सिमलामा सम्झेँ स्वदेश

अर्जुन बिष्ट (अबि)
भारतको हिमाञ्चलबाट फर्केपछि

पत्रकारितामा जति सक्रिय छु त्यति नै म घुमफिरमा पनि निकै मन लगाउँछु । नेपालका अधिकांश पर्यटकीय स्थलहरु घुमिसकेको छु । मेरा लागि घुम्नु भनेको जीवनमा नयाँ अनुभव थप्नु हो । अनुभव बटुल्न म प्रायः फुर्सद मिल्ने बित्तिकै यात्रामा निस्किहाल्छु । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरसको कारण केही महिना कोठामै थुनिनु पर्यो । त्यतिबेला घुम्न नपाउँदा मलाई अत्यास लाग्थ्यो । अहिले केही सहज भएपछि फेरि यात्रामा जोडिएको छु ।

यात्रा गर्नुअघि ईन्टरनेटमा कहाँ घुम्ने भनेर खोजी गरेँ ।भारतमा घुम्नलायक ठाउँहरु धेरै रहेछन् । तर, यो मौसममा हिमाञ्चल प्रदेशमा घुम्दाको आनन्द अरु ठाउँमा नपाइने रहेछ । मलाई यो यात्रा अविस्मरणीय बनाउनु थियो । अनि घुम्ने ठाउँ सिमलालाई रोजेँ ।

काठमाडौंबाट करिब १ घण्टा ३५ मिनेटको हवाई यात्रापछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ दिल्ली पुगिँदो रहेछ । यहाँ पुगेपछि सिमलाको लागि फ्लाइट वा बसमा जाने निर्णय गर्दै थियौं । साथीले बसमा जाने र यहाँको सुन्दर दृश्य कैद गर्ने अनुरोध गरेपछि हामीले त्यहाँबाट सिमलाको लागि टिकट लियौँ । नयाँदिल्लीबाट ३ सय ४१ किलोमिटरको लामो यात्रामा हामी हिमाञ्चल प्रदेशको राजधानी सिमलातर्फ लाग्यौं ।

केहि छिनपछि पानीपत, घरौदा करनाल हुँदै करनाल क्षेत्रमा पुगेर खाजा खायौं । अझै आधाभन्दा बढी नै दुरी हामीले यात्रा गर्नु थियो । अम्बला बजारमा पुगेपछि त्यहाँको बजार निकैँ व्यस्त देखिन्थ्यो । मान्छेहरूको पनि निकैँ चहलपहल थियो । मनमा लाग्यो, भारतको व्यस्त शहरमा अम्बला पनि पर्छ ।

करिब ५ घन्टा बितिसकेको थियो । हामी उतराखण्डलाई छोड्दै पन्जावको नजिक चन्डिगढ पुग्यौं । यो जिल्ला भारतको एउटा केन्द्रशासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाब र हरियाणाको राजधानी पनि हो । यसको नामको अर्थ हो चण्डीको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डीको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै पनि यस सहरमा अवस्थित छ । यस सहरलाई सिटी अफ ब्यूटीफुल पनि भनिने गरिन्छ ।

गाडी आफ्नै गतिमा थियो । चण्डीगढबाट बिस्तारै पहाडतर्फ लाग्यौं । केही घण्टाको यात्रापछि सोलन पुग्यौं, जहाँ चारैतिर डाँडाले घेरीएको घना बस्ती मनै लोभ्याउने ठाउँ थियो । बसपार्कमा केहि छिनलाई रोकिएको बस फेरि सिमलातर्फ गुड्यो । मनोरम दृश्यलाई नियाल्दा नियाल्दै हामी शोघिमा पुगिसकेका रहेछौं । बिहानको खान यतै खाने निर्णय गर्यौँ । आकाश बटारिँदै थियो । चिसो मौसमको साथमा खान खाएर हामी पुनः सिमलाको यात्रामा लाग्यौं ।

करिब १ बजेतिर सिमलाको मुख्य बजार पुग्यौं । काठमाडौँमा बस्दा सधैं काम, त्यसमाथि कोरोनाको कारण कति दिन घरमै थुनिन परेको पीडा सबै बिर्साउन छु । केही दिनको यो स्वतन्त्र यात्रालाई अविस्मरणीय बनाउनु छ ।

हामीले यहाँका घुम्नलायक ठाउँहरु सेलेक्ट गर्यौँ । सबैभन्दा पहिले हिमाञ्चल राज्य म्युजियमको अवलोकनमा निस्कियौँ । आधुनिक कलाको विश्वको अग्रणी संग्रहालयमा तपाईंलाई स्वागत छ, ठुला अक्षरमा लेखिएको थियो । यहाँ दशकौँसम्मको अवधिमा सिर्जना गरिएका कलाकार्यहरू र यस युगमा सिर्जना गरिएको शैली र कलाको दर्शनलाई दर्साइएको रहेछ। कला र कलाकृतिहरूजस्तै पुरातन उपकरणहरू, पुतली, सिक्का र भिक्टोरियन हवेलीमा परम्परागत कपडाहरु म्युजियमको मुख्य आकर्षक रहेछन् । कलासंस्कृति र हस्तकलाले भरिएको यो म्युजियम साँच्चिकै मनै लोभ्याउने रहेछ।

