लन्डन गफ : पेहाङ्गदाइको पुनर्जन्म
‘म त भगवानलाई भेट्न जान लागेको’, मैले भनें ।
गोपी सापकोटा ।
जाडोको मौसम शुरु भएपछि चार नबज्दै झमक्क साँझ पर्ने बेलायतमा जतिखेर पनि फुस–फुस पानी परिरहेको हुन्छ । घर बाहिर जाडोले सताइरहे पनि सेन्ट्रल हिटिङ्ग सिस्टमले घरभित्र भने न्यानो नै हुन्छ । तिहारको बेला बाहिर फुस–फुस पानी परिरहेको साँझमा घरभित्र हिव्स्कीको चुस्कीसंगै तास खेल्नुको मजै बेग्लै । त्यसो त तासले घुमीफिरी सबैलाई साथ दिन्थ्यो तर पेहाङ्गदाईलाई जति साथ अरु कसैलाई दिदैनथ्यो ।
पेहाङ्गदाइ हाम्रो समुदायको दाई । दश बर्ष पहिले काठमाडौको सरकारी जागीर छोडेर बेलायत आएपछि शुरुमा त जागीर मै अल्झिए तर गत पाँच बर्षदेखि भने उनी आफ्नै व्यवसाय चलाउँदै आएका छन् ।
‘क्या हो पेहाङ्गदाइ, तपाईलाई त आज कत्ति साथ दिएको तासले पनि’, लक्ष्मीले भने ।
‘दाई त मरेपछि पनि तास खेल्न कै लागि भनेर भएपनि बाँचेर फर्कनु हुन्छ, होला’, मैले भने ।
‘हो त, म एक पटक मरेर, फेरि बाँचेको नि’, पेहाङ्गदाइले भने । त्यसपछि पेहाङ्गदाइले आफ्नो त्यो घटना सुनाए ।
–––
कुरा धेरै पहिलेको हो । म यस्तै सात आठ बर्षको थिएँ होला । हाम्रो घरभन्दा अलिकति पर एउटा पोखरी थियो । म त्यहाँ माछा मार्न जाने गर्थे । सधै झै त्यो दिन पनि म त्यहाँ माछा मार्न गएको थिएँ । मैले माछा मारेर एउटा भाँडोमा जम्मा गरें । साँझ पर्न लागेकाले त्यसपछि घर फर्कने तयारी गरें । यस्तैमा एउटा मान्छे आएर मेरो नाम सोध्यो । उसले सेतो धोती लगाएको थियो । उसको हातमा एउटा भाडा पनि थियो । मैले आफ्नो नाम भन्न मानिन ।
उसले सोध्यो, ‘ए केटा, भन तेरो नाम के हो ?’
‘म भन्दिन तलाई । किन भन्ने मेरो नाम ?’, मैले भनें ।
‘भन्ने भए भन, नभए म तँलाई कुट्छु ।’
‘म त मरिगए पनि भन्दीन ।’
त्यसपछि उसले आफनो हातमा भएको कालो भाँडोले मलाई हान्न खोज्यो । म तर्किएँ । तर उ अगाडि बढ्दै गयो । म भने तर्किदा तर्किदै लडें । त्यसपछि ऊ कता गयो थाहा भएन ।
तर म भने त्यसपछि नराम्रोसंग बिरामी परें । म यति धेरै बिरामी भएँ कि मलाई उपचार गर्न बुवाले धेरै ठाउँमा लैजानु भयो । म बिरामी हुँदा मलाई शुरुमा वालुवा खान मन लाग्यो । मैले यति धेरै बालुवा खाए कि भात खानै मन नलाग्ने । अरु खानेकुरा पनि खान मन नलाग्ने । म त बालुवाले नै पेट भर्ने गर्थें ।
