आखिर नाममा के छ यार?

कोम खत्री

एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम विशेष थियो । विशेष यस अर्थमा कि त्यस कार्यक्रम एक भव्य होटलमा पूरै तामझामका साथ गरिएको थियो । मानिसहरू त्यस कार्यक्रममा सहभागिता जनाउन देश विदेशबाट आएका थिए । मन्त्रीहरू, सांसदहरू, संस्थाका अध्यक्षहरू, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, बुद्धिजीवीहरू तथा अन्य मानिसहरू त्यहाँ एकत्रित थिए । त्यही भीडमा म पनि एक थान मानिस सहभागी थिएँ ।

औपचारिक कार्यक्रमको शुरुवातसँगै एक हुल अतिथिहरू मञ्चमा बोलाइए । आयोजकले अतिथिलाई खादा लगाएर सम्मान गरे अनि पालैपालो सबै अतिथिहरूले भाषण गर्दै गए । भाषण गर्दा उनीहरू बडो सचेत हुँदै विशेष मानिसहरूलाई सम्बोधन गर्दै थिए । कुनै संस्थामा संलग्न भएको मानिसको नाम छुट्ला भनेर ती भाषण गर्नेहरूले आफ्नो भाषणको धेरै हिस्सा प्रत्येक सम्झने मानिसको नाम पुकार्नका लागि खर्चिए, मानौँ ती मानिसहरूको नाम लिइएन भने ठूलो दुर्घटना हुनेछ वा त्यसका भयङ्कर कुप्रभाव पर्नेछ र अनिष्ट हुनेछ ।

आयोजकका तर्फबाट कार्यक्रम संचालक पनि खुबै सचेत देखिन्थे । कुनै संस्थामा आवद्ध व्यक्तिको नाम छुट्ला भनेर संचालकले प्रस्तुतीको बीचमा ती कथित विशेष मनुष्यहरूको नाम लिएर उसैगरी आदरभाव प्रकट गरेर सम्झिरहेका थिए र कसैको नाम छुट्न गएको खण्डमा माफ पाउँ भनेर माफी पनि मागिरहेका थिए ।

त्यसबखत् मैले मनमनै सोंचेको थिएँ – ‘आखिर नाममा के छ यार !’

मञ्चमा डाकिएर खादा, फूलमाला पहिरिएर विशेष आसनमा बस्नेहरूले यो बुझ्नुपर्दछ कि तिनीहरू त्यहाँ जानुको अर्थ तिनीहरू विशेष भएर होइन बल्कि तल्लो स्थानमा बसेकाहरूले आफ्नो प्रतिनिधि बनाएर मात्र हो । त्यस स्थानको गरीमा मञ्चमा बसेर माला, खादा लाउनुमा होइन आफूले प्रतिनिधित्व गरेको वर्ग वा क्षेत्रको पक्षमा कर्म गरेर मात्र हासिल हुन्छ । कमसेकम मैले बुझेको समतामूलक समाजमा व्यक्ति गौढ हुन्छ ।

प्रवासमा आयोजित मूल धारका केही कार्यक्रमहरूमा जाने मौका पाउँदा मैले देखेको छु कि सम्बोधन र भाषणहरू कार्यक्रमको उद्देश्यको परिधिभन्दा खासै बाहिर जाँदैनन् । प्रधानमन्त्रीलाई नै प्रमुख अतिथि बनाइएका कार्यक्रमहरूमा पनि कुनै प्रकारको विशेष सम्मान वा स्थान दिइएको हुँदैन । विकसित तथा समतामूलक समाज र संस्कृतिमा पद ठूलो मानिँदैन, त्यो पदको जिम्मेवारी ठूलो रहन्छ । त्यसैअनुरुप उनीहरूको व्यवहार र कर्तव्य निर्देशित रहेको हुन्छ । अस्ट्रेलियाजस्तो देशमा केही वर्ष बिताएका नेपालीहरूले त्यो व्यवहार र संस्कारको अनुभव गरेकै हुनुपर्दछ । तर नेपालबाट आएका हामी एक हुल मानिसहरूले त्यस्तो संस्कारलाई बढावा दिनुको सट्टा सम्मानको नाममा चाकडी, चाप्लुसी र हनुमानगिरीलाई बढावा दिइरहेका त छैनौं ? यो गम्भिर प्रश्न प्रवासी नेपाली समाजको व्यवहारप्रति तेर्सिएको छ ।

नेपालबाट कोही नेता, कलाकार वा चिरपरिचित व्यक्तित्व प्रवासमा आउँदा आफ्नो संस्कारभित्र रहेर सम्मान गर्नु एउटा कुरा हो तर सम्मानका नाममा उनीहरूलाई जानीजानी वा नजानिँदो तवरले चाकडी गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृत्ति प्रवासमा बाक्लिँदै जानु दुःखद् हो । यस प्रकारको प्रवृत्तिले हाम्रो सामाजिक तथा वैचारिक धरातललाई उजागर गर्ने काम पनि गरेको छ । चाकडी र चाप्लुसी गरेर मात्रै सिंढी उक्लने वानी परेकालाई आफ्नो क्षमता र योग्यतामाथि विश्वास नहुँदा प्रवासमा पनि यहीँ बाटोको सहारा लिइएका यथेष्ट उदाहरणहरू हाम्रो समाजमा व्याप्त छन् ।

विदेश छिर्न आफ्नो क्षमताले नसकेर अरूको बुई चढेर वा शरण परेर आएका मानिसहरूले यस देशको जवाफदेही र पारदर्शी संस्कृति र पद्दतिको सिको गर्न नसक्नु आश्चर्य त होइन । तैपनि विदेशी समाजमा घुलमिल भएर राम्रा संस्कृतिको सिको गर्नु र त्यसलाई अँगाल्नु पर्नेमा सानासाना नेपाली समाज र संगठनभित्र मात्रै रुमल्लिएर त्यही फोहोरी राजनैतिक आचरणमा नै भुलिरहनुले हाम्रो वैचारिक र सामाजिक धरातलमाथि नै प्रश्न गर्नुपर्ने वेला आएको छ । सक्षम, सबल र बौद्धिक व्यक्तिहरू पनि त्यस कित्ताभन्दा माथि उठ्न नसक्नु अझ यस समस्याको विकराल स्वरूपको जल्दोबल्दो उदाहरण हो । यसतर्फ हामी सम्पूर्ण प्रवासीले गम्भीर भएर सोंच्नुपर्ने वेला आएको छ ।

मान्छे सबै समान हुन्छन् । कोही विशेष हुँदैन । कोही देवता हुँदैन । कोही दानव हुँदैन । कोही राजा हुँदैन । कोही रैती हुँदैन । कोही उपल्लो हुँदैन । कोही तल्लो हुँदैन । सबै समान हुन्छन् र हुनुपर्छ । मान्छेलाई फरकफरक कित्तामा राख्नेहरू अबुझहरू हुन् ।

कोम खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button