‘परदेशमा घरदेशको सपना देख्ने मान्छे’

आफूलाई नेपालवादी भन्न रुचाउँछन् । माटोवादी भन्न रुचाउँछन् । उनकै शब्दमा उनी विदेश भन्नेबित्तिकै ज्वरो आउने मान्छे । तर, पछिल्लो १३ वर्षदेखि अमेरिकामा छन् । भन्छन्, ‘अरूलाई स्वदेश फर्किनु पर्छ, स्वदेशमै योगदान दिनुपर्छ भन्दै कलम चलाउने पत्रकार, गीतकार, गायक, अभिनय गर्ने कलाकार, कविता, मुक्तक र गजल लेख्ने साहित्यको विद्यार्थी अहिले विदेशको सपना देखेर होइन, आफ्नै मातृभूमिमा प्रचन्ड, बाबुराम र तिनका मतियारहरूको राज सुरु भएपछि, अपहरणमा परेपछि, मानसिक यातना बढ्दै गएपछि, सतीले श्राप गरेकै देश रहेछ मेरो, जहाँ गरी खान, केही गर्न पनि पाइएन भन्दै विरक्तिएर परदेशिएको मान्छे हुँ म । विदेश बसाइ रहर हुँदै होइन ।’
विशेष स्तम्भ देश विशेषमा नेपालनाम्चा प्रस्तुत गर्छ, रामप्रसाद खनाल

तपाईँका सपनाहरूका हालखबर के–कस्ता छन् ?
आफ्नै माटोमा केही गरेर बस्ने, देशमै केही गर्ने, लोकगीत, दोहोरी गीत, नेपाली भाषा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा केही गर्ने मेरा सपनाहरू अमेरिकामा पनि देख्न छोडेको छैन । आफूसक्दो योगदान यहीँबाट पनि दिइरहेको छु । तर, मेरा ती सबै सपनाहरू केही समयका लागि खुम्चिए पनि हराएका छैनन् र हराउने पनि छैनन् । म परदेशमा घरदेश सम्झेर घरदेश बनाउन प्रयासरत, सपना देख्ने मान्छे हुँ भन्ने कुरा मेरा क्रियाकलापबाट जो कसैले पनि थाहा पाउन सक्छन् किन कि म खुल्ला किताब हुँ ।

तपाईँलाई अमेरिकाको केले सबभन्दा बढ्ता छोयो ?
अमेरिका हरकुरामा सिस्टमले चलेको छ । नियम कानुनले चलेको छ । विकासलगायतका हर कुरा हेर्दा मेरो देश नेपालमा पनि सुशासन भइदिए, नेता कार्यकर्ता जनता सुध्रिए, भ्रष्टाचार निर्मूल भइदिए अमेरिका जस्तै बनाउन सकिन्थ्यो होला नि भन्दै नेपाललाई अमेरिका जस्तै बनेको कहिले देख्न पाइएला भन्दै म यहाँ दिउँसै आफ्नै माटोको सपना देख्ने सपनाधारी मान्छे हुँ । यहाँको विकास र सिस्टमले मन छुन्छ ।

अमेरिकाका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मन लागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
अमेरिकामा नियम कानुन सवल छन्, कार्यान्वयन पक्ष त्यत्तिकै सवल छ । यहाँ भनसुनको आधारमा होइन, सिस्टमका आधारमा काम कारबाही हुन्छन् । पूर्वाधार विकास कति कति । शिक्षा अत्यन्त व्यवहारिक र सहज छ । रोजगारीका अवसर पर्याप्त छन् । सरकार अभिभावक बनेर देश चलाउँछ । हर व्यक्ति स्वास्थ्य सुविधा लगायतका सेवा प्राप्त छन् । यी र यस्ता थुप्रै राम्रा पक्ष छन् तर मेरो विचारमा नराम्रा पक्षमा महँगो कर प्रणाली, काम गर्न सक्ने तर अल्छी र ठगहरूलाई पनि फुड स्टाम्प दिएर, सुविधा दिएर झनै बिगार्ने कुरा मलाई त्यति उचित लाग्दैन ।

