
‘ममी ! हजुरको केटासाथी छैन ?’

कथाः केटासाथी
तारा केसी
पनौती, काभ्रे
म मर्निङ वाकमा थिएँ । पाँच-छ पटक देखभेट भएपछि उनले भने, ‘हाई !’
‘हाई !’, प्रत्तिउत्तरमा मैले पनि भनेँ ।
उकालो काटेर त्यतिखेर हामी समथल बाटोमा हिड्दै थियौं । हरियाली वातावरणमा सुन्दर पार्क हामीमाझ मुस्कुराइरहेको थियो । थुप्रै मानिस पार्कमा बसेर बिहानीको आनन्द लिइरहेका थिए । त्यही हुलमा हामी पनि मिसिन पुग्यौं । त्यो दिन हामीले आ–आफ्नो परिचय गरेर छुट्टियौं । उनी कलेजका प्राफेसर रहेछन् ।
भोलिपल्ट मर्निङ वाकमा त्यही पार्कमा उनीसँग धेरैबेर कुराकानी भयो । उनले प्रस्ताव राखे, ‘शोभिता जी ! आज एक–एक कप चिया पिएर जाँऊ । हुन्न ?’
मैले सहमति जनाएपछि हामी पार्क नजिकैका चिया पसलमा गयौँ र एकछिन गफियौँ । टेबुलमा बाफ उड्दै गरेको दुई कप चिया आइपुग्यो ।
‘मलाई यसरी फुटपाथको चिया पसलमा बसेर काँचको गिलासभरि चिया पिउन मन पर्छ’, मैले आफ्नो रुचि बताएपछि उनले हाँस्दै भने, ‘म पनि हो शोभिता जी, प्राय म यहाँ चिया पिउन आउँछु फुर्सद मिल्दा ।’
‘एक्लै आउनुहुन्छ ? म्याडम नि ?’, मैले उनको व्यक्तिगत जीवन जान्ने अभिलाषा राखेर सोधेकी थिएँ ।
उनी मेरो प्रश्नले अलि भावुक भए । व्यर्थ सोधेछु जस्तो लाग्यो ।
‘सरी ! मैले सोध्न नहुने थियो कि ?’
‘होइन, होइन शोभिता जी, उनी यो संसारमा छैनन् । एउटी छोरी छिन् ज्वाँइसँग अमेरिकामा ।’
खाटा बसिसकेको घाउ फेरि किन कोट्याउनु भनेर त्यसपछि मैले उनको बारेमा केहि सोधिनँ कहिले पनि । त्यो दिन हामी चिया पिएर छुट्टियौँ ।
हाम्रो दिनुहुँ भेट हुन्थ्यो मर्निङ वाकमा । त्यो पार्कमा बसेर चिया पिउँदै हामीले धेरै चोटी काठमाडौं उपत्यकालाई नियालिसकेका थियौँ । जीवनका आधा कथा सुन्न र भन्न भ्याइसकेका थियौँ । जीवनको यो मोडमा समयले हामीलाई बेष्टफ्रेण्डको रूपमा भेटाइदिएको थियो ।
बिहान हेर्दा मोवाइलमा म्यासेज आएको रहेछ । फागुन महिनाको बीस गते छोरा बुहारीले अमेरिकाबाट लेखेका रहेछन्, ‘ह्याप्पी बर्थ डे ममी ।’
दुवैजनालाई अंगालोमा बाँधेर थ्याङ्क्यु भन्न चाहन्थेँ तर उनीहरू सात समुन्द्र पारी । म एक्लो नेपालमा । उनीहरूलाई सम्झेर आँखा रसाए । म्यासेन्जरमा हेरेँ, छ घण्टा अघिदेखि उनीहरू अफलाइन थिए । यो निरस जिन्दगी देखेर आफैसँग विरक्त लागेर आयो । तन र मन दुवै भारी हुँदाहुँदै उठेर फ्रेस भएँ । सहयोगी बहिनीले चिया राखिदिइन् टेबुलमा । भान्सा कोठाबाट मिठो वास्ना आइरहेको थियो ।
घर नजिकैको काँइयो फुलको बोटबाट रानी चराका बच्चाहरू भुर्रर उडेर गए । हेर्दाहेर्दै अकाशिँदै उडान भरे । शिवपुरी डाँडा माथिमाथि हुँदै बिलाए । बिहान सबेरै उज्यालोको सुचक बनेर चिर्रबिराउँथे । निद्रा खुल्थ्यो । अब ती फेरि फर्केर आउलान् त ? मन खिन्न भयो । घरको गेटमा निलो कार आएर रोकियो । आज प्रोफेसरलाई खाना खान बोलाएको थिएँ । उनी समयमै आइपुगेछन् । सहयोगी बहिनीले खाना तयार गरेर भनिन्, ‘म्याडम ! खाना तयार भयो ।’
‘यति मिठोे खाना पन्ध्र बर्षपछि खाएँँ । मलाई गुन्द्रुकको अचार असाध्यै मन पर्छ। उनले घरमा प्राय बनाउँथिन् मेरो लागि । पारिवारिक झल्को मेटिनेगरी खाना खाने अवसर दिनुु भयो शाभिता जी’, उनले हृदयदेखि धन्यवाद दिँदै त्यसदिन हाम्रो घरको खानालाई खुलेरै तारिफ गरेका थिए ।
सन् २०१९ डिसेम्बरको अन्तिम महिना । विश्वभर कोभिडले आतंक मच्चाउँदै थियो । नेपालमा पनि यसको असरहरू देखिन थाल्यो । घरबाट बाहिर न निस्कने आदेश जारी गर्दै सरकारले अनिश्चित समयको लागि लकडाउन गर्यो । सबै आ–आफ्ना घर फर्किए । काठमाडौ शून्य भयो । घरभित्रको बन्दी जीवन बडो असहज लाग्दै गयो ।
एक दिन बेलुका अचानक रूघा खोकी लाग्न थाल्यो । जिउ गलेर आउनु, खान मन नलाग्नु, खाएको खानाको स्वाद थाहा नपाउने हुन थालेपछि कोभिडको शंका लाग्न थाल्यो । पिसिआर टेष्ट गरेर फर्केपछि बेलुका मोवाइलमा म्यासेज आयो, ‘पोजेटिभ !’
