दागेस्तान: काटिकुटी नेपाल
होइन, मान्छेको जस्तै भूगोलका पनि दाजुभाइ पो हुन्छन् कि ! नेपालका र यहाँका पहाड दाजुभाइ वा आफन्त जस्ता छन् त ! कुनै बेला नेपाली भूगोल घुम्न आएको बेला यतै हराए जस्ता !
जीवा लामिछाने
रूसी महासङ्घभित्रका ८५ ओटा सङ्घीय संरचनामध्ये २२ ओटाले गणराज्यको मान्यता पाएका छन् । ती २२ मध्ये दागेस्तानमात्रै त्यस्तो गणराज्य हो, जसको भौगोलिक बनावट काटिकुटी नेपालको पहाडी र हिमाली क्षेत्रसँग मिल्छ । त्यसो त दागेस्तानको शाब्दिक अर्थ नै पहाडै पहाडको मुलुक भन्ने हुन्छ ।
त्यसैले त मस्कोबाट दागेस्तानको कास्पिस्क सहरमा ओर्लिनेबित्तिकै मलाई आफ्नै नेपाली दाजुभाइसँग भेट भएझैं लाग्यो । होइन, मान्छेको जस्तै भूगोलका पनि दाजुभाइ पो हुन्छन् कि ! नेपालका र यहाँका पहाड दाजुभाइ वा आफन्त जस्ता छन् त ! कुनै बेला नेपाली भूगोल घुम्न आएको बेला यतै हराए जस्ता ! हुन त मेरा दागेस्तानी मित्र तथा बैङ्कर इभगेनी कजारेजोभले मलाई कास्पिस्क सहर पुग्नुअघि नै दागेस्तानको भूगोल र वातावरण नेपालको जस्तै छ नभनेका होइनन् । तर उनको वर्णन सुन्नु र आफ्नै आँखाले देख्नुमानिकै फरक प-यो । यहाँका पहाडी इलाकामा एक सयभन्दा बढी जातिको बसोवास छ भन्ने सुनेर मलाई नेपालको जातीय विविधताको झल्को आयो । यहाँको भूभाग नेपालको भूभागको झन्डै एकतिहाइ छ । तर यहाँको जनसङ्ख्या भने धेरै कमअर्थात् जम्मा २२ लाख छ । दागेस्तान पुगेपछि नै मित्र इभगेनी मलाई दागेस्तानीहरुको लडाकू स्वभावबारे सविस्तार बताउन थाले । उनका प्रत्येक कुराले मलाई छक्क पारे । उनले भने, ‘जसरी नेपालीहरुको वीरगाथा संसारभर फैलिएको छ र गोर्खालीका रुपमा उनीहरुको इज्जत छ, त्यस्तै लडाकू छवि दागेस्तानीहरुको पनि छ ।’ मैले आफैंलाई सोधें— के पहाड र साहस एकअर्काका पूरक हुन् ?
यस क्षेत्रका बासिन्दा परापूर्वकालदेखि नै लडाकू र स्वाभिमानी जातिका रुपमा विख्यात रहेछन् । जारकालीन रूसी साम्राज्यसँग दागेस्तानीजातिले डटेर मुकाबिला गरेका कैयौं लोमहर्षक कथा मैले रूसी इतिहासमा पढेको थिएँ । विस्मृतिमा बिलाउन लागेका ती कथा इभगेनीले मलाई सम्झाइदिए । उनले आफ्ना जातिहरुको वीरताको बखान गरिरहँदा म भने रूसी भाषामा पढेको दागेस्तानीको वीरतापूर्ण इतिहास र गोर्खाली प्रख्यात वीरगाथाहरु सम्झिरहेको थिएँ । यस्तो सम्झनाले मात्रै पनि मलाई दागेस्तानको भूगोलमा नेपाली सुगन्धको महक आइरहेझैं लाग्यो । दागेस्तान अर्को कारणले पनिमलाई नेपाल जस्तै लाग्यो । नेपालमा झैं यहाँ पनि जलविद्युत्, कृषि र पशुपालनको अपार सम्भावना रहेछ । यहाँका नागरिक प्राकृतिक सम्पदाको सदुपयोग गरेर रूसका अन्य गणराज्यभन्दा माथि जान सकिन्छ भन्ने विश्वास गर्दा रहेछन् । तर हाम्रोमा जस्तै यहा“ पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार आदिका कारण यस्तो विश्वास एउटा अधुरो सपनामात्रै भइरहेको रहेछ । आखिर विकासोन्मुख भूभागका आकाङ्क्षा र यथार्थ लगभग उस्तै त हुन्छन् ।
दागेस्तानको राज्य सरकारले आयोजना गर्न लागेको ‘सेकेन्ड इकोनमिक फोरम अफ दागेस्तान’मा उद्यमी व्यवसायीका नाताले हामीलाई निम्त्याइएको थियो । दागेस्तानी राज्य सरकारले मस्कोबाट सहभागिता जनाउने उद्यमीहरुका लागि चार्टर्ड विमानको व्यवस्था गरेको रहेछ । सोही विमानमार्फत इभगेनी, नेपाली मित्र बद्री केसी र केही रूसी उद्यमीसहित म दागेस्तान ओर्लिएको थिएँ । यो विशेष समारोहमा सम्मानपूर्वक मलाई निम्ता गर्नुका पछाडि यिनै दागेस्तानी मित्र इभगेनीको सिफारिसले काम गरेको रहेछ । उनी र उनका छोरा इभान बेलाबेला नेपाल आउँदा हाम्रो चिनाजानी भएको हो । उनको यही नेपाल प्रेमका कारण नै हाम्रो सम्बन्ध स्नेहपूर्ण भएको थियो । दर्जनौं पटक नेपाल घुमेर फर्किएका यी बाबुछोरा दागेस्तानका नेपाली प्रचार दूत झैं थिए ।