हिउँ पर्ने समय भएर होला चिसो निकै । म्युजियमबाट फर्किनेक्रममा बाटोमा चिया र खाजाले पेट टन्नै भरेका थियौं । अबको हाम्रो योजना माल रोड जाने थियो तर मालरोड घुम्नुभन्दा पहिले ज्याकुहिल जाने सल्लाह भयो । साँझको ३ः ५० बजिसकेको थियो । यहाँको केवलकार ४ बजे बन्द हुनेरहेछ । हामी केवलकार चढेनौँ । कार रिजर्भ गरेर ज्याकुहिलमा अवस्थित हनुमान मन्दिरतर्फ लाग्यौं । त्यँहा विश्वकै अग्लो हनुमानको प्रतिमा ठड्याइएको रहेछ । प्रतिमा छेउको हनुमान मन्दिरमा साँझको आरतीको तयारी हुँदैथियो । हामी भने त्यहाँ जान सकेनौँ ।

भोलिपल्ट बिहानको फ्लाइटमा दिल्ली फर्किनु थियो । एकातिर पहाडकी रानी सिमलालाई छोड्न मनै छैन अर्कोतिर दिल्लीमा अधुरो रहेको कामलाई पनि त सकाउनुछ । चारैतिर बत्तीको झिलिमिली उज्यालो छ । हामी भने मालरोडमा लम्किदैँ छौँ । यो ठाउँ सिमलाको प्रमुख ह्याआउट पोइन्ट र सपिंग सेन्टर रहेछ । बेलायती औपनिवेशिक शासनको क्रममा निर्माण गरिएको, मालरोड रिजभन्दा तलको स्तरमा अवस्थित छ । नगर निगमको कार्यालयहरु, फायर सेवा र पुलिस मुख्यालयहरु यहाँ अवस्थित छन् ।

त्यहीँ उता छेउमा सानो पार्क थियो । हामी त्यही बाटो हुदै गयौं । बुट्टा भरेर सजाइएको त्यो पार्कको छेउमा पिठ्युमा बच्चा र हातमा तरबार बोकेर सारा ब्रम्हाण्डलाई हाँकि दिए झै विजयको लागि युद्धभुमिमा होमिएकी भारतकी नामुद वीराङ्गना झाँसीकी रानी लक्ष्मी बाईको सालिक थियो । त्यो सालिकले आईपरे महिलाले पनि आफ्नो रास्ट्र र भुमिको रक्षाका लागि एक मुठ्ठी सास रहेसम्म शत्रुसँग भिड्न सक्छिन भने साहस झल्किएको थियो । सिमलाजस्तो सित्तल, सुन्दर उच्च हिमालयको काखमा रुमलिदैँ गर्दा मैले सम्झिए, प्राकृतिक सुन्दरताले भरीपुर्ण मेरो देश अनि देश बनाउन चाहिने रकम भ्रमण र भत्तामा सकाउने हाम्रा वेकामे संसद र सरकारलाई ।

कुर्सी र सत्ताको लडाइँमा व्यस्त हाम्रा देशका नेतृत्वकर्ताहरु विश्वका विकसित मुलुकमा नघुमेका पनि होइनन् । वडेमानका पुलहरु हेरिसकेका ती आँखाले नेपालमा गाडीसमेत खोलाले बगाउँदा पनि देख्दैनन् ।

साच्चै बजेटको सहि सदुपयोग र पारदर्शी रुपमा खर्च गर्ने हो भने ओझेलमा परेका हाम्रा परम्परागत रूपमा निर्मित संरचना, पर्यटक लोभ्याउने तालतलैया, मठमन्दिर र ती दन्ते लहर फिँजाउदै मुस्कुराई रहेका हिमालहरुको काखमा पुग्दाको आनन्द स्वर्गभन्दा कम होला र ? तर, विडम्बना, हाम्रो देशको निति र नीतिनिर्माताहरुको सोचले गर्दा आज कयौं पर्यटकीय स्थलहरु संरक्षणको अभावमा छन् । कति संरचनाहरु पर्यटकको पर्खाइमा होलान् ? मनमा अनौठो कल्पनाहरु सल्वलाउन थाल्यो ।

हिमालको काखमा सिमला यी परेलीबाट ओझेलमा पर्दैथियो। यहाँबाट कार रिजर्भ गरेर शोघीतर्फ लाग्यौँ । कारको सिसाबाट बाहिरी दृश्य नियाल्दा उज्यालो बत्तीहरुले सिमला बजार झकमक्क परेको थियो । मनमा एक किसिमको शान्तिको आभाष भयो । भिरमाथिको अग्लो डाँडामा बसेको सिमला छुटिसक्यो । हामी भोलिपल्ट बिहानैको फ्लाइटमा दिल्ली जाने योजनामा थियौँ । केवल आँखाबाट टाढिएको सिमला मनबाट भने ओझेल परेन ।

यहाँ घुम्न आउने फेरि कहिले ? अझै भिज्न मन छ, यो प्रकृतिको वरदान सिमलामा । धित् मरुन्जेल रमाउन मन छ ।


प्रिय पाठक ! तपाईं पनि आफ्नो ‘
घुमघाम डायरी‘ नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला । हामी उचित महत्वसाथ त्यसलाई अझ बढी आकर्षक बनाएर छापौंला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button