त्यसको केही हप्तापछि फेरि मलाई कोइला खान मन लाग्ने भयो । त्यसपछि मैले कोइला खान लागें । मलाई त्यो कोइला यत्ति धेरै खान मन लाग्ने भयो कि अरु खाने कुरा केही नखाइकन कोइला मात्रै खान्थें । घरमा अरु भएको बेला अरुहरुले कोइला खान नदिने, त्यसैले मैले लुकी चोरी कोइला खाने गर्थें ।
त्यसको केही हप्तापछि मलाई सखुवाको रुखको बोक्रा खान मन लाग्यो । मैले बालुवा र कोईला खान छोडिसकेको थिएँ । त्यसपछि मैले त्यो रुखका बोक्राहरु खुब खाएँ । मैले भातको सट्टा तीनै रुखका बोक्राहरु खाएर अघाउँथे ।
लामो समयसम्म मेरो बिरामीपन निको भएन । म एकदमै दुब्लाएँ । मलाई बिभिन्न अस्पताल लगियो । तर मेरो रोग घटेन । मानिसहरुले म बाँच्छु भन्ने आस मारिसकेका थिए । मेरो आमा खुब रुनु हुन्थ्यो ।
एकदिन म सुतिरहेको बेला एकजना सेतो लुगा लगाएको मानिस आयो र भन्यो, ‘ल मसंग हिंड ।’ म पनि उठेर उसंगै हिंडे । एकछिन पछि त्यो मानिस कता गयो थाहा भएन । म हिंड्दै हिड्दै जाँदा एकदमै राम्रो ठाउँमा पुगें, जहाँ फुलै फुलहरु थिए । म आफुलाई चाहीं म भगवानलाई भेट्न जादैछु भन्ने लाग्दो रहेछ । ठाउँ एकदमै रमाइलो थियो । मलाई आफु माथिमाथि गए जस्तै लाग्यो । म माथितिर भगवानलाई भेट्न गइरहेको थिएँ ।
हिंड्दै हिंड्दै जाँदा म एउटा गेटजस्तो ठाउँमा पुगें । त्यहाँ एउटा कालो लुगा लगाएको भुसतिघ्रे थियो । उसले सोध्यो, ‘ए, तँ कहाँ जान लागेको ?’
‘म त भगवानलाई भेट्न जान लागेको’, मैले भनें ।
उसले एकदमै गहिरिएर हे-यो मलाई र भन्यो, ‘तैले भगवानलाई भेट्न पाउँदैनस् ।’
मैले सोधें, ‘किन?’
‘तेरो अहिले बेला भएको छैन ।’ त्यसपछि उसले मलाई भुक्क लात्तीले हान्यो । म बुर्लुङ्ग लडें र भिरालो जस्तै ठाऊँबाट तल खस्दै गएँ । खस्दै गएपछि म तल पुगें र मेरा आँखा खुले ।
जब मेरा आँखा खुले, मैले मेरो आमा मेरो छेऊमा बसेर रोइरहेको देखें । मैले सोधें, ‘आमा, किन रुनु भएको ?’ यसो हेरेको त म त आँगनमा पो रहेछु । घरमा वरपरका मानिस जम्मा भएका रहेछन् । मलाई त सेतो कपडा पो ओडाइएको रहेछ । उनीहरुको दृष्टिमा म त मरिसकेको रहेछु । मलाई अन्त्येष्टिका लागि लगिने तयारी पो गरिदै रहेछ ।
–––
त्यसरी म त एकपटक मरेर पनि बाँचेको मान्छे पो त’, पेहाङ्गदाईले आफ्नो घटनाको बिट मारे । सबैजनालाई पेहाङ्गदाईको त्यो घटना अचम्म लाग्यो । एकछिन सबैजना स्तब्धजस्तै भयौं । त्यसपछि पेहाङ्गदाईले होमनाथ सरको ग्लासमा कोक र अरु सबैजनाको ग्लासमा हिव्स्की थप्दै सोधे, ‘अब बाँड्ने पालो कसको ?’
हामीले दोस्रो राउण्डको चियर्स गरेपछि लक्ष्मीले तास बाँड्न शुरु गरे ।
(साहित्यकार सापकोटा वेलायतमा छन् ।)