अमेरिकाबाटै अधिकारीको विश्लेषणः ट्रम्पले नराम्रोसँग हार्ने लक्षण छ

कोरानाको प्रकोपका सन्दर्भमा अमेरिकाबाट सिक्नु पर्दछ कि देश जत्रोसुकै ठूलो र जस्तोसुकै शक्तिशाली किन नहोस् दैवी वा अन्य प्रकारका प्रकोपहरूको व्यवस्थापन सतर्कताका साथ बेलैमा गर्न सक्नु पर्दछ, होइन भने सर्वनाश हुन्छ ।

आलोचनात्मक चेतले प्रखर विश्लेषक हरि अधिकारी पछिल्लो केही बर्षदेखि अमेरिकामा छन् । उनले त्यहाँको समाज र राजनीतिलाई त्यहीँ बसेरै हेरिरहेका छन् । उनको विचार छ, ‘अमेरिकाको राजनीति पनि एउटा ठूलो कर्पोरेट बिजिनेस हाउसको विधिमा सञ्चालित भएजस्तो लाग्यो । त्यसैले गर्दा हुनु पर्दछ, डोनाल्ड जे ट्रम्प जस्तो राजनीतिमा कहिल्यै काम नगरेको व्यापारी, त्यो पनि व्यक्तिगत आचरणमा बदनाम, देशकै राष्ट्रपति चुनिन सके ।’ तर, उनी फेरि भन्छन्, ‘यहाँ नेपालको जस्तो भ्रष्टाचारमा डामिएको मानिस देशको नयाँ अर्थमन्त्री हुने कुनै सम्भावना देखिँदैन ।’


कवि समेत रहेका अधिकारीलाई अशोक सिलवालको पहिलो प्रश्न थियो ‘तपाईं अमेरिका गएको पनि ३ वर्ष पुग्न लाग्यो । त्यताको बसाई लामै हो ?’
तिमीले सधैँ यतै बस्न आँटेको हो कि भनेर सोध्न खोजेको जस्तो लाग्यो । त्यस्तो होइन । कोरोनाको महामारीले रोकिएको हुँ । अन्तर्राष्ट्रिय उडान चालु भएपछि फर्किहाल्छु ।

यता र उताको समाज व्यवस्था सार र स्वरुपमा उस्तै वा फरक रहेछ ?
यता र त्यताको समाज व्यवस्था र सारमा धेरै फरक छ । नेपालको सामाजिक प्रणाली र त्यसमा व्यक्ति व्यक्तिका बीचको सम्बन्ध अझै पनि हार्दिक छ । परिवारको भावना पनि जीवितै छ । यहाँ अमेरिकामा भने व्यक्ति आफैँमा खुम्चिएको जस्तो लाग्यो । अधिकांश मानवीय सम्बन्धहरू उपयोगिताका आधारमा कायम रहने र टुक्रिने हुँदा रहेछन् ।

अनि उताको राजनीति कस्तो रहेछ ?
यताको राजनीति पनि एउटा ठूलो कर्पोरेट बिजिनेस हाउसको विधिमा सञ्चालित भएजस्तो लाग्यो । त्यसैले गर्दा हुनु पर्दछ, डोनाल्ड जे ट्रम्प जस्तो राजनीतिमा कहिल्यै काम नगरेको व्यापारी, त्यो पनि व्यक्तिगत आचरणमा बदनाम, देशकै राष्ट्रपति चुनिन सके । प्राय चुनाव हार्ने जित्ने कुराको निर्णय प्रचार प्रसारका लागि कति थोरै वा धेरै फण्ड जुटाउन सक्ने कुरामा निर्भर हुँदो रहेछ । अहिले राष्ट्रपति ट्रम्प प्रतिद्वन्द्वी जो बाइडेनले आफ्नो भन्दा बढी चुनाव प्रचार फण्ड जम्मा ग-यो, अब हराउने भयो भनेर कोकोहोलो गर्दैछन् ।


अहिले त राष्ट्रपति चुनावकै चहलपहल हो ? कस्तो छ पिक्चर ?
चुनावको दिन नोभेम्बर ३ तारिख नजिकै आइसक्यो । कतिपय राज्यहरूमा त त्यस दिन मत खसाल्नेहरूभन्दा बढी मतदाताहरूले हुलाकमार्फत अग्रीम मतदान गर्ने सुबिधाको उपयोग गरेर मत खसालिसके । यस पटक निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थति नाजुक जस्तो देखिएको छ । उनले नराम्रोसँग हार्ने लक्षण छ ।

