लकडाउन डायरीः उता बिल गेट्सको पारपाचुके, यता ७१ बर्षे बाउको बिहे

ब्राम्हणपुत्र वृतान्त-६
भरत शर्मा

नपुग्ने के थियो र बिल गेट्सजस्तो संसारको धनी मान्छेको पनि २७ बर्षको वैवाहिक सम्बन्ध टुट्यो । ल अब भन्नुस्, माया ठुलो कि पैसा ?

सामाजिक सञ्जालमा भेटिएको यो भनाइमा रहेको एउटा शब्द ‘माया’ र ‘पैसा’बारे अनेक प्रतिक्रिया आएका छन् । अनेकका अनेक विचार विचार छन्, पढ्दा निकै आनन्द लाग्ने ।

मेरा एकजना छिमेकका मित्रको पिताले ७१ बर्षको उमेरमा विवाह गर्ने भनेर केटी खोज्दै हिँडेका छन् । मित्रको आमाको मृत्यु भएको सात महिना मात्र भएको छ ।

‘लौ न ! केही उपाय गरेर भए पनि पितालाई विवाह नगर्ने उपाय बताइदिनु प-यो । तपाईंलाई नै केही बर्षअगाडि पिताको जन्मपत्रिका देखाउदाँ पिताको निको चाल छैन है भन्नुभएको थियो । कुरा सत्य पो भयो’, अहिले ७१ बर्ष लाग्न लागेको पिताले अर्को विवाह गर्न खोजेपछि ४० बर्ष पुगेका छोरा पिताको अर्को विहेमा सहभागी हुने कि नहुने भन्ने चिन्तामा छन् ।

‘पिताले कुल सम्पत्ति आधा लिनु, म विवाह गरेर छुट्टै बस्छु भनेर कस्सेका छन् । लौन हजुर केही उपाय छ पिताको विवाह रोक्ने ? आपतमा परे नि ?’, काठमाडौंका धनाढ्य परिवारका मित्रले भने ।

‘पिताको विहे रोक्न मिल्दैन, तपाईं आफै पहल गरेर भएपनि विवाह गरिदिनु नै उत्तम छ । तपाईंको पिताको जन्मपत्रिकाले यही भन्छ’, मेरो कुरामा सहमत भएर उनी ७१ बर्षको पिताको लागि विवाहको मेसो मिलाउन लागेका छन् ।

छुट्ने बेलामा उनले कडा शब्दमा प्रश्न राखे, ‘हाम्रो शास्त्रले यही भन्छ भने म तयार छु ।’

‘शास्त्रले त यो उमेर भनेको सन्यास आश्रममा जाने हो, विवाह गर्ने समय होइन भन्छ । तर, तपाईको पिताजीको गृहस्थ आश्रममा बस्ने धोको अझै बाँकी छ । विवाहलाई रोक्दा अनर्थ हुनसक्छ । त्यसैले सम्पत्तिको मोह त्याग्नुस् । पिताको विवाहको काममा लाग्नुस्’, मैले भनेँ ।

गोराहरुको समाजमा विवाह गर्नु र छोड्नु सामान्य कुरा हो । तर, नेपाली समाजमा ७१ बर्षको उमेरमा विवाह गरेको अलि सुहाँउदैन कि भन्ने हामीलाई लाग्नु स्वभाविक हो ।

यो ‘माया’ भन्ने चीज पनि अनौठो हुँदो रहेछ । धन कमाएपछि खर्च गर्ने नै हो भने जस्तै माया र प्रेम पनि कहिले कमाउने कहाँ खर्च गर्ने भन्ने टुगो नैं हुँदैन रहेछ ।

यतिबेला संसारलाई नै कोराना नामको परिजीवीले विछोड, कष्ट, यातना दिदै गरेको बेला माया र प्रेमका कुरा छायाँमा परेको जस्तो छ ।

कोरोना महामारीको भाग–२ ले गर्दा हामी घरभित्रै बसेको एक हप्ता हुन लाग्यो । अझै कति हप्ता घरभित्र बस्नु पर्ने हो एकिन छैन । पीडाको समयमा के–को मायाप्रेमका कुरा भन्ने पनि हुन्छ । कठिन समयमा त सहयोगको कुरा गर्दा ठीक होला नि भन्ने पनि हुनसक्छ तर अहिले मानिसलाई घर–घरभित्र माया र प्रेमको सञ्चार जगाउनु पर्ने समय भएको छ ।

महामारी विज्ञ डा. रविन्द्र पाण्डे ‘समिर’ले मंगलवार सामाजिक सञ्जालमा लेखेको छन्, ‘परिस्थिति जतिसुकै बिग्रे पनि मनस्थिति कमजोर बनाउन हुँदैन ।’

