डेनमार्क डायरी : संस्कृत सम्मान
मलाई अझ समस्यामा पार्ने गरी उसले अर्को प्रश्न तेस्र्यायो, ‘त्यहाँका वामपन्थीहरूले किन संस्कृतजस्तो मानव सभ्यताको वकालत गर्ने भाषामाथि प्रहार गरे ?’
पदम गौतम ।
रोमानियाबाट साइन्टोलोजी पढ्न कोपनहेगन आएको एलेक्सले एक दिन कक्षामा मेरो नोट प्याडमा हेरिरह्यो । केही पछि फुर्सदमा रुचीसाथ छेउमा आयो । मैले लेखेको नोट मागेर हे¥यो । मैले कक्षामा अंग्रेजीमा पढे पनि नोटमा नेपालीमा नै लेख्ने गर्थें । उसले मेरो नोट समाएर मेरा अक्षर चुम्यो । भन्यो, ‘मैले चिनेँ, विश्वको सबैभन्दा पहिलो लिपी हो यो, यसले मानव सभ्यतालाई यहाँसम्म ल्याइ पु-यायो ।’
उसले पूर्वीय सभ्यताप्रति प्रेम देखाइरह्यो, के के टिप्पणी गरिरह्यो । मैले त्यहाँ उसँग के भन्नुपर्ने हो थाहा नै पाइनँ, जे भन्छ अँ, अँ मात्र भनिरहेँ । ऊ मलाई देवनागरी लिपीप्रति प्रेम देखाएर खुसी राख्न चाहन्थ्यो । उसले मलाई कफीको प्रस्ताव ग-यो र क्यान्टिन पुगेर हतार हतार पैसा ति¥यो । अक्सर युरोपेलीहरूमा यस्तो प्रस्ताव गर्ने चलन हुँदैन रहेछ । ठूलै अवसरमा मात्र कसैलाई कफी वा रक्सी खुवाउने गरिँदो रहेछ
एलेक्सले मलाई कति नजिकबाट नियालेको छ भन्ने मलाई उसका लगातारका व्यबहारबाट थाहा हुन थाल्यो । मलाई संस्कृतसँग नजिकको भाषा नेपाली बोल्ने र त्यसकै परिमार्जित रूप देवनागरीमा लेख्ने गरेकोमा गौरव महसुस भयो । हामी नेपालीलाई यस्तो गौरव परदेशमा निकै दुर्लभ हुनेरहेछ । तर मलाईचाहीँ बिना कुनै मेहनत अनौठो खुसी प्राप्त भइरहेको थियो । मलाई उसको मुलुक पनि नेपालजस्तै गरीब हो भन्नेबाहेक रोमानियाबारे खासै थाहा थिएन । केही बोल्नैपर्ने भएकाले मैले रोमानियाका तत्कालीन शासक निकोलाई चाउचेस्कुलाई फाँसी दिइएको घटनाबारे चासो राखेँ । घटनाको समयमा ऊ पनि मजस्तै किशोर रहेछ । मैले त्यो घटनापछि नेपाली युवा र विद्यार्थी उत्तेजित भएर आन्दोलनमा होमिएको सन्दर्भ सुनाएँ ।
एलेक्सले पूर्वीय सभ्यताको प्रशंसा गर्दा त मलाई आत्मसम्मान बढेको जस्तो हुन्थ्यो नै, अझ थप मेरो मुलुक र राज्यले प्राचीन गौरवका बिषयमा लिएको दृष्टिकोणबारे जानकारी माग्दाचाहीँ म भागौं भागौं हुन्थेँ । उसँग नेपालबारे धेरै प्रश्न रहेछन् । मलाई अझ समस्यामा पार्ने गरी उसले अर्को प्रश्न तेस्र्यायो, ‘त्यहाँका वामपन्थीहरूले किन संस्कृतजस्तो मानव सभ्यताको वकालत गर्ने भाषामाथि प्रहार गरे ?’ यसको जवाफ मजस्तो सामान्य नेपालीसँग मात्र नभएर जनयुद्धका सञ्चालकहरूसँग पनि छैन भन्ने मलाई थाहा थियो । अझ अहिले जनयुद्धकर्मीहरू आफ्नैबिरुद्ध उभिएपछि त यस्ता बिषय अरू असंगठितहरूका हातमा पुगेका छन् । मैले यहाँ पनि केही जवाफ दिन सकिनँ । भनेँ, ‘हो, यो पाटोमा विचार नै नगरी संस्कृत भाषामाथि प्रहार गरियो ।’ मैले त्यहाँ उससँग संस्कृत मृत भाषा भएका कारण मेरो मुलुकले त्यसबारे बेवास्ता गरेको भन्न सकिनँ । मलाई मुलुकको राजनीतिक नेतृत्व र बौद्धिक गफमा सिकाइए जस्तो मैले संस्कृतबारे अध्ययन र चासो राख्दा अरु भाषामा अन्याय हुने पनि बताउनँ सकिनँ । किनकि, मलाई थाहा थियो, एउटा ऐतिहासिक भाषामा रुची र चासो राख्दा अन्य जीवित भाषा मर्छन् र मारिन्छन् भन्ने तर्कमा पश्चिमाहरू विश्वास गर्दैनन् ।
कलिलो उमेरमै एलेक्स निकै प्रष्ट र धेरै बिषयमा अध्ययन गर्न सफल मान्छे रहेछ । उसले युरोपेलीहरूको मानसिकता र हामी एशियालीलाई तिनले हेर्ने दृष्टिकोणबारे पनि मलाई धेरै कुरा सम्झायो । भन्यो, ‘जर्मनीले संस्कृतमा लगानी गरेर त्यसको फल कसरी लिइरहेको छ भन्ने चासो नेपाल र भारतमा छ कि छैन ?’
