किन उनलाई आफ्नो निर्णयप्रति पश्चाताप भयो ?

पश्चात्ताप

केट सोपिन
अनुवाद: दिव्या दाहाल

म्याम्जेल अरली एक असल, इमानदारी र साहसी महिला थिइन् । बाहिरी दुनियासँग कुनै पनि सम्बन्ध राख्न नरुचाउने उनी दिनहुँ जसो आफ्नो खेती र फ़ार्ममा व्यस्त रहन्थिइन् । हरबखत मिहिनेत गर्ने उनका पाखुराहरु दरिला थिए । उनी अक्सर काउ ब्वाइले लगाउने निकै ठूलो र अनौठो किसिमको ह्याट लाएर आफ्नै गोठमा काम गरिरहेको अवस्थामा भेटिन्थिन् ।

रातो रंगको उनको कपालमा कहीँ कतै उमेरले पकाउँदै गरेका सेता केस्राहरु देखिने गर्थे । उनी आफ्नो सानो कटेजमा एक्लै बस्ने गर्थिन् । साथीको नाउमा उनीसँग उनको प्यारो कुकुर पन्टो मात्र थियो । अलि पर उनले राखेका खेतालाहरु बस्ने गर्थे । म्याम्जेल आफैले रोजेको यो सानो दुनियाँमा खुसी थिइन् । उनले विवाहका बारे सोच्ने फुर्सद पनि पाइनन् र उनलाई त्यो पाउनु पनि थिएन । एक्लोपनमै उनले आँफ्नो सुख महसुस गरिन् । उनले काम र कर्तव्यसँग प्रेम गरिन्, तिनैप्रति समर्पित रहिन् । जनावरहरुको हेरचाह र खेतबारीको गोडमेल नै उनको जीवन बन्न पुग्यो ।

उनलाई त्यही जीवन प्यारो लाग्थ्यो, त्यसैमा उनले अपनत्व भेटाइन् ।

एकदिनको कुरा हो, म्याम्जेलकै छिमेककी एक महिला आफ्ना सन्तानहरु डोर्याउँदै उनको घर आइपुगिन् । ती महिला अत्यन्तै आत्तिएकी थिइन्, हतासीएकी थिइन् । उनका आँखाहरु रसिला थिए । हडबडाउँदै कतै टाढा हिँड्न लागेजस्ती देखिएकी उनलाई आँफ्नी बिरामी आमाकँहा जानु थियो र उनका स्रिमान पनि घरमा थिएनन् । चार स(साना बच्चाहरु बोकेर लामो यात्रा गर्ने साहस उनले गर्न सकिनन् । त्यसैले, म्याम्जेललाई केही दिनका लागि उनले आफ्ना चार बालिकाहरु, मार्कलिन्, मार्कलट, लोडि र नोमिको रेखदेख गरिदिन आग्रह गरिन् । विनम्रताका साथ ।

म्याम्जेल एक्ली रहीनन् । ती महिलाको अवस्था देखेर उनले बच्चाहरु सहज रुपमा स्वीकार गरिन् । तर उनका लागि यो कार्य विलकुलै नौलो थियो । एक्लै बाँच्न रुचाउने उनले आफ्नोबाहेक अरुको खयाल राख्न जानेकी थिइनन् । धुलाम्मे आँगनमा लडीबुडी गर्दै गरेका बच्चाहरु देखेर उनले सुस्केरा हालिन् । म्याम्जेलको जीवनले नयाँ अध्याय सुरु गरिसकेको थियो । सबैभन्दा पहिला उनले ती बच्चाहरुलाई खुवाइ पियाइ गरिदिइन् ।

अघाएका बच्चाहरु पुन एक अर्काको बुइ चढ्दै खेल्न लागे । केही दिनसम्म उनलाई निकै गार्हो भयो । बच्चाहरुको कोलाहलले अझ बढी टाउको दुखायो । म्यामजेल केटीकेटीहरुको बानी व्यवहार र मनोविज्ञानदेखि अनविज्ञ थिइन् ।