अहिलेको परिस्थिति कहालीलाग्दो दुःखान्त कथालय भएको छ । पीडाका शब्द लेख्न र बोल्नका लागि वाक्य नै नहोला जस्तो भएको छ । घरबाहिर निस्कन र मानिसले–मानिसलाई भेट्दा कतै यो मानिस रोगी हो कि भन्ने भावनाले एकअर्कासँग डराउनु पर्ने परिस्थिति बनेको बेला ‘मनस्थिति’ कमजोर नहोस् भन्ने कुरा ‘एन्टीबायोटिक’जस्तो छ ।

अहिले परिवारमा विछोडका कुरा होइन, प्रेमका कुरा गर्नु राम्रो हुन्छ । मृत्युका कुरा होइन, शहरभरी फुलेका फूलका कुरा गर्नुपर्छ, घरका फूलबारीमा फुलेका फूल हेरेर मनस्थिति बदल्नु पर्छ ।

शर्मा

अहिले महाभारतकालका दुर्योधन, शकुनीका चालहरुमा चाँसो दिने होइन, बासुदेव र श्रीकृष्णका जीवनलीलाहरु सम्झनु पर्छ । घरमा हरेक दिन विहान–साँझ दीप प्रज्वलित गर्नुपर्छ । त्यो उज्यालो प्रकाश हेर्दै समयले कोल्टे फेर्नेछ । अँध्यारोबाट हामी उज्यालोको यात्रामा छौं । अहिले कठिन समय भए पनि म, मेरो र हाम्रो ‘मनस्थिति’ बलियो छ भनेर सम्झनका लागि डा. पाण्डेले हामी सबैलाई यो शब्दबाट औषधि लेखिदिएका हुन् ।

हिजो साँझ महामारीमा उपचारमा खटिएका डा. उत्सवमान श्रेष्ठलाई ‘के छ खबर डा. साब’ भनेर सोधेको थिएँ । उनले तुरुन्तै एउटा तस्वीर पठाए ।

डाक्टर स्वयम विरामी अवस्थामा अक्सिजन लिदै अर्को विरामीको उपचार गर्दै रहेको तस्वीरमा भनिएको थियो, ‘एउटा तस्वीर, अरबौं शब्द ।’

आफु, परिवार र छिमेकी समेतलाई असर नहुने गरी घरभित्र बस्नु नै उत्तम समय हो । डा.उत्सव र डा. पाण्डेका ‘परिस्थति’ जे भए पनि ‘मनस्थिति’ ठीक हुनुपर्ने सल्लाह मानेर घरभित्र बसेका छौं हामी ।

हरेक सोमबारको दिन पशुपतिनाथ दर्शन गर्ने तालिका टुट्यो यसपटक । मन्दिर बन्द भएको दुई हप्ता भए पनि मन्दिरको समिपमा गएर गजुरको दर्शन गर्ने अभिलाषामा पनि रोकावट आयो ।

कोरोना महाहारीबाट मृत्यु भएका शवहरु खुलमखुल्ला बागमती तटमा जलिरहेका दृश्यले यात्रालाई रोकिदियो । एकमनले सोचेँ, पिपिइ सेट लगाएर भए पनि दर्शन गर्न जाएँ । तर, जाने इच्छा कम भयो, त्यो तस्वीर देखेपछि ।

अब कयौं हप्ता अझै दर्शन गर्ने परिस्थिति नरहन सक्छ । यस्तो बेला सञ्चारसंवाद गर्नुको के नै विकल्प छ र ? हिजो. श्रीका अर्चकमार्फत पशुपतिनाथसँग संवादात्मक दर्शन गरेँ ।

कम्युटरमा बसेर साजसज्जा बनाउने कलाप्रेमी मित्र सुरेशमान उलक अहिले कुचीमार्फत चराका तस्वीर बनाएर मन बहलाउदै छन् ।

‘अब के गर्ने त कम्युटर ? छुन मन लाग्दैन । जहिलेसम्म लकडाउन हुन्छ, तहिलेसम्म प्रकृतिमा रमाउने सुन्दर चराहरुका तस्वीर बनाएर बस्छु ‘, उनले भने ।

उलकको कुरा गजब छ, हामीले जे काम गरेका छौं, गरिरहेका छौं, त्यसैलाई माया र प्रेम गरेर बस्ने समय हो रे अहिले ।

मनोविद्हरुले सामाजिक सञ्जालमा धेरै समय नदिनु भनेर सल्लाह दिएका छन् । दुःखका कुरा छँदैछन्, त्यसमाथि थपिएका थप दुःख देख्न र सुन्नुपर्ने सञ्जालमा कम समय दिनु नै उत्तम हो रे ।

