परोपकारः नानी दानको पुण्य अवर्णनीय

आँखा दान महादान

प्रा. डा. वीणा पौडयाल

आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने कामलाई दान भनेर परिभाषित गरिएको छ । धेरै जस्तो धार्मिक भावनाले दान गर्दा असहाय, असक्त गरीवगुरुवालाई अन्न, वस्त्र र जमीन दिने कार्य गरिन्छ । सनातन धर्म अनुसार दशथरीका मुख्य दान छन् । गाई, जमीन तिल, सुन, घिउ, कपडा, धान (अन्न), गुड, चादी र नून त्यसमा पर्दछन् ।

गो भू तिल हिरण्या ज्यवसि धान्य गुडानि च
रौप्यं लवणमित्यातद्दश दानानि पण्डिताः ।

यसरी अन्न, वस्त्र, जग्गा र वहुमूल्य धातुहरु नै दानको लागि उपयुत्त हुने कुरा धार्मिक ग्रन्थहरुमा र गरुड पुराणमा उल्लेख गरिएको छ ।

वेद र पुराणहरुमा वर्णित विभिन्न कथाहरुको आधारमा भने देवता दानव र ऋषि मुनिहरुले आफ्नो शरीरको हाड, मासु र शरीरसङ्ग जोडिएको कवज, कुण्डल, पनि दान गरेको वर्णन छ । दानवीर महादानी भनेर कुन्ती र सूर्यका छोरा वसुषेण (कर्ण) माधवी र उशिनरका छोरा दधीचि, राजा त्रिशंकुका छोरा हरिश्चन्द्र आदिको नाम अग्रपक्तिमा पर्दछ ।

यी महानमानवहरुले भौतिक सम्पतिसँगै आफनो शरीर पनि दान गरेर अमर भए । वौद्ध ग्रन्थ व्याघ्र जातकमा पनि बोधिसत्वले धेरै दिनदेखि भोकाएकी सुत्केरी बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएको उल्लेख छ ।

वेद अनुसार मन्त्रद्रष्टा महिला ऋषि घोषाको चर्मरोग अश्विनीकुमारले निको तुल्याए । अश्विनीकुमारले विश्पालाको एउटा खुट्टा नभएकोले फलामको खुट्टा हालेर हिँड्न सजिलो बनाएका थिए ।

यसबाट के देखिन्छ भने देवताका वैद्य अश्विनीकुमारले फलामको खुट्टा हालेर अपूग अङ्गको पूर्ति गर्ने कला जाने पनि अङ्ग प्रत्यारोपण गर्ने विज्ञानको विकास भैसकेको थिएन कि ? त्यसैले हाम्रा प्राचिन ग्रन्थहरुमा दानको रुपमा अङ्ग दान गर्ने प्रत्यारोपण गर्ने विधाको वर्णन छैन । शरिरको अङ्ग नै दान दिने महान कार्यको उल्लेख छैन । त्यसैले होला सम्पूर्ण शरीर वा मासु काटेर वलिदान गर्ने दानीहरुले समेत मृत्युपछि आफ्ना अंगहरु दान गर्नेे कार्यलाई पहल गरेका छैन्न । वैदिक युग र पौराणिक समयमा अङ्ग प्रत्यारोपण गर्ने विज्ञानको प्रविधि विकास नभएकै कारणले गर्दा आँखा, फोक्सो, वोन म्यारो, मृगौला आदिको दान र प्रत्यारोपणको प्रसंग उठेको छैन । तर सम्पूर्ण प्राणीको हितको लागि देहको दान गर्नु पर्ने प्रसंग भने ठाउँठाउँमा भेटिन्छ ।

धार्मिक ग्रन्थहरुमा आपत विपत परेको बेला विशेष परिस्थिमा अंग प्रत्यारोपण गरेको उल्लेख भने पाइन्छ । महादेवले आफ्नो छोरा गणेशको शिर छिनाएपछि हात्तिको टाउको जोडेको, त्यस्तै दक्षप्रजापतिको शिर काटिएपछि बोकाको टाउको जोडेको विवरण धार्मिक ग्रन्थहरुमा छ ।