मार्कलेट कोहि ठूलो आवाजमा बोल्नासाथ आत्तिएर रुन र चिच्याउन लाग्थिन् । नोमिलाई फुलहरु असाध्यै मन पर्थ्यो । म्याम्जेलले मलजल गरेर हुर्काएका फुलहरु उनले केही दिनमै नष्ट गरिदिइन् । म्याम्जेलका निमित्त हरेक दिन असह्य बन्दै गइरहेको थियो । उनीहरुलाई बारम्बार सफा र सुकिला पारेर राख्नु, खुवाउनु र खेलाउनु गर्दा गर्दै उनी असाध्यै थकित हुने गर्थिन् । बेलुकीपख सबैलाई वरिपरि राखी कथा वाचन गर्दै सुताउनु पनि उनका लागी सहज थिएन । यिनीहरुको स्याहार गर्न भन्दा त दोब्बर खेती गर्न सहज हुने थियो भन्दै उनी आफ्नी साथी रुवीलाई सुनाउने गर्थिन् । रुवीले उनलाई धेरै कुराहरु सिकाइदिइन् । त्यसपछि भने म्याम्जेलका दिनहरु केहि सहज बन्दै गए । बच्चाहरुसँगै रमाउने र खेल्ने बानी बस्दै गयो उनमा । जीवनको त्यो कालखण्डसम्म एक्लो यात्रा गरिरहेकी उनी अलि बढि नै घुलमिल हुन लागिन् । बच्चाहरुकै कारणले उनले धेरै लामो समयपश्चात आफ्नो बारेमा सोच्न लागिन् । अक्सर लोग्नेमानिसको भेषमा काम गरिरहेकी भेटिने उनी महिलाहरुको पहिरन लगाउने भइन् ।

बच्चाहरुकै हेरचाह गर्ने क्रममा उनी कुटो र कोदालोसँगै सियो र धागो खेलाउने बन्न पुगिन् । कहिल्यै आमा नबनेकी म्याम्जेलको मनमा पनि सायद मातृत्वले जन्म लियो । उनको काखमा हरबखत चार बालिकाहरुमध्ये कोहि न कोहि खेलिरहेको हुन्थ्यो । म्याम्जेललाई यो जीवन प्रिय लाग्दै गयो । थाहा नपाएरै उनको हृदयले असिम आनन्द महसुस गरिरहेको थियो ।

बच्चाहरुसँग समय बिताएको लगभग दुइ हप्ता बितिसकेको थियो । एक साँझ म्याम्जेलको घरअघि एउटा गाडी आएर रोकियो । गाडीबाट तिनै महिला ओर्लिइन् जसले केही दिनअघि आफ्ना बच्चाहरुलाई म्याम्जेलकहाँ छोडेर गएकी थिइन् । म्याम्जेल अचानक आत्तिइन् । बच्चाहरु को कहाँ थिए, उनलाई केहि ख़बर थिएन । उनी जुरुक्क उठिन्, बच्चाहरुलाई खोजेर ल्याइन् र उनीहरुकी आमालाई सुम्पिदिइन् ।

केही बेरपछि म्याम्जेल झस्किइन् । उनको घर सुनसान थियो । बच्चाहरुले छरपस्ट पारेका सामानहरु अचल भएर लडिरहेका थिए । आँगन रित्तो थियो । उनी अचानक आत्तिइन् । केही समय अघिसम्म हराभरा उनको मनमा डढेलो लागे सरह भयो । उनी दौडिदैँ भित्र छिरिन् र भक्कानिदैँ रुन लागिन् । सायदै उनले कहिल्यै यति कमजोर महसुस गरेकि थिइन् आफुलाई । म्याम्जेलको दुनियाँ रंगहिन भइसकेको थियो ।

जीवनमै पहिलो पटक उनलाई आफुले धेरै वर्षअघि लिएको निर्णयप्रति पश्चाताप भयो । सायद ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button