सन्त पत्रकार ज्ञानमित्र कोरोनाबाट निको हुने औषधीको बारेमा जानकारी दिदै खटिएका छन् । उनी कोरोनाबाट मृत्यु भएका विभत्स तस्वीर छाप्ने सम्पादकलाई शब्दको गाली बर्षाउदै छन् । पत्रकारिता सिकाउन पनि लागेका छन् ।

भारतका एकजना सन्तले कोरोना महामारीबाट बाँच्नका लागि ‘कागती’ एकमात्र विकल्प भएको प्रमाणिकता पेश गर्दैछन् । हरेक दिन विहान, बेलुका नाकबाट एकएक थोपा कागतीको रस राख्ने र कागतीको रस र तातोपानीले घाँटी कुल्ला गर्ने, कागती पानी पिउने गर्दा कोरोनालाई शरीरमा प्रवेश हुनबाट रोक्ने दलिल पेश गर्दैछन् उनी ।

संसारमा एउटा विचित्र देश हो भारत । जहाँ भिख मागेर खाने जनसंख्या नेपालको जनसंख्याभन्दा दोब्बर छ । विश्वका धनी, ज्ञानी र सबैभन्दा बढी सन्त र साधु पनि छन् । आज कोरोना महामारीको सबैभन्दा ठूलो पीडा भारतले भोगेको छ । भारतमा हजारभन्दा बढी जगतगुरुहरु नै छन् । सबैले आआफ्नो सल्लाह दिएका छन । तर यो ‘कागतीवाला’ सल्लाह दिने सन्तको कुरा मलाई पनि ठीक लागेको छ । गत केही दिनदेखि कागतीको दुई थोपा नाकमा राखेर प्रयोग गरेको मेरो ‘मनस्थिति’ बलियो भएको अनुभव गरेको छु ।

अहिलेको अवस्था भनेको कोरोना जीवाणुलाई भगाउने विधिको खोज गर्ने हो । शरीरमा इमिन्यूटी शक्ति कमजोर हुन नदिनका लागि अनुशासित जीवनशैली र खानपानमा ध्यान दिएर आफूले आफैलाई माया–प्रेम गर्ने बेला हो ।

हाम्रो पूर्वीय शास्त्रले धरै पहिले भनेको कुरा हो, ‘जीवनमा सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो ।’ त्यसैले तन, मन, वचन र कर्म स्वस्थ्य भयो भने जीवनमा चार मुख्य पुरुषार्थ, धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ ।

शरीरमा शक्ति कमजोर भएर अवस्थ हुँदा न धर्म, न अर्थ, न काम न त मोक्ष हात लाग्यो शूल्य । ज्योतिषशास्त्रमा शून्य भनेको आकाश हो । कोरोना महामारीले फेरि एकपटक हाम्रा पूर्वज ऋषिमुनीका सत्य वचन व्यवहारमा प्रयोग भएको छ ।

देशको राजनीतिका कुरा गर्नु र लेख्नु भनेको बारमासे म्यारिज, टुस खेलेजस्तो छ । प्रधानमन्त्री केपी ओलीले शक्तिको एक्का दाउको प्रयोग गरेर गुलाम, मिस्सीहरु (प्रदेश प्रमुख, राजदुत) लाई टुस–ढुस बनाउँदै छन् ।

राजनीतिमा महाभारतका ‘शकुनी’ पात्रको चालमा चलेजस्तोे छ । जनताको स्वास्थ्य समस्या चल्दै गर्छ, औषधि र उपकरण आउँदै गर्छ । राजनीति हो राजनीति सत्ताको खेल चाहिँ रोकिनु हुन्न भन्ने ‘शकुनी’ को पासा दाउको खेलमा छ देश ।

भोलिदेखि फेरि एकहप्ताको थप लकडाउनको खबर आएको छ । हामी सरकारको निर्णय मान्न तयार छौं । हिजो सात हजार चार सय नयाँ कोराना विरामी र ३५ जनाले बैकुण्ठ लोकतिर हाजिर भए । आज पनि संख्या उकालो लागेकै छ ।

औषधि उपचार नपाएर मृत्यु भएको खबर सिंहदरवार र बालुवाटारले मात्र थाहा पाउने व्यवस्था मिलाउन सकिदैन होला । यस्तो व्यवस्था मिलाउन पाए सन्त पत्रकार ज्ञानमित्रले पत्रकारलाई गाली गर्ने थिएनन् होला ।

आजलाई यति नै । भोलि पनि लकडाउन छँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button