अमेरिका गएपछि छोराले एउटा कुरा ढाँट्यो

परमा सिम्खडा

पुसको पाक्य, माघमा खाक्य भन्छन् । ठीक दश बर्षअघिको कुरा हो, २०६४ सालको माघेसंक्रान्तिको अघिल्लो साँझ म फुलौरा पकाउने, छोराहरु परमेश-प्रश्रित खाने गरिरहेका थियौँ । ठूलो छोरा परमेशले एक्कासी भन्यो, ‘ममी हजुर, अर्को साल प्रश्रित मात्रै हुन्छ फुलौरा खाने, म त हुन्न ।’

झाँजरबाट फुलौरा प्लेटमा खनाइरहेको म टक्क अडिएर सोधेँ, ‘कहाँ जान्छस् र ?’

‘अमेरिका’, उसले सहज स्वरमा भन्यो तर म भने छाँगाबाट खसेजस्तो खङरङग भएँ । परमेश छोरा मेरा लागि संसारमै सबैभन्दा प्यारो- बाआमा, सानु छोरा प्रश्रित र पतिभन्दा पनि । त्यही छोरो काखबाट टाढिन खोजेकाले मैले उसलाई निरुत्साहित पार्न भने, ‘कालेको कुरा, त्यति सजिलो छ नि अमेरिका जान !’ परमेशलाई हामी घरमा प्रभु भन्छौँ र मायाले म बेलाबखत काले पनि भन्थेँ उसलाई।

‘एमबिए गर्न, अब आउने दशैँअघि नै जाने हो अमेरिका’, फेरि पनि सजिलै उत्तर दियो उसले । पढाईमा मेधावी थियो प्रभु । शङ्करदेव क्याम्पसबाट बिबिएस र बेलायतको चार्टर्ड एकाउनटेन्ट कोर्स एसिसिए उत्तीर्ण गरेको थियो ।

पछि, पारिवारिक बैठकमा पनि प्रभुले एमबिए गर्न अमेरिका जाने कुरो राख्यो । हामी आमाहरुको जस्तो हुँदो रहेनछ बाबुको मन ! प्रभुको बुबाले ‘भईहाल्छ नि, अब तँ पनि हुर्किसकेको छस्, जे गर्दा आफ्नो भविष्य राम्रो हुन्छ जस्तो लाग्छ, त्यही गर्नु’ भन्नुभयो ।

ठीक ६ महिनापछि २०६५ को साउनेसंक्रान्तिमा हामी तीन आमा-छोरा खाना खाँदै थियौँ, प्रभुले भन्यो, ‘ममी हजुर ! भिषाको लागि यसै साता अन्तर्वार्ता छ एम्बेसीमा ।‘ मैले त त्यो प्रसङ्ग बिर्सी नै सकेको थिएँ । छोरोको कुरोले फेरि छाँगाबाट खसें र भने, ‘अमेरिका नगए हुँदैन काले ?’

‘जाने हो ममी !’ उसले आफ्नो अठोट सुनायो र फकाउने शैलीमा भन्यो, ‘दुइ बर्ष त हो नि, पढाई सकेर फर्किन ।‘ मलाई भने छट्पटी हुन् थाल्यो, निद्रा पनि लाग्न छोड्यो । आजभन्दा भोलिभन्दा अन्तर्वार्ताको दिन पनि आयो ।

बिहानै देवर (केशव सिम्खडा) बाबु गाडी लिएर आउनु भयो । काका भतिजा अमेरिकी एम्बेसी गए । प्रभुको बुबा (जिवेन्द्र सिम्खडा) अन्नपूर्ण पोष्टको सम्पादक हुनुहुन्थ्यो, राति अबेला आउनु हुन्थ्यो । त्यसैले सुतिरहनु भएको थियो । म भने पूजा कोठामा गएर प्रार्थना गर्न थालेँ, ‘ हे प्रभो, परमेशको भिषा नलागोस् !’ छोरो र उसको बाबुले मात्र हैन, परमेश्वरले पनि मेरो प्रार्थना सुनेनन् ! पौने एघार बजेतिर प्रभुले फोन गरेर खुशी हुँदै भन्यो, ‘ममी हजुर, भिषा लाग्यो ।‘ यता मेरो भने हातबाट टेलिफोन रिसिभर खस्यो ।