इभगेनीको नेपाल प्रेमको कथा यतिमै सकिँदैन । पर्वतारोहीसमेत रहेका फोटोग्राफीका सौखिनउनले आफ्ना छोरा इभानसँगमिलेर नेपालको हिमशृङ्खला र प्राकृतिक सौन्दर्य एवं वनस्पतिजन्य विविधता समेटिएका दुई ओटा तस्बिर किताब नै प्रकाशन गरेका छन् । उनको पहिलो किताब इमर्सन इन द हिमालय हो । र दोस्रो किताब हो, हिमालयन एट्र्याक्सन ।
रूसको सबैभन्दा अस्थिर गतिविधि हुने स्थान मानिने चेचन गणराज्यसँग सीमा जोडिएका कारण यस ठाउँमा हुने हिंसाका समाचार रूसी सञ्चारमाध्यममा आइरन्छन् । त्यसैले धेरैजसो मुलुकले दागेस्तानलाई भ्रमण गर्न नमिल्ने ‘नो गो जोन’मा राखेका छन् । दागेस्तान भ्रमणको निम्तो आएकै बेलाइभगेनीसँग पनि मैले यसबारे सोधेको थिएँ । त्यो बेला उनी मुस्कुराएका मात्र थिए । हामी कास्पिस्क सहर छेउमै अवस्थित विमानस्थलबाट बाहिर निस्कँदा हामीलाई लिन सुरक्षाबलसहितको सशस्त्र प्रहरीको जिप कुरिरहेको रहेछ । जिप चढ्दाचढ्दै अनायासै मेरा आ“खा सिटमुनि राखिएको रूसी वैज्ञानिक मिखाइल कोलास्निकोभद्वारा आविष्कार गरिएको एके फोर्टी सेभेन राइफलमा परे । र मैले महसुस गरें, मित्रले सायद हाम्रो सुरक्षामा निकै चासो राखेका रहेछन् । बडो जिज्ञासु भएर मैले सुरक्षाकर्मीलाई त्यो राइफल किन राखिएको हो भनेर सोधें ? त्यो हाम्रै सुरक्षाका लागि राखिएको र आवश्यक पर्दा चलाउन सकिन्छ भन्ने उत्तर पाउँदा म अन्यमनस्क भावमा पुगें । ती सुरक्षाकर्मीले मलाई त्यो मेसिन गन चलाउने तरिका पनि बताइदिए ।
हुन त त्यहाँ एके फोर्टी सेभेन राइफल देखिनु अनौठो कुरा थिएन । रूस बसाइका क्रममा दुई वर्षे अनिवार्य सैनिक तालिम लिएका हुँदा रूसी तन्नेरीहरु त्यस्ता राइफल चलाउन पोख्त हुन्छन् भन्ने मलाई थाहा थियो । विश्वविद्यालयमा पढ्दा सहपाठी साथीहरु तालिम लिने क्रममा यो मेसिन गन चलाउ“दाका रोचक प्रसङ्ग हामीलाई सुनाउँथे । मेरो भने यस्तो हतियारसँग यो पहिलो जम्काभेट थियो । राजदरबार हत्याकाण्डका बेला यस्तै खालको स्वचालित हतियार प्रयोग भएकोबारे अनेक कथा हामीले सुनेका थियौं । यस्ता बर्बर हत्याकाण्डका अनेक कथा सुनेकाले होला, बन्दुक छ“ुदा मात्रै पनि मेरो मनको आकाशमा डर र आशङ््काका बादल मडारिन थालिहाल्थे ।
होटल पुगेर एकैछिन पनि नसुस्ताई हामी कार्यक्रमस्थलतर्फ हान्नियौं । इकोनमिक फोरमको शीर्षक थ्रीआई अर्थात् इन्ट्रिगेसन, इनोभेसन र इन्भेस्टमेन्ट राखिएको रहेछ । फोरममा प्रायः व्यावसायिक व्यक्तित्वहरुकै उपस्थिति थियो । त्यसैले पनिहोला, कायक्रम निकै तामझामपूर्ण देखिन्थ्यो । सायद रूसी महासङ्घभित्रका उद्यमीहरुले दागेस्तानमा लगानी बढाऊन् भन्ने नै कार्यक्रमको आसय थियो ।
हामी पुग्नेबित्तिकै दागेस्तान गणराज्यका राष्ट्रपति मागोमेदसलाम मागोमेदोभबाट कार्यक्रम उद्घाटन भयो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि अलेक्जेन्डर ख्लापोनिनले पनि कार्यक्रममा सम्बोधन गरे । सम्बोधनपछि केही स्थानीय व्यापारिक घरानासँग कुराकानी गरेर उनी त्यसै दिनफर्की पनिहाले ।
कार्यक्रम चल्दै गर्दा मित्र इभगेनीभने होटल फर्कन हतारो गर्दै थिए । खासमा उनीहोटल पुगेर आराम गर्न होइन, क्यस्पियन सागरमा पौडी खेल्न हतारिएका रहेछन् । रूसी नागरिकहरु ग्रीष्मयाममा समुद्री तट देख्नेबित्तिकै पौडिने सुरमा लागिहाल्छन् । इभगेनी र केही साथीहरु समुद्रमा पौडिँदै गर्दा हामी भने किनारामै रमाइरह्यौं । कम ठण्डा देशका मानिस भएर होला सायद, हाम्रा लागि त्यो पानी निकै चिसो थियो ।
(‘सम्झनामा रुस’बाट)