सहयोगी बहिनीलाई आफूलाई कोभिड भएको जानकारी दिदै भने, ‘अब तिमी नआउनु ।’
‘यस्तो अवस्थामा एक्लै कसरी छोडुँ <‘
‘मरे मरूँला, मर्ने जावो जिन्दगी त हो ?’
उसले आपतमा साथ दिई ।
बेलुकाबाट ज्वरो बढ्न थाल्यो ।
‘यस्तो अवस्थामा पनि मैले साथ दिन सकिन । सँगै हुन सकिन’, छोरा अमेरिकाबाट फोनमा रून्थ्यो । उसलाई ढाडस दिन खोज्थेँ तर म आफैसित टुटिसकेको थिएँ । पल पल मृत्युले तर्साइरहन्थ्यो ।
समय बित्दै गयो । मृत्युसित घम्साघम्सी खेलेर केहि दिन हस्पिटलको बसाईपछि घर फर्किएँ । यो अवधिमा प्रोफेसरले ठुलो सहयोगको भुमिका निभाए । आत्मवल बढाउने काम गरिरहे । मेरो आफ्नो भन्नू यो जटिल अवस्थामा प्रोफेसरबाहेक अरू थिएन । मृत्युलाई नजिकबाट महसुस गरे कि मैले उनकै सहयोग र साथले पुनजीवन पाएको थिएँ ।
म आफैभित्र हराउँदै थिए । ढोका खोलेको आवाजले झस्याङ्ग भए । ढोकामा उनै प्रोफेसर उभिएका थिए । उनको हातमा ताजा फूलका बुके थियो । उनले मलाई हेर्दै भने, ‘शिघ्र स्वास्थलाभको कामना शोभिता जी !’
मेरो आँखाको डिलबाट बेढंगले बगेछन् आँसुहरू । मैले पत्तो पाइनँ ।
‘कम्जोर नबनाउनुस् आफूलाई । मैले समय काट्न भनेर केही राम्रा किताबहरू ल्याइदिएको छु । पढ्नु होला ।केही फलफूलहरू छन् खानुहोला’ भन्दै सहयोगी बहिनीलाई झोला दिएर उनी हिँडे ।
झ्यालबाट देखेँ, मेरो गेटबाट निस्केर निलो कार गल्लीभित्र हरायो ।
बिस्तारै ठिक हुँदै थिएँ । एकदिन छोराले फोनमा भन्यो, ‘ममी ! हजुरको चिन्ता लागिरहन्छ । हामी यता छौँ । न हामी नेपाल आएर बस्न सक्छौं ? न हजुर अमेरिका आएर बस्न सक्नुहुन्छ ? यो कस्तो अवस्था सिर्जना भयो ममु ?’
हामी आमा-छोरा काँचको पर्दाबाहिर भित्रबाट खुब रोयौं । निकैबेरपछि आफुलाई समाल्दै भनेँ, ‘नेपाल फर्केर बस्ने वातावरण छैन । काम छैन । मेरो त जीवन यसैउसै बित्नेछ अब । तिमीले सन्तानको बारेमा सोच्नुपर्छ बाबु । मलाई सम्झेर रून छोडिदेऊ ।’
छोरा बोल्न सकिरहेको थिएन । बुहारीले भनी, ‘ममी ! हजुरको केटासाथी छैन ?’
त्यहि बेला टेबुलमा राखेको मोवाइलमा म्यासेज आयो, ‘शोभिता जी ! म भोलि आउने छु । तपाईंसँग केही महत्त्वपूर्ण कुरा गर्नु छ ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)