नेत्रदान

शरीरको विभिन्न अंगहरुको दान आ-आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भए पनि आँखा दानको उल्लेख गर्दा त्यसलाई महादान भन्नै पर्दछ । विभिन्न कारणले दृष्टि गुमाएका व्यक्तिहरुलाई एउटा सचेत नागरिकले देख्न सक्ने बनाउन सक्छ । बाँचुञ्जेल हेरेको आँखाले आफ्नो मृत्युपछि अरु दुइ जनालाई दृष्टि प्रदान गर्न सकिन्छ । पहिलोपल्ट सुन्दा त यसमा सहजै विश्वास हुँदैन तर यो साँचो कुरा हो । एक कौडी पनि खर्च नगरी, कष्ट नगरी लाखौं गाई दान गरे सरह पुण्य प्राप्त गर्न सकिन्छ । आँखा दान गर्दा कष्ट हुन्छ र अनुहार पनि कुरुप देखिन्छ भन्ने गलत धारण धेरैको छ, जुन असत्य हो ।

नेत्रदान अर्थात आँखाको नानी दान भनेको कुनै पनि व्यक्तिको शरीरबाट प्राण गैसकेपछि (डाक्टरले मृत घोषित गरिसकेको केहि घण्टाभित्र) विशेषज्ञ टोलीले आँखाको करोनिया झिक्ने प्रक्रिया हो । त्यसैले मृत व्यक्तिलाई यस कार्यबाट कुनै कष्ट हुँदैन ।

आँखाको कोरोनिया (नानी) झिकेपछि आँखा रहने स्थान खाली, कुरुप देखिन्छ कि जस्तो लाग्दछ तर त्यसो हैन । आँखाको नानी झिक्ने विशेषज्ञको टोलीले वैज्ञानिक औजारको मद्दतले नानी झिकेर औषधिमा राख्ने र आँखा बैंकमा राख्ने काम गर्दछन् । नानी झिकेपछि मृतकको दुवै आँखाको ढकनी बन्द गरिदिने भएकोले नराम्रो वा डरलाग्दो देखिदैन ।

विना आँखाको शरिरको अन्तिम क्रिया गरेपछि पुनर्जन्ममा आँखाविहिन भएर जन्मने भ्रम छ तर हाम्रा धार्मिक ग्रन्थहरुमा कुनै वस्तु दान गरेमा त्यसको पुण्य दोव्वर हुने विश्वास पाइन्छ । त्यसैले निश्चिन्त र निर्धक भएर नेत्र दान अर्थात आँखाको नानी दान गरौं । यस जन्ममा आँखा दान गर्दा, अर्को जन्ममा तेजिलो आँखा सहजै प्राप्त गर्न सक्तछौं । त्यसैले नानी दानबारे धेरैको गलत धारणको निवारण गर्नु अति नै आवश्यक छ ।

मृत व्यक्तिको शरिरबाट झिकिएको दुवै आँखा बैंकमा राखेपछि दुइजना बेग्लाबेग्लै व्यक्तिलाई प्रत्यारोपण गरिन्छ । हामीकहाँ अहिले पनि आँखा दान गर्नेको सख्या सारै न्यून छ । त्यसैले आँखा दान कुरेर बस्नेहरुलाई एउटा मात्रै आँखा दिन सकिएको हो । मरेपछि गलेर, सडेर डढेर जाने आँखा दान गरेमा दृष्टिविहिनले सुन्दर सृष्टि अवलोकन गर्न सक्ने तथ्य मनन गर्दै हामी सपरिवार आँखा दान अभियानमा सक्रिय भएर लागौं र अरुहरुलाई पनि सचेत गराऔं । आँखा दानको पुण्य अवर्णनीय छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button