उम्मेद्वाहरुप्रति अमेरिकी र बाह्य जगतको कस्तो प्रतिकृया पाउनु भएको छ ? अनि तपाईंको व्यक्तिगत प्रतिकृया के छ ?
राष्ट्रपति ट्रम्पको छवि पूरै नकारात्मक बनेको छ देश विदेश दुवैतिर । उनको श्वेतचर्मवालाप्रतिको अवाञ्छित अनुराग देखेर उनलाई रङ्गभेदी मान्न थालेका छन् मानिसहरूले । त्यसमाथि काला, गहुँगोरा, मुस्लिम र महिलाहरू मात्र होइन, समस्त आप्रवासीहरूप्रति उनले घृणा र अपमानजनक व्यवहार गर्दै आएका छन् जसले गर्दा उनलाई अमेरिका जस्तो विविध जात जातिले बनाएको देशको सत्ताको शीर्षमा बस्न अयोग्य साबित गरिदिएको छ । केही दर्जन आइमाईहरूले राष्ट्रपतिमाथि यौन दुव्र्यबहार गरेको आरोप लगाएका छन् । वैदेशिक मामिलामा पनि ट्रम्पले अमेरिकाका परम्परागत मित्रशक्तिहरूलाई भन्दा तानाशाही टाइपका पुटिन, किम जुङ युन, उग्र हिन्दुवादी नरेन्द्र मोदी आदिलाई महत्व दिएको आरोप लाग्दै आएको छ ।
अर्कोतिर ट्रम्पका प्रतिद्वन्द्वी डिमोक्रेटिक पार्टिका उमेदवार जो बाइडेनको छवि शालीन, सबैलाई साथ लिएर अघि बढ्न खोज्ने, अनुभवी नेताको छ । बाइडेनलाई उमेर अलि पाको भयो भन्नेबाहेक अरू कुनै खोट लगाउने ठाउँ छैन ।

कारोना विश्वव्याधीबीच यो चुनावले के सन्देश र संकेत दिनसक्ला ?
अमेरिकामा कोरोनाको महामारीले यत्रो ठूलो नोक्सान गर्नुमा राष्ट्रपति ट्रम्पले यसलाई गम्भीरताका साथ नलिनु र यसको रोकथाम राम्ररी गर्न नसक्नु मुख्य कारण रहेको छ । त्यसैले कोरानाको प्रकोपका सन्दर्भमा अमेरिकाबाट सिक्नु पर्दछ कि देश जत्रोसुकै ठूलो र जस्तोसुकै शक्तिशाली किन नहोस् दैवी वा अन्य प्रकारका प्रकोपहरूको व्यवस्थापन सतर्कतासाथ बेलैमा गर्न सक्नु पर्दछ, होइन भने सर्वनाश हुन्छ ।

अमेरिकाबाट नेपाललाई नियालिरहनुभएको छ । कस्तो देख्दै हुनुहुन्छ ?
म त जताततै भताभुङ्ग मात्रै देखिरहेको छु । नेपालमा त अहिले इतिहासकै सबैभन्दा भ्रष्ट, अक्षम, गैरजिम्मेवार र शारीरिक तथा मानसिक दुवै स्तरमा बिरामी मानिसहरूको शासन छ । यी मानिसहरूले आफ्ना साथमा पूरा प्रणाली र नेपालको पूरा सामाजिक ढाँचालाई नै ध्वस्त पारिदिने सम्भावना बढेको छ ।

जाँदाजाँदै एउटा प्रश्न, अमेरिकामा आलोचना चेतको स्तर र प्रभाव कस्तो पाउनुभयो ?
यहाँको समाजमा बहुसंख्यक मानिसहरू दाल–भात–डुकुमै अलमलिएका छन् । तर विधिको शासनको जरो गहिरो र मजबूतीसँग गाडिएकोले आम नागरिकको आलोचनात्मक चेत हरदम जागरुक भइरहनुपर्ने, होइन भने शासन सत्तामा पुगेकाहरूले लुटी खाइहाल्ने स्थिति छैन । यहाँ नेपालको जस्तो भ्रष्टाचारमा डामिएको मानिस देशको नयाँ अर्थमन्त्री हुने कुनै सम्भावना देखिँदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button