म एलेक्ससँग विचार नगरी केही बोल्दा आफ्नै मुलुकविरुद्ध बोलेको अर्थ लाग्न सक्थ्यो । तर उसका जिज्ञासा र चासोलाई सम्मान गर्नकै लागि पनि अब मैले केही न केही बोल्नैपर्ने अवस्था आयो ।
यसको जवाफमा मैले केही कूटनीतिक हुने प्रयास गर्दै भनेँ, ‘संसारकै शक्तिशाली मुलुकमा पर्ने जर्मनीले हाम्रो सभ्यतासँग गाँसिएको बिषयमा धेरै लगानी गरेर निकाल्ने प्रतिफलले हामीलाई खुसी नै लाग्छ नि, एलेक्स । त्यो परिणाम मानवजातिका हितमा हुन्छ ।’ यसपछि उसले मानव सभ्यतामा पूर्वीय सभ्यताको ब्रम्हा, विष्णु, महेश्वरको अवधारणा र विज्ञानको दर्शनबारे मलाई एउटा किताबको नाम सुझायो । उसले कुरा मोडोस् भन्ने मेरो पनि चाहना थियो ।
नेपाल छाडेपछि विदेशीहरूसँग कुरा गर्दा गौतम बुद्ध र सगरमाथाबारे मात्र घुमाएर कुरा गर्न मन लाग्ने । आफूले भोगेको र देखेको लगातारको गरिबी, शोषण, थिचोमिचो आदिको अनुभव सकभर लुकाउन खोज्ने बनेको थिएँ म । तर सामान्यतया: युरोपेलीहरू कि त नेपालबारे केही थाहा नै नभएका फेला पर्छन्, कि त नेपालको समस्या हामीले भन्दा फरक कोणबाटबुझेर छुट्टै मानसिकता बनाइसकेका मात्र । केही कुरामा उनीहरूको बुझाइ वास्तविकताभन्दा फरक देखिन्छ । उदाहरणका लागि छिमेकी मित्रराष्ट्र« चीन र भारतका बिषयमा निकै फरक बुझ्ने रहेछ युरोपले । धेरै पश्चिमाहरू नेपाललाई चीनले धेरै दुःख दिएको र भारतले चाहिँ खानेकुरा नै ओसारेर यहाँका जनतालाई धेरै पटक जोगाएको सम्झँदा रहेछन् । अझ अर्कोतिर गौतम बुद्धभारतमा जन्मिएको भारतीय दावीप्रति धेरैमा भ्रम कायम नै छ ।
युरोपेलीहरुमा आफू संसारको मार्गदर्शक भएको भ्रम छ । समानता, भातृत्व र न्यायजस्ता बिषय संसारमा आफूले स्थापित गरेको अनुभूति गर्छन् केही बुझेका मान्छेहरु । यथार्थ जे भए पनि र आजको संसारमा देखिएका सबै खाले अन्याय र असमानताका पछाडि युरोपकै ठूलो भूमिका भए पनि त्यसको ठीक विपरीत पाटोमा उनीहरु गर्व गर्ने रहेछन् । हरेकले गर्वसाथ मौका पर्दा भन्न छाड्दैनन्– हामी युरोपेलीहरु संसारको सभ्यताको चुचुरो हौं । धेरै दिनदेखि हरेक युरोपेलीको कुटनीतिक दादागिरी सुनेर हैरान भएकोे मलाई एलेक्सको यो विचारले फरक कोेणबाट बोल्न बाध्य गरायो । हरेक युरोपेलीले बाहिर सभ्यता देखाउँदै भित्रबाट आफ्नै बढाइचढाइ गरेर मलाई हैरान पारेका थिए । अर्थात् कूटनीतिक हिसाबले एशियालीलाई नै अर्कै मान्छेका रुपमा चित्रण गर्न उनीहरु लागिरहन्थे । चित्त नबुझेको कुरा कसलाई भनूँ ? मेरो उफानले निकास पाइरहेको थिएन । त्यही मौकामा भनेँ– एलेक्स, युरोपेलीहरु पनि अरुलाई सभ्यताको जस दिन्छन् र ? ऊ बोलेन । क्याफेभित्र चुरोट खान नपाईने भएकाले बाहिर गएर चुरोट खानुपर्ने आफ्नो बाध्यता सुनायो । बाहिर निस्कियो र चुरोट सल्कायो ।
त्यस दिनदेखि एलेक्स कहिल्यै मेरो छेउ परेन । मसँग सिकेका नेपाली शब्द प्रयोग गर्दै मलाई टाढैबाट अभिवादन गर्दै भन्थ्यो– ‘ओ साथइ, तिमीलाई कस्तो छ ? मलाई तिम्रो लजिक मन पर्ने ।’