अमेरिका आउने कुनै सपना थिएन, तर युनिभर्सको योजनामा रहेछ
पछिल्लो पाँच वर्षदेखि अमेरिकामा छिन् । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरियामा बस्छिन् । उनले थुप्रै बर्ष भारतमा बसेर काम गरिन्, करियरको एउटा चरण पार गरेपछि नयाँ के गर्ने भन्ने लाग्यो उनलाई। भन्छिन्, ‘अमेरिका आउने कुनै सपना थिएन, तर युनिभर्सको योजनामा रहेछ ।‘
‘देश विशेष’ नेपालनाम्चाको विशेष स्तम्भ हो । तपाईं जुन देशमा हुनुहुन्छ, त्यो देशलाई छाम्ने र त्यहाँबाट फेरि आफ्नै मातृभुमि सम्झने एउटा प्रिय थलो हो यो स्तम्भ । र, यो स्तम्भमा यसपटक लीना दुवाडी ।
१) तपाई कुन देशमा हुनुहुन्छ ? कति बर्षदेखि त्यहाँ हुनुहुन्छ ? र, कुन सपनाले तपाईं त्यहाँ पुग्नु भयो ?
म विगत पांच वर्षदेखि अमेरिकामा छु । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरियामा बस्छु । मैले थुप्रै बर्ष भारतमा बसेर काम गरें, आफ्नो करियरको एउटा चरण पार गरेपछि नयाँ के गर्ने भन्ने लाग्यो । अमेरिका आउने कुनै सपना थिएन, तर युनिवर्सको योजनामा रहेछ ।
२) तपाईंका सपनाहरुका हालखबर के–कस्ता छन् ?
म सानैदेखि महत्वाकांक्षी थिएँ । आफ्ना सपनाहरु डायरीमा लेख्थें । जीवनमा कुन बाटो रोज्ने भन्ने तय गरिसकेको थिएँ । आफुलाई भाग्यमानी ठान्छु, यतिका बर्षसम्म मैले आफुले तय गरेको बाटोबाट मोडिनु परेन । अहिले म सपनाको जीवन बाँचीरहेको छु । जीवनमा अगाडी बढ्ने क्रममा कति प्राथमिकता बदलिदों रहेछ, कति कुरा परिवर्तन भए, बाटाहरु परिवर्तन भए, तर मैले जीवनबाट चाहेका कुरा उही रहे जुन मैले कक्षा पांचमा हुँदा तय गरेको थिएँ । बाँचुन्जेल गर्नुपर्ने कुरा धेरै छन् । धेरै सपना पूरा भए, धेरै पूरा हुने क्रममा छन् । सारमा भन्नु पर्दा, मेरा सपनाहरु मदेखि खुशी छन् र म पनि उत्तिकै ।
३) तपाईंलाई त्यो देशको के चीजले सबभन्दा बढ्ता छोयो ?
अमेरिकाको वर्क कल्चर । यहाँ काममा जुनियर, सिनियर भन्ने भेदभाव छैन । म्यानेजर र कर्मचारीहरु साथी जस्ता हुन्छन् । जति माथिल्लो पोजिशन, त्यति विनम्र हुन्छन् मान्छेहरु । केहि काम बिग्रंदा घोचपेच गर्ने, दोष लगाउने भन्ने मैले देखिन, सुधार्नु पर्ने कुराहरु सम्मानका साथ बताइन्छ । यहाँका प्राय सबै मान्छे एक अर्कालाई निकै रेस्पेक्ट गर्छन् । मैले काम गर्दै गरेको कम्पनीको एडिटोरियल टिममा १२ जना छन् जसमा म मात्रै एशियन हो । मलाई याद छ, पहिलो आर्टिकल इमेल गर्दै गर्दा म एकदम अन्डर-कन्फीडेन्ट थिएँ । मेरो लेखन मनपर्ने हो कि होइन, अंग्रेजी आफ्नो पहिलो भाषा होइन, मेरो आर्टिकल रिजेक्ट हुने पो हो कि भन्ने डर पनि थियो । इमेलको रेस्पोन्समा मेरो एडिटरले तिम्रो स्टोरीटेल्लिंग राम्रो छ भन्दा निकै खुशी लागेको थियो । हेल्दी वर्क कल्चरमा सिक्ने र अघि बढ्ने प्रेरणा मिल्छ ।
४) त्यो देशका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मनलागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