बेलाबेला नेपालसँग अमेरिकालाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
नेपाल र अमेरिकाको के तुलना हुन्छ र, कुन कुरामा तुलना हुन्छ र ? तर पछिल्लो समयको राजनीति भने उस्तै उस्तै जस्तो देखियो । तर, अहिले अमेरिका पूर्ण ट्र्याकमा आइसकेको छ । नेपाल प्रकृतिले दिएको स्वर्ग हो । नेपालमा जस्तै विविधता यहाँ अमेरिकामा पनि एक हदसम्म देख्न सकिन्छ ।

नेपाल हुँदा र त्यता गइसकेपछि नेपाल र बाँकी विश्वलाई बुझ्ने तपाईँका आँखामा के फरक आएको छ ? वा छैन ?
नेपाल छाडेर अमेरिकामा बस्न थालेपछि काम, धाम रोजगारी के रहेछ, देश कसरी बन्दा रहेछन्, नियम, कानुन, सिस्टम कति महत्त्वपूर्ण रहेछन्, अनुशासन के रहेछ, विकास निर्माण कसरी हुँदो रहेछ, मेरा आँखाले प्रत्यक्ष देख्न र भोग्न पाएका मात्र छैनन्, राष्ट्र राष्ट्रियता भनेको के रहेछ भन्ने पनि राम्ररी आफैले अनुभव गर्न पाएको छु । अमेरिका मात्र होइन, म संसारका ३५ देश घुम्दा माथि उल्लेखित कुरा निकै खड्किन्छन् । नेपाल त स्वर्ग जस्तो छ, यस्तो स्वर्ग जस्तो प्यारो देश कुशासन, अन्याय, अत्याचार, भ्रष्टाचार र फोहोरी राजनीतिले नर्क जस्तो बनाएको देख्दा मन मुटु चसक्क दुखेर आउँछ ।

अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
आफ्नै देश, आफ्नै परिवेश जस्तो विदेश कहिल्यै हुँदैन । सबै कुरा भएर पनि खुसी भन्ने चिज विदेशमा प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन । नेपालबाट कल्पना गर्नु र विदेश आएर भोग्नु फरक कुरा हुन । देश के हो, माटो के हो, राष्ट्रियता के हो, आफ्नो भाषा भेस, कला संस्कृति, आफ्नोपन के हो भन्ने कुरा विदेश आएपछि बल्ल चाल पाइन्छ ।

तपाईँको जीवन कसरी चलिरहेको छ ? विदेशमा रहँदाका जीवनका उकाली ओराली सम्झनुस् न ।
अथक यात्री, जिन्दगीका उकाली ओराली, भन्ज्याङ चौतारी गर्दै गुल्मीको गाउँबाट बुटवल, अनेकौँ सङ्घर्ष गर्दै बुटवलबाट काठमाडौँ, जीवन हाँसी खुसी राम्रै चलेकै थियो, यत्तिकैमा उतारचढाव र बाध्यताका पहाड चढ्दै अमेरिका झर्नु पर्ने अवस्था ती अवस्थाबीच पनि सत्कर्म गर्न र थाक्न नजानेको एउटा सङ्घर्षशील मान्छे आफू । जसोतसो जीवन चलिरहेकै छ । सबै कुरा भएर पनि अमेरिकामा खुसी हुन नसकेको मान्छे यहीँ पनि म उतारचढाव र बाध्यताका पहाड चढ्दै अगाडि बढिरहेको छु । जीवन संघर्ष यस्तै रहेछ भनेर चित्त बुझाउँदै छु । सबै कुरा उपलब्ध भएर पनि हरेक दिन माटो सम्झिँदा उतै बसेर चौतारीमा सुसेली हाल्न मन माग्छ, खोइ किन हो कुन्नि !