साउन २३ गते छोरो अमेरिका उड्ने भयो । थाहा पाउने आफन्त र इष्टमित्रहरु ‘लौ बधाई’ भन्छन्, आफ्नो भने मुटुको टुक्रा छुट्टिदै थियो ।

प्रभु ५ बर्षको हुँदा एक बर्ष मेरो माइती, गोरखामा छोडेको थिएँ । काका (जितेन्द्र भट्ट) शिक्षक हुनुहुन्थ्यो र बालबालिकालाई रत्याउँन अत्यन्तै सिपालु पनि । उहाँले शिक्षारम्भको जग बसाइ दिनु भएपछि प्रभुलाई काठमाडौँमा नै ल्यायौँ । त्यसबाहेक प्रभु र म कहिल्यै पनि सात दिनभन्दा बढी लगातार छुट्टिएर बसेका थिएनौं । तर त्यतिबेला ऊ दुइबर्षका लागि मबाट टाढिदै थियो ।

छोरो उड्ने दिन पनि आयो, मेरा आँखाबाट भने गंगा जमुना बगिरहेका थिए ।

‘ममी हजुर, तपाईं किन रुनु भा’को ?’ प्रभु मेरो आँशु पुछ्दै भन्थ्यो, ‘के अमेरिका पढ्न जानु नराम्रो कुरा हो र ? राम्रो युनिभर्सिटिमा पढ्न जाँदैछु ।‘ मलाई पनि थाहा थियो, मेरो छोरो अरबको गर्मीमा मजदुरी गर्न जान लागेको हैन भनेर । तर पनि बिछोडको वेदनाले आँशु थाम्न सकिरहेको थिइनँ ।

अरुहरु पनि कोही सम्झाउँथे, कोही हप्काउँथे । तिनलाई के थाहा- कस्तो हुन्छ आमाको मन ! तर के गर्नु, आमाको मन जस्तो भएपनि छोरो अमेरिका उडिहाल्यो !

साउन भदौका दिन यसै त लामा, मलाई झन् लामो लाग्न थाल्यो, दिन साताजस्तो र साता महिनाजस्तो लामो ! जत्ति नै लामो लागे पनि दिन, साता र महिना क्रमशः बित्दै गए ।

कोही अमेरिका जाने मान्छे हुँदा, ‘के पठाई दिउँ प्रभु ?’ भनेर सोध्यो, ‘यहीँ पाइन्छ सबथोक ममी, हजुरहरुले केही पठाउनु पर्दैन, अरुलाई दु:ख मात्र हुन्छ’ भन्थ्यो । आफूलाई भने चुल्हामा मीठो मसिनो पाकेको दिन उसकै सम्झना आउँथ्यो । पाकेको छ मीठो तर त्यो मीठो मानेर खान सक्दिनथ्यें म ।

धन्न, सूचनाप्रविधिले संसारलाई नै एउटा घरगाउँसरह बनाइ दिएकाले स्काइप वा भाइवरमा हेरेरै कुराकानी गर्न पाइन्थ्यो, पाइन्छ । तर प्रत्यक्ष भेटघाट भएजस्तो कहाँ हुन्छ र त्यो ?

एकदिन स्काइपमा बाबु-छोराको कुरा हुँदै थियो, प्रभुले सोध्यो, ‘मेरा केही साथीले यहाँ ‘रिफुजी क्लेम’ गरेका छन्, त्यो कस्तो हुन्छ बुबा ?’

‘त्यो ठीक होइन, भुलेर पनि नगर्नु त्यो काम । अमेरिकामै बस्नुपर्छ भन्ने केही छैन । अमेरिका बस्नै ठीक लागे पनि झुटको सहारा लिएर हैन, वैधानिक प्रक्रियाबाट मिले मात्र बस्नु, मिलेन भने आफ्नो देस, आफ्नो घर छँदैछ, फर्किनु ।‘ बुबाले छोरालाई प्रष्ट निर्देश गर्नुभयो । छोराले पनि ‘हस् बुबा’ भनेकाले मेरो मनमा अब प्रभु फर्किन्छ कि भन्ने झिनो आश पलायो ।