वर्क कल्चर, देशको बलियो सिस्टम, प्रविधिको चरम सदुपयोग, समाधान केन्द्रित मानसिकता र जनसंख्याको विविधता । “नराम्रो” भन्ने शब्द आफैंमा व्यक्तिपरक छ, मलाई राम्रो लागेको कुरा तपाईंलाई नराम्रो लाग्न सक्छ र तपाइंलाई राम्रो लागेको कुरा मलाई नराम्रो । यहाँ धेरै मानिस एक्लोपनमा बाँच्छन्, बाहिरी रूपले हेर्दा जति सफल देखिए पनि मानसिक अस्वस्थताको शिकार हुन्छन्, त्यसले गर्दा कति घटनाहरु हुन्छन् । यस्ता घटना, परिस्थिति देखेर धेरै कुरा सिक्न सकिन्छ । आफुले गर्न नहुने र गर्नै पर्ने कुराहरुको महसुसता हुन्छ ।
५) बेलाबेला नेपालसँग त्यो देशलाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
मानिस स्वभावैले व्यक्ति, वस्तु र परिस्थितिलाई केहि न केहिसंग तुलना गर्छ । यहाँ आउदा शुरु शुरुमा हरेक कुरालाई नेपाल र भारतको संग तुलना गर्थें । केहि समान किन्न जाँदा डलरको भाउलाई नेपाली रुपैयासंग तुलना गर्ने, कसैले केहि गरे हाम्रो ठाउँका मान्छे त यस्ता हुँदैनन् भनेर तुलना गरिहाल्ने बानी थियो । अहिले पनि कति कुरामा त्यो सोच आइहाल्छ । तर प्राय बिस्तारै आफुलाई कुनै पनि विषय र व्यक्तिबारे अनुमान र तुलना नगर्न सिकाइरहेको छु । हरेक ठाउंको आ आफ्नै प्रकृति र विशेषता छ, ठाउं अनुसार चल्नै पर्छ, अनुमान र तुलना व्यर्थ हो जस्तो लाग्छ ।
६) नेपाल हुँदा र त्यता गइसकेपछि नेपाल र बाँकी विश्वलाई बुझ्ने तपाईंका आँखामा के फरक आएको छ ? वा छैन ?
एकदम धेरै फ़रक । फरक समय र फरक ठाउँले हामीलाई धेरै कुरा सिकाउँछ । जीवनलाई सिक्ने र बाँच्ने क्रममा सोचको दायरा फराकिलो हुँदै जान्छ । एउटा घरको अगाडी उभिएर त्यसलाई हेर्नु र त्यो भन्दा अग्लो घरको छतबाट त्यो घरलाई हेर्ने अनुभव पक्कै पनि भिन्न हुन्छ । नेपालमा हुँदा आफ्नो देश यस्तो उस्तो भन्ने गरिन्थ्यो, देशमा नभएका सुविधा र देशले गर्न नसकेका कुरालाई लिएर कम्प्लेन गरिन्थ्यो । हाम्रो देश प्रकृति र संस्कृतिमा कति धनि छ भन्ने कुरालाई खास्सै कदर गरिएन । अहिले हाम्रो भाषा, संस्कृति, गीत संगीत कति रीच छ भनेर गर्व लाग्छ । टाढा भएको कुराको मूल्य बढी लाग्ने रहेछ । कसैसंग नेपालको कुरा गर्दा माउन्ट एवरेस्ट, गौतम बुद्ध भन्न पाउँदा खुशी लाग्छ । विश्वलाई बुझ्ने क्रममा पनि तीन देशमा बसेर बिताएको जीवन हेर्दा- यो विश्व एक देश हो र सबै देश एक-एक शहर जस्तो लाग्छ । विभिन्न जात, धर्म, संस्कृति, लाइफस्टाइल मिलेर बनेको यो विश्व कति सुन्दर छ । यी सबै विविधताबाट माथि हामी सबै मानव एक हौँ । यो संसारलाई तेस्रो आँखाबाट हेर्दा जीवनको स्वाद अझ मिठो लाग्ने रहेछ ।
७) अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
तपाईंको प्रश्न जति बुझें, त्यो अनुसारको विचार राख्छु- समय अनुसार नयाँ कुराको अनुभव गर्न चाहनु र जीवनलाई अपग्रेड गर्दै लैजानु हामी मानिसको प्राकृतिक स्वभाव हो । यसमा यो सहि यो गलत भन्ने छैन । अहिले प्रविधिको विकाससंगै सामाजिक संजालले हाम्रो जीवनलाई पुरै नियन्त्रण गरेको छ । विदेशमा बसेका नेपालीको सतही जीवन देखेर आफुलाई कम सम्झिने र त्यस्तै जीवन बिताउने आसमा थुप्रै लाई जसरी भए पनि नेपालबाट बाहिर बस्न पाए हुन्थ्यो जस्तो हुन्छ । हरेक व्यक्तिलाई आफ्नो लागि सहि निर्णय गर्ने अधिकार छ । तर त्यो निर्णय इन्टरनेटमा अरुको जीवन देखेर प्रभावित भएर गर्नु सहि होइन । जीवनको बाटो हरेक देशमा चुनौतीपूर्ण छ, जहाँ बसे पनि मेहनतले हो हामी अगाडी बढ्ने ।