विदेशमा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
हाम्रो देश त स्वर्ग जस्तो छ । स्वर्ग जस्तो प्यारो देश कुशासन, अन्याय, अत्याचार, भ्रष्टाचार र फोहोरी राजनीतिले नर्क जस्तो बनाएको देख्दा मन मुटु थाम्न गर्हो हुन्छ । अनि म यस्ता कविता कोर्छु बेला बेलाः

प्रचण्ड महाराज !
सत्र हजार मान्छे मार्‍यौ
देशलाई पचास वर्ष पछाडि पार्‍यौ
लुट्यौ जनता
कुट्यौ जनता
भँडायौ सबका सब
दक्षिणको खायौ कलो
उत्तरसँग मिलायौ गलो
बिहान एउटा कुरा
दिउँसो अर्को कुरा
साँझ फेर्छौ कुरा
वेश्याको वेश्यावृत्ति जस्तै
आफ्नै पार्टी खायौ
काँग्रेस पनि खायौ
एमालेमा पस्यौ
एमाले भँडायौ
कहिले ओली बोक्यौ
कहिले झलनाथ बोक्यौ
कहिले माकुनेलाई झार्‍यौ
अहिले फेरि त्यही माकुनेलाई,
आफ्नो भागमा पार्‍यौ !
देश र जनता मार्नुसम्म मार्‍यौ
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नुसम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ?
भन त प्रचण्ड महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ?
ओली महाराज १
तिम्रो स्वार्थ मिल्दा
अपराधको सरदारसँग,
मित लगायौ, प्रीत लगायौ
एउटै माला भित्र गलो मिलायौ
एउटै टेबुलमा दुई कुर्सी र थलो मिलायौ
तिम्रो स्वार्थ बाझिएछ क्यारे !
अचानक,
मुख छोडाछोड गर्‍यौ
संविधान तोडातोड गर्‍यौ
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नुसम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ?
भन त ओली महाराज
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ?

माकुने महाराज !
पिँध नभएका लोटा जस्ता
कहिले कता, कहिले कता,
बन्यौ तिमी निकै सस्ता !
उधारोमा नचल्ने तिमी
हाताहाती भन्दा तल नझर्ने तिमी
खुनखुनबाहेक केही नगर्ने तिमी
जनता र देशका लागि होइन
मात्र आफ्ना लागि,
कुर्सी, सोफा र साइज नाप्ने तिमी
स्वार्थको आगो मात्रै ताप्ने तिमी
फेरि सती गयौ अपराधी सरदारसँग
के गुनासो गर्नु र खोइ १
बैङ्कको खजान्ची र खरदारसँग !
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नुसम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ?
भन त माकुने महाराज १
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ?

शेरबहादुर महाराज !
देश तन्नाम पार्‍यौ
काँग्रेस तन्नाम पार्‍यौ
हुँदोखाँदाको काँग्रेस पुछारमा झार्‍यौ
नियुक्तिमा भागबन्डा
लुटतन्त्रमा भागबन्डा
तिमीले भागबन्डा पाए मात्रै हुने रैछ
असली काँग्रेस रुने रैछ
सासू राजदूत भएको भैछ
प्रमुख प्रतिपक्ष,
आरजुको कोटामा गैछ
ओली,प्रचण्ड, माकुने सबैसँग दोस्ती
देश भाँडमा जाओस्,
तिमीलाई छँदै छ मस्ती !
फेरि ज्योतिसेकोमा जाऊ
हात हेराऊ
कमाउनिस्टहरु लडे,
कुकुर हड्डीमा लडे जस्तै
अब फेरि पालो तिम्रो
कमाऊ, खाउ, रमाउ
जनता फेरि टाउको समाऊ !
भन त शेर बहादुर महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ?

विदेशमा गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईँ नेपालाई कत्तिको मिस गर्नु हुन्छ ? र, सबभन्दा बढी के सम्झनु हुन्छ ?
म त भन्छु देशमा बस्दा देश के हो थाहै थिएन । विदेशमा बस्न थालेपछि बल्ल देश दुख्न थाल्दोरहेछ । हरेक सेकेन्ड देश, आफन्त, परिवेश सब कुरा मिस हुन्छ । के सम्झिन्छ भन्दा पनि के मात्रै सम्झिँदैन र त्यो भन्नुस् न ।

अरू केही ?
देश राम्रो बनोस् । कुनै नेपाली विदेसिनु नपरोस् । अन्याय, अत्याचार, भ्रष्टाचार अन्त्य हुन् । हरेक नेपालीले नेपाल मेरो देश हो भनेर गर्व गर्ने अवसर प्राप्त होस । नेपालनाम्चालाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button