यटन’ हो । पहिलो कोरोनाले थचक्क बसाइदिएको यो क्षेत्र केही समय आन्तरिक पर्यटनका कारण टुकुटुकु हिँड्छ कि भन्दै गरेको बेला दोस्रो चराणको कोरोना भेरियन्ट महामारीले ‘घोप्टी’ पारेर अनुहार एकातिर शरीर अर्कोतिर बनाइदिएको छ ।

होटल व्यबसायी मित्र आरसी पन्तले हिजो साँझ फोनमा ढाड्स दिए, ‘अहिले जसोतसो बाचौं, महामारी हो, केही भन्न सकिन्न । समय बलबान रहेछ । समय हाम्रो पक्षमा आउला नि ।’

पहिलो कोरोनामा थपिएको ऋणको पोको यस पटक पनि थप भएपछि व्यबसायिक यात्रामा समस्या मात्र थपिएको छ । ‘केही छैन, जीवन भनेको संघर्ष हो रे एक दिन त सुनौलो समय आउँछ’, उनले भने ।

पर्यटन क्षेत्रमा तीन दशक बिताएका पन्तजस्तै हजारौं पर्यटन व्यबसायी आफ्नोभन्दा पनि होटलमा रोजगारी गुमाएका परिवारका बारेमा चिन्तित छन् ।

तथ्याङ्कले भन्छ, कोरोनाकालपछि सबैभन्दा बढी रोजगारी गुमाएको क्षेत्र पर्यटन हो । आन्तरिक होस् वा वाह्य पर्यटन विशेष रोजगारी दिने क्षेत्र भनेर नेताहरुले सयौंपटक भाषण गरेको सुनेकैं हो । अहिले रोजगारी गुमेको कुरा जन–जनलाई थाहा भए पनि राहत र सहयोग चाहिँ सरकारी स्तरबाट शुन्य नै छ ।

आज त राजनीतिको कुरा नलेखौं भनेको खस्खस् लाग्यो । राजनीति भनेको देशको प्रमुख नीति रहेछ । त्यसैले राजनीतिका कुरा नलेख्दा अपुरो हुने भएकाले छुस्स संकेत गर्नै प¥यो ।

समयले जनतासँग परीक्षा लिइरहेको बेला अहिले चाहिँ नेताहरुको पनि राजनीतिक परीक्षाको समय भएको छ ।

सत्ताको खेलमा नेताहरु अहिले त ‘पब्लू’ खेलमा छन् । खेलमा च्याखेदाउ खेल्नेहरु पनि आफूलाई खेलाडी भन्दैछन् । हेरौं, राजनीतिमा यो होला भनेर सोचे पनि त्यो चाहिँ हुँदैन ।

छिमेकी भारतको बंगाल राज्यमा तेस्रो पटक ‘दिदी’ मुख्यमन्त्रीको कुर्चीमा बसेकी छन् । ममता बनर्जी भारतमा एकमात्र महिला मुख्यमन्त्री हुन्, जसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिन सक्छिन् ।

नेपालमा ‘दिदी’को चर्चा कम हुने गर्छ । दिदी सादगी नेतृ हुन् । मोदीले जस्तो चटक्क परेको पहिरन होइन, चप्पल र एउटै रंगको पहिरनमा सत्ता चलाउदै आएकी छिन् ।

यसपटकको चुनावमा पनि मोदीले ‘दिदी’लाई परास्त गर्ने जादु लगाउन खोजेका थिए तर भारतमा अहिले ‘मोदीराज’ कुरा बढी, काम कम गर्ने सरकार भएको छ ।

मोदीको नक्कल गर्दैछन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । पार्टीभित्रका विद्रोही नेता माधव नेपालले ‘ओली बा’का अंहकारलाई आगामी २७ गतेभित्रैं भाडभैलो बनाइदिने सपना देखेका छन् ।

सचेत रहौं । नेपाली सेनाले गरेको अनुरोधलाई मनन गरौं ।

आजलाई यति नै । भोलि फेरि लेख्नु छदैछ ।

लेखक शर्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button