८) तपाईंको जीवन कसरी चलिरहेको छ ? विदेशमा रहँदाका जीवनका उकालीओराली सम्झनुस्न् ।
आफुले रोजेको पेशा, लक्ष्यअनुसारको आध्यात्मिक जीवन, सबैबाट प्राप्त हुने शुद्ध प्रेम र सदभाव … जीवन एकदमै सुन्दर चलिरहेको छ । हफ्ताका सातै दिन व्यस्ततामा बित्छ । नयाँ के गर्ने भन्ने हुटहुटि भैरहन्छ । उकाली ओराली भन्नु पर्दा- गर्नुपर्ने काम कहिल्यै सकिंदैन । रेगुलर जागिरबाहेक हरेक दिन कम से कम १० ओटा काम ‘टू डु लिस्ट’ मा हुन्छ । यो देश ठुलो छ, जति धेरै अवसर उति धेरै चुनौती । कहिले काहीं एकदम प्रेसर हुन्छ । जीवनमा धेरै महत्वाकांक्षा र सपना पाल्न सजिलो छैन । तर यसो भन्दै गर्दा आफुले आफुलाई याद दिलाउंछु- यस्तो जीवन मैले आफैं रोजेको हो । लक्ष्य प्राप्तिको आस भन्दा पनि यो यात्रा निकै सुन्दर छ ।
९) विदेशमा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
साँच्चै भन्नु पर्दा कोभिडको बेलादेखि मैले कुनै पनि प्रकारको समाचार फलो गरेको छैन । करियरको थुप्रै समय समाचारमै काम गरें, सामाजिक, राजनीतिक समाचार पस्किंदा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको ख्याल गरिन । त्यो यौटा समय थियो जसबाट धेरै सिकें र अहिले समय फरक छ। इन्फर्मेशन (सूचना) भन्दा इन्स्पिरेशन (प्रेरणा) पस्किंदाको आनन्द छुट्टै छ । सिधै समाचार नहेरे पनि साथीहरुले सामाजिक संजालमा गरेको अपडेटबाट प्राय कुरा थाहा हुन्छ । हाम्रो देश सुस्त रुपमै भए पनि विकास हुँदैछ । १० बर्ष अगाडीको नेपाल र अहिलेको नेपालमा पक्कै पनि अपेक्षित फरक छ । इन्टरनेटको आधुनिकतासंगै नेपालीहरुमा धेरै कुराको जागरूकता आएको छ । सरकार र सिस्टमको भर नपरी थुप्रै नेपालीहरुले धेरै राम्रा-राम्रा काम गर्नु भएको छ । राजनीतिक समाचारको कुरा गर्दा, १० बर्ष अगाडी मैले रेडियोमा पढ्ने गरेको नेपाली राजनीतिको समाचार र अहिलेको समाचारमा केहि फरक छैन, हाहा । कहिल्यै अन्त नहुने राजनीतिक अस्थिरता हेर्दै मैले यहाँ बसेर यो यस्तो त्यो उस्तो भनेर त्यसले कसैलाई केहि फरक पार्दैन । म एक सामान्य नागरिक हो, म आफुले आफुलाई सुधार्न सक्छु, बांकी मैले कसैलाई गाली गरेर, दोष लगाएर नेपालमा राम्रो परिवर्तन आउने भन्ने होइन ।
१०) विदेशमा गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईं नेपाललाई कत्तिको मीस गर्नु हुन्छ ? र, सबभन्दा बढी के सम्झनु हुन्छ ?
यहाँ बसेर हेर्दा देशको अझ धेरै माया लाग्छ । देशमा भएका सबै राम्रा कुरा देखेर गर्व लाग्छ । हाम्रो भाषा, संस्कृति, प्रकृति कति सुन्दर छ । आफ्नो ठाउँ र आफ्ना मान्छेहरुको सम्झना त संधैं हुन्छ । कहिले काहीं पुराना नेपाली गीतहरु याद आउँछ र थुप्रै बेर सुनिरहन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)