न्युयोर्कबाट धनुकटाको हिले डाँडा सम्झँदा
सम्झनामा हिले डाँडा
ससाङ लामा
न्युयोर्क
१९६५ मा तमोर खोलामा आएको बाढीले आधा ओलाङचुङ नै बगाएर लग्यो | हाम्रो घर पनि लग्यो बाढीले | यातायातको असुविधा र जनजीवन कष्टकर हुँदै गएपछि एक एक गरेर सबै बसाइँ सर्न लागे | सर्वप्रथमत सबैले ताप्लेजुङ्गलाई आधार शिविर बनाए | अनि त्यहाँबाट कोही दार्जिलिङ, कोही काठमाडौ र एकाध घर धनकुट्टाको हिले डाँडा बसाइँ सरेर गए |
मामाली घर काठमाडौमा भएको हुँदा हाम्रो परिवार काठमाडौ हान्नियौँ | २५, २६ सालतिरको कुरो हो | म सानै थिएँ | दिवंगत कुश्यो उक्याव दाइले, थुक्तेन दाई र मलाई पध्मोदय हाइस्कुलमा भर्ना गरिदिनु भएको थियो | एकाध बर्ष काठमाडौमा बसेपछि हामी धनकुट्टाको हिलेडांडामा बसाइँ सर्यौँ | शुरुमा हामी हिलेको सिरान मानिने पाख्रिबासतिर ओर्हालो झर्ने मोडमै बस्थ्यौँ | रहंदा बस्दा पिताजीले कुथुमेको जग्गा छेउ राप्रपेली नेता रामकाजीको दाई टेक बहादुर कार्कीको जग्गा किन्नुभयो |
त्यतिबेला मुलबाटोसित जोडिएको अगाडिको भाग जग्गा मात्र नापेर किन्ने चलन थियो, त्यो पनि हातले नापेर | हातले नाप्न म अगाडि सरेको थिएँ | मेरो हात छोटो छ भनेर हाम्रै एकजना आफन्तले मलाई पछाडि ताने | बाटोदेखी पछाडि जतिसुकै जग्गा होस, मतलब गर्दैन थे | हातको ५० मोरु तिरेर पिताजीले करीब दुई रोपनी जग्गा जोडनु भएको थियो | २०-२५ हात थियो होला |
जग्गा बेचेको लगतै जग्गाधनीले किचलो गर्यो | उक्त हिलेडाँडामा सबैले मान्ने गोम्बा कान्छाको रोहबरमा मिलापत्र भयो | मिलापत्र मात्र नभएर, स्थानीयहरुले पिताजी र झगडीयाबिच मित नै लगाइदिए | झगडा पछीको मितेरी साइनोलाई ‘भालु मित’ भन्दा रान ! गोम्बाकान्छा र टेक बहादुरको पहिले देखी मितेरी साईनो थियो | मितको मित, अटोमेटिक मित हुंदो रहेछ | दिवंगत मितबुवा गोम्बा कान्छाले जिन्दगी जिउने मेलोमा हामीलाई संधै सहयोगी हात जुटाउनु भएको थियो |
फोटोमा भएको देव्रेपट्टिको जस्ताको घर, हाम्रो पुरानो घर थियो | पछि त्यसलाई भत्काएर पक्की घर बनाउनु भएको थियो पिताजीले | एकजना ब्रिटिश लाहुरेले हाम्रो घर किनेकोसम्म थाहा छ | त्यसपछी त्यो पक्की घर पनि भत्काएर अहिले त हिलेडाँडा नचिन्ने भाको छ |
पहिले पहिले त हिले डाँडामा मानिसहरु दिउँसो हिँडनु पनि डराउंथे रे ! नडराओस पनि किन ? त्यो त नागी डाँडा थियो | ओलाङचुङ गोलाबाट त्यहाँ पहिलो बसाइँ सर्ने लामा दोर्जेको पाला, पो छेतेनलाको परिवार थियो | दोस्रो परिवार चाँहीँ हिले टाशीको पाला, च्यो दावाको परिवार थियो |
कालान्तरमा हिले डाँडा, हिले बजारमा परिणत भयो | तेह्र्थुम र भोजपुरलाई जोडने संगमको रुपमा रहेको हिले बजारमा एकताका ब्यापार खुबै फष्टाएको थियो | धनकुट्टा बजारको ब्यापार, झन्डै झन्डै सुकाउनै लागेको थियो | केही धनकुट्टेली उत्पाते ब्यापारीहरुले, हिलेमा त मान्छे मार्छ, प्रतेक घरको पछाडि खाल्डो खनेको हुन्छ, भनेर अवफाह फैलाई दिएछन | हिलेमा बास बस्नेहरु यसो भन्दै सुत्थे रे : ‘भोली उज्यालो हेर्न पाइने हो कि होइन ‘ ?
किन हो, हिले सेरोफेरोकाले ओलाङचुङेहरुलाई चिनियाँ भन्छन भनेको पनि सुनेँ | “कम्ता बाठा त रहेन रहेछ यि चिनियाँहरु ! ब्यापार हुन्जेल यहाँँ बसे, ब्यापारमा मन्दी आएपछि आफ्नो बाटो लागे भोटेहरु” ! हाम्रा पिताजी र आफन्तहरुले हिले बजारमा कपडा दोकान र किराना पसल मात्र नचलाएर समानान्तर बैंक नै सञ्चालन गरेका थिए | धितो राखी पैसा लाने प्रचलन खुबै थियो | राष्ट्रिय बाणिज्य बैँक थियो हिलेमा | ब्याज पनि सस्तो, तर कागजी प्रकृयाको झण्झटले गर्दा गाम्बेशीका मानिसहरु स्थानिय साहुकहाँ नै जान्थे | जागटी राखेको माल, लगेको पैसो, गाउँ, ब्यक्तिको नाम, मिती र ब्याज दर, सिगरेटको बट्टाको खोलमा लेखेर दुइप्रति बनाइन्थ्यो | काम फत्ते हुन्थ्यो |
तथाकथित चिनियाँहरु बाठा भएर हिलेमा बस्न आएका होइनन | लेकमा बस्ने बासिन्दालाई लेकाली परिबेश नै मनपर्ने हुनाले हिलेमा बसेका थिए | पछि आएर त्यस्तो ब्यस्त बजार बन्ला भनेर कसले सोचेको थियो होला र ? अग्रगामी सोच राख्ने समुदाय चैँ हो ओलाङ्चुङ्गेहरु ! ओलाङचुङ गोलादेखी बसाइँ सर्दै सर्दै अहिले अमेरिकासम्म पुगेको छ त्यो समुदाय ! पहिले जस्तो हुनेखाने र हुँदाखाने भन्ने छैन अब ओलाङचुङे माझ, बहुसंख्यक हुनेखाने भैसकेका छन |न्युयोर्कमै आफ्नो सामुदायिक भवन् किन्न सफल भएका छन | आर्थिक रुपले सफल भएजस्तै चिन्तनमा पनि फडको हान्नु आवश्यक ठान्छु म ! सानो समुदाय, ठुलो मुस्कान ! कस्तो सुखद क्षण !!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
छोटो तथापि बेजोड छ । स्थानीय, आंचलिक र रैथाने भाषाहरुको प्रयोगले मिठास थपेको छ ।
‘भालु मित’, भन्दा रान, मेरो हात छोटो छ भनेर हाम्रै एकजना आफन्तले मलाई पछाडि ताने आदि इत्यादि यसका उदाहरण हुन ।