समय बित्दै जाँदा नियास्रो झन् झन् झाँगिदै गयो । एउटा मात्रै खुशीको कुरा के भने, छोरो फर्कने दिन क्रमशः नजिकिदै थियो । तर दुइ बर्ष बित्यो, मेरो खुशीको दिन आएन । प्रभुले मलाई कहिल्यै ढाँटेको थिएन कहिल्यै, सानुमा पनि र हुर्केपछि पनि l तर पढाई सकेर दुइ बर्षपछि फर्कन्छु भनेको छोरो अमेरिकाबाट फर्केन, ढाँट्यो l युनिभर्सिटीको पढाईपछि जुन ठाउँमा प्रभुले ‘इन्टर्नसिप’ गरेको थियो, त्यहिँ काम पाएछ ।

छोरो एकैचोटी आयो, पौने चार बर्षपछि, एक महिनाको छुट्टीमा । अर्को बर्ष पनि आयो डेढ महिना छुट्टी लिएर । हामीले खोजिदिएको कन्या जीनासँग विवाह ग-यो । विवाह साह्रै रमाइलोसँग भयो । इष्टमित्र आफन्त सबै आइदिनु भयो । तर विवाह गरेको एक महिना नबित्दै छोरा-बुहारी दुवै अमेरिका उडे ।

त्यहीबेला सानो छोरो प्रश्रितले जापान सरकारको तीनबर्षे छात्रवृत्ति पायो, टोकियो युनिभर्सिटीमा अध्ययन गर्न । प्रभु-जीना अमेरिका गएको एघारौँ दिन, प्रश्रित पनि जापान जान निस्कियो, मैले मुटुमाथि ढुङ्गा राखेर बिदा गरें । भर्खर भर्खरै दुलही भित्र्याएको हाम्रो घर, दुलही अन्माएको घर जस्तो पो भयो । तीन बर्षसम्म घरमा हामी दुइजना मात्रै ढक्य्राक ढुक्रुक बस्यौँ ।

अघिल्लो बर्ष दशैमा छोरा-बुहारीले बोलाए, हामी पति-पत्नी नै अमेरिका गयौँ । सपिंग मलहरु घुमाएपछि प्रभुले सोध्यो, ‘ममी हजुर, तपाईं अनेक चिन्ता गर्नु हुन्थ्यो नि ! ल भन्नुस्त, डलर भयो भने यहाँ नपाउने चिज के छ ?’ हो, त्यहाँ नपाउने चिज केही थिएन ।

छोरा-बुहारी राजधानी डिसी मेट्रोभित्रै मेरिल्याण्डमा बस्दा रहेछन् । हामी न्युयोर्क पनि गयौँ । अचम्मकै रहेछ न्युयोर्क । पेन्सिलभेनिया, भर्जिनियालगायतका राज्यमा पनि डुल्यौँ हामी । सडक, सुविधा र सरसफाइले अमेरिका हुनसम्मको राम्रो रहेछ । त्यस्तो ठाउँमा आफ्ना छोरा-बुहारीको पनि राम्रो बन्दोबस्त रहेछ । प्रभुले पढेकै बिषयको काम गर्दो रहेछ, प्रतिष्ठित संस्थामा । जीनाको आफ्नै पसल रहेछ । ‘ग्रीनकार्ड होल्डर’ उनीहरुको आफ्नै घर छ, आ-आफ्नै कार छ, आपसमा प्यार छ र हामीप्रति आदर छ । म त मख्खै परें ।

अहिले यता हाम्रो रानीवन घर पनि दुलही अन्माएको घरजस्तो सुनसान अवस्थामा छैन, चहलपहलपूर्ण छ । प्रश्रित पढाई सकेर जापानबाट फर्केको मात्र छैन, आज्ञा बुहारी बनेर भित्रिएकी छन् । परिवारमा चारजना हुँदाको छुट्टै रमाइलो छ ।

तैपनि आमाको मन न हो, माघेसंक्रान्ति आउँदा मात्र हैन, कहिलेकाँही छाती चसक्क चस्कियो भने पनि टाढा रहेका प्रभु-जीनालाई कतै बिसन्चो पो भयो कि जस्तो लाग्छ ।

माघेसंक्रान्ति, २०७४, रानीबन ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button